‘नेतृत्व टिमका साथ अघि बढ्नुपर्छ’

लक्ष्मी भण्डारी

वैशाख ४, २०७९ ललितपुर सानेपाकी आँचल कुँवर ‘दराज अनलाइन सपिङ’ की प्रबन्ध निर्देशक हुन् । अन्तर्राष्ट्रिय कम्पनी ‘अमेजन’ मा साढे पाँच वर्ष काम गरेको अनुभव उनीसँग छ । प्रविधिमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उनी विदेशमा १८ वर्ष बसेर नेपाल फर्किएकी हुन् । आँचलसँग महिलाको नेतृत्व, पहुँच र चुनौती आदि विषयमा केन्द्रित रही लक्ष्मी भण्डारीसँग गरिएको संवादको सम्पादित अंश :

प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहँदा कस्तो अनुभव भएको छ ?

रमाइलो अनुभव भएको छ र म एकदम उत्साहित छु । नेतृत्व मात्रै होइन धेरै कुरा परिवर्तन हुनुपर्छ भन्ने लागिरहेको छ र सोहीअनुसार काम गरिरहेकी छु । 

महिला भएको नाताले निर्णायक तहमा रहेर काम गर्दाका चुनौतीहरू के–कस्ता छन् ?

म प्रबन्ध निर्देशक बनेको तीन महिना मात्रै भएकाले यस विषयमा बोल्न केहीसमय कुर्नुपर्ने हुन्छ । त्यसो त समस्या पहिचान गरी समाधानमा केन्द्रिकृत हुने मेरो बानी छ । केही समयअघि, मैले परिचय दिँदै गर्दा मेरो बोली नसक्दै एक चर्चित कम्पनीका सिइओले मलाई बीचैमा रोकिदिनुभयो । उहाँले मेरो पूरा कुरा सुन्नै चाहनुभएन । मेरो ठाउँमा कोही पुरुष भएको भए त्यसो गरिँदैनथ्यो जस्तो लाग्छ । हामीकहाँ यी र यस्ता चुनौती अझै पनि छन् । तर, म यस्ता कुरामा वास्तै गर्दिन । 

विदेशको तुलनामा नेपालमा काम गर्दा के फरक पाउनुभयो ?

समग्र अमेरिका र नेपालको कार्यशैलीको मैले तुलना गर्न मिल्दैन । ‘अमेजन’ र ‘दराज’ मा खासै फरक मलाई लागेन । आफ्नै माटोमा काम गर्दा म मेरो मातृभूमिका लागि केही गर्दैछु भन्ने महसुस हुन्छ । 

निर्णायक तहमा रहेर काम गर्दा तपाईंको मूल उद्देश्य के हुन्छ?

मूल उद्देश्य भनेको संस्थागत उत्थान र प्रवर्द्धन नै हो । ‘अपलिफ्ििटङ आवर कम्युनिटी थ्रु दि कमर्स’ भन्ने नाराका साथ नेपाललाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्ने स्थानमा पुर्‍याउनु छ । 

तपाईं आएपछि संस्थाले हासिल गरेको उपलब्धि के हो ?

म आउनेबित्तिकै कम्पनीमा उलटपुलट भयो भन्ने हुँदैन । तर, पनि ‘रि ब्रान्डिङ’ को काम भइरहेको छ । कम्पनीको लक्ष्य, उद्देश्य तथा कर्मचारीको काम र जीवनको सन्तुलनमा पनि ध्यान दिइरहेकी छु । 

कुन कुराले यहाँसम्म पुग्न सफल भएजस्तो लाग्छ ?

म आफूलाई भाग्यमानी ठान्छु । म त्यस्तो घरमा जन्मिएँ, त्यस्तो अभिभावक पाएँ जसले मलाई छोरी होइन मानव बनाएर हुर्काए, राम्रो शिक्षा दिए । यसले ममा आत्मविश्वास बढ्यो । मैले आफूमाथि कहिल्यै शंका गरिन । समस्या आए समाधान खोज्छु, सक्दिन भनेर तर्किन्न । सबैसँग घुलमिल हुने र सम्बन्ध बढाउने खुबी पनि छ । त्यसैले यहाँसम्म पुग्न सफल भएजस्तो लाग्छ । 

टिम म्यानेजमेन्टका लागि तपाईंको सूत्र के हो?

