Successfully Copied

विवाहमा मिश्रित संस्कृति

श्रीमान्को संस्कार र परम्परामा जति श्रीमती घुलमिल हुनैपर्छ भन्ने मान्यता छ श्रीमान् पनि श्रीमतीको संस्कृतिसँग उति नै नजिक हुनु जरुरी छ ।

एकताका समान जात, धर्म, संस्कार एवं संस्कृति मिलेकोलाई ‘रीत पुगेको’ विवाह भनिन्थ्यो । त्यो परम्परागत रीत पछिल्लो समय परिवर्तन उन्मुख छ । पहिलेजस्तो अभिभावकका लागि वर–वधू मन पर्नुको साटो अचेल लगनगाँठोमा बाँधिनेहरूको मन मिल्नुपर्ने संस्कार विकास भएको छ । त्यसैले विवाहका लागि जात होइन मन मिल्नुपर्छ भन्ने तथ्य समाजले स्वीकार गर्न थालिसकेको छ । अझ एउटै जोडीको विवाह फरक धर्म, संस्कृति र परम्पराअनुसार दुई तरिकाले हुने क्रम बढेको छ । 

गायिका शीतल मोक्तानले पछिल्लो समय विवाहमा जातलाई प्राथमिकता दिने चलन घट्नुले नयाँ संस्कारको सुरुवात भएको बताइन् । ‘हाम्रै विवाहमा पनि मेरो परिवारका तर्फबाट तामाङ संस्कृतिअनुसार लामा गुरुले मन्त्र पढेपछि चारदाम गर्‍यौं भने श्रीमान्का तर्फबाट उहांँहरूले आफ्नै गुरु–पुरोहित राखेर हिन्दू संस्कारअनुसार विवाह सम्पन्न गरियो’ उनले भनिन् । उनका श्रीमान् मञ्जिल विक्रम केसी शीतलको भनाइप्रति सहमत छन् । मञ्जिलले भने, ‘फरक जात भएको खण्डमा पछिल्लो समय प्रायः वर–वधु दुवै पक्षका आ–आफ्नै संस्कार र परम्पराअनुसार विवाह हुने चलन बढेको छ । एउटै विवाह दुई तरिकाबाट हुने हुँदा फरक धर्म, संस्कृति र संस्कारबारे ज्ञान बढ्छ ।’ अर्थोपेडिक सर्जन डा. पेम्बा लामाको भनाइ पनि उस्तै छ । ‘यसरी विवाह हुँदा दुवैतर्फका परिवारलाई नराम्रो नलाग्ने र दुवैले दुवैको संस्कारको सम्मान गरेको महसुस हुन्छ । यस्तो विवाह आत्मीय र सौम्य देखिन्छ’ उनले भने । डा.पेम्बाले पाटनका नेवार समुदायकी डा. सिरपा बज्राचार्यलाई आफ्नी दुलही बनाएका हुन् । उनीहरूको विवाह शेर्पा र नेवार दुवै तरिकाबाट सम्पन्न भएको थियो । 

युवा राजनीतिकर्मी मानुषी यमी भट्टराईले विवाहलाई दुई व्यक्ति वर्षौंसम्म सँगै जीवन बिताउने प्रणका रूपमा लिएकी छन् । उनले भनिन्, ‘विवाह एक–अर्काप्रतिको सम्मान र समझदारी हो । यसमा विश्वासले मुख्य भूमिका खेलेको हुन्छ, यसमा जातको प्रश्न किन ?’ उनका श्रीमान् जेकेन्द्र श्रेष्ठको भनाइ अलिक फरक छ । ‘विवाहलाई जाति वा महिलाको मात्र मुद्दा बनाउनु हुँदैन । यो त सिंगो समाजको साझा मुद्दा हो’ उनले भने, ‘आफू जन्मिएको घर जबसम्म आफ्नो नरहने, श्रीमान्को घरलाई मात्रै आफ्नो घर सम्झिनुपर्ने, जन्मघर छाडेर पुरुषको घर जानुपर्ने कुराको अन्त्य हुँदैन तबसम्म समाज समानान्तर हुँदैन । गोत्र सार्ने, थर सार्ने, महिलाको वंशज नहुने यो असमानता होइन र ? विवाहमा जातको मुद्दा मात्रै होइन अन्य सुधार्नुपर्ने थुप्रै विषय बाँकी छन् ।’

