Successfully Copied

उपवासबाट उपचार

आयुर्वेदमा उपवासको धेरै महत्व छ । आयुर्वेद चिकित्सक पुनेश्वर केशरीका अनुसार यो शरीरलाई हल्का बनाउने विधि हो । ‘हामीले खाएको खाद्यपदार्थ आमाशयमा गएर जम्मा हुन्छ । पचेको खानाबाट धातु र पच्न बाँकी रहेकोबाट अपक्व अर्थात् ‘आमरस’ उत्पादन हुन्छ, जुन एक विषाक्त पदार्थ हो’ उनले भने, ‘हामीले

आयुर्वेदमा उपवासको धेरै महत्व छ । आयुर्वेद चिकित्सक पुनेश्वर केशरीका अनुसार यो शरीरलाई हल्का बनाउने विधि हो । ‘हामीले खाएको खाद्यपदार्थ आमाशयमा गएर जम्मा हुन्छ । पचेको खानाबाट धातु र पच्न बाँकी रहेकोबाट अपक्व अर्थात् ‘आमरस’ उत्पादन हुन्छ, जुन एक विषाक्त पदार्थ हो’ उनले भने, ‘हामीले गरेको उपवासले त्यसलाई पचाउँछ ।’ 

उपवासलाई एउटा उपचार पद्धति नै मानिन्छ । चिकित्सा विज्ञानको अध्ययनमा पनि उपवासले स्वास्थ्यमा फाइदा पुर्‍याउने विषय उल्लेख छ । पोषणविद् अनुश्री आचार्यका अनुसार हामीले खाना नखाएको अवस्थामा हाम्रो शरीरमा भएका मृतकोशिकाहरूलाई स्वस्थ कोषले खाइदिन्छ । ‘मानव शरीरमा प्रत्येक २१ दिनमा कोष ‘रिपेयर’ हुने क्रम चलिरहन्छ’ उनले भनिन्, ‘कोष जन्मने, रिपेयर र मर्ने कार्य स्वचालित रूपमा निरन्तर भइरहेको हुन्छ । मृतकोषिका र टक्सिनले शरीरलाई क्षति पुर्‍याइरहेका हुन्छन् । यी विकारलाई उपवास बस्दा स्वस्थ कोष भोको हुने भएकाले खाइदिने हुनाले हाम्रो शरीरलाई फाइदा हुन्छ ।’ 

अनुश्रीले तीजमा बस्ने उपवासलाई (निर्जला व्र्रत) कडा व्रतका रूपमा व्याख्या गर्छिन् । पानी पनि नपिई व्रत बस्नु स्वास्थ्यका लागि हानिकारक हुने उनको तर्क छ । 

फाइदा 

उपवास शरीरको डिटक्सिफाइ गर्ने सबैभन्दा उत्तम उपाय हो । पाचनप्रणालीलाई राम्रो बनाउने भएकाले पेट र छालासम्बन्धी समस्या कम हुन्छ । यसले शरीरको ‘हिलिङ’ प्रक्रियामा राम्रोसँग काम गर्छ । तौल कम गर्न उपवासले सहयोग गर्छ । साथै कोलेस्टेरोलको जोखिम पनि कम गर्छ । यसले ‘ट्राइग्लरसाइड’ नामक बोसो र खराब कोलेस्टेरोल नियन्त्रण गर्छ । त्यस्तै, रोग प्रतिरोधात्मक क्षमता बढाउन उपवास लाभदायक मानिन्छ । यसले शरीरको ‘अटोफेगी’ नामक कोषलाई सफा गर्ने क्षमता बढाउँछ । शरीरलाई क्षति गर्ने मृतकोषिका नभएपछि शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ जसकारण रोगसँग लड्न सक्ने क्षमता बढ्छ । उपवासले शरीरको ब्लड सुगर लेभललाई नियन्त्रण गर्ने भए पनि मधुमेहका बिरामीले उपवास बस्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ । 

उपवास शारीरिक मात्र नभई मानसिक एवं भावनात्मक स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यसले एकाग्रता बढाउँछ । तनाव, चिन्ता, अनिद्रा आदि समस्या आउन दिँदैन । निरन्तर उपवास गर्ने व्यक्ति भावनात्मक रूपमा शान्त रहन्छन् । 

बेफाइदा

‘उपवास बस्ने तरिका भने पहिले जस्तो छैन’ पोषणविद् अनुश्रीले भनिन्, ‘पहिले उपवासको अघिल्लो दिन हल्का खाना खाने र माछा–मासु नखाने गरिन्थ्यो ।’ पछिल्लो समय एक महिनाअघिदेखि नै दर खाने चलन छ । दरमा गह्रौं खाना, अल्कोहल पनि समावेश गरिने भएकाले शरीरलाई क्षति पुर्‍याउने उनले बताइन् । 

