जलवायु परिवर्तनको असर

नारी संवाददाता

चैत्र ९, २०७८

प्रा.डा. सुमनराज ताम्राकार

 

जलवायु परिवर्तनले स्वच्छ हावा, पानी, पोषिलो खाना, वासस्थानलगायत व्यक्तिका आधारभूत आवश्यकतामा नकारात्मक असर पारेको छ । यी आवश्यकताहरूमा व्यक्तिको पहुँच फरक–फरक भए पनि जलवायु परिवर्तनको प्रभावको सामना हरेकले ढिलोचाँडो गरेकै हुन्छन् । विशेषतः व्यक्तिको वासस्थल, उमेर, स्वास्थ्य, आय, पेसाका आधारमा व्यक्तिलाई जलवायु परिवर्तनको असर पर्ने हो । त्यसमा पनि अधिकांश गर्भवती र शिशुको स्वास्थ्यमा त झनै बढी प्रभाव पर्ने गरेको छ । 

जलवायु परिवर्तनले वायुको गुणस्तर खस्किने र पृथ्वीको तापक्रम बढ्ने हुन्छ । यसले मौसममा पनि अस्वाभाविक परिवर्तन ल्याउँछ । अझ वनमा हुने तारन्तारको डढेलोले त वायुमा धूवाँ–धूलोको मात्रा बढ्न गई प्रदूषण फैलिन्छ । वायु प्रदूषणले गर्भवतीको श्वासप्रश्वासमा समस्या आई कम तौलका र महिना नपुग्दै शिशु जन्मिने खतरा हुन्छ । कम तौलका शिशुको स्वास्थ्य लामो समयसम्म प्रभावित भइरहन्छ । त्यस्तै, महिना नपुग्दै जन्मेका शिशुले अनेकौं स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ । 

जलवायु परिवर्तनजन्य बाढी, सुख्खा, डढेलोका कारण गर्भवती धेरै बढी जोखिममा हुन्छन् । मेलम्चीको बाढी र सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो यसका उदाहरण हुनसक्छन् । यी दुईको प्रकोपमा गर्भवती महिला र बालबालिकाहरूले धेरै सास्ती खेप्नुपरेको थियो । उनीहरूलाई स्वास्थ्य सेवा लिन गाह्रो मात्रै भएन, मानसिक तनावसमेत बेहोर्नुपरेको थियो । जलवायु परिवर्तनजन्य प्राकृतिक प्रकोपका बेला कमसल खालका खानेकुरा, पोषणको कमी, दूषित खाद्य र पानीका कारण झाडापखाला, आउँ, रगतमासी, हैजा, टाइफाइड हुने सम्भावना हुन्छ । जलवायु परिवर्तनका कारण उत्पन्न विषम एवं तातो तापमानले गर्भवतीमा जलवियोजन र मिर्गौला फेल हुने सम्भावना पनि बढी हुन्छ । 

जलवायु परिवर्तनका कारण आउने हावाहुरी, वर्षा र बाढीले वासस्थानमा क्षति पुर्‍याउँदा अस्थायी वासस्थान, बसाइ सराइ, टक्सिन (मानव शरीरका लागि घातक तत्व) र ढुसीले गर्भवती, प्रसव हुनै लागेका, भर्खरै प्रसव भएकाहरूले बढी संकटको सामना गर्नुपर्ने हुनसक्छ ।

गत नोभेम्बरमा बेलायतको ग्लास्गोमा सम्पन्न राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनका कारण महिलाहरू (गर्भवती) बढी जोखिममा रहेको प्रस्ट्याइयो । प्राकृतिक स्रोतमा निर्भर विशेषतः विश्वका गरिब महिलाहरू विश्वव्यापी तापमान एवं धूवाँमा वृद्धिसँगै तिनीहरूमा मुटु, श्वासप्रश्वास र मानसिक तनावको खतरा रहेको उक्त सम्मेलनको निष्कर्ष थियो । 

