भाइरसलाई सामान्य नसोचौं 

उपासना घिमिरे

फाल्गुन १, २०७८ ललितपुरस्थित झम्सिखेलमा ५० वर्षअघि जन्मिएकी डा.लुना भट्ट शर्मा नेपालकी चर्चित भाइरोलोजिस्ट हुन् । उनी भाइरससम्बन्धी अध्ययन गर्ने शास्त्र ‘भाइरोलोजी’ मा पीएचडी हुन् । त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबायोलोजीमा स्नातकोत्तर गर्ने क्रममा विवाह बन्धनमा बाँधिएकी उनले त्यसपछि पनि आफ्नो पढाइ जारी राखिन् । उनी जापानस्थित ओसाका सिटी युनिभर्सिटीबाट भाइरोलोजीमा पीएचडी गर्न जाँदा दुई सन्तानकी आमा बनिसकेकी थिइन् । श्रीमान्ले दुई छोरीको हेरचार गरिदिएकाले नै आफ्नो उच्च शिक्षा पढ्ने धोको पूरा भएको उनी बताउँछिन् । पछिल्लो समय विश्वभरि फैलिएको ओमिक्रोन भाइरस र बर्सेनि देखापर्ने नयाँ–नयाँ भाइरसको प्रकोपबारे डा. लुनासँग गरिएको संवादको सम्पादित अंश : 

भाइरस के हो ? नयाँ भेरियन्ट कसरी बन्छ ?

भाइरस सूक्ष्म जीव हो । यो ब्याक्टेरियाभन्दा पनि सानो हुन्छ । यो जीवित कोषमा मात्र फस्टाउन सक्छ । जीवित कोष, अण्डा, जनावर र मानिसमा यसको वृद्धि हुन्छ । धेरै तापक्रम भए यो आफैं मर्छ । ५० डिग्रीभन्दा माथिको तापक्रममा यो आफैं मर्छ । भीडभाड तथा संक्रमित व्यक्तिबाट यो फैलिन्छ । भाइरसमा पनि डीअक्सी राइबोन्युक्लिक एसीड (डीएनए) र राइबोन्युक्लिक एसीड (आरएनए) हुन्छ । पछिल्लो कोरोना आरएनए भाइरसको सबैभन्दा लामो शृंखला हो । यसको वृद्धि गर्ने प्रक्रिया अन्य भाइरसको भन्दा फरक छ । यो जति धेरै मानिसमा फैलिन्छ, उति बढी उत्परिवर्तित हुने सम्भावना रहन्छ । ओमिक्रोन भाइरसबाट संक्रमण हुने धेरै छन्, त्यसैले अर्को भेरियन्ट उत्परिवर्तित भएर आउँछ ।

पछिल्लो समय कम उमेरकालाई पनि भाइरस संक्रमण देखिनुको कारण के हुनसक्छ ?

ओमिक्रोन भाइरस पहिलेको भन्दा पनि तीव्र गतिमा फैलन सक्ने खालको छ । बालबालिका, युवाहरूमा सर्नसक्ने क्षमता भएको देखिएको छ । हाम्रो शरीरमा कोरोना भाइरसविरुद्ध बनेको एन्टिबडीले काम गर्दैन अर्थात् जो व्यक्ति पहिले संक्रमित भई उसको शरीरमा एन्टिबडी बनिसकेको छ, अब त्यो एन्टिबडीले यो ‘ट्रिपल म्युटेन्ट’ भाइरसविरुद्ध काम गर्दैन । त्यो एन्टिबडीले यो भाइरसलाई चिन्दैन । त्यही भएर यो डरलाग्दो भयो । रोग प्रतिरोधात्मक क्षमताले काम नगर्ने देखियो । त्यसैले म पहिले संक्रमित भइसकें, मेरो शरीरमा एन्टिबडी छ भनेर ढुक्क हुन सकिने अवस्था अब रहेन । एकपटक कोरोना लागिसकेको भए पनि यसले फेरि आक्रमण गर्ने क्षमता राख्छ । ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’ सबै वर्गका लागि जोखिमपूर्ण देखिएको छ । यसमा भाइरल लोड पनि अत्यधिक देखिएको छ । भाइरल लोडमात्र नभई यसले निम्त्याउने जटिलता पनि धेरै छ । यो भाइरस अत्यन्तै जोखिमपूर्ण छ । त्यसैले संक्रमित भएकाहरू बढेका हुन् । एउटा व्यक्तिबाट अर्कोमा अनि क्रमशः अन्य व्यक्तिमा भाइरसहरू सरेको सर्‍यै भइरहेको हो । 

