Successfully Copied

उफ् गर्मी...

गर्मी मौसममा विशेषतः खानपानप्रति सजग हुनु आवश्यक छ । खाद्य प्राविधिक भारती अधिकारीका अनुसार गर्मी मौसममा सावधानी अपनाउनुपर्ने भनेकै खानपान हो । ‘विभिन्न रोग गलत खानपानबाटै लाग्ने हुन्’ उनले भनिन्, ‘यो मौसममा जंक फुड, बासी खानेकुरा, सडक पेटीमा बेच्न राखेका र झिँगा भन्किएका खानेकुराबाट टाढा

गर्मी मौसममा विशेषतः खानपानप्रति सजग हुनु आवश्यक छ । खाद्य प्राविधिक भारती अधिकारीका अनुसार गर्मी मौसममा सावधानी अपनाउनुपर्ने भनेकै खानपान हो । ‘विभिन्न रोग गलत खानपानबाटै लाग्ने हुन्’ उनले भनिन्, ‘यो मौसममा जंक फुड, बासी खानेकुरा, सडक पेटीमा बेच्न राखेका र झिँगा भन्किएका खानेकुराबाट टाढा रहनुपर्छ । शरीरलाई सक्दो हाइड्रेड राख्नुपर्छ ।’ उनले गर्मीमा प्रशस्त मात्रामा पानी पिउनुका साथै ताजा तरकारी र फलफूल सेवन गर्नुपर्ने बताइन् । सिनियर कन्सल्टेन्ट फिजिसियन डा. रञ्जितकुमार झा भारतीको भनाइसँग सहमत छन् । उनले शरीरमा पानीको मात्रा घट्नेबित्तिकै विभिन्न खाले रोग लाग्ने र सानो रोगका कारण पनि अन्य ठूला समस्या आउन सक्ने बताए । ‘झाडापखाला, लु लाग्ने, टाइफाइड र जन्डिसलगायत छालासम्बन्धी रोग पनि यही मौसममा बढी देखा पर्छन्’ उनले भने, ‘यस्ता रोगहरूबाट बच्न सबैभन्दा पहिले स्वच्छ र सफा पानी दैनिक ८ देखि १० गिलास पिउनु जरुरी हुन्छ । साथै झोलिलो पदार्थ र रस बढी भएका फल सेवन गर्नु उचित हुन्छ ।’

यो मौसममा सौन्दर्य र पहिरनमा पनि उत्तिकै सावधानी अपनाउनुपर्छ । फेसन डिजाइनर दीपा गौतम थापाका अनुसार अत्यधिक गर्मीमा पोल्ने खालका फेब्रिक प्रयोग गर्नु हुँदैन । ‘कटन, लिनेनजस्ता शीतल फेब्रिक प्रयोग गर्दा शरीरलाई चिसो बनाउनुका साथै छालामा समस्या आउन दिँदैनन्’ उनले भनिन्, ‘यो बेला ह्वाइट, अफ ह्वाइ, लाइट यल्लो, ग्रिनजस्ता लाइट सेडेड रंग छनोट गर्नु उपयुक्त हुन्छ ।’ त्यसैगरी गर्मीमा सौन्दर्यमा ध्यान दिन सकिएन भने अनुहार र कपाल बिग्रिन सक्छ । सौन्दर्यकर्मी रीता सिलवालले गर्मीमा ब्युटी केयरका विभिन्न उपाय अपनाएर आफूलाई सुन्दर र तरोताजा राख्न सकिने बताइन् । ‘गर्मी मौसममा बाहिर चर्को घामको राप र तापका साथै सुख्खा हावा र प्रदूषण उत्तिकै हुन्छ । यस्तो बेला अनुहार, केश र हातखुट्टा जोगाउन विभिन्न उपाय अपनाउन सकिन्छ’ उनले भनिन्, ‘सुख्खा छाला छ भने राति अनुहारमा शुद्ध दूधको तरले मसाज गर्न सकिन्छ । यसो गर्दा अनुहार मुलायम हुनुका साथै चमकदार बन्छ । उनले महिनामा एक पटक गुणस्तरीय फेसियल गराउनु राम्रो भएको बताइन् । ‘यो समयमा सन ब्लकको प्रयोग दिनको दुई पटक गर्दा राम्रो हुन्छ’ उनले भनिन् । 

