Successfully Copied

बहुउपयोगी बाँस

सजावटमा प्रयोग हुने हरेक सामग्री र पक्षको उत्कृष्ट समायोजन र व्यवस्थापन हुनुपर्छ । यसबाट घर, कार्यालय र कोठा आकर्षक र मनमोहक बन्छ । आन्तरिक सजावटमा त सामग्री समायोजनको झनै महत्त्वपूर्ण भूमिका हुन्छ ।

सजावटमा प्रयोग हुने हरेक सामग्री र पक्षको उत्कृष्ट समायोजन र व्यवस्थापन हुनुपर्छ । यसबाट घर, कार्यालय र कोठा आकर्षक र मनमोहक बन्छ । आन्तरिक सजावटमा त सामग्री समायोजनको झनै महत्त्वपूर्ण भूमिका हुन्छ । फ्लोरिङ र फर्निसिङदेखि ठाउँ व्यवस्थापन र कोठामा राखिएका हरेक वस्तु यसमा समेटिने गरिन्छ । आन्तरिक सजावटमा बाँसलाई पनि प्रयोगमा ल्याइन्छ ।
उष्ण प्रदेशीय क्षेत्रमा सर्वसुलभ उपलब्ध हुने बाँस भवन निर्माण सामग्रीका रूपमा सर्वप्रथम डिजाइनरले फ्लोरिङमा छनोट गरेका थिए । पछिल्लो समय होम डेकोर सामग्रीका रूपमा पनि यसको प्रचलन बढ्दो छ । यसको प्राकृतिक रङले पनि आन्तरिक सजावटमा साधारण तर छुट्टै किसिमको आकर्षक प्रभाव पारेको हुन्छ ।


आन्तरिक सजावटमा बाँसको प्रभावकारी प्रयोग हुनुका कारण यो दिगो, टिकाउ र सजिलै उपलब्ध हुनु नै हो । आधुनिकता झल्काउनु यसको अर्को महत्त्वपूर्ण पक्ष हो । त्यसैले आन्तरिक सजावट, विशेषगरी फ्लोरिङमा बाँसको लोकप्रियता बढेको छ । यसो त प्राचीनकालदेखि नै बाँसलाई बहुउपयोगी फ्लोरिङका रूपमा प्रयोग गरिँदै आएको हो । पर्यावरण र वातावरणीय कारणले पनि यो लाभदायक छ । तातोमा तन्किने र चिसोमा खुम्चने डर पनि बाँसको फ्लोरिङमा छैन । त्यस्तै, वातावरणीय परिवर्तनसँगै जाडोमा धेरै चिसो र गर्मीमा धेरै तात्ने चिन्ता पनि यसमा रहँदैन । अझ भूकम्पको खतरा रहेको क्षेत्रमा बाँसको फ्लोरिङ गर्नु बुद्धिमानी मानिन्छ ।


बाँसको फर्निचर पनि आन्तरिक सजावटमा प्रयोग गरिन्छ । बेडमा बाँसको प्रयोगले बेडरुमलाई अलिक भिन्न देखाउन सकिन्छ । पूरै बेडका लागि बाँसको प्रयोग गर्न नसकिए पनि काठको बेडमा बाँसको हेडबोर्ड राखेर कोठामा सजिलै केही फरकपन दिन सकिन्छ । यसैगरी, बाँसका प्यानलहरूको वाल 
डेकोरेसनले पनि कोठालाई आधुनिक डिजाइनको प्रतिबिम्ब दिएको आभास हुन्छ । कोठामा रहेका पिलरहरूमा बाँसले डेकोरेट गरी वा बाँसकै पिलर राखेर कोठालाई थप निखार्न सकिन्छ । त्यस्तै, कोठाको कुनै भागमा बाँसको बोटबिरुवा राखेर पनि आकर्षक बनाउन सकिन्छ ।

विशेष हेरचार गर्नु नपर्ने र जहाँ पनि सजिलै हुर्कने बोटमध्येको एक हो, बाँस । त्यसैले भवनभित्रको सानो ठाउँमा बाँसको इन्डोर गार्डेन पनि बनाउन सकिन्छ । अरू बोटबिरुवाको तुलनामा कार्बनडाइअक्साइड बढी सोस्ने र अक्सिजन बढी फाल्ने भएकाले पनि बाँसको बोटको महत्त्व धेरै छ । यति मात्रै होइन, वास्तुशास्त्र वा फेंगसुइमा पनि बाँसको महत्त्व उस्तै छ । पूर्वी दिशामा बाँस राख्नाले परिवार स्वस्थ रहनुका साथै परिवारमा खुसियाली छाउँछ । दक्षिण पूर्वी दिशामा राख्नाले परिवारमा समृद्धि ल्याउने विश्वास छ । घरमा बाँस राख्नाले घरभित्र सकारात्मक ऊर्जा उत्पन्न हुने जनविश्वास पनि छ । यति धेरै महत्त्व बोकेको, सजिलै बढ्ने र हुर्कने बाँसको प्रयोग गरी भवन र कक्षमा साधारण तर आकर्षक र मनमोहक सजावट गर्न सकिन्छ ।

(खड्का आकिैटेक्ट हुन् । )

 Image