बिएस्सी नर्सिङ तथा गायिका ऋतिका श्रेष्ठले फरक जातजाति र संस्कृतिको विवाहले समाजमा अझ भातृत्व र सौहार्द्रता बढाउने बताइन् । उनले भनिन्, ‘आफ्नो भनिसकेपछि प्रेम बढ्छ, जहाँ प्रेम त्यहाँ शान्ति । यस्ता प्रकारका विवाहले समाज बलियो र ऐक्यबद्ध हुन सघाउँछ जस्तो मलाई लाग्छ ।’ उनका श्रीमान् ई.रूपकराज बोहराको विचारमा विवाह भनेको सृष्टिलाई निरन्तरता दिनका लागि मन मिल्ने मान्छेसँगको साथ हो । ‘विवाह गर्दा मान्छेको व्यवहार, क्षमता, व्यक्तित्व र सीप हेर्ने हो जात होइन’ उनले भने, ‘हामीले दुवैको जात, संस्कार–संस्कृतिलाई सम्मान गरेका छौं । त्यसैले दुवै पक्षको रीति र परम्पराअनुसार विवाह गर्‍यौं ।’

कूटनीतिक नियोगमा कार्यरत प्रेरणा मरासिनीले विवाह नामक रिवाजमा दुवैले एक–अर्काको संस्कार र परम्परालाई सम्मान गर्दै दुवै संस्कृतिलाई समान रूपमा अनुशरण गर्नुपर्ने बताइन् । उनका स्पोर्टस ब्रोडकास्ट डाइरेक्टर श्रीमान् योपेश प्रधानले विवाहको संस्कारलाई कसैले पनि एकल बनाउन नहुने र यदि फरक जातको छ भने दुवैको परम्पराअनुसार गर्दा समावेशी र सौहार्द्र देखिने बताए । 

डा. सिरपा बज्राचार्य, डर्माटोलोजिस्ट / डा. पेम्बा लामा, अर्थोपेडिक सर्जन

पाटनका प्रायः नेवार परिवारमा अझै पनि कट्टर हिसाबले संस्कार–संस्कृति पूरा गर्नैपर्छ भन्ने मान्यता छ । त्यही समुदायमा जन्मिएकी डा. सिरपा बज्राचार्यले फरक जातको केटासँग विवाह गरिन् । ‘उहीले जस्तो भएको भए हाम्रो विवाह सम्भव थिएन । मेरो परिवारमा कोही छोरीचेलीले अर्को जातको केटासँग विवाह गरेका छैनन् । म नै पहिलो हो ’ उनले भनिन् । उनको दुईपटक विवाह भयो, एउटै नेवारी परम्पराअनुसार अर्को शेर्पा संस्कृतिअनुसार । 

फिलिपिन्समा एमडी पढ्न जाँदा भेट भएको यो जोडीको सम्बन्ध राम्रो साथीबाट सुरु भएको थियो । परेको बेला सबैलाई सहयोग गर्ने भावनामा पेम्बाले प्रदेशको बसाइमा सिरपालाई निक्कै सहयोग गरेका छन् । तीन वर्षसम्म उनीहरू सम्बन्धमै रहे । पेम्बाको पढाइ सकिन वर्ष दिन बाँकी भएकाले उनी उतै थिए तर सिरपा भने नेपाल फर्किइन् । एक वर्षपछि पेम्बा नेपाल आए, दवैले विवाहका लागि घरमा कुरा गर्ने तयारी गरे । सिरपाले भनिन्, ‘मेरा ड्याडी अर्थोपेडिक सर्जन हुनुहुन्छ, पेम्बा पनि अर्थोपेडिक सर्जन नै भएको कुरा थाहा पाउँदा उहाँहरू खुसी हुनुभयो ।’

पेम्बा भने विवाहका लागि जातभन्दा पनि सक्षम र आफूलाई बुझ्ने मान्छे हुनुपर्छ भन्ने कुरामा अगाडिदेखि नै सचेत थिए । सोहीअनुसार उनले आफ्नो परिवारलाई सुसूचित गरेका थिए । उनको परिवारतर्फ भने कुनै नकारात्मक प्रतित्रिया नआएको उनले बताए । ‘हामीले सबैको संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्नुपर्छ यही नै मानव धर्म हो जस्तो लाग्छ । त्यसैले हामीले दुवैतर्फको संस्कारअनुसार नै दुई तरिकाले विवाह गरेका हौं’ उनले थपे । 