स्वास्थ्य टिप्स

- स्वस्थ र हल्का खाना खानुपर्छ । 

- थोरै मात्रामा तर कम ग्यापमा खाना खानुपर्छ । 

- आँखाको राम्रो हेरविचार गर्नु आवश्यक हुन्छ । काम गर्दा वा खेलकुदको समय कडा घामबाट आफ्नो   दृष्टि जोगाउन सुरक्षात्मक चश्मा लगाउन सकिन्छ । 

- अल्कोहल र क्याफिनबाट बच्नुपर्छ ।

- प्रशस्त पानी पिउनुपर्छ । 

- सकेसम्म घरभित्रै बस्नु उपयुक्त हुन्छ । 

- जंक फुडलगायत बाहिर खुल्ला राखिएका खानेकुरा खानुहुँदैन ।

- समय–समयमा आफ्नो वजन नापिरहनुपर्छ । 

- स्वस्थ खाना खानुपर्छ । 

- चिकित्सकको सल्लाहमा मल्टिभिटामिन पनि सेवन गर्न सकिन्छ । 

- प्रशस्त मात्रामा पानी पिएर शरीर हाइड्रेड बनाइरहनुपर्छ । चिनीयुक्त पेय पदार्थहरू सेवन नगर्नु नै राम्रो हुन्छ । 

- नियमित रूपमा व्यायाम गरेर शारीरिक रूपमा सक्रिय रहन सकिन्छ । 

- धेरै बेरसम्म एउटै ठाउँमा बसिरहनुभन्दा पनि बेलाबेलामा आराम गर्ने र स्क्रिन समय कम गर्नुपर्छ । 

- शरीरलाई पर्याप्त आराम दिनुपर्छ । अनिदो बस्नुहुँदैन । 

- सधै मानसिक रूपमा शान्त रहनुपर्छ ।

सौन्दर्य टिप्स

- सनस्क्रिन नियमित रूपमा लगाइरहनुपर्छ । 

- यो मौसममा पसिना धेरै आउने र पानी पर्ने भएकाले वाटरप्रुफ र हल्का मेकअप गर्नुपर्छ । 

- केशलाई तापक्रमबाट जोगाउनुपर्छ । 

- आधारभूत सफाइ, टोनिङ, मोइस्चराइजर गर्नुपर्छ । 

- छालालाई असर नपार्ने प्राकृतिक उत्पादनहरू छनोट गर्नुपर्छ । 

- बाहिर निस्कदा छाता, ह्याट वा सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । 

- एन्टिअक्सिडेन्टको मात्रा बढाउनुपर्छ । 

- आहारविहारमा फलफूल र तरकारीको मात्रामा जोड दिनुपर्छ । 

- सहज र सरल मेकअप गर्नुपर्छ । 

- आँखा र ओठ सुरक्षित राख्नुपर्छ । 

- मौसम प्रतिरोधी उत्पादन प्रयोग गर्नु वेश हुन्छ । 

- स्वस्थ खाना खानुपर्छ । 

फेसन टिप्स

- खुकुला तथा सहज पहिरन लगाउनुपर्छ । 

- गर्मीमा शीतल र सहज महसुस हुने हल्का रंगहरू चयन गर्नुपर्छ । 

- आफ्नो पहिरनलाई सन्तुलित राख्नुपर्छ । 

- छाता र ह्याटको प्रयोग गर्न बिर्सनुहुँदैन । 

- फ्लोरलका साथै चिकन फेब्रिकजस्ता हावा छिर्ने (प्वाल भएका) पहिरन प्रयोग गर्न सकिन्छ । 

