Successfully Copied

संस्कृतिविद्को श्यामश्वेत शैली

घर त्यो हो जहाँ मन बस्छ, मन त्यहाँ बस्छ जहाँ आत्मालाई शान्ति मिल्छ ।

विशाल घिमिरे

घर त्यो हो जहाँ मन बस्छ, मन त्यहाँ बस्छ जहाँ आत्मालाई शान्ति मिल्छ । संस्कृतिविद् वीणा पौड्याल आफ्नो घरभित्र छिरेपछि मन, मस्तिष्क र शरीरलाई आराम मिल्ने बताउँछिन् । हुन पनि उनको घरको झ्याल–ढोकाभित्र शिवपुरी जंगलमा भएका रुखका पातले शीतल प्राकृतिक हावा छरिरहेका हुन्छन् । यो घर रानीवन–१ शिवपुरी नागार्जुन नेसनल पार्कको छेवैमा छ । २८ आना क्षेत्रफलमा फैलिएको यो घरको विशेषता भनेको बिहान घाम उदाएदेखि नअस्ताएसम्म हरेक कोठामा सूर्यको प्रकाश रहिरहनु हो । १६ सय वर्गफिटको बेसमा, पूर्णरूपमा ४५ सय वर्गफिट ओगटेको यो घरमा सात वटा रुम र छ वटा ट्वाइलेट/बाथरुम छन् । जसमध्ये तीनवटा मास्टर बेडरुम, दुई वटा लिभिङरुम, छ वटा बाथरुम र दुई वटा किचन छन् । झट्ट हेर्दा कुनै रिसोर्टजस्तो लाग्ने यो निजी निवासका कोठा र बाथरुम पनि स्टार होटलका भन्दा कम छैनन् । घरमा लाइएको विशुद्ध सेतो रंगले ‘नियो क्लासिकल’ झल्को दिन्छ । बेलायत, फ्रान्सलगायतका मुलुकमा प्रख्यात यो शैली राणाकालमा नेपाल भित्र्याइएको थियो । सोही डिजाइन पछ्याउँदै सिंहदरबार, केशरमहल आदि संरचना खडा भएका थिए । 

पूर्वी मोहोडायुक्त यो घरको फराकिलो गेटभित्र पस्नेबित्तिकै देब्रेतिर अन्डरग्राउन्ड पार्किङ छ भने दाहिनेतर्फ झरना र ढुंगेधारा छ । घर अगाडिको पूरै दाहिने अर्थात् दक्षिण पूर्वतर्फ हरियो दूबो र फलफूलले भरिएको गार्डेन छ । घरको मूलढोका अग्राखमा कलात्मक बुट्टा कुँदेर बनाइएको छ । मूलढोका छिर्नेबित्तिकै नेवारी स्टायलको फराकिलो बैठक छ । त्यसको दायाँतर्फ मास्टर बेडरुम र बायाँतर्फ किचन डाइनिङ छ । साढे दुई तल्ले यो घरको पहिलो तल्लामा किचनसमेत रहेको फराकिलो र आकर्षक लिभिङ रुम छ । यो तल्लाको दायाँतिर ठूलो मास्टर बेडरुम र बायाँतिर चिल्ड्रेनरुम छ । घरको दोस्रो तल्लालाई भने पूरै अफिस रुमका रूपमा डेकोरेसन गरिएको छ । घरको ग्राउन्ड लोरबाटै पूरै काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ कौसीमा गएर हेर्दा त सूर्योदय र सूर्यास्तसमेत प्रस्टै देखिन्छ । २१ वटा ढोका, ३० वटा झ्याल, दुईवटा ठूला कौसी र थुप्रै साना बरन्डा रहेको यो घरको सम्पूर्ण फ्लोरलाई ‘अफ ह्वाइट उड’ पार्केटिङ गरिएको छ । जसले सेतो घरलाई थप सुन्दर बनाएको छ । 

घरभित्रको इन्टेरियर डिजाइनिङ हेर्दा मोडर्न र नियो क्लासिकलको गज्जबको फ्युजन भेट्न सकिन्छ । कतिपय भित्तामा गरिएको कार्भिङ र विभिन्न किसिमका बुट्टाले घरलाई पृथक् लुक्स दिएको छ । घर बनाउन दुई वर्षभन्दा बढी समय खर्चेका विशाल घिमिरे भन्छन्, ‘हरेक भित्तामा हामीले रंग पोत्नुको सट्टा स्प्रे खेलाएका छौं, भर्‍याङमा बलियो अग्राखको काठलाई घोटेर चिल्लो बनाई नयाँ डिजाइन दिएका छौं । हामीले वाल अट्याच दराजहरूलगायत ९० प्रतिशत फर्निचर यहीँ बनाएका हौं । त्यसैले बढी समय लाग्यो ।’ 

उनका अनुसार नयाँ बजारको धूलोमैलो र कोलाहल वातावरणबाट यहाँ बसाइ सर्दा स्वर्ग पुगेको अनुभूति भएको छ । मूलतः उनी यहाँको मनोरम प्राकृतिक दृश्य, स्वच्छ हावा, रानीवनका चराचुरुंगीको चिरबिर आवाज, गाउँले स्वभावका मिजासिला छिमेकी अनि सुन्दर वातावरणले आफूलाई मानसिक रूपमा पनि तनावरहित बनाएको बताउँछन् । प्रदूषणले मानिसको मस्तिष्कलाई थकित बनाउँदो रहेछ भन्ने अनुभव भोगेका उनी यहाँ आएपछि जतिबेला पनि दिमागमा सिर्जनात्मक सोच फुरेको बताउँछन् । साथै उनले सहरको तुलनामा गाउँ सुरक्षित र सुन्दर भएको पनि बताए ।

(विशालसँग गरिएको कुराकानीमा आधारित)

 Image