Successfully Copied

सन्तानमा विनम्र भाव जगाऔं 

हरेक अभिभावकको चाहना आफ्ना सन्तान असल बनून् भन्ने हुन्छ । त्यसैले उनीहरू सन्तानलार्ई शिक्षित र सबल बनाउन हरक्षण लागिपरेका पनि हुन्छन् । तर, यही क्रममा अभिभावकले कतिपय गल्ती गर्छन् ।

हरेक अभिभावकको चाहना आफ्ना सन्तान असल बनून् भन्ने हुन्छ । त्यसैले उनीहरू सन्तानलार्ई शिक्षित र सबल बनाउन हरक्षण लागिपरेका पनि हुन्छन् । तर, यही क्रममा अभिभावकले कतिपय गल्ती गर्छन् । उनीहरूले छोरा र छोरीलाई हुर्काउने तरिकामा फरक गरिदिन्छन् । बेग्लै ढंगले हुर्काउने हाम्रो संस्कारले छोरा र छोरीबीच विभेद निम्त्याइदिन्छ । 
पछिल्लो समय समाजमा महिलाको सुरक्षा एउटा महत्वपूर्ण पाटो बनेको छ । छोरी भएकाले दिनहुँ शारीरिक शोषण, यौन हिंसा तथा मानसिक यातना भोगिरहनुपरेको छ । छोरीलाई सानैदेखि कसरी खाने, बोल्ने र हिँड्ने भनेर सिकाइन्छ । छोरीलाई यस्तो नगर, उस्तो नगर भनेर सुझाइन्छ । यो मानेमा छोरालाई खासै ध्यान दिइन्न । 
बालमनोविद् विजय ज्ञवालीका अनुसार हाम्रो समाजमा छोरा र छोरीको हुर्काउने तरिका नै बेग्लै छ । ‘तँ छोरी होस्’ भनेर सानैदेखि धेरै कुराबाट वञ्चित गराइन्छ । छोरालाई जे गरे पनि छुट हुन्छ’ उनी भन्छन्, ‘हरबखत छोरीलाई सही आचरण र व्यवहार सिकाइन्छ ।’ इज्जत भनेको छोरीले नै जोगाउनुपर्छ भन्ने गलत बुझाइ छ । बलात्कार, यौन हिंसाजस्ता घटनामा महिलाको नै इज्जत जान्छ । हाम्रो समाजले उसैलाई दोषी ठान्छ । उनी थप्छन्, ‘म त भन्छु बलात्कार गर्ने पुरुषको इज्जत जानुपर्ने हो । अपराध पुरुषले गरेको हो । अपराधी पुरुष हुनुपर्ने हो तर हामी ‘ऊ त केटा हो’ भनेर वास्तै गर्दैनौं ।’

किन ?
समाजमा भैराखेका आपराधिक घटनाहरू कम गर्न छोरीसँगै छोरालाई पनि सही संस्कार सिकाउन जरुरी छ । अभिभावकहरूले आफ्ना छोरीलाई कहिले ‘एक्लै बाहिर हिँड्नुहुँदैन, जमाना खराब छ’ भनेर सम्झाउँछन् । कहिले ‘यस्तो नबोल, यसरी नहिँड’ भन्छन् । केही भइहाले छोरीलाई नै दोष दिने चलन छ । बलात्कारका घटनाहरू सुनाएर उनीहरूलाई तर्साइन्छ । तर, छोराको हकमा यस्तो हुँदैन । उसको किन चिन्ता लिनु ?, छोरी हो र ? कहाँ जाँदैछे किन जाँदैछे भन्नलाई । वास्तवमा यही नै गलत सोच हो । महिला असुरक्षित हुनुको प्रमुख कारण पनि पुरुष नै हुन् । केटीहरू मिलेर केटालाई जिस्काए वा बलात्कार गरे भन्ने समाचार कहीँ–कतै सुनिँदैन । 

घर नै पहिलो पाठशाला
भनाइ नै छ, ‘पहिलो पाठशाला घर र पहिलो शिक्षक अभिभावक ।’ बच्चा जस्तो वातावरणमा हुर्किन्छन्, त्यस्तै प्रभाव उनीहरूमा पर्छ । मनोविद् रामपुकार शाहका अनुसार बच्चाको राम्रो बानी विकासका लागि सानै उमेरमा अभिभावक सचेत हुनु जरुरी छ । ‘छोरीलाई मात्र होइन छोरालाई पनि सही संस्कार सिकाउनुपर्छ । अभिभावकको जिम्मेवारी छोराछोरी बनाउनुभन्दा पनि असल नागरिक बन्न प्रेरित गर्नुपर्छ’ उनले भने । सानालाई माया, ठूलालाई आदर गर्न सिकाउँदा उनीहरूमा सामाजिक व्यवहारको विकास हुन्छ । सानैदेखि छोरालाई केटीहरूप्रति सहज भाव विकसित गर्न सहयोग गर्नुपर्छ । केटी पनि उस्तै हुन्, उनीहरूसँग मित्रता गाँस्न प्रेरित गरेमा सहजता महसुस गर्छन् ।
विजय भन्छन्, ‘सबैभन्दा पहिला अभिभावक आफै बच्चाका लागि रोल मोडल बन्नुपर्छ ।’ बच्चाले जे देख्छ त्यही सिक्छ । घरमा महिलासँग गरिने व्यवहारलाई बच्चाहरूले बढी अनुशरण गर्ने गरेको उनी बताउँछन् ।


