थिएटरका ‘जादुगर’ बने अभिनेता 

प्रकृति दाहाल

फाल्गुन १०, २०७८ नाजिर हुसेन रंगमञ्चबाट उदाएका अभिनेता हुन् । थिएटरमा अभिनयको ‘जादुगर’ उपनाम पाएका उनले ठूलो पर्दादेखि म्युजिक भिडियोमा पनि उत्तिकै सफलता हासिल गरिरहेका छन् । बाल्यकालदेखि नै संघर्ष गर्दै आएका उनी आफूले गर्ने काम र मेहनतका आधारमा दर्शकहरूको मन जितेको बताउँछन् । 

बाल्यकाल

बारास्थित स्याउली चोकमा ऐलानी जग्गामा बनेको खरको घर । न परिवारको नाममा आफ्नो जग्गा थियो । न त आर्थिक अवस्था नै राम्रो । परिवारका कान्छा छोरा नाजिरको बाल्यकाल अभाव र संघर्षमै बित्यो । आफ्नो पढाइ खर्च जुटाउन उनी कहिले धान काट्न पुगे, कहिले फर्निचरमा काम गरे, आमासँग बसेर ढकिया पनि बुने । आमा स्वास्थ्यचौकीमा काम गर्थिन् । यति मात्रै होइन पैसा जुटाउन उनी खोला किनारमा ढुंगा बटुलेर बेच्थे । त्यसैले बाल्यकालमा उनका सीमित साथी मात्रै थिए । लज्जालु स्वभावका उनी पढ्नमा भने तेजिला थिए । नाच्न असाध्यै रुचाउँथे । बाल्यकालदेखि नै उनलाई कम्मर मर्काएर नाच्न मन पर्थ्यो । रेडियो बजाएर कोठाभित्र नाचेका थुप्रै सम्झना छन् उनीसँग । उनले भने, ‘म एकदमै लज्जालु स्वभावको थिएँ, कोठामा एक्लै नाच्थें ।’

थिएटरमा प्रवेश

प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनी शिक्षक बन्न पुगे । आफैले पढेको विद्यालयमा पठाउन थाले । उनी सडक नाटक पनि खेल्थे । विद्यालयको खाली समयमा पत्रिका पनि हेर्थे । त्यसबेला कला र शैली स्तम्भ उनलाई खुब मन पर्‍यो । उनले भने, ‘त्यतिबेला कला र शैली पेज नछुटाई पढ्थें ।’ संयोगवश एकदिन विद्यालयमा राजन खतिवडा नाटक लिएर आइपुगे । त्यतिबेला खतिवडा थिएटरमा नै आबद्ध थिए । यही क्रममा नेदरल्यान्डको एउटा टोलीले कन्टेम्प्रोररी डान्स वर्कसप गराउन लागेको उनले थाहा पाए । डान्समा भाग लिन उनी काठमाडौं हान्निए । घरमा आफ्नै तालमा नाचिरहने उनी राजधानी पुगेर नाच्दा नौलो अनुभव गरे । पछि नाटकको हुटहुटीले उनी मण्डला खोज्दै पुगे । उनले दरबार स्क्वायरमा ‘चरनदास चोर’ मा गेटपालेको सानो भूमिका पाए । सडक नाटक हुँदै उनी ‘सुनकेशरी’ नाटकमार्फत मण्डला छिरे । अभिनय निखार्ने उद्देश्यले उनी मण्डलामै बस्न थाले । उनी नाटक गर्थे तर पैसा भने थिएन । उनले रेडियो नाटकमार्फत पैसा कमाउँथे । नाटक सिक्ने हुटहुटीले थिएटरमै करियर बनाउने सोच बनाएका उनले ‘डिग्री माइला’, ‘बुद्धवाणी’, ‘एप्सन ल्याप’, ‘स्वप्न महल’ लगायतका नाटकहरूमा अभिनय गरे । 

कलाकारलाई सीमित घेरामा नराखौं

थिएटरबाट उदाएका उनी थिएटरमै सीमित रहेनन् । ठूलो पर्दामा पनि उत्तिकै सक्रिय भए । उनले ‘होस्टल रिटर्न’, ‘पुन्टे परेड’, ‘जंगे’, ‘गाँठो’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । उनी थिएटर, चलचित्र हुँदै पछिल्लो समय म्युजिक भिडियोमा पनि व्यस्त छन् । उनलाई केही फरक काम र अनुभव बटुल्न मन लाग्छ । तर, त्यसका लागि धैर्य गर्नुपर्ने उनी बताउँछन् । ‘हरेक कलाकारमा धैर्य आवश्यक हुन्छ’ उनले भने, ‘एउटा कलाकार सीमित घेरामा बस्नु हुँदैन । कलाकारहरू दर्शकहरूको सन्दर्भमा लोभी हुन्छन्, त्यसकारण पनि दर्शकहरूसँग देखिरहन मन पराउँछन् ।’ कलाकार भएर हरेक कुराको जानकारी हुनुपर्ने र स्वतन्त्र भएर काम गर्ने वातावरण हुनुपर्ने उनको भनाइ छ । 

साहित्यमा रुचि

नाजिरले साहित्यमा पनि उत्तिकै रुचि राख्छन् । पछिल्लो समय उनी कविता कोर्न व्यस्त छन् । उनको यो फरक क्षमतालाई लकडाउनले उजागर गरिदियो । सोसल मिडियादेखि अन्य मिडियाहरूमा उनको यो खुबीको चर्चा हुन थालेको छ । जानेर लेखेको भन्दा घटनाहरू शब्दमा उतार्ने गरेको उनले बताए । ‘घटनाहरूलाई नै मैले शब्दमा उतार्छु’ नाजिरले भने । हुन त उनको साहित्यप्रतिको रुचि बाल्यकालबाटै हो । उनले भने, ‘सानैदेखि कविताहरू लेख्थें, तर अहिले सोसल मिडियामार्फत उजागर गर्ने मौका पाएँ ।’

कामले नै सफलता

आफ्नै संघर्षबाट उनी एक स्थापित कलाकारका रूपमा आफूलाई चिनाइसकेका छन् । उनले भने, ‘दर्शकले हेर्ने भनेको काम हो, काम र परिश्रमले नै मानिसलाई सफलताको बाटोमा डोर्‍याउँछ ।’ नाजिरका अनुसार कलाकारले बोलीले भन्दा पनि काममार्फत अब्बल देखिने प्रयास गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>