पिङमा उल्लास

मनोज पौडेल

आश्विन ७, २०७९ कपिलवस्तुको वाणगङ्गा नगरपालिकास्थित बुङ्चीकी ३६ वर्षे सुशीला बेल्बासे दसैं नजिकिँदै गर्दा पिङ राख्ने ठाउँ खोज्न थाल्छिन् । आफैं अग्रसर भई टोलमा महिला जुटाउँछिन् । एक–दुई दिन लगाएर बाँस र डोरी जम्मा गरी लिंगे पिङ ठड्याउँछिन् । ‘दसैंका बेला भेटघाटको अवसर पिङले जुटाउँछ,’ उनले भनिन्, ‘त्यही भएर पिङ बनाउन आफैं कस्सिन्छु ।’ पिङ खेल्न आउँदा नारीहरूबीचसुख–दुःख साटासाट गर्छौं, भलाकुसारी गर्छौं । एकछिन भएपनि नारी उल्लासमा पिङमा रमाउँछौं ।’

उनीजस्तै बुद्धभूमि नगरपालिका बुढ्डीकी कमला बन्जाडे पनि पिङमा रमाउन पाउँदा खुसी हुन्छिन् । घरधन्दा एवं चुल्होचौकोबाट एकछिन भए पनि फुर्सद निकालेर नारीहरू पिङ खेल्न पुग्छन् । त्यही भएर गाउँमा आफैं अग्रसर हुन्छिन् । पिङ राखेको ठाउँमा हुने नारी जमघटको बेग्लै रमाइलो हुन्छ । ‘घरपरिवारको कुरा हुन्छ,’ उनले भनिन्, ‘पिङ खेल्ने बहानामा भेटघाट हुन्छ । नारी पीडा र उल्लासको गफगाफ हुन्छ । त्यहीँ शुभकामना साटासाट गर्ने अवसर मिल्छ ।’ पिङ हालेको ठाउँ चाडबाडको चौतारीजस्तै बन्छ । दसैंमा जति मासु खाए पनि समस्या पर्दैन । १० दिन पिङमा मच्चिदा शरीरमा रहेको चिल्लो पदार्थ पसिनाबाट बाहिर निस्कन्छ । खाना सजिलै पच्छ । 

दसैंमा बालबालिकादेखि महिला र ज्येष्ठ नागरिकसम्मलाई चाडबाडको चटारोसँगै पिङ खेल्ने हतारो हुन्छ । उनीहरू सबै दसैंदेखि तिहारसम्मै पिङमा रमाउँछन् । पहिले–पहिलेजस्तो गाउँपिच्छे पिङ नहालिए पनि मधेस–तराईदेखि पहाडसम्म पिङमा मच्चिने उत्तिकै छन् । पिङ खेल्दा प्राप्त हुने आनन्द बेग्लै हुन्छ । 

जिल्लाको तौलिहवा, बर्मेली, जगदीशपुर, पिपरा, शिवपुर र चन्द्रौटामा स्थानीयले दसैंअघिबाटै पिङ बनाउन थाल्छन् । सशस्त्र प्रहरीले पनि जिल्लाका विभिन्न ठाउँमा लिंगे पिङ हाल्छ । परम्परा र संस्कृति जगेर्ना गर्न आफूहरूले ठाउँ–ठाउँमा पिङ राख्ने गरेको सशस्त्रका उपरीक्षक सूर्यबहादुर सेनवलीले बताए । 

बाँसका चार ओटा लिंगा गाडेर दुई–दुई वटाका टुप्पालाई एक ठाउँमा बाँधेर परेको कापोमा एउटा मूढो राखी त्यसमा लठ्ठा बाँधेको संरचनालाई लिंगे पिङ भनिन्छ । बाबियो वा नाइलन डोरीबाट झुलिन्छ । परम्परागत नेपाली रोटे पिङमा चारवटा काठका पिर्का हुन्छन् । रोटे पिङमा एकैपटक चारभन्दा बढी व्यक्ति एकसाथ खेल्न सकिन्छ । दुई व्यक्तिले पिङ हल्लाउनुपर्छ । पिङको सबै पिर्कामा बराबर वजन भएका व्यक्तिहरू बस्दा सजिलैसँग मच्चिन्छ । जाँते पिङमा दुईजना बसेर मच्चिन सकिन्छ । काठको मियोको माथिल्लो भागबाट काठ तेर्स्याएर दुवै भागमा एक–एकजना बस्न मिल्ने गरी बनाइएको हुन्छ । जाँतो जसरी घुम्ने यो पिङ मच्चाउन एकजनाको सहयोग चाहिन्छ । ‘युवाले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन्,’ साहित्यकार हरिराज शर्माले भने, ‘संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ । नत्र नयाँ पुस्तालाई कसरी थाहा हुन्छ ?’ 

नेपालका गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेले वर्षमा एकपटक दसैंमा टीका लगाएपछि पिङ खेलेर भए पनि जमिन छोड्नुपर्छ भन्ने चलन छ । यही चलन पछ्याउँदै पिङ हाल्ने र खेल्ने गरिन्छ । दसैं–तिहारकै बेला पिङ खेल्नुको धार्मिक र सांस्कृतिक महत्व छ । ‘पौराणिक कालमा देवीदेवता पनि दसैं–तिहारकै बेला पिङ खेल्थे भन्ने मान्यता छ,’ अवधि संस्कृति विशेषज्ञ पशुपतिमणि त्रिपाठीले भने ।

मधेसतिर भने साउनदेखि तिहारसम्मै पिङ खेलिन्छ । घर, टोल र बगैंचामा डोरी बाँधेर पिङ राखिन्छ । अवधि लोक साहित्यकर्मी विक्रम त्रिपाठीले भने, ‘भगवान् शिवको अराधना गर्ने साउन पवित्र महिना भएकाले यही समयबाट मधेसमा पिङ खेलिन्छ ।’ मधेसमा पिङलाई झलुवा भनिन्छ । ‘भदौमा रोपाईं सकिन्छ । त्यसपछि नागपञ्चमी र रक्षाबन्धन पर्व आउनलाग्दा बुहारीहरू माइत फर्कन्छन्,’ उनले भने, ‘त्यसपछि छोरी–बुहारी गीत गाउँदै पिङ खेल्छन् । पिङ खेल्न थाल्दा भजनबाट सुरु गरेर कजरी तीज गीत पनि गाउँछन्, जुन तिहारसम्मै चल्छ ।’

तस्बिरः मनोज पौडेल

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>