सन् २०२० को ‘जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन’ मा सवा तीन करोड मानिसमा गरिएको अनुसन्धानपछि प्रकाशित ‘नेटवर्क रिभ्यू’ मा पनि जलवायु परिवर्तनसँगै वायु प्रदूषण र तापमान वृद्धिले गर्भवतीमा नकारात्मक असर पुर्‍याएको निस्कर्ष निकालिएको थियो । त्यसैगरी, पहिलोपटक अमेरिकी अनुसन्धानकर्ताहरूले वायु प्रदूषण र गर्भवती महिला (मृत शिशु, कम तौलका शिशु एवं महिना नपुग्दै शिशु जन्मिने शिशुसहित) बीच अन्तरसम्बन्ध रहेको निर्क्यौल गरेको छ । वायु प्रदूषणका अति सूक्ष्म कणहरू गर्भवती महिलाको फोक्सोमा सिधै पुग्ने हुनाले उनीहरूमा मधुमेह र उच्च रक्तचापजन्य खतरा बढ्छ ।

जलवायु परिवर्तनको विषय समय–समयमा दिवस विशेषमा, सभा, सम्मेलनमा जोडदार रूपमा उठान हुने गरे पनि ती सबै कालान्तरमा फासफुस हुन्छन् । अमेरिकामा त जलवायुजन्य प्रकोपमा श्वेत समुदायको दाँजोमा अश्वेत तथा आदिवासी गर्भवती दुईदेखि तीन गुणा बढी मृत्युवरण गर्न बाध्य छन् । अझ दुःखद् कुरो त के छ भने जलवायु परिवर्तनको असरले गर्भवतीलाई भन्दा जनावरलाई बचाउनुपर्ने बढी चर्को आवाज उठिरहेको छ । 

सन् २०२० को हावर्ड अध्ययनले उच्च तापमान र गर्भावस्थामा देखापर्ने मधुमेहबीच अन्तरसम्बन्ध रहेको देखाएको थियो । त्यसैगरी, ‘अमेरिकन कलेज अफ अब्स्टेट्रिक्स एन्ड गाइनेकोलोजिस्ट’ को अध्ययनले पनि उच्च तापमान र अनपेक्षित गर्भ नतिजाबीच प्रत्यक्ष सम्बन्ध रहेको देखाइसकेको छ । 

समस्या समाधानका उपाय

काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रका ठाउँ–ठाउँमा वायु प्रदूषणको मात्रा नियमित रूपमा मापन गर्ने व्यवस्था हुनुपर्छ । उच्च ट्राफिक जाम हुने सडक तथा राजमार्ग आदि बढी वायु प्रदूषण हुने ठाउँमा शारीरिक अभ्यास, मर्निङ वाक नगर्नु राम्रो हुन्छ । घर भित्र–बाहिर धूलो, धूवाँ एवं धूम्रपान कम गर्ने वातावरण हुनुपर्छ । धूम्रपान गर्नेहरूको नजिक जानु भएन । दाउरामा भन्दा धूवाँरहित चुल्हो, ग्याँस, सोलार, गोबरग्याँसमा खाना पकाउनुपर्छ । भान्सा कोठामा भेन्टिलेसनको राम्रो व्यवस्था हुनुपर्छ । घरमा झ्यालढोका राम्रोसँग बन्द राखी एअर फिल्टरको व्यवस्था गर्न सकिन्छ । वृक्षारोपणमा जोड दिनुपर्छ । हिँडडुल, साइकल, सार्वजनिक यातायात (भलै नेपालमा त्यति भरपर्दो छैन) लाई बढावा दिनुपर्छ । तीन वटा आर (रिड्युस, रियुज र रिसाइकल) लाई प्रवर्द्धन गर्नुपर्छ । पुनः प्रयोग गर्न मिल्ने योजना एवं वैकल्पिक ऊर्जामा आधारित योजनाहरूलाई बढावा दिने नीति हुनुपर्छ । जलवायु परिवर्तनप्रति जागरुक हुने, जनचेतना बढाउने कार्यमा सहभागिता जनाउनुपर्छ ।

के हो महिना नपुग्दै जन्मिने समस्या ?

