छाउगोठलाई ‘नाईं’

डा. अरुणा उप्रेती

जेष्ठ २३, २०७९ सुदूरपश्चिमकी छोरी हुँ म । त्यहाँ जाँदा म बारम्बार सोच्ने गर्छु, ‘मेरा बाजे ८० वर्षअघि काठमाडौं नआउनुभएको भए म पनि छाउगोठमा यौन शोषणको शिकार, बाघको टोकाइ वा संस्कृतिले नै गरेको बलात्कारबाट मर्न सक्थें । त्यस मानेमा म भाग्यमानी हुँ, छाउपडीमा मलाई बस्नु परेन ।

छाउगोठमा आफ्नै श्रीमती र दुई नाबालक छोराको जलेर मृत्यु भएको सुन्दा ती महिलाका बाबु र  श्रीमान्को हालत के भयो होला भनेर अनुमान पनि गर्न सक्दैनौं । यस्तो व्यथा मनमा राखेर बस्ने पुरुषहरूले छाउगोठमा नराखेको भए यो दुर्घटना हुँदैन थियो’ भनेर पक्कै सोचे होलान् । छाउगोठलाई गैरकानुनी घोषणा गरेको पनि महिनौं भइसक्यो । तर, त्यो दुःखद मृत्युको दोषी ‘को’ भनेर कसैले अझै छानबिन गरेका छैनन् । अब स्थानीय वडा र स्थानीय सरकारलाई यो प्रथा हटाउन सक्रिय बनाउने बेला भएन र ?

वर्षौंदेखि छाउगोठमा किशोरी र महिलाहरूको मृत्यु भइरहँदा पनि देशको राजनीतिक नेतृत्व चुप रहनुले उनीहरू यो प्रथाको विरोधी होइनन् भन्ने जनाउँछ । अझ, राजनीतिक दलका भातृ संगठनहरू सानोतिनो विषयमा गाडी, घर र पर्खालमा तोडफोड गर्छन् । छाउगोठमा चेलीको मृत्यु हुँदा उनीहरू मौन बस्नुको अर्थ अब खोज्नुपर्छ । 

०४६ देखि विकासका अनेक नारा लगाएका राजनीतिक पार्टीले त्यहाँका जिल्लालाई छाउगोठमुक्त गराउन चाहेका भए सक्थे । तर ‘भोट बैंक’ का कारण उनीहरूका लागि महिलाको जीवनको कुनै मूल्य नै भएन । यति भन्दाभन्दै पनि पछिल्लो ४–५ वर्षमा म सुदूरपश्चिम, बझाङ, बाजुरा गएर महिलाहरूका अवस्थाबारे कुरा गर्दा धेरैले ‘हामीले त छाउगोठलाई ‘नार्इं’ भनिसकेका छौं’ भन्ने प्रतिक्रिया आउनु सकारात्मक छ । 

अछाम रामारोशनका जलु गिरीलाई भेट्दा उनीकहाँ छाउगोठ देखिएन । उनका छोरा भारत मुम्बईमा काम गर्दा रहेछन् । उनले भनेकी थिइन्, ‘माओवादीको पालामा छाउगोठ भत्काइएको थियो । संकटकालको बेला सुरक्षाको दृष्टिले पनि बाहिर बस्न गाह्रो हुँदा हामी घरमै बस्यौं छाउ हुँदा । तर गाई–भैंसी दुहुने काम छाउ हुँदा गर्दैनौं र दुहुनो पनि खाँदैनौं ।’ त्यो सुनेर छोराले आमा जलु गिरीको पोल खोल्दै भनेका थिए, ‘किन हो आमा झूटो बोलेको ? तपाईंले त गाई–भैंसी दुहुनुभयो नि त, छाउ हुँदा ।’ जलु गिरीले अलिकता टाउको झुकाएर केही लाज मानेजस्तो गर्दै भनेकी थिइन्, ‘हो त नि, के गर्नु त्यो त विवशता नै थियो नि त । मैले गाई नदोहे दूध दिन मानेन । गाई दोहेपछि त दूध–दही नखाने कुरै भएन ।’ जलुको कुरा रमाइलो लाग्यो किनभने छाउ भएको बेला कुनै पनि महिलाले गाई–भैंसी छोए वा दूध खाए जनावर मर्छन् भन्ने अन्धविश्वासलाई उनले आफ्नो मनबाटै हटाइदिएकी थिइन् । 