आयुर्वेद चिकित्सक पुनेश्वरले यसरी भारी खाना महिनौंदेखि खाएकाले एक दिनको उपवासले नपुग्ने बताए । ‘त्यसैले उपवासको अघिल्लो दिन सही पौष्टिक आहार सेवन गर्नुपर्छ, जसले डिहाइड्रेसन, चक्कर लाग्ने र कमजोरी हुनबाट बचाउँछ’ उनले भने, ‘कसैकसैलाई लामो समयसम्म भोको बस्दा चिड्चिडेपन वा रिस उठ्छ । कसैलाई टाउको दुख्ने वा शरीरमा समस्या देखिन सक्छ । उपवास सकिएपछि तुरुन्तै भारी खाना खाँदा पेटसम्बन्धी समस्या निम्तिन सक्छ ।’ 

उपवास कसका लागि

‘उपवास स्वस्थ व्यक्तिहरूका लागि मात्र हो’ अनुश्रीले भनिन्, ‘शारीरिक तथा मानसिक रोग भएकाहरूलाई उपवास बस्दा उल्टो क्षति हुन्छ ।’ उनका अनुसार नियमित औषधि सेवन गरिरहेकाहरू उपवास नबस्नु नै बेस हुन्छ । भोको पेटमा औषधिको सेवनले ग्यास्ट्राइटिसको समस्या निम्त्याउने खतरा बढ्छ । ग्यास्ट्राइटिसको समस्या, उच्च रक्तचाप एवं मधुमेहका बिरामीहरूका लागि उपवास हानिकारक साबित हुनसक्छ । यस्ता बिरामी भोकै बस्दा स्वास्थ्यमा पेट पोल्ने समस्या हुनसक्छ । यसैगरी, मधुमेहका बिरामी भोकै बस्दा रगतमा सुगरको मात्रा कम भएर ‘हाइपोग्ल्यामेसिया’ हुनसक्छ । उच्च रक्तचाप भएकाहरू पानी नपिई व्रत बस्दा ‘डिहाइड्रेसन’ हुन सक्छ । टाउको दुख्ने, रिंगटा लाग्ने महिलाहरूलाई उपवास नबस्न उनको सल्लाह छ । उनले भने, ‘अझ डिहाइड्रेसन भएर टाउको बेस्सरी दुख्न सक्छ ।’ 

त्यस्तै, भर्खरै महिनावारी भएकाहरूले, स्तनपान गराइरहेका महिलाहरूले, सुत्केरी तथा गर्भवती महिलाहरूले उपवास बस्दा स्वास्थ्यमा बेफाइदा पुर्‍याउँछ । यस्ता महिलाहरूमा ‘इनर्जी लेभल’ कम भएको हुन्छ । उनीहरूमा ‘एनेमिया’ हुने भएकाले रिंगटा लागेर बेहोस हुन सक्छन् । 

के खाने ?

उपवासमा पूरै भोको (निराहार) बस्नु हुँदैन । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । भिटामिन ‘सी’ र पोटासियम पाइने खाना खानुपर्छ । उपवासका क्रममा स्याउ सबैभन्दा राम्रो फल हो । यसले तौल नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्छ । साथै पेट भरिएको महसुस हुन्छ । त्यस्तै, दूध पिउनाले शरीरमा क्याल्सियम मिल्छ र हड्डी बलियो हुन्छ । उपवासका लागि ‘ड्राइफ्रुट्स’ पनि उपयुक्त मानिन्छ । यसमा प्रशस्तमात्रामा क्यालोरी पाइन्छ । सलाद खानु पनि फाइदाजनक मानिन्छ । 

उपवासपछि

धेरैजसोले तीजका दिन निराहार व्रत बसेर भोलिपल्ट मात्र टन्नै खान्छन्, जुन गलत हो । यसले शरीरमा असर गर्छ । त्यसैले पहिला सादा पानीको सेवन गरेर उपवास तोड्नुपर्छ । त्यसपछि कालो चिया वा ताजा फलफूलको जुस खान सकिन्छ । त्यसपछि मात्र हल्का खाना खानु उचित हुन्छ । भोको पेटमा सुरुमै भारी खाना खानु हुँदैन किनभने शरीरले खानालाई राम्रोसँग पचाउन सक्दैन । 

‘पानी नपिई उपवास हानिकारक’

