Successfully Copied

बालबालिका र दाँत 

आमाको दूधले सिधै ‘क्याभिटी’ गराउँदैन । आमाको स्तनपानसँगै छ महिना नाघेपछि बच्चाले अन्य गुलिया खानेकुरा खाएर मुखमा एसिडिक वातावरण सिर्जना भयो र मुखको सरसफाइमा ध्यान नदिएपछि मात्र कीरा लाग्छ ।

डा. हेमा झा

 

बालबालिकाको दाँत कति वर्षको उमेरबाट निस्कन थाल्छ ?

बालबालिकाको दूधे दाँत पहिलोपटक छ महिनातिर निस्कन्छ । सबैभन्दा पहिले निस्कने दाँत तल्लो बंगाराको अगाडिको दाँत हो । बालबालिका तीन वर्ष पुग्दासम्म उसका २० वटै (१० वटा माथि र १० वटा तल) दूधे दाँत निस्किसक्छन् । उनीहरूको उमेर पुगेपछि भने पहिलो स्थायी दाँत आउन थाल्छ । १८ देखि २० वर्षको उमेरसम्ममा २८ देखि ३२ वटा स्थायी दाँत आउँछन् । 

ब्रस कहिलेबाट गर्नु उपयुक्त हुन्छ ?

दाँत उम्रनुअगाडि दूध खुवाएपछि एउटा सफा भिजेको (राम्ररी पानी निचोरेको) नरम कपडाले बच्चाको गिजा, जिब्रो र भित्री गाला बिस्तारै पुछिदिनुपर्छ । यसो गर्नाले मुखमा किटाणु प्रवेश गर्न पाउँदैनन् र पछि उम्रने दाँतलाई असर पनि पर्दैन । पहिलो दाँत उम्रेको देखिनासाथ ब्रस गराउन सुरु गर्नुपर्छ । यसका लागि सानो नरम ब्रसको प्रयोग गर्नुपर्छ । बच्चाले थुक्न सक्ने नभएसम्म ब्रस गर्दा पेस्टको प्रयोग गर्नुहुँदैन । टुथपेस्ट निल्नु राम्रो होइन । प्रायः बच्चाले दुई वर्ष उमेर पुगेपछि थुक्न सिक्छन्, त्यसपछि भने टुथपेस्टको प्रयोग गर्नु उपयुक्त हुन्छ । टुथपेस्ट कम मात्रामा (चामलको दाना जति) दिनुपर्छ । तीन वर्षको उमेर पुगेपछि केराउको दानाजति टुथपेस्ट प्रयोग गर्नुपर्छ । भिजेको ब्रसलाई गोलाकार     रूपमा दाँतको अगाडि–पछाडि, चपाउने भाग र गिजासँग जोडिएको भागमा दाँत माझिदिनुपर्छ । बिहान खाना खाएपछि र राति सुत्नुअगाडि ब्रस गराइदिनुपर्छ । बालबालिका ७–८ वर्षको उमेर नपुगेसम्म राम्ररी ब्रस गर्न जान्दैनन्, त्यसैले अभिभावकले आफैंले वा आफू बसेर ब्रस गराउनुपर्छ । 

आमाको स्तनपान मात्र गरेका बच्चाको दाँत कीराले खाएको जस्तो (पहेंलो, कालो) हुने कारण के हो?

आमाको दूधले सिधै ‘क्याभिटी’ गराउँदैन । आमाको स्तनपानसँगै छ महिना नाघेपछि बच्चाले अन्य गुलिया खानेकुरा खाएर मुखमा एसिडिक वातावरण सिर्जना भयो र मुखको सरसफाइमा ध्यान नदिएपछि मात्र कीरा लाग्छ । त्यसैले ढुक्क भएर स्तनपान गराउनुपर्छ । स्तनपान गराइसकेपछि दाँत सफा गर्न भने बिर्सनुहुँदैन । कतिपय बच्चामा वंशानुगत कारणले समस्या हुँदा दाँतको इनामेल नरम खालको हुन्छ । त्यस्ता बच्चाको दाँतमा ध्यान नपुगेमा छिट्टै बिग्रिन सक्छ । 

बालबालिकाको दाँत कसरी स्वस्थ राख्न सकिन्छ ?

बिहान खाना खाएपछि र बेलुकी सुत्नुअघि ब्रस गराउनुपर्छ । बच्चा छ महिना पुगेपछि एक वर्षको उमेर हुनेबेलासम्म डेन्टिस्टसँग पहिलो चेकअप गराउनुपर्छ । बच्चाको उमेर तथा तौलअनुसार फ्लोराइड दिनुपर्छ । टुथपेस्टमा फ्लोराइडको मात्रा पुगेन भने डेन्टिस्टको सल्लाहमा फ्लोराइड वार्निस लगाउन सकिन्छ । यसले दाँतको इनामेललाई बलियो बनाउँछ । 

दाँतलाई बलियो बनाउन कस्ता खानेकुरा खानुपर्छ ?

यसका लागि दूध, दही एवं चीज आदि क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ । प्रोटिनयुक्त खानेकुरा मासु, अण्डा, सोयाबिन, तोफु खानुपर्छ । भिटामिन ‘सी’ले गिजालाई फाइदा पुर्‍याउँछ । यसका लागि सुन्तला, किबी, स्ट्रबेरी आदि खान सकिन्छ । यी फलफूलमा ‘एसिडिक’ हुन्छ, त्यसैले खाएपछि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । यसो नगरे दाँतको ‘इनामेल’ बिग्रन्छ । गाजर, स्याउ आदि फलफूल खाँदा पनि दाँत प्राकृतिक रूपमै सफा हुन मद्दत पुग्छ । उचित खानपान, दुईपटक राम्ररी दाँत सफा गर्ने र नियमित डेन्टिस्टकहाँ परीक्षण गराए बच्चाका दाँत स्वस्थ र बलिया हुन्छन् । 

(डा. हेमा सांग्रिला डेन्टल क्लिनिकमा कार्यरत हुनुहुन्छ)

 Image