नेवारभन्दा शेर्पा परिवार अझ सजिलो र स्वतन्त्र भएको सिरपाले विवाहपछि अनुभव गरिन् । शेर्पा समुदायमा बच्चाको पास्नी गर्ने चलन छैन तर सिरपाले माइतीको परम्पराअनुसार छोराको धुमधाम पास्नी गरिन् त्यो पनि पेम्बाकै इच्छानुसार । उनले भनिन्, ‘श्रीमान्को संस्कार र परम्परामा जति श्रीमती घुलमिल हुनैपर्छ भन्ने मान्यता छ श्रीमान् पनि श्रीमतीको संस्कृतिसँग उति नै नजिक हुनु जरुरी छ । हामी दुईमा त्यो एक–अर्काप्रतिको सम्मान छ ।’ 

 विवाह गर्दा कुन संस्कृतिअनुसार गर्ने भनेर दुवै परिवारबीच लामो बहस नचलेको होइन । दुवै परिवार एक–अर्कालाई बढी भार नदिने निष्कर्षमा पुगेरै दुवैले आ–आफ्नो संकृतिअनुसार विवाह सम्पन्न गरेका थिए । उनीहरूको विवाहमा केटीका तर्फ नेवारी पहिरन लगाएर सोही संस्कृतिअनुसार विवाह भयो भने उता गइसकेपछि शेर्पा पहिरनमा उतैको संस्कार अपनाइयो । सिरपाले भनिन्, ‘शेर्पाहरूको ल्होसारबाहेक अर्को चाड नै छैन भन्दा हुन्छ । हामी नेवारको जस्तो भोजभतेर र जात्रा गरिराख्दैनन् । म व्यस्त भएकाले मसँग कसैले आश पनि राख्दैनन् । म आफ्नो इच्छानुसार चल्न पाएकी छु । त्यसमा पनि श्रीमान्ले जीवनलाई निकै सहज बनाइदिनुभएको छ ।’ 

पेम्बा श्रीमतीलाई मेहनती, संघर्षशील र आत्मनिर्भर व्यक्तिका रूपमा लिन्छन् भने सिरपा आफ्ना श्रीमान्लाई अत्यन्तै शान्त, सौम्य र असल व्यक्तिका रूपमा चिनेको बताउँछिन् । 

 

शीतल मोक्तान, गायिका / मञ्जिल विक्रम के.सी., रेकर्डिस्ट, एरेन्जर

शीतल मोक्तानले आत्मविश्वासका साथ आमाबुवासँग विवाहको कुरा राखिन् । सांगीतिक साधनामा लागेका मञ्जिल विक्रम के.सी.लाई हाँसीखुसी स्विकार्न तयार भए कुन्ती र शीलाबहादुर मोक्तान । उता मञ्जिलले सीधै आमाबुवासँग कुरा नगरी अमेरिकामा रहेका दाइ मनोज के.सी.लाई भाइबरमा म्यासेज पठाए । मनोजले म आएपछि गर्नुपर्छ भनेर ढाडस दिएपछि मञ्जिलको आत्मबल बढ्यो । उनले क्रमिक रूपमा आमा, दिदी, काका सबैलाई यो विषयमा बताउँदै जान थाले । काठमाडौंका रैथाने मञ्जिलको टोलमा सबै आफन्तको घर छ । उनका आफन्तले पनि अन्तरजातीय विवाह गरेकाले मञ्जिल आफूलाई केही सहज भएको बताउँछन् । उनले भने, ‘समयअनुसार परिवर्तित र परिमार्जित हुँदै जानुपर्छ । हरेक कुरामा गर्नैपर्छ भन्ने बाध्यता हुनुहुँदैन ।’ उनीहरूको दुवै संस्कारअनुसार विवाह भएको हो । मञ्जिलको घरमा आफ्नै परम्पराअनुसार विवाहको विधि पूरा गरे भने शीतलको घरमा लामा गुरु राखेर चारदाम गरेरै विवाह सम्पन्न भयो । लगाउन पहिरनमा पनि उनीहरूको विविधता थियो । मञ्जिलकातिर दुलहीका लागि रातो दोपट्टा पहिराएर पारिवारिक गुरु–पुरोहितले पाठ पढेका थिए भने शीतलकातिर तामाङ पहिरनमा दुलहा–दुलही सजाएर तामाङ संस्कृतिअनुसार लामा गुरुले मन्त्रोच्चारण गरेका थिए । 

