प्रकृतिप्रेमी सृष्टि

लक्ष्मी भण्डारी

भाद्र ५, २०७९ ‘मिस नेपाल २०१२’ की विजेता हुन्–सृष्टि श्रेष्ठ । सानैदेखि शान्त र अन्तर्मुखी स्वभावकी उनी पछिल्लो समय चलचित्र र थिएटरमा सक्रिय छिन् । बुवा ईश्वर श्रेष्ठको कामको सिलसिलामा उनको बाल्यकाल चितवन, दाङ र काठमाडौंमा बित्यो । तेह्र वर्षकै उमेरमा परिवारसहित लण्डन गएकी उनको त्यसपछिको शिक्षादीक्षा उतैबाट भयो । उनले बेलायतको ‘फाल्मोथ स्कुल’बाट प्राथमिक र ‘ट्रुरो कलेज’बाट ‘ए लेभल’ सिध्याएपछि ‘किङ्स कलेज अफ लण्डन’बाट स्नातक गरिन् । सृष्टिले हालसम्म एक दर्जन विज्ञापन, आधा दर्जनजति ठूलोपर्दाका चलचित्र र केही नाटकमा अभिनय गरिसकेकी छन् । उनीद्वारा अभिनीत नाटक ‘ह्यामलेट’ र ‘पल्पसा क्याफे’ ले धेरै प्रशंसा बटुलिसकेको छ । आगामी भदौ ३ मा सार्वजनिक हुने भनिएको ‘माइकल अधिकारी’ र भाद्र १० मा रिलिज हुने ‘द सिक्रेट अफ राधा’ चलचित्रकी उनी मुख्य पात्र हुन् । यी दुई चलचित्रमा उनी शान्त, निर्दोष तर सशक्त नारीको भूमिकामा प्रस्तुत हुँदैछिन् । ‘यी दुवै पात्रले नारी सशक्तीकरणको भाषा बोल्छन्’ सृष्टिले भनिन्, ‘अत्यन्तै कम बोल्ने गाउँकी सोझी राधाले कसरी नारी सशक्तीकरणको आवाज मुखरित गर्छिन् त्यसका लागि चलचित्र नै हेर्नुपर्छ ।’ प्रकृतिप्रेमी सृष्टिलाई शान्त वातावरण र गाउँठाउँ मनपर्छ । लण्डन बस्दा १५ वर्षको उमेरदेखि नै बुवाको रेस्टुराँमा वेटरको काम गरी उनी आत्मनिर्भर बन्न सफल उनले हरेक नारी आत्मनिर्भर बन्न सक्नु र स्वाभिमान भई जिउनु महत्वपूर्ण विषय भएको बताइन् । 

 

 सृष्टिसँग वार्तालाप

हाल केमा व्यस्त हुनुहुन्छ ?

तत्काल त म ‘माइकल अधिकारी’ र ‘राधा’ को प्रमोसनमा व्यस्त छु । 

पछिल्लो परिस्थिति प्रतिकूलताले मनोरञ्जन क्षेत्रमा कस्तो असर परेको छ ?

कोरोनाका कारण मानिस निर्धक्कसँग सार्वजनिक ठाउँमा जान सकेका छैनन् । विदेशतिर ‘ओटिटी प्लेटफर्म’मा निर्धक्कसँग फरक–फरक विषयवस्तु हेर्न र सुन्न पाइन्छ तर हामी धेरैजसो नेपाली अझैसम्म पनि हलमै निर्भर छौं । त्यसैले हामीलाई चुनौती छ । कोरोनाले संसारलाई नै नराम्ररी असर पारिरहेका बेला हामी अछुतो हुने कुरै भएन । 

नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन के जरुरी ठान्नुहुन्छ ?

‘कालो पोथी’, ‘सेतो सूर्य’ जस्ता चलचित्रलाई उदाहरणका रूपमा हेर्ने हो भने तिनले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रभाव पार्न सफल भए । यी चलचित्रले हाम्रो मौलिकता र आफ्नोपन बोकेका र बोलेका थिए । हामीले जे हो त्यसलाई प्रस्तुत गर्न छाड्नु हुँदैन । हाम्रा आफ्नै कला र शैली छन् । ‘अर्गानिक–स्टोरी टेलिङ’ गर्न सकियो भने विदेशीहरूलाई पनि मन पर्छ । हामी आत्तिइहाल्नुपर्ने देख्दिन म । किनभने हाम्रो चलचित्रको उमेर नै के भएको छ र ? लगभग ६ दशकको हाराहारी होला, जबकि अन्तर्राष्ट्रिय चलचित्रहरूले शताब्दियौं बिताइसकेका छन् । तसर्थ म आशावादी छु । 

नेपाली चलचित्र क्षेत्रको स्तर कहाँ र कस्तो पाउनुहुन्छ ?