घरमा छोरा र छोरीलाई समान महत्व दिन सक्नुपर्छ । गल्ती गर्दा दुवैलाई समान नियम र राम्रो काम गर्दा उस्तै स्याबासी दिनुपर्छ । अनुशासन दुवैमा समान रूपमा लागू हुनुपर्छ । अभिभावकबाट गरिने यस्ता क्रियाकलापले बच्चाहरूमा छोरा र छोरीबीच हुने विभेद हटाउन सहयोग पुग्छ । 

बच्चैदेखि सिकाउन आवश्यक
छोरी धेरै समझदार र संवेदनशील हुन्छन् । केही कुरा छोरालाई पनि सिकाउन आवश्यक हुन्छ । ‘केटीजस्तो के रोइरहेको ?’ ‘डरछेरुवा तिमी केटी हो ?’ भनेर उनीहरूलाई बच्चैदेखि संवेदनाहीन बनाइन्छ । 
रामपुकार भन्छन्, ‘छोरालाई सानैदेखि केटीहरूको इज्जत गर्न सिकाउनु अभिभावकको दायित्व हो ।’ सहयोगी भावना राख्नुले उनको व्यक्तित्व सकारात्मक मात्र बनाउँदैन यसले सामाजिक सम्बन्ध पनि बलियो बनाइदिन्छ । एक व्यक्तिको पहिचान नै अरुप्रति कति संवेदनशील छ भन्ने कुराले निर्धारण हुन्छ । अरुको कष्ट देखेर सहयोग गर्ने बानीले अरुलाई कष्ट दिने प्रवृत्ति हावी हुँदैन । बच्चालाई कुनै कुराको लोभ गर्नबाट बचाउनुपर्छ । ‘सेयरिङ इज केयरिङ’ मन्त्र लागू गर्न सिकाउनुपर्छ । 
घरमा एक–अर्कासँग कसरी प्रस्तुत हुने, कुन कुरालाई महत्व दिने, राम्रा कुरालाई कसरीस्वीकार गर्ने, गलत बानी–संस्कारबाट कसरी जोगिने ज्ञान नै सही संस्कार हो । बच्चाले नराम्रो काम गर्दा गाली गर्ने र राम्रो काम गर्दा प्रशंसा गर्न बिर्सनु हुँदैन । यसो गर्दा नराम्रो काम गर्नुअघि उनीहरू डराउँछन् र राम्रो काम गर्दा उत्तिकै उत्साहित पनि हुन्छन् । सजाय दिनुको अर्थ शारीरिक यातना दिनु किमार्थ होइन । बरु उसलाई प्राप्त भएको सुविधामा कटौती गरेर पनि सजाय दिन सकिन्छ । 
छोरालाई स–साना काम आफै गर्ने बानी बसाल्न सिकाउनुपर्छ । घरको काम, सरसफाइ, खाना बनाउने जस्ता घरेलु काममा सघाउन सिकाउनुपर्छ । बच्चाको संगत राम्रो होस् भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ । यसो गर्दा गलत बाटोमा जान पाउँदैनन् । 
हाम्रो समाजमा केटा मान्छेले खाना बनाएको ‘लो स्ट्यान्डर्ड’ मानिन्छ । त्यसैले छोरालाई यो सीप सिकाइँदैन । यसका लागि उनीहरू महिलामाथि निर्भर रहन्छन् । अहिलेको समयमा महिला–पुरुष दुवै कामकाजी हुन्छन् । घरबाहिर होइन घरभित्रको जिम्मेवारी पनि बराबरी बाँड्न सक्नुपर्छ । 

