पहिलो माया

सुष्मा पोखरेल

मंसिर १४, २०७८ हरेक दिन उही दैनिकी, बिहान ५ देखि बेलुकी ९ बजेसम्म । घरधन्दा अनि अफिस । कामकाजी महिला हुनुको फाइदा वा बेफाइदा, खोइ के पाउनका लागि, यो दौडादौड हो ? यो पितृसत्तात्मक समाजमा हामी चेलीले जे गरे पनि समाजले फलानाकी छोरी, बहिनी, श्रीमती भनेर त चिन्ने हो । 

कोरोना महामारीका कारण अफिसको कामबाट फुर्सदमा थिएँ । आफ्नै घरको छतमा नगएको महिनौं भइसकेको थियो । जेठको उखरमाउलो गर्मी थियो । शरीर पसिनाले भिजेको थियो । गोधूली साँझमा परेको हल्का पानीसँगै चिसो बतासले भने शीतलताको अनुभूति गरिरहेकी थिएँ । मनमा नानाथरीका कुरा खेलाइरहेका बेला खल्तीमा रहेको मोबाइल फोनमा पुग्यो । छेवैको मेच तानेर थपक्क बसें, मोबाइल झिकें, चलाउन थालें । अचेल धेरै जनाको एक्लोपनको साथी यही मोबाइल बनेको छ । म पनि यसबाट अछुतो रहने कुरै भएन । 

मोबाइलमा आफ्नो फेसबुक प्रोफाइलमा ‘फ्रेन्डलिस्ट’ (मित्रताको सूची) हेर्दै थिएँ । सूचीमा सच्चा र देखावटी अनलाइन फ्रेन्ड पनि थिए । सूचीमा त्यसताका छ महिनाअघि फेसबुके साथी बनेका हामी दुई पनि रहेछौं । मैले उनको ‘फ्रेन्ड रिक्वेस्ट’ आँखा चिम्लेर स्विकारेको थिएँ । सकेसम्म अरुको प्रोफाइल नहेरी म कसैलाई फेसबुकमा एसेप्ट गर्दिन । तर उसको हकमा आफैले तय गरेको यो सर्तको मैले उल्लंघन गरें । किनभने मेरा लागि उनको नामै जो काफी थियो । 

चलचित्र, कथा–कविता वा गीतमै पनि ‘पहिलो प्रेम’ को प्रसंग चल्दा मन त्यसै रोमाञ्चित हुने क्या ? अझ भुक्तभोगीहरूका लागि त प्रेमिल अतीतका पानाहरू पल्टाउने यी माध्यम नै बन्ने गरेका छन् । हो, मैले पनि उसैलाई सम्झिन पुगें । मेरो परिकल्पनामा, उसले मलाई बिर्सिसकेको भन्ने थियो । व्यक्तिको परिकल्पना सधै कहाँ मिलेको पो छ र ?

‘मेरो अनुरोध स्विकारेकोमा तिमीलाई धेरै–धेरै धन्यवाद’ फेसबुक संवादमा उसले भन्यो, ‘मैले तिमीलाई कति खोजें.......? अनलाइनमै भए पनि बल्ल तिमीलाई पाएँ । आज राति म मस्त निदाउनेछु,... म जस्तो भाग्यमानी को होला ? मैले आफ्नो हराएको कोहिनुर फेला पारेँ । थ्याङ्क यू मार्क जुकरबर्ग ।’ मैले ‘हजुर’ पनि भनी नसक्दै एकै सासमा उसले यी सबै भन्न भ्याएछन् । सायद वर्षौंदेखि मनमा दबिएका प्रेम भावहरू उसले यसरी पोखेको हुनुपर्छ । यी भावहरू उनका लागि आरामको सास फेर्ने ज्यावल पक्कै बनेको हुनुपर्छ । 

म यता रोमाञ्चित थिएँ, उता उनको मनको बाँध फुटेको थियो । अद्भूत अनुभूतिको क्षण थियो त्यो । 

‘ओहो, म पनि कस्तो, तिम्रो कुशलछेम नसोधी एकोहोरो पो बनेछु । फेरि सोध्न पनि के पर्छ र ? फेसबुकबाट आधाउधी त अड्कल काटिसकें ।’

‘अनि मेरो बारेमा सोध्दिनौ’ उसले प्रश्न गर्‍यो । ‘हजुर ठीक हुनुहुन्छ ?’ मैले थपें ।

उत्तर आयो, ‘अघिसम्म त केही बिसन्चो थियो, अब पूरै ठीक भइसकें’ 

अब दोहोरो संवाद सुरु भयो । 

‘हजुरकी बहिनीलाई भनेकी थिएँ’

‘को बहिनी ?’