- प्राकृतिक फाइबरको प्रयोग गर्न सकिन्छ । 

- शीतल फेब्रिकका लिनेनका पहिरन रोज्न सकिन्छ । 

- गर्मीमा स्यान्डल प्रयोग गर्न सकिन्छ । 

- खुल्ला घाँटी भएका पहिरनले शीतलता दिनुका साथै स्टाइलिस्ट लुक्ससमेत दिन्छन् । 

- यो मौसममा सेतो र हल्का रंगको पहिरन लगाउन सकिन्छ । 

 

गर्मीमा लाग्ने रोग र बच्ने उपाय 

डा. रञ्जितकुमार झा

सिनियर कन्सल्टेन्ट फिजिसियन, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज 

गर्मीमा प्रायः पानी र खानपानबाट सर्न सक्ने रोगहरू मुख्य हुन् । बाहिरी तापक्रमले पनि विभिन्न खाले स्वास्थ्य समस्याहरू निम्त्याउँछ । दूषित खानपानले फुड प्वाइजनिङ, टाइफाइड, जन्डिस, झाडापखाला आदि रोग लाग्न सक्छन् । त्यस्तै, वातावरणीय प्रभावबाट हुन सक्ने भनेको डिहाइड्रेसन (निर्जलीकरण), लु लाग्ने, सनबर्न मुख्य समस्या हुन् । पानीफोका र दादुरा पनि यही मौसममा बढी देखिन्छन् । 

फुड प्वाइजनिङ फोहोर, बासी र सडेगलेका खानाबाट हुन्छ भने स्ट्रिट फुडबाट पनि यो समस्या आउन सक्छ । पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पातलो दिशा हुने, ज्वरो आउने आदि समस्या पनि हुन सक्छ । । वर्षामा पिउने पानीमा ढलको फोहोर मिसिँदा पानी दुर्गन्धित हुन्छ, फोहोर हातले खाना खाँदा, फल र तरकारी राम्ररी नपखालीकन खाँदा टाइफाइडजस्तो रोग लाग्न सक्छ । बाहिर घाममा निस्कदा मुख सुक्ने, पिसाब पहेंलो हुने, टाउको दुख्ने, थकान महसुस हुने, आँखा गाडिने हुन सक्छ । लुमा अत्यधिक टाउको दुख्ने, चक्कर लाग्ने, मांसपेशी बटारिने र दुख्ने, कम्पन हुने लक्षण हुन्छन् । यस्तो अवस्थामा समयमै उपचार नपाए बिरामीको ज्यान जान सक्छ । वातावरणीय प्रभावले छालामा देखिने समस्याहरू पनि यो मौसममा निकै बढ्छन् । 

गर्मीजन्य रोगबाट बच्नका लागि सफा र स्वच्छ पानी पिउनुपर्छ । झोलिला पदार्थ र रस बढी भएका फलफूलको सेवन पनि प्रशस्त मात्रामा गर्नुपर्छ । घरमै पाकेको खानामा बढी जोड दिनुपर्छ । साबुन पानीले राम्ररी हात धोएर मात्रै खाना खानुपर्छ । सडेगलेका र बासी खानेकुरा खानुहुँदैन । गर्मीमा छाता लिएर बाहिर निस्कनु ठीक हुन्छ । सकभर हातखुट्टा छोपिने कटनका पहिरन लगाउनुपर्छ । धेरै रंगीबिरंगी पहिरन नलगाउँदा राम्रो हुन्छ । बाहिर घाममा निस्किनु ३० मिनेटअगाडि सनस्किन क्रिम (एसपीएफ ३० भन्दा माथिको) लगाएर मात्रै निस्किँदा छाला डढ्न पाउँदैन । 

गर्मीमा के खाने के नखाने ?