मानिसको गर्भ अवधि करिब ४० साता (२८० दिन) को हुन्छ । अधिकांश गर्भवतीले महिनावारी रोकिएदेखि हिसाब गरी निकालेको बच्चा पाउने मितिको दुई साताअघि र एक सातापछि बच्चा पाउँछन् । गर्भावस्थाको ३७ साता (२६० दिन) अगावै सुत्केरी व्यथा सुरु भयो भने महिना नपुग्दै व्यथा लागेको मानिन्छ । गर्भ रहेको कति सातादेखि व्यथा लागेकोलाई महिना नपुग्दै व्यथा लाग्ने समस्या मान्ने सवालमा विकसित मुलुकहरूमा २० साता र विकासोन्मुख देशहरूमा २८ सातालाई तल्लो मानक मानिएको छ । नेपालजस्ता देशहरूमा २८ साताअगाडि यस्तो समस्या उत्पन्न हुनुलाई गर्भ तुहिएको मानिन्छ । किनकि २८ साताअगाडि जन्मेका शिशुलाई बचाउन कठिन हुन्छ । 

गर्भवतीहरूमध्ये करिब ५ देखि १० प्रतिशतमा महिना नपुग्दै व्यथा लाग्ने समस्याका कारण नवजात शिशुको मृत्यु तथा बिरामी हुने दर अत्यधिक हुन्छ । कतिपय अवस्थामा महिना नपुग्दै व्यथा लाग्ने समस्याको खास कारण थाहा नभए पनि प्रायः एकभन्दा बढी कारक तत्वहरूको सम्मिश्रणले गर्दा हुन्छ ।

त्यस्ता शिशुमा के–कस्ता जटिलता हुनसक्छन् ?

सुत्केरी व्यथाका क्रममा निस्सासिने, शारीरिक तापक्रम नियन्त्रणमा राख्न नसक्ने, श्वासप्रश्वास प्रणालीमा विभिन्न समस्या देखा पर्ने, टाउको भित्र रक्तस्राव हुने, बेहोस हुने, मुटु फेल खाने, पिसाब कम भई पटक्कै नहुने, विभिन्न खाले संक्रमण (ब्रोङ्कोनिमोनिया, मेनिन्जाइटिस, आन्द्रा सुन्निने) को सम्भावना निकै बढ्ने, पहेंलोपन (जन्डिस) बढ्ता देखापर्ने हुन सक्छ । त्यस्तै, रक्तअल्पता हुने तथा आँखाको पर्दा तथा नानीमा समस्या आई अन्धोपन हुने जटिलताहरू महिना नपुग्दै व्यथा लागी जन्मेका शिशुहरूमा हुनसक्छन् । 

महिना नपुग्दै जन्मेका शिशुको तौल १५०० ग्रामभन्दा माथि भए ९५ प्रतिशत बच्ने सम्भावना हुन्छ । राम्रो सघन उपचार दिन सके ७५० देखि १५०० ग्राम तौल हुने शिशु बच्ने सम्भावना ८० प्रतिशतसम्म हुन्छ । गर्भावस्थाको अवधि २४ साताअगाडि र शिशुको तौल सरदर ७०० ग्रामभन्दा कम हुँदा मृत्यु हुने सम्भावना ९७ प्रतिशतभन्दा बढी हुन्छ । 

माथि उल्लिखित जोखिम तत्वहरू तथा जन्मजात शारीरिक समस्या (विकलाङ्ग) का कारणले जन्मेको ४८ घन्टाभित्रै करिब दुई–तिहाई यस्ता नवजात शिशुको मृत्यु हुने सम्भावना हुन्छ । ती बाँचे पनि सुस्त मनस्थितिका, कान कम सुन्ने, बानी–व्यहोराको समस्या, जीर्ण प्रकारको फोक्सोको समस्या, शारीरिक वृद्धि विकासमा समस्या हुने एवं पछि मुटुका रोगी हुन सक्छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>