इच्छाशक्ति भए असम्भव केही छैन 

उपासना घिमिरे

चैत्र ४, २०७८ धादिङस्थित कल्लेरी (पोखरी हटिया) गाउँमा ०२४ कात्तिकमा कमलादेवी तुलाधरको जन्म भएको हो । दुई दाजुपछि जन्मिएकी उनको गाउँमा त्यसताका छोरीलाई पढाउने चलन पटक्कै थिएन । आमा र शिक्षित दाजुहरूका कारण उनले पढ्न पाएकी हुन् । उनका बुवालाई आफन्तहरूले ‘छोरीलाई पढाए बाठी हुन्छे, कुलको नाक काटिन्छ’ सम्म पनि भनेका थिए । त्यसका बाबजुद उनले पढ्ने सौभाग्य पाइन् । ०४० मा तत्कालीन कल्लेरी पञ्चायतबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने उनी प्रथम महिला पनि बनिन् । कमलाको प्राथमिक शिक्षा कल्लेरी प्रावि र माध्यमिक शिक्षा भैरवी माविबाट पूरा भएको हो । सानै उमेरमा उनी विवाह बन्धनमा बाँधिइन् । आफ्नो पढाइ जारी राख्ने सर्तमा उनी विवाह गरेको बताउँछिन् । विवाहपछि घर–व्यवहारमा व्यस्त भए पनि उच्च शिक्षा हासिल गर्ने उनको हुट्हुटी कायमै रह्यो । त्यसैले त प्राइभेटमै पढेर मानविकीमा स्नातकोत्तरसम्मको उपाधि उनले हासिल गरिन् । शिक्षण पेसामा अनवरत ३८ वर्ष आबद्ध कमला केही महिनाअघि शिक्षकहरूको १४ वटा पेसागत संघ/संगठनको छाता संस्था ‘नेपाल शिक्षक महासंघ’ मा प्रथम महिला केन्द्रीय अध्यक्ष बन्न सफल भएकी छन् । महासंघका चुनौती, शिक्षक नेताका रूपमा उनले गरेका काम र अनुभवलगायतका सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश : 

आफ्नो संघर्षका बारे बताइदिनुहोस् न ?

स्कुले जीवनबाटै मेरो संघर्ष सुरु भयो । मैले पढ्नका लागि धेरै मेहनत गरेकी छु । तीन घन्टाको उकालो बाटो हिँडेर स्कुल जान्थें । सुरुमा घरबाट पढाउने कुरा भए पनि आठ कक्षापछि पढ्न पर्दैन भन्ने कुरा आएको थियो । म पढाइलाई निरन्तरता दिने पक्षमा थिएँ । आर्थिक अवस्थाका कारण विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गर्ने मेरो इच्छा पूरा भएन । त्यसैको प्रभावले मास्टर्ससम्म प्राइभेट पढें । शिक्षा संकायमा स्नातकोत्तर (एमएड) पढ्दाताका मात्र क्याम्पस छिरेकी हुँ । 

प्रवेशिका परीक्षालगत्तै काठमाडौंस्थित रामकोटमा विवाह भयो । विवाहपछि आफूले रोजेको विषय पढ्न पाउँछु कि भन्ने आशा थियो । तर, सोचेजस्तो भएन । जेठी बुहारी संयुक्त परिवारमा घरको काम गरी स्कुल पढाउँदै, पेसागत शिक्षक संगठनमा आबद्ध हुँदै आफ्नो अध्ययन जारी राखें । अहिले विगत सम्झदा इच्छाशक्ति भए असम्भव केही रहेनछ जस्तो लाग्छ । मानिसले आफू कहाँबाट अघि बढें भन्ने धरातल कहिल्यै बिर्सनुहुँदैन । त्यही धरातलमा टेक्दै अघि बढे जीवनमा सफलता हासिल गर्न सकिन्छ । 

नेपालमा पछिल्लो समय महिलाको स्थिति कस्तो छ ?

