फिजियोथेरापिस्ट महिला

 प्रकृति दाहाल 

माघ १२, २०७८ ‘फिजियोथेरापी’ उपचार एउटा वैज्ञानिक आधुनिक चिकित्सा पद्धतिका रूपमा विकसित हुँदै गएको छ । यसले शरीरका विभिन्न अंग (नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदि) मा आउने समस्या वा क्षतिलाई विभिन्न उपकरणमार्फत शारीरिक व्यायामका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्छ । यो उपचार विधि बालकदेखि ज्येष्ठ नागरिकसम्मलाई आवश्यक रहेको चिकित्सकहरू बताउँछन् । ‘म्यानुअल’, ‘एक्सरसाइज’ र ‘इलेक्ट्रो’ थेरापी गरी तीन तरिकाले यो गरिन्छ । ‘म्यानुअल थेरापी’ हातखुट्टा जाम भएको, मांसपेशी खुम्चिएको सन्दर्भमा लागू हुन्छ भने पीडा कम गर्न र अर्थोपेडिकका लागि ‘इलेक्ट्रो’ र ‘एक्सरसाइज’ थेरापी लागू हुन्छ । पछिल्लो समय फिजियोथेरापी करियरका रूपमा पनि अगाडि बढ्दै गएको छ । यसले महिला थेरापिस्टको संख्या पनि बढ्दो छ । ‘नारी’ मासिकको यो अंकमा केही महिला ‘फिजियोथेरापिस्ट’ लाई समेट्ने जमर्को गरेका छौं । 

नवीना श्रेष्ठ

राष्ट्रिय फुटबल टिमका खेलाडी ‘स्पाइन इन्जुरी’ भए वा ‘फिजियोथेरापी’ गराउनुपरे उनीहरू नवीना श्रेष्ठकोमा पुग्छन् । ‘स्पोर्ट इन्जुरी’ को उनी विज्ञ नै हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आबद्ध भई तीन वर्षयता उनी फिजियोथेरापिस्टका रूपमा कार्यरत छिन् । फुटबल इन्जुरी उनको हेर्ने विधा हो । धेरै खेलाडीलाई उनी फिजियोमार्फत उपचार गराइसकेकी छिन् । उनले महिला–पुरुष दुवैलाई फिजियोथेरापी उपचार गर्छिन् । नवीनाका अनुसार पुरुष खेलाडीमा मासु च्यातिने केस बढी हुन्छ । महिला खेलाडीमा ‘इसियल इन्जुरी’, ‘एन्कल स्प्रेन’ बढी हुने गरेको उनको भनाइ छ । ‘खेलका क्रममा बढी ‘स्पेस’ र ‘ह्यामस्टिङ’ को रेसियो नमिलेका कारण खेलाडीमा यस्ता समस्या देखा पर्छन्, तर त्यसको फिजियोबाट उपचार हुन्छ,’ उनले भनिन्, ‘फिजियो गराउने एउटा टेक्निक हुन्छ जसमा कहाँ छुने, कुन पोजिसनमा बसाउने थेरापिस्टहरूको आफ्नै टेक्निक हुन्छ ।’ थेरापी गर्दा सोल्डर, हिप र कम्मरमा बढी टच गर्नुपर्ने हुन्छ । खेलाडीहरू घाइते भएपछि जसरी हुन्छ मैदानमा फर्काउने उनको उद्देश्य हुन्छ । उनका अनुसार सबै खेलाडीलाई भने मैदानमा फर्काउन सकिँदैन । घाइते भएकै कारण खेलाडीले खेलै छाड्नुपर्ने बाध्यता पनि आउन सक्छ । उनका लागि यही क्षण नमीठो लाग्छ । फिजियोसँगै उनको अर्को रुचिको विषय ‘इन्जुरी प्रिभेन्सन’ पनि हो । उनी भन्छिन्, ‘इन्जुर भइसकेपछि मात्र उपचारमा लाग्ने होइन कि इन्जोर हुनुअघि नै प्रिभेन्सन अपनाउनु पनि आवश्यक छ । ’