अनुश्री आचार्य, पोषणविद् द न्युट्रेसन क्योर नेपाल

उपवासका राम्रा/नराम्रा दुवै पक्ष छन् । उपवास ‘म बस्न सक्छु’ भन्ने लाग्यो भनेमात्र बस्नुपर्छ । सातामा एकपटक उपवास बस्दा शरीरलाई धेरै फाइदा पुग्छ । तर, पानी पनि नपिई बस्दा शरीरमा ‘डिहाइड्रेसन’ हुन सक्छ । ग्यास्ट्राइटिस हुने, पेट पोल्ने समस्या देखिन्छ । पछिल्लो समय महिना दिनअघि नै दर पार्टीको रूपमा मनाइन थालेको छ । भोलि उपवास छ आज टन्न खाएर बस्ने होइन । हामीले खाएको खाना इनर्जीमा रूपान्तरण हुन्छ । त्यो प्रयोगमा आएन भने याटमा परिवर्तन हुन्छ र टक्सिनका रूपमा जम्मा भएर बस्छ जसले शरीरलाई असर गर्छ । उपवास बस्दा हामी भोको हुन्छौं । शरीरमा भएका मृतकोशिकाहरूलाई भोको स्वस्थ कोषले खाइदिन्छ । शरीरमा भएका विकारहरूलाई उपवास बस्दा स्वस्थ कोषले खाइदिने भएकाले हाम्रो शरीरलाई फाइदा पुग्छ । 

‘शरीरलाई हल्का बनाउँछ ।’

डा. पुनेश्वर केशरी

आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभाग टेकु

 

उपवास के हो ?

उपवासले शरीरलाई हल्का बनाउँछ । उपवास दुई प्रकारको हुन्छ । निर्जल र सजल (पानी वा पेय पदार्थ खाएर बसिने व्रत) । हामीले खाने खाद्य पदार्थ दुई भागमा बन्छ । अन्नको सार भागबाट धातु र कित्त भागबाट मल बन्छ । धातु शरीरका लागि फाइदाजनक हुन्छ । खाना खाएपछि शरीरको पाचन प्रणालीले पचाउन नसकिने आमरस बन्छ । गरिष्ठ भोजन, पच्न गाह्रो हुने खाना, जंक फुडले शरीरमा आमरस उत्पन्न गर्छ । जसले हाम्रो शरीरमा विषको काम गर्छ । 

उपवासले आमाशय र आन्द्रा उत्पन्न हुने आमरसलाई पचाउने काम गर्छ । त्यसकारण निश्चित अवधिपछि उपवास बस्नु शरीरका लागि स्वस्थकर मानिन्छ । त्यस्तै धातु बन्ने प्रक्रियामा आमरस उत्पन्न भएको छ भने पनि रोक्छ । उपवास नवज्वर अर्थात् ज्वरोको प्रारम्भिक स्थितिमा सर्वोत्तम औषधि हो । यतिबेला मेटाबोलिज्म रेट कम भएको हुन्छ । त्यसैले उपवासले फाइदा पुर्‍याउँछ । 

उपवास दुब्लो–पातलो, धातु कम भएकाहरूलाई फाइदाजनक हुँदैन । त्यसकारण उपवास बस्दा शारीरिक तथा मानसिक अवस्था कस्तो छ, रोगले ग्रस्त भएकाहरूलाई उचित हुँदैन । 

उपवास बस्दा उमेर र प्रकृतिलाई ध्यान दिनुपर्छ । बालक, वृद्ध, लामो दूरी यात्रा तय गरेका, श्रमले थाकेका एवं गर्भिणी महिलाहरूले उपवास बस्नु हुँदैन । पछिल्लो समयमा तीजमा खाइने दरका रूपमा कुसंस्कृति भित्रिएको छ । भारी खाना, मासु, मदिराको सेवन गरिने भएकाले एकदिनको उपवासले पुग्दैन । एकदिनमा आमरस पचाउन सकिँदैन । उपवास बस्नु अघिल्लो दिन लघु र सुपाच्य पदार्थ खानुपर्छ । 

उपवास सकिएपछि आमरस पाचन भएको स्थिति हुन्छ । त्यसैले लगत्तै ठोस खानेकुरा खानुहुँदैन । सजिलै पच्न सक्ने खानेकुरा खानुपर्छ । उपवास सकेपछि सुँठो पकाएर खानुपर्छ । अदुवा पानी उमालेर खान सकिन्छ । सुँठो र अदुवा पानीले पच्न बाँकी भएको आमरसलाई सजिलै पचाउँछ । उष्ण जल अर्थात् मनतातो पानी खाएमा शरीरमा विषाक्त पदार्थ रहँदैन । 

 

 Image