जुनसुकै क्षेत्रमा पहिलेको तुलनामा महिलाको स्थिति धेरै राम्रो छ । नेतृत्वमा पुगेकाहरूले महिलाका कुरा उठाएर पुरुषले पनि त्यसमा साथ दिँदै गएकाले महिलाको स्थिति राम्रो भएको हो । सबै बुवाआमालाई छोरी पढाउने र आत्मनिर्भर भएको हेर्ने इच्छा बढेर गएको छ, जुन सकारात्मक पक्ष हो । यति हुँदाहुँदै पनि महिलाहरूलाई हरेक ठाउँमा चुनौती उस्तै छ । नेतृत्वमा कम महिला छन्, दिएको ठाउँमा पनि असफल हुन्छन् कि भनेर सुरुमै अविश्वास गरिन्छ । 

नेतृत्वमा बढीभन्दा बढी महिला कसरी पुग्न सक्छन् त ?

नेतृत्वमा पुग्न शिक्षा अनिवार्य सर्त हो । त्यसपछि महिलामा भित्री इच्छाशक्ति र चेतना हुनुपर्छ । महिला तथा पुरुषमा भएका पुरुषवादी चिन्तनका कारण समाजमा अझै पनि महिला अघि बढेको स्वीकार गर्न गाह्रो छ । महिलालाई नेतृत्व दिने बेलामा सक्दिनन् कि भन्ने पुरुष मानसिकता पनि छ । अर्को कुरा महिलाले महिलाकै खुट्टा तान्ने प्रवृत्ति पनि व्याप्त छ । यी सबै चुनौती स्वीकार गर्दै अघि बढे महिलालाई नेतृत्वमा पुग्न कसैले रोक्न सक्दैन । 

‘नेपाल शिक्षक महासंघ’ मा धेरै वर्षपछि महिलाले नेतृत्व पाउनुको कारण के हो ?

म ०३६ मा विद्यार्थी राजनीतिमा होमिएँ । ०४० देखि नै ‘राष्ट्रिय शिक्षक संगठन’ को साधारण सदस्य, इलाका सदस्य आदिमा नेतृत्व गर्दै अघि बढें । निरन्तर लागिरहँदा पनि शिक्षकहरूको राष्ट्रिय नेतृत्वमा पुग्न ३८ वर्ष लागेछ । यो दुःखद् पक्ष भए पनि अरुले विश्वास गर्नुभन्दा महिलाले आफै नेतृत्वमा पुग्न क्षमता, योग्यता प्रदर्शन गर्न सक्नुपर्छ । यसले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी बहन गर्न सकिन्छ । 

महासंघको काम के हो ? यसमा शिक्षकहरूका कतिवटा पेसागत संघ/संगठन आबद्ध छन् ? 

महासंघमा १४ वटा शिक्षकका पेसागत संस्था आबद्ध छन् । महासंघमा शिक्षक र कर्मचारीको साझा समस्यामा साझा मन्थन हुन्छ । साझा उद्देश्य हुन्छ, लडाइँ एउटै हुन्छ । पेसागत रूपमा संगठन छुट्टै भए पनि लडाइँ एउटै हुन्छ । यहाँ कर्तव्य र अधिकारबारे छलफल हुन्छ । अस्थायी/स्थायी शिक्षकका बढुवाको समस्या, सुविधाका कुरा, तलब, गुणस्तरीय शिक्षा आदि विषयबारे छलफल हुन्छ । शिक्षा मन्त्रालय र शिक्षा विभागसँग महासंघले शिक्षकका समस्याबारे छलफल गर्दै समाधानको प्रयास गर्छ । 

महासंघको नेतृत्व गर्न कत्तिको गाह्रो छ ?

गाह्रो छैन । मैले आफ्नो कुरा मात्रै लाद्न खोजे गाह्रो हुने हो । साझा मान्छे र साझा नेतृत्वमा बसेको भएर अप्ठ्यारो छैन । सानो होस् वा ठूलो संगठनमा सबैको कुरा सुनिदिनुपर्छ । म महिला भएर भन्दा पनि लामो समयको यात्राले यो जिम्मेवारी (पद) पाएकी हुँ । सबैको समर्थन र सहयोग पाएकी छु । हरेक निर्णय म एक्लैले गरे असफल हुनसक्छु । धेरैको सुझावपछि मात्र मैले निर्णय गर्ने भएकाले खासै गाह्रो छैन । 

शिक्षकका समस्या के–के रहेका छन् ?