त्यसैगरी, डोटीकी गंगादेवी विष्ट, (महिला स्वयंसेविका) ले छाउपडीबारे भनेकी थिइन्, ‘छाउको बेलामा छोए भने धामी काम्छन् रे, बिरामी पर्छन् रे भन्थे । तर मैले त के हुँदोरहेछ भनेर एकपटक मेलामा जाँदा धामीसँगै ढेसिएर बसें । खोइ ती धामीलाई केही भएन । तिनीहरूलाई थाहा नपाए केही हुँदैन रहेछ ।’ 

पसलमा चिया पकाउँदै कान्छी मायाले भनेकी थिइन्, ‘मेरो पसल बस स्टप नजिकै छ, दिनमा २०–३० जना भात खान आउँछन् । म छाउ भएर छाउगोठमा गएर बसें भने मेरो काम कसले गर्छ ? म त कसैलाई पनि छाउ भएको भन्दिन, कसैले सोध्दैनन् पनि । यो त खाली ढकोसला मात्र हो । म त कुनै वास्ता गर्दिन । पसलमा धामी, झाँक्री एवं बूढाबूढी आउँछन्, खान्छन् । अहिलेसम्म मैले छाउ भएको बेला पकाएर खान दिएकाहरू कामेका छैनन्, बिरामी पनि परेका छैनन् ।’

यी भनाइहरूले कसैले आफू छाउ भएको जानकारी दिएमात्र समाजले केही बन्देज लगाउँदो रहेछ भन्ने पुष्टि हुन्छ । तर महिलाले आफू छाउ भएको विषयमा केही भनेनन् भने वास्तै नहुने रहेछ ।

एक माओवादी नेतृले भनेकी थिइन्, ‘महिनावारी हुनु भनेको फल लाग्नको लागि फूल फुल्नु हो । धर्मको व्याख्या राम्रोसँग बुझेकाले यसरी मानिसले महिलालाई छाउगोठमा राखेका हुन् । यो कुप्रथा हो । हामीले यस विषयमा धेरै काम गर्‍यौं ।’ तर अहिले धेरै माओवादी नेतृ नै छाउ गोठमा बस्दा रहेछन् ।

दैलेखमा धूपी कार्की शरीर कमाउँदै खुला सानो गोठमा आगो तापेर जाडो छल्न खोज्दै थिइन् । चिसोमा बस्दा ‘तपार्इंलाई गाह्रो हुँदैन ?’ भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘हाम्रा पुर्खादेखि चलिआएको चलन हो । तपाईंहरूलाई के खाँचो पर्‍यो ? हाम्रा देउता हामीलाई बचाउँछन् । जबसम्म देवीदेवता छन् तबसम्म हामीले छाउपडीबाट छुटकारा पाउन सक्दैनौं ।’

चार वर्ष पहिले बाजुरा जाँदा ११ कक्षामा अध्ययनरत २० वर्षीया दुर्गा बूढासँग भेट भएको थियो । मार्तडीमा एउटा सानो पसल चलाएर बसेकी रहिछन् । ‘घरमा बस्दा त छाउ हुँदा गोठमा बस्नुपर्छ । यहाँ दाजु र भाइसँग भाडा लिएर बसेका छौं । कता छाउगोठमा जानु ? फेरि हाम्रो चिया पसल छ यहाँ, कसैलाई पनि छाउ भएको भन्दिन । घरमा खाना पनि पकाउँछु । मलाई पनि केही भएको छैन’ दुर्गाले खुलेरै भन्दा खुसी लागेको थियो ।

