'लाइमलाइट भन्दा पर राधिका’

नेपालका ७१ जिल्लामा पाइला टेकेकी राधिकालाई देश चिन्ने धित अझै मरेको छैन । नेपाल घुमेर बटुलेको यात्रा संस्मरण तयार गर्ने रहर छ । यसअघि श्रीमान् ओलीको स्वास्थ्यसँग सरोकार राखेर पुस्तक (मेरो अनुभूति) लेखेकी उनलाई घुम्न, लेखपढ गर्न तथा पाककलामा उस्तै रुचि छ ।

उपासना घिमिरे लक्ष्मी भण्डारी

मंसिर ६, २०७९

 

समय बिहान ८ बजे । बालकोटस्थित राधिका शाक्यको घरमा पुग्दा उनी आफ्नो नित्य कर्म सकाइसकेकी थिइन् । घरमै जोडिएको अर्को घरमा रहेकी आमालाई चार दिनपछि भेटेर आएको जानकारी उनले दिइन् । घर व्यवस्थापनमै व्यस्त हुँदैमा मेरो दिनचर्या बित्छ भन्दै उनले हामीसँग कुराकानी छिटो सकाउनुपर्छ है भनिन् । बाहिर कमै बोल्न रुचाउने राधिका हामीसँग दुई घन्टा खुलेर संवाद गरिन् ।

अत्यन्तै सौम्य, शान्त र शालीन व्यक्तित्व, बैंकिङ क्षेत्रको उपल्लो पदमा पुगेको अनुभव, मुलुकभरका कार्यकर्तादेखि अन्तर्राष्ट्रिय स्तरको उच्च ओहोदामा रहेर काम गरेका व्यक्तिहरूसँग उनको सहकार्य रहँदै आएको छ । जीवनमा चरम दुःख र सुखकोराम्रो अनुभव बटुलेकी राधिकालाई ‘लाइमलाइट’ भन्दा पर रही सेवामा तल्लीन हुन औधी मन पर्छ । उनी आफैंमा एउटा गह्रौं ब्रान्ड हुन् । त्यो ब्रान्डभित्र राजनीतिभन्दा माथि उठेर देश र जनताका लागि गरिरहनुपर्ने थुप्रै खजाना, सिर्जना र स्रोतका चाङ छन् । जसलाई उनले विगतका कामबाट प्रमाणित गरिसकेकी छन् ।

‘म राजनीति त्यति बुझ्दिन तर चासो राख्छु । मलाई राजनीति गर्नु छैन तर राजनीतिज्ञलाई कसरी जोगाएर राख्ने र सही बाटोमा लाग्न प्रेरित गर्ने त्यो चिन्तन गर्न सक्छु ।’ हिजो ७० को दशकतिर स्वयं राजनीतिमा होमिएकी उनले भनिन्, ‘राजनीति र राजनीतिज्ञको पहिलो सर्त देश र जनताको सेवा  हो, मुलुकलाई समृद्ध बनाउनु हो । मेरा श्रीमान्को यही उद्देश्यले मलाई खुसी तुल्याएको छ ।’ श्रीमान् केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राधिकाको पहलमा थुप्रै काम भए । ‘मानव सेवा आश्रम’, ‘बेबी लाइफ होम’, ‘आमाघर’लगायतका सामाजिक संस्थालाई मन्त्रीस्तरीय निर्णयबाटै ठूलो सहयोग प्राप्त भयो । ‘सडक मानवमुक्त प्रदेश’ राधिकाकै अवधारणा थियो, जसलाई राष्ट्रिय नीतिमै राखी कार्यान्वयनमा ल्याइयो । उनकै कारण बालुवाटारबाट सुरु गरिएको मेची–महाकाली यात्राद्वारा आठ सयभन्दा बढी सडक मानवलाई आश्रय दिने काम भयो । कुनै समूह, लैंगिकता र व्यक्ति विशेषभन्दा पनि समग्र देश र नेपाली जनताको विकास हुनुपर्छ भन्ने मान्यता बोकेकी उनलाई बालबालिका, असहाय र फोहोरमैलामा समेत राजनीति भएको देख्दा दिक्क लाग्छ । ‘जुन समस्या मैले सामाजिक कामका सिलसिलामा धेरै भोगेकी छु’ उनले भनिन्,‘राजनीति जस्तो संवेदनशील र विशिष्ट पेसालाई यहाँ के बनाइयो के ?’

