आर्थिक विकासमा महिला सक्रियता

सुदर्शन अधिकारी

श्रावण ४, २०७९ विभिन्न समूहमार्फत महिलाहरू आर्थिक विकास र नेतृत्व विकासमा सक्रिय छन् । ग्रामीण क्षेत्रमा मात्र नभई सहरी क्षेत्रमा समेत थोरै रकम संकलन गरी ठूलो पुँजी बनाउनमा उनीहरू क्रियाशील छन् । समूहका नाममा स्थापित संस्थाले गर्ने कार्यलाई सहकारीका नामले पनि चिनिन्छ । ‘आमा समूह’, ‘महिला समूह’ लगायतका नाममा खुलेका वैधानिक संस्थाबाट हाम्रो समाजमा आर्थिक क्रियाकलाप सुचारू भएका छन् । महिलाको नेतृत्वमा पुँजीको सदुपयोग मात्र होइन सानो रकमलाई ठूलो पुँजीका रूपमा विकास गर्दै विविध व्यवसाय सञ्चालन गरिएको छ । यसले रोजगारी, नेतृत्व विकास र बचत गर्ने बानीको विकासमासहयोग भएको छ । समृद्ध बन्ने बाटोमा लागेका महिला आर्थिक क्षेत्रको उत्थानमा निकै सशक्त छन् ।

उद्यमशीलताको विकास चानचुने काम होइन । त्यसकै लागि राज्यले करोडौं रकम खर्च गर्ने गरेको छ । सीप विकासका लागि ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखिने भएकाले पनि ग्रामीण क्षेत्रमा महिला विकासका अनेकौं सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । आफ्ना वरपर भएका स्थानीय तहभित्रका साधन र स्रोतको परिचालन गर्दै अनेकौं सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम/व्यवसाय सञ्चालन गरिएका छन् । व्यवसायले अन्ततः नाफा प्राप्त गरी आर्थिक रूपले सबल बन्ने प्रक्रियाको आधार निर्माण गर्छ । तितौरा,आलुचिप्स,सेनेटरीप्याड, दालमोठ, मैनबत्ती, साबुन, सिलाइ–बुनाइ आदि सीपमूलक व्यवसायले महिला सशक्तीकरणमा पनि टेवा पुगेको छ ।

घरायसी काम गरेर समय निकाली मासिक बैंक, ब्याज तथा साँवा फिर्ता, संकलन गरी व्यवस्थित र उत्पादनमुखी कार्यमा लगाउने कार्य आफैमा चुनौतीपूर्ण छ । पुरुषप्रधान समाजमा महिला घरबाहिर निस्किएर आ–आफ्नो व्यवसायमा संलग्न र सक्रिय रहँदै जीविकोपार्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुसकारात्मक र आर्थिक विकासका लागि प्रशंसायोग्य कार्य हो । यसबाट आफूलाई केही रकम आवश्यक पर्दा तत्काल लिन पाइने र घरमा आवश्यक पर्ने दैनिकी खर्चको जोहो पनि हुन्छ । बालबालिकालाई कापी, कलम,किताब आदिको जोहो गरी समूहको नियमानुसार दुईवटा उन्नतजातका पाठी खरिद गरेर पाल्दा एक वर्षमा एक–डेढ लाख बनाउने महिलाहरू पनि प्रशस्तै भेटिन्छन् ।

हाम्रो समाजमा रहेका आर्थिक अवस्थाको नियन्त्रण, नियमित र निर्देशित गर्नका लागि पनि आर्थिक संस्था गठन गरिएका हुन्छन् । प्रत्येक आर्थिक संस्थामा निश्चित पद्धति, सिद्धान्त, व्यवहार र आदर्शहरू हुन्छन् । यसैबाट समाजमा आर्थिक व्यवहार हुन्छ । आय आर्जनका लागि काम गर्ने संस्था पनि औपचारिक र अनौपचापरिक हुन्छन् । सामान्यतया अनौपचारिक संस्था भन्नाले घरपरिवारमा गरिने कार्यलाई बुझिन्छ । जहाँ काम गरेबापत ज्याला वा पारिश्रमिक पाइँदैन । औपचारिक भन्नाले बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यहरू पर्छन् । यस्ता संस्थामा काम गरेपछि निश्चित रकम बोनस एवं सञ्चय कोषजस्ता विविध शीर्षकमा सुविधा र पारिश्रमिक पाइन्छ ।

वर्तमान समयमा प्रादेशिक र स्थानीय तहसम्म विकास व्यवस्थापनको क्षमता बढाउँदै सबै तहमा जवाफदेही, स्वच्छ र प्रभावकारी विकास प्रशासन कायम गर्नु महत्वपूर्ण रणनीतिका रूपमा रहेको छ । यसलाई कार्यान्वयन गर्न सकियो भने आर्थिक वृद्धिदर बढ्न गई समग्रमा गरिबी निवारण गर्न सहयोग पुग्छ । महिलाहरूबाट सञ्चालित सबै संस्थामा स्थानीयदेखि संघसंस्थाले उत्प्रेरणा जगाउने कार्य गर्नुपर्छ । सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य भनेर परिचित हाम्रो देशमा गरिबी निवारणमा क्रमिक रूपले पर्याप्त काम गर्नुपर्ने देखिन्छ । जुन कामका लागि स्थानीय स्तरमा महिला सहभागिता, महिला सशक्तीकरण र महिला नेतृत्वका साथ आर्थिक सबलता हासिल गर्नुपर्छ । जसका लागि हक, अधिकार, समाज, संस्कृति, मूल्य, मान्यता र परिवेश सबै तत्वलाई गम्भीरतापूर्वक मनन गरी आय आर्जन, रोजगारी र पुँजी संकलनमा जोड दिनुपर्छ ।