नयाँ–नयाँ भाइरसको पहिचान किन भइरहेको छ ?

भाइरसलाई आफ्नो स्वरूप परिवर्तन गरिरहन हामीले नै बढावा दिइरहेका छौं । सभा, सम्मेलन, भीडभाडका कारण पनि यसले फैलने मौका पाएको हो । जनस्वास्थ्यका न्यूनतम मापदण्ड पनि पालना गरिरहेका छैनौं । लापरबाही भएकाले भाइरसको अन्य रूप आएको र आगामी दिनमा पनि आउने निश्चित देखिन्छ । भाइरसले आफ्नो सहजता र बाँच्नका लागि स्वरूप परिवर्तन गरिरहन्छ । यो वातावरण हामी आफैंले पनि बनाइरहेका छौं ।

ओमिक्रोन पहिलेका जस्तो कडा भाइरस होइन भन्ने छ, यो सही हो ?

हाम्रो शरीरमा दुई डोज भ्याक्सिनले बनाएको एन्टिबडीलाई यसले राम्ररी छल्न सक्छ । त्यही भएर तेस्रो (बुस्टर) को जरुरत देखिन थालेको हो । यो ओमिक्रोनले पहिले मन पराउने कोषहरू र पहिलेको प्रक्रियाबाट सेलभित्र जानै छोड्यो । अब फोक्सो छाडेर घाँटीमा वृद्धि हुन थालेको छ । कोष–कोषको फ्युजन न्यून हुन थालेकाले अहिले जटिलता कम देखिएको हो । तत्काललाई ओमिक्रोन कम घातक देखिए पनि यसको दीर्घकालीन असरबारे आएको पछिल्लो तथ्य भने चिन्ताजनक छ । यसले मानिसको दिमागमा असर गर्ने र एचआइभीले जस्तै कोषलाई कमजोर बनाउने भन्ने तथ्य सार्वजनिक भएको छ । 

यद्यपि भ्याक्सिन र एन्टिबडी छल्ने र धेरै संक्रमणशील हुनु यसको डरलाग्दो पक्ष हो जसले गर्दा फेरि म्युटेसन भई नयाँ प्रकृतिको भाइरस आउला भन्ने डर हो । ओमिक्रोनलाई पनि लापरबाही गर्नुहुँदैन । कतिपयमा जटिलता पनि देखिएको छ । त्यसैले संक्रमण दर बढे/घटे पनि नियम पालना गर्न छोड्नुहुँदैन ।

ओमिक्रोन भेरियन्ट फोक्सोसम्म नपुगी घाँटीमा वृद्धि गर्नुको कारण के हो ?

यसको प्रोटिनमा भएको म्युटेसनका कारण कोषसँग फ्युजन हुने क्षमता कम भएको छ । कोषभित्र जान यो ‘एन्डोसाइटोसिस मेकानिजम’ प्रयोग गर्न थालेको छ । ओमिक्रोनलाई पहिले जस्तो एक्सप्रेस गर्ने फोक्सोको कोष नचाहिने भएर घाँटीमा वृद्धि हुने गरेको हो । 

कस्ता बिरामीलाई छिटो असर गर्छ ? यसको पछिको असर कस्तो रहेको छ ?