शीतललाई लागेको थियो क्षेत्रीको घरमा के–कस्तो–चालचलन होला, गाह्रो पो हुने हो कि भनेर तर उनले मञ्जिलको परिवार सोचेभन्दा फरक पाइन् । उनले भनिन्, ‘हरेक कुरामा मलाई ममीले सजिलो बनाइदिनुहुन्छ । उहाँहरू प्रगतिशील विचारधाराको हुनुहुन्छ । आधुनिक सोचका पढेलेखेका र बुझकी परिवार भएर पनि मलाई सहज भएको छ । त्यसमाथि मञ्जिलका दिदी–भिनाजु एकदमै समझदार हुनुहुन्छ । अर्को जातको भनेर मैले कहिल्यै फरक महसुस गर्नुपरेन ।’ विवाहपछि शीतल जीवनमा पहिलो पटक तीजको व्रत बसिन् । यसमा उनले आफैंलाई पनि रमाइलो अनुभव भएको बताइन् । फरक जात र संस्कारमा घुलमिल हुन पाउँदा अर्को संस्कृतिबारे धेरै ज्ञान बढ्ने उनको अनुभवले बताउँछ । 

अन्तरजातीय विवाहमा आर्थिक सशक्तीकरण र आत्मनिर्भरताले ठूलो भूमिका खेल्ने शीतलको भनाइ छ । श्रीमान् र श्रीमतीबीच राम्रो समझदारी भएन भने अन्तरजातीय विवाह धरापमा पर्ने उनले बताइन् । उनले भनिन्, ‘सर्वप्रथम त आफैं बलियो हुनुपर्छ ताकि कसैले केही कुरामा हेप्न र प्रश्न उठाउन नसकून् । अर्को मुख्य कुरा भनेको जुनसुकै जात र संस्कारको भए पनि असल मान्छेसँग जीवन बिताउने हो भन्ने सोच हुनुपर्छ ।’ 

उनीहरू दसैंमा मञ्जिलकोमा रातो टीका लगाउँछन्, शीतलकोमा सेतो टीका । यी दुवैको एक–अर्काको संस्कार र संस्कृतिप्रति आस्था, विश्वास र सम्मान छ । ‘काठमाण्डु ज्याज’ मा काम गर्दा सन् २०११ मा भेटेका शीतल र मञ्जिलको सांगीतिक यात्राका क्रममा निकटता बढ्दै गयो । सन् २०१७ देखि निरन्तर भेट र एकापसमा कुरा साटासाट हुने क्रम बढेपछि यिनीहरू विवाहको टुंगोमा पुगे । सन् २०१८ मा यिनीहरूले दुवैको संस्कार पछ्याउँदै विवाह गरे । मञ्जिलले भने, ‘पूर्वाग्रहीरहित समाज सिर्जना गर्ने हामी मानवको कर्तव्य हो । मैले जात र परम्पराभन्दा माथि उठेर अलग सोच राखें जसले मलाई अर्को संस्कार र परम्पराबारे थप ज्ञान बढायो ।’ शीतलको भनाइमा मञ्जिलकै कारण उनको जीवन सहज र रमाइलो भएको छ । घरमा सबै कुरा मिलाइदिने, आफूलाई धेरै बुझ्ने र माया गर्ने असल मानव पाएर आफ्नो जीवन सार्थक भएको उनलाई लाग्छ । मञ्जिल भने शीतललाई परफेक्ट वाइफ भन्न रुचाउँछन् । सानो परिवार र फरक संस्कृतिबाट आएको मान्छेले संयुक्त परिवारमा सवैलाई खुसी बनाएर राख्नु चानचुने कुरा नभएको उनको बुझाइ छ । आमाबाबु बन्दै गरेको यो जोडी विवाह भनेको ठूलो कुरा हो यसलाई खेलाँची नगरी धेरै सोचविचार गरेर गर्नुपर्ने धारणा राख्छन् । 

 