‘रूपा, हजुरको छिमेकी,उसको लोग्ने र हजुर एकै ठाउँमा काम गर्नुहुन्छ रे त लन्डनमा’ मैले जवाफ फर्काएँ । 

‘को..?....रवि शाक्य ?’

‘हजुर... ’ 

‘ए, ती तिम्रा ज्वाईंपो परे.... मख्खीचुस मोरो’ भन्दै ऊ मज्जाले हाँस्यो ।

खै थाहा छैन, हाम्रो दूरी कति टाढा छ । तर उनको हाँसो उस्तै । वर्षौंअघि दाइहरूसँग मामाघरको चोकमा हाँसेझैं मैले अनुभूति गरें । मलाई मन्त्रमुग्ध पार्ने त्यो हाँसो वर्षौंसम्म उस्तै पाएपछि म पुलकित भएँ, सुखानुभूति गरिरहेको थिएँ । 

वर्षौंपछि उसको हाँसो उस्तै भए पनि समय र सम्बन्ध भने फेरिएकै थियो । 

यतिका वर्षपछि कसैको यादले मात्रै ओठमा मुस्कान आउन सक्ने यो कस्तो सम्बन्ध ? यसलाई कोसँग तुलना गरूँ म, केसँग तुलना गरूँ म....?

१० कक्षामा पढ्दै गर्दा मामाघरमा उसलाई देखेको हो । गोरो लाम्चो अनुहार, ठूलाठूला आँखा, सुगाको जस्तो नाक, करिब ६ फिटको कद, लसक–लसक गरी हिँड्ने हात्तीको चाल, कुनै चलचित्रका नायकभन्दा कम थिएनन् । 

स्कुल र मामाघरको दूरी खासै टाढा त छैन । र, पनि अब मामाघर जान मलाई बहाना खोज्नुपर्ने भयो । कहिले मामासँग गणित सिक्ने, कहिले दाइसँग अंग्रेजी पढ्ने । कहिले रूपासँग संयुक्त अध्ययन गर्ने ...यसरी एसएलसीको तयारी गर्ने बहानामा उता आउजाउ बाक्लिएको थियो । 

यो बहाना मलाई मात्रै थाहा छ भन्ठान्थे म । झ्याल, कौसी, कोठा र चोठाबाट लुकीलुकी उसैलाई हेरिरहन्थें । ‘एसएलसी सकेपछि चार महिना छुट्टी हुन्छ, आँखै नझिम्काइ हेरिरहनु नि, ओई पढ्न आइज भन्दै’ रूपाले पछाडिबाट कपाल तान्दा म डराएकी थिएँ ।

मामाकी ठूली छोरीको विवाहको कुरा छिनिएको थियो । एसएलसी सकेर फुर्सदिला भएका रूपा र म घरको पहिलो विवाहमा साडी लगाउने भन्दै बुरुक–बुरुक गरिरहेका थियौं । भन्दा नभन्दै विवाहको दिन पनि आइहाल्यो । बाजा घन्काउँदै आँगनीमा जन्ती आइपुगे । बेहुली पट्टीका कोही, बेहुला पक्षको स्वागत–सत्कारमै व्यस्त थिए । खै–खै बेहुला कस्तो छ जोडी मिल्यो कि मिलेन भन्दै कतिपय खासखुस गर्न लागेका थिए । उमेर पुगेकाहरू दायाँ–बायाँ आँखा नचाउँदै थिए । त्यो भीडमा मेरो आँखाले भने उसैलाई खोजिरहेको थियो । ‘म यता छु’ कानैमा आएर उसले भन्दा लाजले भुतुक्कै भएकी थिएँ म....।

जे कुराको डर थियो, त्यही भयो, लुकीलुकी हेरेको मनमनै मन पराएको उसले थाहा पाइहाल्यो । माथि कौसीमा आउन गरेको संकेत पछ्याउँदै म लुसुलुसु उसको पछिपछि गएकी थिएँ । मुटु ढुकढुक गरिरहेको थियो । आँखा जुधाएर उसलाई हेर्न पनि सकिरहेकी थिइन ।

 ‘यो पहेंलो साडी तिमीलाई कति सुहाएको जन्तीहरूले आँखा लाउलान् है ।’ 

बोली पूरा हुन नपाउँदै रूपा आइपुगेकी थिइन् । ‘ओई जुत्ता लुकाउने बेला भइसक्यो, भोलि कुरा गर्नू’ भन्दै मलाई तानेर लगेकी थिइन् । दोहोरो कुरा त परै जाओस् नजिकैबाट एक–अर्कालाई राम्ररी ह्रेर्न पनि पाएका थिएनौं ।