भारती अधिकारी, खाद्य प्राविधिक

गर्मीमा स्ट्रिड फुड नखाँदा राम्रो हुन्छ । घरमै पकाइएका स्वच्छ र ताजा खानेकुरामा जोड दिनुपर्छ । यो समयमा फुड प्रिजरभेसन गर्नैपर्छ । १० देखि १५ डिग्री सेन्टिग्रेटमा फलफूल र तरकारीलाई राख्नुपर्छ भने माछामासुलाई माइनस २० देखि माइनस ३० डिग्री सेन्टिग्रेटको तापक्रममा राख्नुपर्छ । मौसमी हरिया तरकारी र फलफूलको प्रयोग गर्नुपर्छ । क्याल्सियमका लागि दूध तथा दुग्धजन्य पदार्थ (डेरी प्रोडक्ट) खान सकिन्छ । डेरी प्रोडक्टलाई चार डिग्री सेन्टिग्रेटमुनिको तापक्रममा राख्नुपर्छ । यो भन्दा माथिको तापक्रममा राखियो भने यसमा ब्याक्टेरियाहरू सक्रिय हुन्छन् । बच्चाहरूलाई जंक फुडको साटो घरमै पकाइएका ताजा खाना खुवाउनुपर्छ । 

गर्मीका लागि उपयुक्त पहिरन

दीपा गौतम थापा

फेसन डिजाइनर, दिपाज क्रियसन, टंगाल

गर्मीका लागि कटन र लिनेन नै उपयुक्त फेब्रिक हुन् । यिनले शीतलता प्रदान गर्नुका साथै पसिना सोस्ने काम गर्छन् । गर्मीमा लाइट कलरहरू नै उपयुक्त हुन्छन् । ह्वाइट, अफ ह्वाइटलगायतका लाइट सेडहरू यो समयमा बढी चल्छन् । यिनले सूर्यका किरणलाई परावर्तित गर्ने काम गर्छन् । गर्मीमा लुज फिटिङ भएको पहिरन उपयुक्त हुन्छ । पछिल्लो समय गर्मीमा प्लाजो, कटन कुर्ती, लिनेन ड्रेस, लुज फिटिङ सर्ट–टिसर्टसँग एङ्क्लेट पाइन्ट निकै चलेका छन् । आउटर समर विन्टर दुवैका लागि सदाबहार फेसन हो । इको फ्रेन्डली तथा नेचुरल फेब्रिक ढाका, अल्लो, गाँजा, जुटका पहिरन पनि गर्मीमा खुबै रुचाइन्छ । 

समर स्किन तथा हेयर केयर 

रीता सिलवाल

ब्युटिसियन, प्लस सलुन एण्ड मेकअप स्टुडियो,कमलादी

स्वास्थ्य र सौन्दर्य एकापसमा परिपूरक हुन् । स्वस्थ खानपानले सौन्दर्य वृद्धि गर्छ । सुन्दर देखिनका लागि सौन्दर्य प्रसाधनको प्रयोग मात्रै पुग्दैन । प्रशस्त पानी पिउने, फलफूल र हरिया तरकारीको प्रयोग पनि खुबै गर्नुपर्छ । यसो भन्दै गर्दा सुन्दर हुने सौन्दर्य प्रक्रिया र प्रसाधनलाई नकार्न भने सकिँदैन । 

गर्मीमा अनुहार, केश र हातखुट्टा जोगाउन विभिन्न उपाय अपनाउन सकिन्छ । सुख्खा छाला छ भने राति अनुहारमा शुद्ध दूधको तरले मसाज गर्नुपर्छ । सन ब्लकलाई यो मौसमको साथी बनाउनुपर्छ । केशको स्याहारका लागि मेथी, अण्डा, दहीद्वारा बनाइएको घरेलु प्याक लगाउन सकिन्छ ।

त्यसका लागि समय नभए पार्लरमा हेयर स्पा लिन सकिन्छ । छालामा थप चमक ल्याउन राति सुत्नुअघि क्लिन्जिङ, टोनिङ गरिसकेपछि मोस्चराइजर लगाएर सुत्नुपर्छ । बिहान उठेर मुख धोइसकेपछि मोस्चराइजर लगाएर सनस्क्रिन क्रिम लगाउनुपर्छ । यो मौसममा घामको किरण कडा हुने हुँदा छालालाई प्रत्यक्ष घामको सम्पर्कबाट जोगाउनुपर्छ । गर्मीमा लाइट मेकअप नै उपयुक्त हुन्छन् । विवाह, पार्टी, बर्थडे, एनिभर्सरीलगायतका समारोहका लागि भने वाटरप्रुफ मेकअप गर्न सकिन्छ ।

 Image