मानुषी यमी भट्टराई, केन्द्रीय सदस्य , जनता समाजवादी पार्टी

जेकेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य, नेकपा माओवादी केन्द्र

युवा नेतृ मानुषी यमी भट्टराईको जब राजनीतिकर्मी जेकेन्द्र श्रेष्ठसँग विवाहको कुरा चल्यो, मानुषीको परिवारतर्फ जातीय प्रश्न पटक्कै उठेन । तर जेकेन्द्रका परिवार तनहुँको गाउँमै बस्ने भएकाले आफन्त र छरछिमेकमा केही खासखुस चर्चा चलेको थियो । पछि समाजले केटीकी आमा त नेवार नै हुन् भनेपछि चित्त बुझाए । माला लगाएर उनीहरूको क्रान्तिकारी विवाह भएको हो । यसमा जेकेन्द्रले आफ्नो परिवारलाई पहिले नै कन्भिन्स गरिसकेका थिए । 

जेकेन्द्र र मानुषीको भेट पार्टी संगठनकै क्रममा भएको हो । मानुषी त्यसबेला प्रवास कमिटीबाट पार्टी संगठनको टान्सफरसहित त्रिवि प्रवेश गरेकी थिइन् । जेकेन्द्र भने पहिलेदेखि पार्टी संगठनमा आबद्ध भएर काम गरिरहेका थिए । उनी भन्छन्, ‘पार्टीभित्र वैचारिक संर्घष चल्दा हामी दुवै एउटै खेमामा परियो । सँगै काम गर्दै जाँदा विचार मिल्दै गयो । हामी ४ वर्षसम्म सम्बन्धमै रह्यौं । 

फेरि मानुषी जेएनयु गइन् । विवाहका लागि उनी २०७२ मा नेपाल आएकी हुन् । विवाहलाई लिएर मानुषीको परिवार अत्यन्तै खुसी थियो । तर मानुषी भने अत्यन्त स्वतन्त्र स्वभावकी, हुर्काइको तरिका अलग भएकी मान्छे, उनलाई लाग्थ्यो म विवाहका लागि बनेको मान्छे नै होइन, विवाह जस्तो गहन जिम्मेवारी निर्वाह गरेर बस्न सक्ने मान्छे नै होइन । तर विवाहपछिका हरेक खुड्किलामा उनलाई श्रीमान्ले साथ दिँदै गए । मानुषीले भनिन्, ‘विवाहपछि समाजको अत्यन्तै नयाँं पाटोमा परिचित भएँ । परम्परा, रीतिरिवाज, धर्म–संस्कृति केही कुरामा एक्सपोजर नपाएकी मलाई कतिपय कुरा असामान्य पनि लाग्थे । किनभने मेरी आमाको गुफा नराख्नु, बेल विवाह नगर्नु ठूलो क्रान्ति थियो उतिबेला । तसर्थ मलाई पनि टिपिकल महिला होइन, टम ब्वाय जसरी हुर्काइएको थियो ।’ विवाहपछि पनि स्वअस्तित्व र आफ्नो परिचयमा कुनै कमी नआएको र जेकेन्द्रको परिवारमा यो गर्नैपर्छ भन्ने कुनै बाध्यता नभएको मानुषीले बताइन् । 

अभिभावक बनेपछि यो जोडीमा थप परिपक्वता आएको छ । उनीहरू अझ सचेत र सजग बनेका छन् । ‘म आफै पनि लामो समयदेखि राजनीतिमार्फत महिला मुक्ति आन्दोनमा लागेको मान्छे, कुरीति, कुसंस्कार अंगाल्ने कुरै भएन । हाम्रोमा विवाहको कुनै पनि संस्कार भएन । मेरो सोचमा घरधन्दा बुहारीले मात्रै गर्नुपर्छ भन्ने छैन । विशुद्ध गृहिणीको अपेक्षा मेरो हुँदै होइन’ सम्बन्धबारे अझ खुल्दै जेकेन्द्रले भने, ‘छोरा युगीनको आगमनपछि सम्बन्ध अझै प्रगाढ बनेको छ । यति हुँदाहुँदै पनि कतिपय कुरामा आफन्तले यसले बुहारीलाई केही सिकाएन कि के हो भन्छन् ।’