महिला तथा बालबालिका मन्त्रालयमार्फत कार्यक्रम सञ्चालन भएको पनि दुईदशक बितिसक्यो । अझै पनि समाजमा महिला भनेका दोस्रो दर्जाका नागरिक हुन् भन्ने सोच प्रभावकारी नै छ। शिक्षित, सीपयुक्त र दक्ष जनशक्तिका रूपमा वित्तीय संस्था विश्वविद्यालय, विद्यालयलगायत निजी क्षेत्रका अधिकांश कार्यालयमा महिलाहरूको उपस्थिति बढेको देखिन्छ । मूलतः आरक्षण र समावेशिताको सिद्धान्तलाई स्वीकार गरेपछि महिला सहभागितास्वास्थ्य, शिक्षा एवं वित्तीय संस्थाहरूमा बढेर गएको देखिन्छ । मानवलाई सर्वप्रथम आर्थिक रूपमा सबल बनाउनुपर्ने हुन्छ ।

आर्थिक रूपले सक्षम भएपछि मात्र अन्य क्षेत्रमा जाने मार्ग सुगम बन्ने रहेछ । त्यसैले आर्थिक पक्ष बलियो बनाउनका लागि छरिएर रहेको नगदलाई संकलन गरी उत्पादनका क्षेत्रमा आफ्नै समाजमा रहेका सीपको उपयोगबाट आय आर्जन गर्न सकिएकाले नै सहकारी फस्टाउँदै गएका हुन् । आर्थिक हिसाबमा मजबुत भएपछि शिक्षा, स्वास्थ्य, सञ्चार एवं पोषणलगायतका सबै क्षेत्रमा सहज पहुँच पुग्छ । सामान्य कार्यका लागि पनि ठूलो रकम खर्चनुपर्ने अवस्था छ । एक जना श्रमिकको ज्याला हजारदेखि पन्ध्र सयसम्मलाई न्यूनतम भन्नुपर्ने भएको छ । घर निर्माण, प्लम्बिङ, वायरिङ एवं पेन्टिङलगायतका कार्यमा पनि पर्याप्त आर्जन गर्न सकिन्छ ।

अल्पकालीन सीपबाट व्यक्ति दक्ष बनेर आफ्नै समुदायमा सहजै रोजगारी प्राप्त गर्न सकिन्छ । सामान्यतया एकदिन धान चुट्ने कामका लागि प्रतिव्यक्ति हजारदेखि पन्ध्र सय भन्ने गरिन्छ । त्यसमा खाजा र चियासमेत जोडिन्छ । त्यसैले कम्तीमा एक दिनको पारिश्रमिक दुई हजार हुन आउँछ । कृषिमा अल्पकालीन रोजगारी मात्र प्राप्त हुने भएकाले पनि अवसरको लाभ लिने गरिन्छ । अर्थव्यवस्था अथवा आर्थिक अवस्थाले हाम्रो समाजको सामाजिक एवं सांस्कृतिक सम्बन्धमा समेत परिवर्तन ल्याउँछ । चर्चित समाजशास्त्री तथा दार्शनिक कार्ल मार्क्सले पनि आर्थिक पक्षलाई सामाजिक क्रियाको केन्द्रबिन्दु मान्छन् ।

हाम्रो समाजमा आर्थिक संस्था अनेकौं छन् । हरेक संस्थाका आ–आफ्नै उद्देश्यर कार्य हुन्छन् । आर्थिक संस्थाहरूले मूलभूत रूपमा तीनवटा पक्षलाई महत्व दिएका हुन्छन् । प्रथम भनेको के–कस्ता वस्तु तथा सेवाको कुन मात्रामा उत्पादन गर्ने भन्ने विषय हो । दोस्रो समाजमा रहेका प्राकृतिक स्रोत र साधनलाई के–कसरी अपेक्षित वस्तु तथा सेवाको उत्पादनमा लगाउन सकिन्छ भन्ने र तेस्रो कसका लागि वस्तु तथा सेवाको उत्पादन गर्ने भन्ने हो ।

महिला समूह वा संगठन मिलेर गर्न सकिने विविध क्षेत्र छन् । रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, फोहोर व्यवस्थापन, कृषिजन्य उत्पादन, त्यसको बजारीकरण, भण्डारण, प्रशोधनलगायतका धेरै कार्य पर्छन् । यी सबैबाट रोजगारी प्राप्त भई आय आर्जनका साथै वातावरणको संरक्षण, नेतृत्वको विकास, स्वस्थ जीवनयापन गरी मानवको चौतर्फी विकासमा टेवा पुग्छ । सीप विकासबाट स्वरोजगार बन्दै व्यस्त जीवन बिताउँदै आफ्ना साथीलाई समेत उत्प्रेरित गरी थप रोजगारी र आय आर्जनका कार्य गर्न सकिन्छ ।

स्वेटर बुन्ने, कपडा सिलाउने, घर सजावटका सामग्री बनाउने र कागजका चित्रकलामा रंग भर्ने थाङका, पौभा, मिथिलालगायतका अनेकौं कलाका माध्यमले रोजगारी बनेर प्रशस्त आम्दानी गर्न टाढा जान र ठूलो लगानीको खाँचो पर्दैन । काम गर्ने जाँगर र सीप मात्र हुनुपर्छ घर–घरमा रोजगारी स्वयं सिर्जना गर्न सकिन्छ । अर्काको अधीनमा परेर दुर्बचन सहनुभन्दा स्वरोजगार बन्नु उत्तम हुन्छ ।

लेखक विश्वशान्ति क्याम्पसका समाजशास्त्रका अध्यापक हुन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>