३३ वर्ष राष्ट्र बैंकको सेवाबाट सन् २०१४ मा अवकाश प्राप्त गरेकी उनी महिला आर्थिक रूपमा सबल हुन सके उनीहरूको चौतर्फी विकास हुने धारणा व्यक्त गर्छिन् । ‘हामी आर्थिक रूपमा सशक्त भइयो भने स्वतन्त्र र हरेक कुरामा सक्षम हुन सकिन्छ, निर्णायक शक्ति बढ्छ’ उनले भनिन्, ‘त्यसो त आत्मनिर्भर हुन शिक्षा, सीप, मेहनत र इच्छाशक्ति पहिलो सर्त हुन् । त्यो वातावरण परिवार, समाज र राष्ट्रले मिलाइदिने प्रबन्ध र पहल हुनुपर्छ ।’ महिलाका पक्षमा नेपालमा थुप्रै बलिया कानुन बनिसके तर कार्यान्वयनका क्रममा जटिलता आउने र परिणामसम्म पुग्न नसकिने उनको ठम्याइ छ । उनका अनुसार उहिले पनि महिला हिंसा, विभेद, बलात्कारका घटना नभएका होइनन् तर अहिले सञ्चार माध्यमको पहँुच र प्रभावका साथै महिला स्वयं पनि सचेत भएकाले यस्ता घटना दृश्यात्मक रूपमा बढेको देखिएको हो । आमाको नाममा नागरिकताको सवालमा भने नेपाली आमाबाट जन्मिएका कुनै पनि सन्तान नागरिकता विहीन हुन नहुने उनको तर्क थियो ।

३५ वर्षको वैवाहिक जीवनमा उनले धेरै संघर्ष र उतारचढाव झेलेकी छन् । सुरुवाती दिनमा आर्थिकलगायतका समस्या र क्रमिक रूपमा कयौं पटक श्रीमान्को स्वास्थ्यका कारण सास्ती खेपेको स्मरण गर्दा उनी भावुक हुन्छिन् । ‘राजनीति गर्ने मान्छेलाई त्यो रूपमा स्वीकार गरें । जतिबेला जुन रूपमा स्वीकार गरें, आज पनि म उहाँका लागि र उहाँ मेरा लागि त्यही हो, पद–प्रतिष्ठा त आउँदै–जाँदै गर्ने विषय हुन्’,उनले थपिन्, ‘श्रीमान् रोगसँग जुधिरहँदा पनि उनी सँगै हुन्छिन् । हिजोका दिनमा दुःखका पहाडसँगै उक्लियौं–ओर्लियौं । उहाँले देश र जनताका लागि जीवन अर्पण गर्नुभयो सोहीअनुरूप मान, पद, प्रतिष्ठा, माया, सम्मान मिलेको छ, हामी आज खुसी छौं ।’ आपसी समझदारी र सहन सक्ने शक्तिले दाम्पत्य जीवनलाई बलियो बनाउ“छ भन्ने मान्यता उनको छ । राधिका श्रीमान् ओलीको स्मरणशक्ति र अध्ययन गर्ने बानीप्रति नतमस्तक छिन् । उनले भनिन्, ‘उहाँसँग सूचना र ज्ञानको अथाह भण्डार छ । साहित्य, इतिहास, विज्ञान, धर्म संस्कृतिलगायतका विषयमा अपडेट हुनुहुन्छ ।’

अहिले राधिका पूर्णरूपमा घरायसी काममा व्यस्त छिन् । श्रीमान्का लागि आफ्नै हातले पकाएको ताजा र स्वस्थकर खाना नखुवाई उनलाई चित्त बुझ्दैन । त्यसो त श्रीमान् पनि सम्भव भएसम्म राधिकाले बनाएको खाना खान घरै पुग्छन् । औषधि खाने समयतालिका मिलाउने र ठीक समयमा औषधि खुवाउने काम पनि उनी गर्छिन् ।