पछिल्लो समय युवा उमेरकालाई बढी मात्रामा असर पारेको छ । यसैगरी, रोगप्रतिरोधक क्षमता कम भएकामा पनि यसको असर देखिएको छ । कतिपयलाई पोस्ट कोभिडको जटिलता पनि देखिएको छ । कोभिड निको भइसकेपछि पनि ‘ब्रेन फ्याटिग’ दिमागमा असर देखिएको छ । केही कुरा बिर्सेको जस्तो, कन्फ्युज भए जस्तो, यसैगरी हात हल्लिरहने, थकाई, रिंगटा लाग्ने समस्या देखिन थालेका छन् । शरीरमा शक्ति नहुने र केश झर्ने समस्या पनि देखिएको छ ।

भाइरससँग लड्नका लागि खोप कत्तिको उपयोगी हुन्छ ? खोप लगाएकामा पनि यसको संक्रमण देखिएको छ किन ?

कोभिडको भ्याक्सिन यसको उत्पत्ति भएपछि विकसित राष्ट्रले बनाए । महामारी विश्वभर नै फैलिएको छ । भाइरस म्युटेसन ( उत्परिवर्तित) गरिरहने थियो । भ्याक्सिन लगाइसकेका कतिपय मानिसमा पनि संक्रमण देखियो । भ्याक्सिनले एन्टिबडी बनाउँदा छलेर वृद्धि गर्नुपर्छ । यसले गर्दा खोप लगाएकामा पनि देखियो ।

खोपप्रति पूर्ण विश्वास र विश्वास नभएकाहरू पनि छन् । अझै एकपटक पनि खोप नलगाएका छन् यसमा के भन्नु छ ?

कोभिड–१९ विरुद्धको खोपले अब काम गर्छ/गर्दैन भन्ने विषयमा अध्ययन भइरहेको छ । रोग प्रतिरोधात्मक क्षमताले काम गर्दैन, छल्न सक्छ भनेपछि खोपले काम गर्ने सम्भावना पनि कम नै देखियो । कुनै पनि खोपले जटिलता कम गर्छ । पूर्ण रूपमा कोभिड नै नलाग्ने भन्ने छैन । यसबाट हुने जटिलता भने कम भएको छ । यसले भाइरसको आक्रमण कम गर्छ । त्यसैले पनि सबैले खोप लगाउनु आवश्यक छ ।

पहिलो र दोस्रो डोज कोभिसिल्ड लगाएकाले तेस्रो डोज भेरोसेल लगाउन मिल्छ ?

पहिलो र दोस्रो डोज जुन खोप लगाएको हो, बुस्टर डोज पनि त्यही लगाउनुपर्छ । अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्छ । कोभिसिल्ड र एस्ट्रोजेन खोपको बनावट एउटै भएकाले यी दुईमध्ये कुनै एक लगाउन सकिन्छ ।

भाइरसबाट बच्ने उपाय ?

खोपले धेरैलाई बचाएको छ । त्यसैले अहिले सबैको पहुँचमा खोप हुनुपर्छ । सबैले आ–आफ्नो तरिकाबाट जीवनशैली परिवर्तन गर्नुपर्छ । अनिवार्य रूपमा मास्क लगाएर स्यानिटाइजर प्रयोग गर्नुपर्छ । समूहमा धेरै बेरसम्म बसेर गफ गर्नुहुँदैन । भीडभाडबाट जोगिनु नै अहिलेको उत्तम उपाय हो । आफूलाई अरुबाट, आफूबाट अरूलाई पनि नसरोस् भनेर सदैव सचेत रहनुपर्छ । सन्तुलित खाना खानुपर्छ । 

जति–जति संकट आइपर्छ उति महिलामा कामको तथा अन्य भार थपिन्छ यसमा के भन्नु छ ?

यसो हुनु दुःखद् हो । अहिले धेरै महिला संक्रमित भएका छन् । तर पनि उनीहरू घरको काम गर्न बाध्य छन् । घरमा भएका सबै सदस्यले यो महिलाको काम हो नभनी कामको बाँडफाँड गरेमा महिलालाई सहज हुन्छ ।

अन्त्यमा, तपाईंको भविष्यको योजना के रहेको छ ?

भाइरोलोजिस्ट भएकाले यही क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहन्छु । आफूमा भएको ज्ञान समाजमा सदैव दिइरहन्छु ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>