Successfully Copied

नोबेल पुरस्कार विजेताको ‘कुकबुक’ मा नेपाली खाना 

‘कुकिङ टु सेभ योर लाइफ’ शीर्षकको पुस्तक भखैरै प्रकाशित भएको छ ।

अभिजित बेनर्जी प्रख्यात अर्थशास्त्री हुन् । सन् २०१९ मा उनले नोबेल पुरस्कार प्राप्त गरेका थिए । उनकै भनाइमा पहिलो पटक खाना पकाएपछि चार दशकमा उनले हजारौंपटक भान्सामा समय बिताएका छन् । तिनै प्रयोगहरूमा आधारित भएर उनको अरूलाई छक्क पार्नेगरी पाककलासम्बन्धी एउटा पुस्तक प्रकाशित भएको छ । उक्त पुस्तक प्रकाशन गर्ने चिनी सरकार भन्छिन्, ‘उनी अर्थशास्त्रीभन्दा अझ राम्रो पाकशास्त्री भएको एउटा हँस्यौली छ ।’ ‘कुकिङ टु सेभ योर लाइफ’ शीर्षकको पुस्तक भखैरै प्रकाशित भएको छ । अभिजित भन्छन्, ‘पुस्तकमा केही परिकार बनाउने विधि अरूलाई प्रभावित पार्न राखिएका छन् । विभिन्न स्वादका दाल पकाउने विधि पनि यसमा समावेश छ । दाललाई उनले ‘हिउँदका दिनमा ओढ्ने न्यानो पछ्यौरा’ जस्तो भनेका छन् ।’

उनले आफ्ना जेठानलाई क्रिसमसका विभिन्न व्यञ्जन बनाउने विधिको संग्रह दिने योजना बनाएका थिए तर पछि त्यसले पुस्तककै आकार लिन पुग्यो । उनी भन्छन्, ‘पाककला एउटा सामाजिक गतिविधि हो, यसको सन्दर्भ हुन्छ, अहिलेको छाक तपाईंको परिवारका लागि उपहारका रूपमा पाक्छ त कहिलेकाहीँ यो कसैलाई लोभ्याउन पकाइन्छ अनि कहिलेकाहीँ आफूलाई अभिव्यक्त गर्न ।’ खानाका तस्बिरको साटो उक्त पुस्तकमा चेयेन ओलिभरले बनाएका ज्यामितीय चित्रहरू छन् । ओलिभिर अभिजितको परिवारमा सहयोगीका रूपमा बसेकी छन् । उनले प्रायः अभिजितसँग मिलेर खानेकुरा पकाउने गरेकी छन् । ओलिभर भन्छिन्, ‘हामी मानिसहरू खाना कस्तो देखिन्छ भन्दा पनि कस्तो वासना छ भन्नेमा केन्द्रित होऊन् भन्ने चाहन्थ्यौं ।’ खाना पकाउनुलाई एउटा उदार कामका रूपमा हेरिनुभन्दा पनि ईर्ष्यापूर्वक वा गर्व गर्नका लागि वा दबाबमा परेर व्यञ्जन बनाइने गरेका सन्दर्भहरू पुस्तकमा उल्लेख छ । नेपाली जाउलो (खिचडी) को रेसिपी पनि यसमा पढ्न पाइन्छ । साथै २० तरिकाले दाल पकाउन सकिने कुरा पनि पुस्तकमा उल्लेख छ ।

 Image