विनम्र हुनु कमजोर होइन
अभिभावकले आफ्नो बच्चालाई कृतज्ञ हुन सिकाउनुपर्छ । उनीहरूलाई ‘प्लिज’, ‘सरी’, ‘थ्याङ्क्यु’ जस्ता शब्दको प्रयोग गर्न उत्प्रेरित गर्न सक्नुपर्छ । यी शब्दले मानिसलाई विनम्र बनाउँछ । शिष्टचारका शब्द वा व्यवहारले उनीहरू कमजोर वा सानो हुँदैनन् । त्यस्तै, बच्चैदेखि महिलालाई इज्जत गर्न सिकाउनुपर्छ । आमा, दिदीबहिनी तथा घरका महिला सदस्यलाई आदर गर्न सिकाएर यसको सुरुवात गर्न सकिन्छ । राम्रो कपडा लगाएर मात्रै ‘जेन्टलमेन’ बनिँदैन, राम्रो विचार र व्यवहारले बन्ने हो भन्ने ज्ञान दिन सक्नुपर्छ । 

स्वतन्त्रता पनि जरुरी 
मनोविद् रामपुकारका अनुसार घरको वातावरण स्वतन्त्र बनाउन आवश्यक छ । ‘बच्चाको हरेक जरुरी पूरा गर्नुको सट्टा आवश्यक कुरा के हो बुझ्न जरुरी हुन्छ,’ उनले भने, ‘सही र गलतबीचको फरक सिकाए बच्चा सधैं सही बाटोमा हिँड्छन् । कुनै पनि कुराको दबाब दिनबाट बच्नुपर्छ । अर्काको अगाडि बच्चालाई गाली गर्नु, कराउनु उचित हुँदैन । उसलाई मात्र एकान्तमा सम्झाउँदा उसमा सकारात्मक असर पर्छ ।’ गाली गर्दा वा कुट्दा बच्चा जिद्दी र विद्रोही स्वभावको बन्ने उनको भनाइ छ । 
बालमनोविद् विजय भन्छन्, ‘पुरुषले जस्तोसुकै पहिरन लगाएपनि वास्ता गरिँदैन तर महिलाको पहिरन उसको इज्जतसँग जोडिन्छ ।’ घरमा पुरुष सदस्यहरू टपलेस पहिरनमा सहज महसुस गर्छन् तर महिलाले शरीर ढाक्ने पहिरन लगाउनुपर्छ । उनका अनुसार यही कुरा सानैदेखि देखेर हुर्किरहेका बच्चाको मानसिकतामा प्रभाव पार्छ । 
बच्चा ठूलो हुँदै जाँदा उनीहरूको मनपर्ने, मन नपर्ने कुराको दृष्टिकोण आफ्नै खालको हुन्छ । अभिभावकले आफ्नो इच्छा बच्चामाथि थोपार्ने कोसिस गर्नुहुँदैन । कतिपय अभिभावक आफ्ना बच्चासँग खुलेर बोल्न हिच्किचाउँछन् । जसको कारण बच्चाले पनि आफ्ना हरेक कुरा सेयर गर्न सक्दैनन् । बच्चाले आफूसँग हरेक कुरा सेयर गर्ने वातावरण मिलाउने प्रयास गर्नुपर्छ । जतिखेर पनि जबर्जस्ती सोध्ने गर्दा उनीहरू झर्को मान्छन् । क्वालिटी टाइम बिताउने, साथी जस्तो सम्बन्ध बनाउने, सँगै फिल्म हेर्ने, घुम्न जाने गर्दा बच्चाको आत्मविश्वास बढ्छ । यसो गर्दा बच्चाहरू आफै हरेक कुरा सेयर गर्न खोज्छन् । 
 

सन्तानलाई समान व्यवहार गनुृपर्छ 

राम पुकार शाह, मनोविद्

पहिले–पहिले हाम्रो सामाजिक व्यवस्थामा महिला र पुरुषको अलग–अलग जिम्मेवारी बाँडिएको थियो । महिलाहरू संवेदनशील, जिम्मेवार र बहु–कार्य गर्ने भएकाले उनीहरूले घरभित्रको काम गर्ने र पुरुष शारीरीक रूपमा बलियो हुने भएकाले घरबाहिरको काम गर्ने भन्ने थियो । पछि यसमा संस्कृति हावी हुन थाल्यो । पुरुषहरूले महिलाहरूलाई दबाउन थाले । उनीहरूले घरको अर्थतन्त्रमा योगदान दिने भएकाले महिलालाई मानसिक एवं शारीरिक रूपमा कमजोर महसुस गराउन थालियो । अर्को कुरा विवाह गर्दा महिला र पुरुषको उमेर अन्तर पनि यसको कारक हो । धेरैजसो विवाहमा महिला भन्दा पुरुषको उमेर पाँचदेखि १२ वर्षको अन्तर रहेको पाइन्छ । उमेर बढी हुनु भनेको उसको ज्ञान, शैक्षिक योग्यता, सोच्ने क्षमता, अनुभव सबै महिलाभन्दा धेरै हुनु हो । त्यसकारण वैवाहिक सम्बन्धमा पुरुष हावी हुन्छन् र महिलालाई दबाइन्छ । जब यो संस्कार बन्दै जान्छ, तब एक पिँढीबाट अर्को पिँढीमा स्थानान्तरण हुँदै जान्छ । पुरुषहरूलाई आफू शक्तिशाली भएको महसुस हुन्छ । समाजमा हुने आपराधिक गतिविधि, शारीरिक शोषण, यौन हिंसा, बलात्कार यसकै उपज हो । अभिभावकले सन्तान हुर्काउने क्रममा छोरा र छोरी भनेर छुट्याउनुभन्दा दुवैलाई समान व्यवहार गर्नुपर्छ, दुवैलाई बराबर संस्कार सिकाउनुपर्छ । 