छोरा जन्मिइसकेपछि मानुषीमा पनि मातृत्वपन बढ्दै गएको छ । उनले आफू अझै बढी बलियो भएको महसुस गरेको बताइन् । उनले भनिन्, ‘सन्तान भइसकेपछि हरेक सन्तानको अधिकारका कुरामा चासो हुँदो रहेछ, सरकारले बालबालिकाहरूका लागि के गरेको छ भन्ने कुरालाई गम्भीर रूपमा लिइँदोरहेछ । जेकेन्द्र निकै अग्रगामी र क्रान्तिकारी सोचका छन् र पनि कहिलेकाहीँ सांस्कृतिक कुरामा यी दुईको मतभेद हुन्छ । जेकेन्द्रले भने, ‘म जीवनलाई जीवनका रूपमा हेर्छु, मान्छेका भावना, आकांक्षाको पनि ख्याल गर्छु तर उहाँ प्रायः कुरामा वैज्ञानिक तथ्य खोज्नुहुन्छ, जे भनेको ठ्याक्कै त्यही हुनुपर्छ, समय तालिकाअनुसार चल्नुपर्छ । हामी दुवै सिक्ने क्रममा छौं, सिक्दैछौं ।’ 

मानुषीलाई जेकेन्द्र जिम्मेवार र फरक सोचका श्रीमान् हुन् भन्ने लाग्छ भने जेकेन्द्र मानुषीलाई श्रीमती, आमा, बुहारी तथा नागरिकका रूपमा जिम्मेवार व्यक्ति ठान्छन् । 

प्रेरणा मरासिनी, कूटनीतिक नियोगमा कार्यरत / योपेश प्रधान, स्पोर्टस ब्रोडकास्ट डाइरेक्टर

कुराकानीको सुरुवातमै कूटनीतिक नियोगमा कार्यरत प्रेरणा मरासिनीले भनिन्, ‘लभ म्यारिजको फाइदा, दुवै कल्चरबाट विवाह सम्भव भयो । नेवार दुई थरीका हुन्छन् एक थरी आफ्नै नेवार गुरु राख्ने, अर्काथरी बाहुन गुरु राख्ने । मेरा श्रीमान् बाहुन पण्डित राख्ने परेछन् । नेवारी संस्कृतिमा लुगा फेराउने काम हुँदैन तर हाम्रोमा हाम्रै कल्चरअनुसार सबै विधि गरियो । अन्माउने बेला गाडीलाई दोपट्टाले छोपियो । त्यो उनीहरूको कल्चर हो ।’ घर गइसकेपछि माछा, अण्डा, रक्सी सगुन दिने गरियो । ससुराले बुहारीको खुट्टामा पाउजु लगाइदिने नेवारी परम्पराले प्रेरणालाई सशक्त महसुस गरायो । उनले भनिन्, ‘मलाई त्यो अत्यन्तै नौलो र उत्साहित क्षण लाग्यो साथै अत्यन्तै प्रगतिशील पनि ।’ गुठीमा नलागेको र घरमा नेवारी भाषा नबोल्ने भएकाले विवाहपछि उनलाई खासै अप्ठ्यारो छैन । उता स्पोर्टस ब्रोडकास्ट डाइरेक्टर योपेश प्रधान सुरुवाती दिनमा आफूहरूले एक–अर्कालाई मन पराइरहेको घरमा थाहा नभएको बताए । उनले भने, ‘घरमा जाने–आउने भइरहन्थ्यो । उनको घरमा ल्यान्डलाइनमा फोन गर्दा बुवाले निक्कै इन्क्वायरी गर्नुहुन्थ्यो । सिम्रिका भाउजूलाई घरमा पुर्‍याउन जान्थें । पछि थाहा दिँदा थोरै समस्या भएको थियो कारण उनीहरूकोमा कसैको पनि अन्तरजातीय विवाह भएको रहेनछ । म त अभिभावकसहित हात माग्न घरैमा गएको हो । पहिलेदेखि चिनजान भएकाले खासै अप्ठ्यारो भएन । हाम्रो विवाहपछि उनीहरूको परिवारमा अर्को जातसँग विवाह गर्नेहरू थुप्रै निस्किए ।’