मार्तडीको एउटा तालिममा आफ्नो बच्चाको रेखदेखका लागि सासूसहित आएकी कुन्तीले भनेकी थिइन्, अहिले म महिनावारी भएकी छु, यो कुरा मेरी सासूलाई थाहा छैन । उहाँलाई थाहा भयो भने मलाई कोठामा सुत्न दिनुहुन्न । तर नभन्दा त आनन्द छ । उहाँलाई ‘काम्ने’ ज्वरो आएको छैन ।’ डोटीका मानबहादुर थापाले भैंसीले आमालाई कसरी बदल्यो भन्ने जानकारी गराएका थिए । 

‘आमा छाउ हुँदा गाई–भैंसी पनि छुनु हुन्नथ्यो । एकपटक बुवाले ४० हजार रुपैंयाँमा भैंसी किनेर ल्याउनुभयो । भैंसीले आमाबाहेक कसैलाई दुहुन दिएन । एकदिन आमा पर सरेको बेला समस्या भयो । दूध गानिएर भैंसी करायो । त्यसपछि आमाले आफ्ना सबै पुराना मान्यता एकापट्टि राखेर दूध दुहुनुभयो । सबै गाउँलेले अचम्म माने । त्यो दूध घरभित्र नल्याएर सबैले बाहिर तताएर खायौं’ उनले भनेका थिए, ‘कसैले परिवर्तन गर्न नसकेको मेरी आमा भैंसीको अगाडि विवश हुनुभयो । भैंसी त अहिले हृष्टपुष्ट छ नै आमाको मन पनि परिवर्तन भएको छ । विभिन्न निकायका कुरा गर्ने संस्थाहरूले गर्न नसकेको काम एउटा भैंसीले गरिदियो । अहिले त आमा घरभित्रै बस्न थाल्नुभएको छ ।’ नेताभन्दा त भैंसी पो जागरुक रहेछ, मैले भन्दा त सबै रमाएका थिए । सामाजिक कार्यकर्ता सुनीता बूढाले भनेकी थिइन्, ‘म दुई–तीन महिनामा एकपटक मात्र छाउ भएको कुरा सासूलाई भन्छु । छाउ भएका बेला घरमा बस्दा, भान्सामा जाँदा केही नराम्रो हुँदैन रहेछ भन्ने थाहा पाइसकेपछि डराउन छाडें । श्रीमान्ले पनि मलाई यसमा साथ दिएका छन् । यी घटना र भनाइहरूले के देखाउँछ भने परिस्थितिवश पुराना मान्यता र अन्धविश्वासको अन्त्य निश्चित छ । 

अहिले पश्चिमका धेरै मानिसले छाउपडी प्रथालाई गरिबीसँग जोडेर हेर्ने गरेका छन् । तर, इट्टा र कङ्क्रीटले बनेका दुईतल्ले घरका किशोरी र महिलाहरू छाउगोठमा बस्छन् । त्यसैले छाउपडी गरिबीको उपज होइन, पितृसत्ताको उपज हो । यो राजनीतिसँग गाँसिएको विषय पनि हो । परिवर्तनलाई दीर्घकालीन बनाउन दबाब दिएर मात्र पुग्दैन, चेतना जगाउनु पनि आवश्यक छ । छाउपडी प्रथाले दिएको पीडा र सास्ती हेर्दा चेतनामूलक र पैरवीमुखी कार्यक्रम सञ्चालन गरेर मात्र पुग्दैन । छाउपडी प्रथाको अन्त्य गर्न ल्याइएको कानुनलाई कठोरतापूर्वक कार्यान्वयनका लागि पहल जरूरी छ । सुदूरपश्चिम र कर्णालीका महिलाहरूको जीवन गाई–गोरुको भन्दा पनि कम मानेर होला राजनीतिक नेताले ‘छाउगोठ’ लाई ‘नार्इं’ भन्न नसकेका ?

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>