बिहान झिसमिसे हुन नपाउँदैदेखि मध्यरातसम्म पार्टीका कार्यकर्ताले निवासमा भीडभाड भइरहन्छ । कसलाई के खुवाउने, कसलाई कुन समय दिनेलगायतका विषयमा सचेत रहन्छिन् । निवासमा आएका पाहुनाको खानपानका लागि आवश्यक सामग्री जोहो गर्ने र सम्पूर्ण प्रबन्ध मिलाउने काम पनि उनी आफैं गर्छिन् ।

नेपालका ७१ जिल्लामा पाइला टेकेकी राधिकालाई देश चिन्ने धित अझै मरेको छैन । नेपाल घुमेर बटुलेको यात्रा संस्मरण तयार गर्ने रहर छ । यसअघि श्रीमान् ओलीको स्वास्थ्यसँग सरोकार राखेर पुस्तक (मेरो अनुभूति) लेखेकी उनलाई घुम्न, लेखपढ गर्न तथा पाककलामा उस्तै रुचि छ । धेरै  बालबालिकाको पठनपाठनमा सहयोग गर्दै आएकी उनको विशेषता ‘मानवसेवा’ हो । ‘सामान्य परिवारमा जन्मिएर दुःख र अभाव के हो भन्ने नजिकबाट भोगेकीले होला, बाटो हिँड्दा देखिने–भेटिने दुःखी, गरिब तथा असहायप्रति हृदयदेखि करुणाभाव जागेर आउँछ । सक्दो सहयोग गरिरहेकी हुन्छु,’ उनले भनिन् । मानव सेवा आश्रमकी संरक्षक राधिकाले अघिल्लो दसैंमा भक्तपुरको बालसंगठनमा पुगी ४५ जनालाई भोजन गराई न्याना लुगा प्रदान गरिन् । बालबालिकासँग केही समय बिताउँदा मन हल्का भएको र आत्मिक शान्ति प्राप्त भएको उनले बताइन् । आफूभित्रको सेवा भावस“ग आफैंलाई अनौठो लाग्ने उनको प्रतिक्रिया थियो । ‘मासिक ६० हजार पेन्सन आउँछ । म आनन्दले घरमै बसेर बिनापरिश्रम सरकारी पैसा खाएकी छु । कताकता यो गलत त भएन भन्ने पनि लाग्छ । त्यसैले त्यो सबै पैसा सेवामै खर्च गरेकी छु’ उनले भनिन् । राधिकालाई सन्तान नभएर कुनै गुनासो छैन । धेरै सन्तानलाई छहारी दिएको उनले बताइन् । ‘हाम्रा सन्तान नभएकाले हामी दुईको मृत्युपर्यन्त यो सम्पत्ति कसलाई दिने ? के गर्ने ? एउटालाई दि“दा नपाउने अर्कोको चित्त दुख्ला भनेर ट्रस्टका नाममा दिइसकेका छौं’ उनले थपिन्, ‘उतिबेला यो जग्गा र घर असाध्यै दुःखले जोडेका हौं ।’

जीवनलाई संघर्षका रूपमा बुझेकी राधिकाले पछिल्लो समय संघर्षका आयाम बदलिए पनि आखिर जीवन संघर्ष नै भएको बताइन् । खासै योजना नबुन्ने उनी सबै नेपाली इमान्दार, परिश्रमी हुनुपर्ने बताइन् । ‘समृद्ध नेपालः सुखी नेपाली’ श्रीमान्को उद्देश्य र अभियान सफल भएको देख्ने इच्छा छ’ राधिकाले भनिन्,‘सास रहेसम्म ओली त्यसैमा लागिरहने र सबैले यसमा सहयोग र साथ दिनुपर्छ ।’सत्ता र शक्तिमा रहेर पनि सधै आफूलाई छायामै राख्ने प्रधानमन्त्री पत्नी, राजनीतिज्ञकी पत्नी भन्दा पनि राधिका शाक्य बनेर स्वअस्तित्वमै बा“च्न चाहने उनको इच्छा छ । कुराकानीको अन्त्यमा बालुवाटारभन्दा बालकोट नै प्यारो र स्वर्ग लाग्ने उनको भनाइ छ ।

 

तस्बिर ः महेश प्रधान

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>