विवाहपछि प्रेरणलाई नौलो घरमा गएजस्तो अनुभव भएन किनभने योपेशको परिवार मोर्डन र प्रगतिशील विचारधाराको छ । ‘हामी पूजा गर्दा चामल पखालेर अक्षता बनाउँछौं तर उनीहरूको सुख्खा चामल चढ्छ । उनीहरूको जेमा पनि सगुन दिने चलन छ तर सगुनमा राख्ने सामग्रीमा पनि उनीहरूको घरमा परिमार्जित भएको रहेछ’ प्रेरणाले भनिन्, ‘मेरा दुईवटा छोराको सवालमा पनि यो हाम्रो चलन होइन यो नगर भन्ने छैन । हामी एक–अर्काको संस्कृतिलाई अत्यन्तै सम्मान गर्छौं । योपेशलाई मेरो घरमा अत्यन्त शालीन ज्वाईं मान्छन् । संयुक्त परिवारमा बस्दा दर पकाएर समेत खुवाउनुहुन्थ्यो सासूआमाले जब कि उनीहरूकोमा तीज हुँदैन ।’

दुवैको हुर्काइ–बढाइ र चालचलन फरक ढंगले भएको बताउँदै योपेशले भने, ‘वसन्तपुरको भोजमा हातले खानुपर्ने थियो उसले चम्चाले खान्छु भन्यो । यस्ता सानातिना कुराबाहेक अन्य समस्या आएका छैनन् । उनीहरूको घरमा ज्वाईं र भान्जा–भान्जीलाई एकदमै मान्छन् । रमाइलो लाग्ने भनेको ससुरालीमा टीका लगायो कि पैसा आयो । जुन हाम्रोमा हुँदैन । अर्को कुरा मेरो जन्ती जाँदा रक्सी राखेका थिएनन् । टीका लगाएपछि ससुराले पैसा दिनुभयो, केटाहरूले रक्सी नदिएको सट्टा पैसा दिएर घर गई रक्सी खा भनेको होला भनेर खुब हँसाए ।’ 

प्रेरणाका अनुसार नेवारकहाँ घरका मान्छेले पहिलो वर्ष माइती जाँदा सबै जोरजाम गरिदिन्छन् । उनी पहिलो पटक माइती जाँदा सगुनमा रक्सी राखेर पठाएका थिए । यो देखेर प्रेरणा दङ्ग मात्रै परिनन् रमाइलो समेत मानिन् । मच्छिन्द्रनाथको रथ तान्दा ढोगिन भनेर श्रीमान् रिसाएको क्षण उनी अहिले पनि सम्झन्छिन् । उनले भनिन्, ‘दसैंमा पैसा–मसला राखेर सासू– ससुरालाई ढोग्छु, तीजको व्रत बस्छु । यसमा योपेश पनि इन्जोय गर्छन् । ठूलो छोरालाई इन्द्रजात्राको रथ तानेको, लाखे नाचेको खुब मन पर्छ । यसरी नै हाँसीखुसी, दुवैको संस्कार र भावनालाई सम्मान गर्दै हाम्रो जीवन अगाडि बढिरहेको छ ।’ छोराहरूमा दुवैतिरका रीतिरिवाज सरेको र उनीहरूलाई दुवै कल्चरसँग परिचित गराइरहेको यी दुई बताउँछन् । योपेशको नजरमा प्रेरणा बुझकी श्रीमती हुन् भने प्रेरणा आफूले ज्ञानी श्रीमान् पाएको बताउँछिन् ।

ऋतिका श्रेष्ठ, बिएस्सी नर्सिङ तथा गायिका / रूपकराज बोहरा, इन्जिनियर 

भारतको बैंग्लोरमा भेट भएका ऋतिका र रूपक ख्यालख्यालमै नजिक हुन पुगे । सुरुमा मिल्ने साथी भएका यी दुईको कुन बेला प्रेम बस्न पुग्यो थाहै भएन । ऋतिकाले भनिन्, ‘बैंग्लोरमा म नर्सिङ र उनी इन्जिनियरिङ गर्दै थिए । विद्यार्थी जीवनमा कति चुनौती हुन्छन्् सबैले जीवनमा एकपटक भोगेकै हुन्छ । त्यही क्रममा हामी दुईको भेट भयो । हरेक व्यक्तिलाई सहयोग गरौं भन्ने रूपकको स्वभावले मलाई तानेको थियो ।’ ऋतिकाको समूहमा होस्टल महँगो भएपछि घर भाडामा लिएर बस्ने कुरा चलिरहेको थियो । त्यसबखत रूपकले धेरै सहयोग गरेका छन् । रूपकले भने, ‘उनलाई मात्र होइन सबैलाई आफूसक्दो सहयोग गर्नुपर्छ भन्ने मेरो सानैदेखिको स्वभाव हो । त्यही क्रममा मैले ऋतिकालाई पनि सहयोग गरेको थिएँ ।’ साँझपख इभिनिङ वाकमा जाँदा उनीहरूबीच धेरै कुरा सेयरिङ हुन्थ्यो । 