सुस्मिता ढकाल

पूर्वराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाह खुट्टाको प्यारालाइसिस भएर नर्भिक इन्टरनेसनल अस्पताल पुगिन् । उनको केश फिजियोथेरापिस्ट टिममा पुग्यो । टिमका लागि यो चुनौतीपूर्ण थियो । उनको उपचार टिममा वरिष्ठ कन्सल्ट्यान्ट फिजियोथेरापिस्ट सुस्मिता ढकाल पनि थिइन् । करिब एक महिनाको उपचारपछि प्र्रेरणा हिँड्ने भइन् । यो पल सुस्मिताका लागि निकै अविस्मरणीय बन्यो । प्रेरणाको जस्तै उनले धेरै बिरामीको हड्डी–नशा छामी सकेकी छन् । हाड जोर्नी खिएको, घुँडा खिइएको, प्यारालाइसिस केश उनले धेरै हेरेकी छन् । उनी आठ वर्षदेखि फिजियोथेरापिस्टका रूपमा कार्यरत छिन् । औषधिले मात्र निको नहुने रोगहरू थेरापीको माध्यमबाट निको हुने गरेको उनको भनाइ छ । उनका अनुसार शारीरिक समस्यामा कसरी बाँच्ने भन्ने कुरा फिजियोले सिकाउँछ । लामो समय मोबाइल, कम्प्युटर चलाउने, एउटै आसनमा बस्नेहरूमा विभिन्न समस्या आउँछन् । उनले भनिन्, ‘शरीरमा पोस्टर मिलाउने, स्टेचिङ कसरी गर्ने, बस्ने कुर्सीलाई कसरी मिलाउने भन्ने विषय फिजियोथेरापीले सिकाउँछन् ।’ उनी फिजियोथेरापीलाई ‘इन्डिभिजुअल प्रोफेसन’ का रूपमा चिनाउन रुचाउँछिन् । उनले भनिन्, 

‘फिजियोथेरापीबारे बिरामीहरूलाई बुझाउन निकै गाहो पर्छ । धेरैले योगाका रूपमा पनि बुझेका छन्, तर योगा र यो थेरापी फरक हो भनेर बुझ्न आवश्यक छ ।

आकृति शर्मा

आकृति शर्माले क्यापिटल र गणेशमान सिंह अस्पतालमा फिजियोथेरापी डिपार्टमेन्ट संचालन गरिरहेकी छन् । सन् २०१० देखि नै उनी फिजियोथेरापिस्टका रूपमा कार्यरत छिन् । फिजियो डिपार्ट मात्र नभई उनी ‘आइसियु म्यानेजमेन्ट’ पनि हेर्छिन् । उनको क्षेत्र भनेको अर्थोपेडिक अस्पताल हो जसमा हड्डी/नशाका बिरामी नै बढी हुन्छन् । यसबाहेक उनी पाठेघरको समस्या भएका महिलाहरूलाई पनि फिजियो गराउने गर्छिन् । हरेक उमेर समूहलाई फिजियो गराएको उनीसँग अनुभव छ । उनले भनिन्, ‘सुरुमा ज्येष्ठ नागरिकलाई मात्र फिजियो आवश्यक छ भन्ने बुझिन्थ्यो तर पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिहरूलाई फिजियो आवश्यक हुन थालेको छ ।’ फिजियोथेरापी गराउनेहरूको संख्या बढ्दै जानुमा जीवनशैलीमा आएको परिवर्तन भएको उनले बुझेकी छन् । घन्टौं मोबाइल चलाउने, एकोहोरो बसेर काम गर्ने, विद्यालयको ब्याग भारी भएर बालबालिकाहरूमा घाँटीको समस्या आउनेसम्म उनको अस्पतालमा पुग्ने गरेका छन् । महिला फिजियो भएका कारण उनलाई विश्वास नगर्ने बिरामीहरू पनि धेरै रहेको उनको अनुभव छ । फिजियोका लागि पुरुष खोज्नेहरूलाई पनि उनले विश्वास दिलाएर निको बनाएकी छन् । उनका श्रीमान् पनि सँगै फिजियोथेरापिस्टका रूपमा कार्यरत छन् । फिजियोका लागि बलभन्दा पनि बुद्धि चाहिने उनले बताइन् । ‘फिजियो गर्दा बिरामीहरूले बल खोज्छन् तर यसका लागि बल होइन बुद्धि आवश्यक हुन्छ’ आकृतिले भनिन् । उनका अनुसार फिजियोथेरापिस्टको टेक्निक भनेको मोबिलाइजेसन टेक्निक हो, जसअन्तर्गत जाम भएको भागलाई संचालन गराउनु हो । 

रश्मि सुवेदी

कोरोनाकालमा धेरै बिरामीको उपचार लामो समयसम्म ‘आइसियु’ र ‘भेन्टिलेटर’ मा भएको थियो । यसले गर्दा उनीहरूको शरीरले हलचल गर्न पाएन । उनीहरूलाई सामान्य अवस्थामा फर्काउन धेरै समय लाग्यो । यो थाहा पाएर मेडिसिटी अस्पातलमा कार्यरत कार्डियोथेरापिस्ट तथा क्रिटिकल केयर फिजियोथेरापिस्ट रश्मि सुवेदीले उपचार सँगसँगै आइसियुबाटै थेरापी सुरु गरिन् । बिरामीले हलचल गर्न नसक्ने अवस्थामा उनले ‘प्यासिभ थेरापी’ सुरु गरिन् । 