लामो समयसम्म अस्थायी राख्ने, शिक्षक सेवा आयोग ढिला खुल्ने आदि समस्या छन् । वर्षौंपछि आयोग खुल्दासम्म शिक्षकको ऊर्जा सकिसकेको हुन्छ । यो तीतो यथार्थ हो । १५–२० वर्षसम्म आयोग नखुल्दा आफूले पढाएका विद्यार्थी सचिव–उपसचिव भइसकेका हुन्छन् । 

शिक्षकलाई राज्यले कुन रूपमा हेरेको छ ? 

शिक्षकलाई हेर्ने दृष्टिकोण राम्रो छैन । निजामतीको तुलनामा शिक्षकहरूको सेवा/सुविधा कम छ । निजामतीमा अस्थायी धेरै समय बस्नु पर्दैन र छिटोछिटो बढुवा हुन्छ । शिक्षकलाई त्यो सुविधा छैन । 

राम्रो शिक्षकका लागि आवश्यक गुण के–के हुन् ?

विषयवस्तुमा पोख्त हुनुपर्छ । आफ्नो पेसाप्रति दत्तचित्त भएर लाग्नुपर्छ । कक्षामा प्रभावकारी शिक्षा दिनुपर्छ । मेरा विद्यार्थी र अभिभावक, म र मेरो कामसँग धेरै खुसी पार्छु भन्ने प्रतिबद्धताका साथ एउटा शिक्षक अघि बढ्नुपर्छ । विद्यार्थीलाई सजाय दिने मानसिकता शिक्षकले त्याग्नुपर्छ । विद्यार्थी र शिक्षक मन मिल्ने साथीजस्तो हुनुपर्छ । त्यस्तो भएमा लोकप्रिय शिक्षक भइन्छ । 

महासंघको नेतृत्वमा भएपछि के–कस्ता काम भएका छन् ?

पहिलेका सहमतिहरूलाई कार्यान्वयन गर्ने प्रयास भएको छ । शिक्षक सेवा आयोगलाई छिटो–छिटो परीक्षा लिन गरेको आग्रह कार्यान्वयन भएको छ । महासंघकै आग्रहमा तीन वर्षदेखि रोकिएको शिक्षक अनुमतिपत्र परीक्षाको विज्ञापन भएको छ । निजामती अस्पतालजस्तै शिक्षक अस्पतालका लागि भगवानपुरमा २१ विगाहा जग्गा प्राप्त भएको छ । 

संस्थागत विद्यालयमा आकर्षण बढेको किन होला ? सामुदायिकमा विद्यार्थी आकर्षण कसरी बढाउन सकिन्छ ?

यसमा भाषाले मुख्य भूमिका खेल्यो । अंग्रेजी माध्यममा पढाइ हुने भएकाले आफूले जति दुःख गरेर पनि धेरै अभिभावकले सन्तानलाई संस्थागत (निजी) मा पढाउँछन् । अंग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा भएकाले आफ्ना सन्तानलाई त्यहाँ राख्दा गर्व महसुस गर्छन् । 

धेरै सामुदायिक स्कुलमा नेपाली माध्यममा पढाइ हुन्छ । सामुदायिकमा पढाउने शिक्षकले आफूलाई पोख्त बनाउन सक्नुपर्छ । नयाँ प्रविधि, नयाँ ज्ञानका कुरा सिक्दै अपडेट हुनुपर्छ । यसो त अब एउटै स्कुल बनाउने अवधारणा ल्याउनुपर्छ । एउटै शिक्षा नीति ल्याउनुपर्छ । जहाँ धेरै लगानी हुन्छ, त्यहाँको शिक्षा राम्रो हुन्छ भन्नु खराब अवधारणा हो । 

सबै क्षेत्रमा महिला सहभागिता कसरी बढाउन सकिन्छ ?

हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्छ । महिलालाई प्राथमिकता दिनुपर्छ, नाममात्रको नभई कामसहितको आरक्षण दिनुपर्छ । आरक्षण केही समयका लागि चाहिन्छ । 

भविष्यको योजना के छ ?

शैक्षिक क्षेत्रमा ३८ वर्षसम्म लामो यात्रा गरें अब समाजसेवा र लेखनमा लाग्छु । राजनीतिप्रति पनि मेरो रुचि छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>