जहिले पनि म आफू कामदार हुँदा कुन हाकिमसँग सन्तुष्ट र खुसी थिएँ भनेर विश्लेषण गर्छु । आफूलाई एउटा तल्लो स्तरको कामदारको स्थानमा राखेर सोच्ने गर्छु । हरेक कर्मचारीलाई राम्रो व्यवहार गर्छु । म आफ्नो संस्थाको लागि मात्र होइन सिंगो मुलुककै हितका लागि आफ्नो टिमका साथ अघि बढ्छु । 

तपाईंको विचारमा एउटा संस्थाको प्रगतिका लागि के कुरा जिम्मेवार हुन्छ, निर्णायक शक्ति वा टिम स्पिरिट ?

दुवै उत्तिकै । नेतृत्वले टिमलाई लिएर अगाडि बढ्ने हो । 

संस्थागत रूपमा तपाईंले परिवर्तन गर्न चाहेका कुनै दुईवटा कुरा ?

मैले चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेकी छु । आफ्नो संस्थाभित्रका कर्मचारीको ‘वर्क लाइफ परिवर्तन’ गर्न मन छ । संस्थामा राम्रो र प्रभावकारी प्रस्तुतिका लागि उनीहरूलाई बिदाको जरुरत हुन्छ भन्ने कुरा कार्यान्वयन गर्ने मन छ । 

तपाईंको कम्पनीको सबैभन्दा बलियो पक्ष के हो जस्तो लाग्छ ?

बलियो टिम । 

कम्पनीको कुन कुराले तपाईंलाई गौरवान्वित बनाउँछ ?

ठूला संघ–संस्थाले भन्नका लागि गरिदिऊँ न भनेजस्तो गर्छन् तर यहाँ मनैदेखि गर्नका लागि काम गरिन्छ । यो कुराले नै गौरवान्वित महसुस हुन्छ । 

नेपाली महिला प्रमुख पदमा पुग्नका लागि के आवश्यकता देख्नुहुन्छ ?

महिला शिक्षा, आर्थिक आत्मनिर्भरता, सीप र क्षमता अभिवृद्धि गर्नुपर्छ । यसमा राज्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । 

महिलाको चौतर्फी विकास र सशक्तीकरणमा के ले भूमिका खेल्छ जस्तो लाग्छ ?

मेरो विचारले महिलालाई मात्र नभई समानताका विषयमा पुरुषलाई पनि दीक्षित गर्नुपर्छ । उनीहरूलाई पनि समानता, समता भन्ने कुरा के रहेछ यसले पुरुष स्वयंको जीवनमा समेत कस्तो असर प्रभाव पार्दो रहेछ भन्ने कुरा मनन गराउन जरुरी छ । महिलालाई भने शिक्षा, सीप, एक्सपोजर सबै चाहिन्छ । 

आफ्नो पेसाबाहेक अन्य रुचिहरू के–के छन् ?

नाच्न, गाउन अनि खेलप्रति रुचि छ । हाइकिङ जान र पुस्तक पढ्न पनि मन पर्छ । 

आगामी पाँच वर्षभित्र तपाईं नेपाली महिलालाई कुन स्थानमा देख्न चाहनुहुन्छ ?

महिला र पुरुष भन्ने वार्तालाप नै नहोस् भन्ने स्थानमा पुगेको देख्न चाहन्छु । 

पैसाको मूल्य नभएको भए तपाईं कुन पेसामा हुनुहुन्थ्यो ?

मैले कहिल्यै पैसाका लागि काम गरिन । सामान्यतया दैनिक आवश्यकता पूरा भए पुग्छ । तर, शान्ति र सन्तुष्टि सबैभन्दा ठूलो कुरा हो । पैसाकै पछि लाग्ने भए म ‘अमेजन’ छोड्दिनथें । बिल गेट्सको उद्देश्य सबैको हातमा एउटा कम्प्युटर होस् भन्ने थियो, पैसा कमाउने थिएन । 

तपाईंका आगामी योजना र नयाँ वर्षका संकल्प के छन् ?

जुन उद्देश्यले म १८ वर्षपछि नेपाल फर्किएँ, त्यही पूरा गर्ने योजना मेरो प्राथमिकतामा पर्छ । व्यस्त भएको धेरै समय भयो । त्यसैले आगामी वर्ष परिवार, इष्टमित्र र साथीभाइलाई समय दिएर खुसीका साथ काम गर्ने इच्छा छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>