‘पोस्ट कोभिड’ मा बिरामीहरूलाई ‘लङ्स एक्पान्सन एक्सरसाइज’ र ‘रिकन्डिसन एक्सरसाइज’ गराउन सुरु गरेको उनले बताइन् । ‘रोग निको भए पनि त्यसको असर भने लामो समयसम्म रहिरह्यो जसका लागि फिजियो आवश्यक हुन पुग्यो’ उनले भनिन् । कोभिडका बिरामीहरूलाई थेरापी आवश्यक भए पनि थेरापी गराउन निकै सम्झाउनुपरेको उनले बताइन् । ‘कोभिडले बिरामीको आत्मविश्वास कमजोर भएकाले थेरापीका लागि तयार हुन बिरामीलाई निकै समय लाग्यो’ उनले भनिन्, ‘तर, थेरापीले बिरामीलाई मानसिक र शारीरिक रूपमा राम्रो गर्‍यो ।’ कोभिडको कहर अझै पनि सकिएको छैन । संक्रमितहरूले आराम मात्र नभई एक्सरसाइज गर्न उनको सुझाव छ । डम्बेल एक्सरसाइज, फिजियो बल एक्सरसाइजहरू बिरामीले घरमै बसेर गर्न सक्छन् । तर यसका लागि एकपटक फिजियोथेरापिस्टसँग परामर्श गर्न आवश्यक रहेको उनको भनाइ छ ।

 

स्मृति सुवाल

नेपालस्थित ‘ह्यान्डिक्याप इन्टरनेसनल’ का लागि स्वास्थ्य र पुनर्स्थापना प्राविधिक सल्लाहकार एवं फिजियोथेरापिस्ट स्मृति सुवालका अनुसार फिजियोथेरापीले पुनर्स्थापना, स्वास्थ्य प्रवर्धन एवं रोग रोकथाम गर्न सहयोग गर्छ । फिजियो गराउन गाउँगाउँ पुग्ने स्मृतिले फिजियोथेरापीको महत्व अझै पनि सर्वसाधारणले बुझिनसकेको बताइन् । फिजियोथेरापी अहिले हरेक क्षेत्रमा पुगिसकेको भएपनि यसको महत्व सबैले अझै बुझ्न सकेका छैनन्,’ उनले भनिन्, ‘अझ नीति निर्माणको भूमिकामा रहेको ठूलो समूहले समेत यसको प्रवर्द्धनात्मक, निवारक, उपचारात्मक, पुनर्स्थापनाबारे बुझ्न बाँकी छ ।’उनले फिजियोथेरापीप्रति जागरुकता बढाउन आवश्यक रहेको बताइन् । 

‘फिजियोथेरापीको मुख्य विधि व्यायाम नै हो’ उनले भनिन्, ‘यसको कुनै पनि साइड इफेक्ट छैन । तर, यो उपचार एउटा विधि पनि भएकाले दक्ष र योग्य जनशक्तिबाट यो सेवा लिनुपर्छ ।’ नीतिगत रूपमै फिजियोथेरापी उपचार पद्धतिलाई अगाडि बढाउनुपर्नेमा उनको जोड छ । उनले महिला भएकै कारण आफूले धेरै चुनौती झेल्नुपरेको बताइन् । स्मृतिका अनुसार महिला कमजोर हुन्छन्, जटिल प्रकृतिका काम गर्न सक्दैनन् भन्ने मानसिकता अझै पनि समाजमा विद्यमान रहेकाले धेरै समस्या छ । गाउँगाउँमा पुगेर बिरामीहरूलाई सम्झाउन कठिन भएको उनको अनुभव छ । तर जब बिरामीहरूले फिजियोबारे बुझ्छन् तब सहज महसुस हुने उनले बताइन् । ‘हामी चिकित्सा सेवा र शल्यक्रियालाई मात्र मुख्य स्वास्थ्य सेवाका रूपमा लिने संस्कृतिबाट आएका हौं’ उनले भनिन्, ‘फिजियोथेरापी यी विषय/सेवाभन्दा अलिक पृथक् छ । तसर्थ, हामीले सुरुमा अधिकांश सेवाप्रदायकहरूलाई सन्तुष्ट पार्न चुनौतीको सामना गरिरहेका हुन्छौं ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>