Successfully Copied

शुभेच्छाले ल्याइन क्यान्सरबारे पुस्तक

क्यान्सर रोगलाई जितेकी शुभेच्छा घिमिरेले नेपाली पाठकसमक्ष ‘क्यान्सर, खानपान र म’ पुस्तक ल्याएकी छन् ।

क्यान्सर रोगलाई जितेकी शुभेच्छा घिमिरेले नेपाली पाठकसमक्ष ‘क्यान्सर, खानपान र म’ पुस्तक ल्याएकी छन् । सन् २०२० मा अंग्रेजीमा लेखिएको पुस्तक ‘क्यान्सर, करी एण्ड मी’ लाई उनले नेपाली भाषामा ल्याएकी हुन् । पुस्तकको खण्ड एकमा उनले आफ्नो क्यान्सर यात्राबारेमा लेखेकी छिन् भने दोस्रो खण्डमा नेपाली भान्सामा पाइने जडीबुटी र त्यसले आफ्नो स्वास्थ्यमा पारेको प्रभावलाई समेटेकी छन् । शुभेच्छाले तेस्रो खण्डमा भने आफू निको भइसकेपछिको जीवन शैली र सचेतनामूलक विषयवस्तु समेटेकी छन् ।

लेखक शुभेच्छाले पुस्तकमा आफ्ना अनुभवहरू साटासाट गर्ने मात्रै नभएर क्यान्सरपछि कस्तो खानपान र दिनचर्यामा ध्यान दिनुपर्छ भन्ने विषयलाई सजिलो शैलीमा बुझाउने प्रयास गरेकी छन् । ३२ वर्षको उमेरमा क्यान्सर दोस्रो स्टेजमा पुगिसकेको थाहा पाएको स्मरण गर्दै उनी भन्छिन्, ‘डेढ वर्ष उपचारमै बित्यो । शारीरिक रूपमा ठीक भए पनि मानसिक रूपमा ठीक हुन निकै समय लाग्यो । निको हुँदै गएपछि यसका बारेमा बोल्नुपर्छ, जनचेतना फैलाउनुपर्छ भन्ने लाग्यो । क्यान्सरबारे बताउन र डाक्टरको पहुँचसम्म पुग्न धेरै गाह्रो मान्ने मान्छेहरू अझै छन् । सचेतना होस् भन्ने उद्देश्यले पुस्तक लेख्ने आँट गरें ।’ पुस्तकबारे थप चर्चा गर्दै उनले नेपाली समाजमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेर संवाद नहुने गरेको बताइन् । 

शुभेच्छालाई पहिलो पटक क्यान्सर देखिँदा उनी अक्सफोर्ड युनिभर्सिटीमा अध्ययरत थिइन् । क्यान्सर भएपछि पढाइ छुट्यो तर निको भएपछि उनले एमबीए पूरा गरिसकेकी छन् । डाक्टरले बच्चा पाउन सक्दिनौ कि भनेका थिए तर उनी २१ महिने छोरीकी आमा बनेकी छन् । शुभेच्छा भन्छिन्, ‘आफन्त तथा श्रीमान्को साथ पाएकी छु । सकारात्मक सोच्छु । नियमित रूपमा प्राणायाम तथा व्यायाम गर्छु । घरमै पाकेका खानेकुरामा बढी जोड दिन्छु ।’

पुस्तकको नेपाली अनुवाद प्राध्यापक महेश पौडेलले र सम्पादन संयोजन डा. अरुणा उप्रेती र युवराज नयाँघरेले गरेका हुन् । डा. अरुणाले लेखकले आफूले मात्र नयाँ जीवन नपाएर नयाँ मान्छेलाई पनि जीवन दिएको बताइन् । उनले भनिन्, ‘क्यान्सर जितिसकेपछि शुभेच्छाले सन्तान जन्माइन् । नेपालमा धेरै महिला स्तन तथा पाठेघर क्यान्सरबाट पीडित छन् । धेरै महिला उपचारको दायरामा आउन सकेका छैनन् । उनीहरूलाई परिवार, समाज र राज्यले नै बाहिर आउने सहज वातावरण बनाइदिनुपर्छ ।

 Image