‘अभिभाकत्व नै गलत’ 


विजय ज्ञवाली, बालमनोविद्

प्रायः अभिभावकले छोरीलाई संस्कारी बन्नुपर्छ–भन्छन् । सबेरै उठ्नुपर्छ, घरधन्दाको काम सिक्नुपर्छ, यसरी बोल्नुपर्छ, यसरी हिँड्नुपर्छ भनिन्छ तर, यही कुरा छोरालाई किन सिकाइँदैन ?
पितृसत्तात्मक सोचको कारण हो, यो । हाम्रो बुझाइ नै पुरुष भनेको संरक्षण गर्ने हो । संरक्षक भनेको उनीहरूले जे कदम चालेपनि सही हुन्छ भन्ने हो । संरक्षकले कसैको कुभलो गर्दैन । मनोसामाजिक विकास नै त्यही किसिमले भएको छ । सम्पत्ति, समाज, परिवारको संरक्षक गर्ने पुरुष हुन् । छोरी भनेको घरको इज्जतका रूपमा लिइन्छ । छोराले त पछि बुढेसकालमा पाल्ने हो, त्यसैले उसलाई सानैदेखि बलवान् बनाइन्छ । त्यही छोरीलाई मानसिक रूपमा कमजोर बनाइन्छ । त्यसैले छोरालाई जे गर्न पनि छूट दिइन्छ । 

घरबाट बाहिर जान, साथीभाइसँग हिँडडुल गर्न पनि छोरीलाई नियन्त्रण गरिन्छ । तर, छोरामाथि यस्तो नियन्त्रण गरिँदैन । यसमा अभिभावकको कस्तो मनोविज्ञानले काम गरेको होला ?
अभिभावकको चिन्ता चितासँग जोडिएको हुन्छ । यसको मतलब मरेपछि काजकिरिया छोराले नै गर्नुपर्छ भन्ने चलन छ । अर्को कुरा हाम्रो समाजले छोरालाई हरेक काम गर्न छूट दिएको छ । छोरीलाई इज्जतसँग जोडिन्छ । यहाँ केही घटना घटे हाम्रो समाजले कसलाई दोष दिन्छ ? कति सजिलैसँग पुरुषलाई निर्दोष साबित गरिदिन्छ । गल्ती चाहे पुरुषको होस्, ऊ त केटा मान्छे हो केटीले बुझ्नुपर्ने होइन र ? त्यसैकारण छोरीलाई सानैदेखि यही कुरा सिकाइन्छ । 

छोराछोरी हुर्काउने क्रममै हामीले विभेद गरिरहेका छौं ?
बालबालिकाले अभिभावकत्व नै गलत पाइरहेका छन् । बच्चाहरूलाई सानैदेखि कामको आधारमा विभेद गरिनुहुँदैन । चाहे छोरा होस् छोरी दुवैलाई सबै काम सिकाउनु जरुरी हुन्छ । जुन कुरा छोरीलाई सिकाइन्छ त्यो कुरा छोरालाई पनि सिकाउनुपर्छ । सीपमा कुनै लिंगभेद हुँदैन । आफ्नो बच्चालाई सही संस्कार सिकाउने कुरामा जोड दिनुपर्छ । 
बच्चाहरूलाई कार्टुन देखाउँदा होस् वा कथा सुनाउँदा कन्टेन्टमा ध्यान दिनुपर्छ । जस्तो हामी कथा भन्दा आमा खाना पकाउनुहुन्छ बाबा अफिस जानुहुन्छ भन्छौं तर हामी आमा अफिस जानुहुन्छ बाबा खाना पकाउँदै हुनुहुन्छ कहिल्यै भन्दैनौं । आमाले घरको काम गर्नुहुन्छ । बुवा पैसा कमाएर ल्याउनुहुन्छ । घरको पुरुष सदस्यले महिला सदस्यको इज्जत एवं सम्मान गर्नुपर्छ । बच्चामा जे देखेर हुर्कायौं त्यही बानीको विकास हुन्छ । घरमा बुवाले खाना पकाउने, घर सरसफाइ गर्ने काम कहिल्यै गर्नुहुँदैन भने छोराले त्यो काम कसरी सिक्छ त ?
 

 Image