एसएलसीको परिणाम सार्वजनिक भएको थियो । रूपा त्रिचन्द्र कलेजमा भर्ना भई म पद्मकन्या कलेजमा । कलेज फरक भएपछि रूपाको र मेरो भेटघाट पातलिँदै गएको थियो । आ–आफ्नो पढाइको व्यस्तताले हाम्रो बाटो अलग भएको थियो । एकदिन पढाइ सकेर घर फर्कने क्रममा क्याम्पसको ढोकामा उसलाई देखेको थिएँ । बाइक बिस्तारै गुडाउँदै नजिकै आएर ‘बस म घर पुराइदिन्छु’–उसले मलाई भनेको थियो । एक मन त खुरुक्क बसौंजस्तो लागेको थियो । भर्खरै चिनेका साथीहरू, भोलिदेखि जिस्काएर बस्न–खान दिँदैनन् भन्ने सोचेर त्यस दिन अर्को मनले मलाई रोकेको थियो ।

दुईवटीमध्ये एउटी अलि बोलक्कड थिइन्–‘हेलो मिस्टर तीनै जनालाई लाने हो ?’ 

‘हो, लाने हो’ उसले भनेको थियो ।

‘अनि तीनै जनालाई मिलाएर राख्न सक्नुहुन्छ ? कसरी सम्हाल्नुहुन्छ’ भन्दै उनले ठट्टा गर्न थालेकी थिइन् । ऊ पनि के कम ‘एउटी लाई दायाँ अर्कीलाई बायाँ अनि तिमीलाई मुटुमा’ भन्दै मलाई हेर्दा म मनमनै उसकी भइसकेकी थिएँ ।

‘आज त हामीलाई छाडिदेउ, जहाँ लगे पनि पर्सी लानू, घरै नपुराए पनि केही छैन हामी भनिदिउँला अन्टीलाई ज्वाईंसँग घुम्न गई भनेर’ बागबजारबाट रत्नपार्कसम्मको दूरी कति नै छ र ?’ 

‘आइतबार ११ बजे म आउँछु’ मतिर हेरेर उसले भनेको थियो । मुसुक्क हाँसेर मैले मुन्टो हल्लाएको थिएँ । ऊ दरबारमार्गतिर लागेको थियो, हामी तीनवटी भोटाहिटीतिर गएका थियौं ।

नेपाल टेलिभिजनको ८ बजेको समाचार हेर्दै रातको खाना खाने चलन जस्तै थियो घरमा । खाँदाखाँदै मेरो त गासै अड्केजस्तो भएको थियो, झनन्न रिँगटा लागेर आँखा वरिपरि अन्धकारले ढाकेको थियो । धड्कन तेजले बढ्न थालेको थियो । द्वन्द्वकालमा चक्काजाम वा हड्ताल सामान्य कुरा थिए । फेरि अनिश्चितकालीन नेपाल बन्द ।

ओहो π अब फेरि कति दिन हो कलेज जान नपाउने ? ऊसँग छुट्टिएपछि प्रत्येक क्षण, प्रत्येक पल उसको मात्र याद आउँथ्यो । न कुनै दिन धीत मर्ने गरी बोलेका थियौं, न एक–अर्कोलाई राम्ररी हेरेका थियौं, न स्पर्श गरेर प्रेमानुभूति नै गरेका थियौं । तैपनि म किन यति धेरै उसैलाई सम्झिरहेको थिएँ । प्रत्येक पल आफैलाई बिर्सिरहेको थिएँ । बीचमा एउटा शनिबार, एक दिन त छ, २४ घन्टाको तैपनि त्यो आइतबार वर्षौंपछि आउँदैछ जस्तो लागेको थियो । यो कस्तो पर्खाइ ? यो कस्तो सम्बन्ध ?

आ–आफ्नो जिन्दगी बाँच्दै हामी धेरै अगाडि आइपुगेका छौं । झन्डै २४ वर्षपछि त्यस दिन हामी लामै गफिएका थियौं । आफ्नो जीवनमा ऊ सफल छ । खुसी र सुखी छ । म पनि सुखी छु । सँगै हुन पाएको भए सुनमा सुगन्ध हुने थियो ।

मनभरि यस्तै कुरा त्यस दिन खेलिरहे । ‘यो पहिलो मायाको आभास कस्तो–कस्तो ?

वर्षौंपछि बोल्दा मात्रै पनि बैस फुलेजस्तो ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>