वाद्यवादनमा कोमल हात

प्रकृति दाहाल

कार्तिक ८, २०७८ दसैंको रौनक सुरु भएसँगै मालश्री धुन गुञ्जिन थाल्छ । सामान्यको बुझाइमा यो दसैंको धुन हो । तर, पाटनकी समिता बज्राचार्यका औंलाले बाह«ै महिना सरोदमा यो धुन गुञ्जिरहन्छ । थोरै सरोदवादक महिलामा उनी पर्छिन् । दसंैमा उनलाई सोध्ने र खोज्ने धेरै भेटिन्छन् । उनी भने सधैभरि मालश्री धुनमा रमाइरहेकी हुन्छिन् । उनले भनिन्, ‘म दैनिक सरोद बजाउँछु । चाडपर्व मलाई कुर्नै पर्दैन ।’

सरोदप्रति उनको रुचि बाल्यकालदेखिकै हो । सात वर्षकी छँदै उनले संगीत सिक्न थालिन् । त्यही उमेरमै उनी  कुमारी बनिन् । कुमारीघरमा पुग्दा पनि उनको संगीत सिक्ने चाहनामा कुनै रोकतोक भएन । जति संगीत सिक्दै गइन् त्यति नै संगीतप्रति उनको रुचि बढ्दै गयो । उनका आंैला सरदमा पोख्त भएकै थिए, उनी गितार र धिमी बाजामा पनि रमाउन थालिन् । उनको औधी रुचि सरदमै रह्यो । उनले भनिन्, ‘सिक्ने क्रममा धेरै कुरा सिकें तर सरोदमै मेरो रुचि बढ्यो ।’ कुमारीबाट निस्किएपछि पनि उनी सरोदमा समाइरहिन् ।

यसो त मालश्री धुनले सबैलाई मन्त्रमुग्ध पारेकै हुन्छ । धुन सिर्जना गर्नेलाई भने धेरै गाह्रो हुन्छ । त्यो अनुभव समिताले पनि गरिन् । सरोद बजाउँदा उनका कहिले औंला दुखेका छन् त कहिले औंलामा फोका उठेका छन् । ‘सरोद बजाउन त्यति सहज छैन, सरोद नङले थिचेर बजाउनुपर्छ’ उनले आफ्नो अनुभव साटिन्, ‘यसमा धुन र राग निकाल्न त्यत्तिकै कठिन हुन्छ ।’ रुचि र मेहनतले मात्रै संगीतमा सफल हुन सकिने उनको धारणा छ । ‘मैले रहरका लागि सरोद सिकेकी हुँ, उनले भनिन्, ‘यसलाई व्यवसायीकरण गर्न त्यति सहज पनि त छैन ।’

परम्परागत बाजाहरूको संरक्षण र संवद्र्धनमा पछिल्लो समय युवापुस्ता आकर्षित हुँदै गएको छ । वाद्यवादनमा सीमित महिलाहरू पनि यो क्षेत्रमा अग्रसर हुन थालेका छन् । काठमाडांै न्यूरोडकी शारदा ढंगोल मादल, तबला, ढोलक, धिमी बजाउँछिन् । नेवारी समुदायमा जन्मे–हुर्केकी उनी सानैदेखि बाजासँग परिचित छिन् । विद्यालयमा हुने अतिरिक्त कार्यक्रममार्फत उनी बाजाप्रति आकर्षित भएकी हुन् । विद्यालयका विभिन्न कार्यक्रममा उनी ढोलक, धिमी बोकेर पुग्थिन् । निरन्तर उनले वाद्यवादनमा समय दिइरहिन् । रहरका लागि वाद्यवादनमा लागेकी उनले आफ्नो सोचलाई व्यावसायिक बनाउने योजना बनाइन् । यसबाट केही आम्दानी गर्न सकिन्छ कि भन्ने उनको सोचलाई साथ दिइन् गायिका आनीछोइङ डोल्माले । उनको नेतृत्वमा महिला वाद्यवादक समूह ‘श्रीतारा ब्यान्ड’ नै बन्यो । बाह्र वर्षअघि ब्यान्ड सञ्चालनमा आएपछि बाजामार्फत शारदाले आम्दानी गर्न थालिन् । ब्यान्डमार्फत विभिन्न कार्यक्रममा निम्तो आउन थाल्यो । ब्यान्ड देशका विभिन्न स्थानमा पुग्न सफल भएको छ ।