विकासोन्मुख अवस्थामा छ । क्रमशः सुन्दर ढंगले विकसित हुँदैछ । 

आफूले निर्वाह गरेको भूमिकामध्ये चेतना फैलाउन सफल पात्र र चलचित्र कुन थियो ?

हरेक पात्रले मलाई केही न केही सिकाइरहेका हुन्छन् । ‘राधा’ पात्रले जीवनमा जतिसुकै आँधीहुरी र उतारचढाव आएपनि मन स्थिर राख्दै केन्द्रिकृत हुन सिकाएको छ । ‘माइकल अधिकारी’ को ‘सुष्मा अधिकारी’ पात्रले हेर्दा निर्दोष देखिने व्यक्ति पनि भित्रबाट उत्तिकै बलियो मन भएको हुनसक्छ भन्ने देखाएको छ । पछिल्लो समय ‘बोल्ड’ र शक्तिशाली बन्ने होडमा कतिपय व्यक्ति हृदयविहीन बन्दै गएको पनि पाइन्छ । भावना र संवेदनशीलतालाई कमजोरीका रूपमा बुझ्न हुँदैन भन्ने मलाई लाग्छ । चलचत्रिकै पात्रमार्फत आमाको ममता अनुभूति गर्न पाएँ । यी सबै पात्रले समाजमा केही न केही छाप पक्कै छोडेका छन् । 

कत्तिको आस्तिक हुनुहुन्छ ? व्रत बस्नुहुन्छ?

हामी मानव जाति सबै आध्यात्मिक प्राणी हौं । मेरो हरेक भगवान्सँग नाता छ । मन्दिर जान मनपर्छ । पर्व–उत्सवमा सहभागी हुन तीजको व्रत बस्ने गरेकी छु । 

तपाईंमा भएको तर खेर गइरहेको क्षमता के हो ?

म राम्रा चित्र कोर्न सक्छु तर त्यसैमा लागिरहने समयको अभाव छ । 

महिलाले सबै क्षेत्रमा सफलता हासिल गर्न के आवश्यक छ जस्तो लाग्छ ?

पहिलो कुरा त महिला वा पुरुष भन्दा पनि हामी सबै मानव हौं भन्ने कुरा बुझ्नुपर्छ । असल मानव हुनुपर्छ भन्ने मेरो सोच हो । महिला नै भनेर केन्द्रिकृत हुने हो भने पहिले आफू र आफूभित्रको शक्तिलाई चिन्न जरुरी छ । हामी जसरी परिवार, इष्टमित्र, बालबच्चा, साथीभाइ, आफ्नो पार्टनरलाई महत्व दिन्छौं, माया गर्छौं त्यसरी नै आफूलाई पनि माया गर्न र महत्व दिन आवश्यक छ । यति गर्न सकियो भने सबै क्षेत्रमा सफल भइन्छ । 

नारीलाई कसरी परिभाषित गर्नुहुन्छ ? तपाईंको जीवनमा प्रभाव पारेका नारी पात्र को हुन्?

महिला मानव हुन् । लिङ्गका आधारमा महिला/पुरुष भन्दा पनि मानवका हिसाबले हामीलाई समान व्यवहार जरुरी छ । मेरो जीवनमा मेरा दुईटी हजुरआमा, आमा र कामको सिलसिलामा जोडिएका हरेक महिला पात्रले आफ्नै खाले प्रभाव छाड्न सफल भएका छन् । 

आगामी योजना के छ?

जीवनमा अगाडि जे आइपर्छ त्यसलाई सहर्ष स्वीकार गर्दै जाने हो । ठोस योजना नै त बनाउँदिन, आएका कामलाई स्वागत गर्दै जानेछु । 

पाठकका लागि केही सुझाव र सन्देश छन् कि ?

चाडपर्व आउँदैछन् । महिलाहरूको महान् चाड हरितालिका आइसक्यो । स्वास्थ्यको ख्याल गरौं, आस्था त छँदैछ । जीवनलाई खुसीसाथ उत्सवका रूपमा मनाऔं । 

पहिरन : दीपा क्रियसन, टंगाल भाटभटेनी

ज्वेलरी : ड्रिम द डायमण्ड 

मेकअप : संगीता प्रधान–मुस्कान श्रेष्ठ, ॅकाया द ब्युटी स्पट’ कुपण्डोल

लोकेसन : क्रुवा थाई, टंगाल

तस्बिर : महेश प्रधान 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>