एकपटक रूपकको समूह गोवा जाने भयो । उनीहरूलाई बिदा गर्न ऋतिका जब रेलवे स्टेसन पुगिन् तब उनलाई भित्रैदेखि नमज्जा लागेर आयो । ऋतिकाले भनिन् ‘उनी गएपछि मलाई उनको एकदमै याद आउन थाल्यो, नरमाइलो लागिरह्यो । दुई–चार दिनका लागि जाँदा त यस्तो हुन्छ भने सधैका लागि छुट्टिँदा के होला भन्ने सोच्न थालें । मलाई उनको बानी परिसकेको रहेछ । त्यसपछि महसुस भयो यही नै प्रेम रहेछ भन्ने ।’ रूपक पनि गोवाका लागि प्रस्थान गर्दा ऋतिकालाई निकै मिस गरेको सुनाए । उनी फर्किएपछि दवैले एक–अर्कालाई वास्तविक प्रेम गर्ने ठम्म्याइ भयो ।

पढाइ सकेर ऋतिका नेपाल फर्किइन् भने रूपकको पढाइ बाँकी भएकाले उतै बसे । लामो दूरीमा रहेकाले अफेयर्समा भएको सात वर्षपछि मात्र यिनीहरूको विवाह भयो । विवाहका लागि कुरा गर्दा आफ्नो परिवारबाट केही नराम्रो प्रतिक्रिया नआएको ऋतिकाले बताइन् । रूपकले भने १ वर्षअघि नै आफ्ना अंकललाई ऋतिकाको हात माग्न पठाइसकेका थिए । रूपकले भने, ‘हाम्रो परिवार स्वतन्त्र र आधुनिक सोच राख्ने खालको छ, जातभन्दा पनि केटी राम्री भए ठीक छ भन्ने कुरा आयो ।’ 

ऋतिकाका अनुसार आफ्नातिरबाट नेवारी पण्डित गुरजु राखेर नेवारी परम्पराअनुसार विवाह गरियो, नेवारी रीतिबाटै कन्यादान दिएर पठाए, रूपककातर्फ उनीहरूकै संस्कारअनुसार पुरोहित राखेर सबै विधिविधान पूरा गरियो । ऋतिकाले भनिन्, ‘हाम्रो नेवारी कल्चरमा गोडा धुने काम हुँदैन । त्यसमा उनीहरूले कुनै आपत्ति जनाएनन् । रूपकको परिवार अत्यन्तै सहज र स्वतन्त्र विचारधाराको भएकाले कुनै पनि कुरामा केही प्रतिक्रिया छैन । म आफैं पनि जिम्मेवार बुहारी हुँ, हरेक कुरा सोचेरै गर्छु ।’

नेवार जातको सुरुमा हात माग्न जाँदा केटा पक्षले सगुन लिएर आउँदा साडी नै ल्याउने चलन छ, तर ऋतिकालाई सजिलो बनाइदिन ससुराले कुर्ता–सुरुवाल लिएर आएका थिए । रूपकलाई पनि ऋतिकाको माइती पक्षमा गरिने चालचलन एवं परम्परा रमाइलो लाग्छ । नयाँ संस्कृतिमा घुलमिल हुन पाउँदा आफूले धेरै नयाँ कुरा सिक्न पाएको उनको भनाइ छ । उनले भने, ‘सम्बन्ध बिताउने हामी दुईले हो । सम्बन्धमा जात, धर्म, समाज, परम्परा मूलतत्व होइनन् । एक–अर्कालाई राम्ररी बुझ्नु, दुवैको भावनालाई कदर गर्नु र एक–अर्काका बानी–व्यवहारलाई सम्मान गर्नु सम्बन्धका कसी हुन् ।’

 Image