वाद्यवादनमा लामो समय टिक्न र महिला ब्यान्डलाई निरन्तरता दिन शारदालाई धेरै चुनौती झेल्नुपरेको छ । एक सन्तानकी आमा उनी धेरै पटक बच्चा बोकेरै कार्यक्रममा पुगेकी छन् । महिलाहरूका लागि ब्यान्ड हाँक्न घर÷ बच्चा धेरै चुनौती हुने उनको भनाइ छ । ‘वाद्यवादनमा महिलाहरूको धेरै रुचि भए पनि व्यावसायिक रूपले कमजोर र चुनौती धेरै भएकाले उनीहरूको उपस्थिति यो क्षेत्रमा कम छ’ उनले भनिन् ।

‘श्रीतारा ब्यान्ड’का लागि सदस्य खोज्ने क्रममा वसन्तपुरकी सुजिना ब्रजाचार्य ब्यान्डमा जोडिन पुगिन् । उनी बाँसुरी भ्वाइलिन, धिमी बजाउँथिन् । उनलाई वाद्यवादक समूहमा जोड्न सकिन्छ भन्ने उद्देश्यले शारदाले सुजिनालाई ब्यान्डमा काम गर्न आग्रह गरिन् । सुजिनाले टोलमार्फत सिकाएको भरमा बाजाहरू बजाउँथिन् । शारदाको प्रस्ताव स्वीकार गर्दै उनी ब्यान्डमा आबद्ध भइन् । ब्यान्डका लागि सारंगी बजाउने सदस्यको आवश्यकता थियो । 

सारंगी सुजिनाका लागि नौलो थियो । त्यसपछि मनीष गन्धर्व र प्रेम नेपालीसँग सारंगी सिक्न थालिन् । सारंगीमा निखारता ल्याउँदै उनले ब्यान्डको यात्रा सुरु गरिन् । यसले उनलाई संगीत सिक्ने मौका मिलेको बताइन् । उनले भनिन्, ‘ब्यान्डमार्फत मैले संगीतबारे धेरै सिक्ने मौका पाएँ ।’ ब्यान्डमा समावेश भएपछि उनले सारंगीको एक धार समाइन् र अघि बढिन् । उनी आफ्नो ब्यान्डसँगै अन्य ब्यान्ड र प्रोजेक्टहरूको काममा व्यस्त भइन् । उनको माग धेरै छ ।  तर, कोरोना महामारीपछि उनको सांगीतिक यात्रा हुन सकेको छैन । उनको सारंगी रेटाइ भने छुटेको छैन । सारंगीले उनलाई एक्लै बस्न र रमाउन सिकाएको छ । उनले भनिन्, ‘अब त सारंगी र संगीतबिनाको जीवन सोच्नै सक्दिन ।’

लाजिम्पाटकी पूजा खत्रीले दिदीको मोबाइलमा एउटा बाजाजस्तो केही देखिन् । त्यसको स्वरूप उनलाई मन प¥यो । त्यसबारे उनलाई जान्ने जिज्ञासा बढ्यो । बुझ्दै जाँदा त्यो सितार रैछ । उनलाई सितार सिक्ने र बुझ्ने इच्छा जाग्यो । प्रवेशिका परीक्षापछिको फुर्सदको समयलाई सदुपयोग गर्दै उनले सितार सिक्न थालिन् । सुरुमा सितारमा राग, आलप मिलाउन उनलाई समस्या भयो । उनले भनिन्, ‘स्वरूप देखेर सिक्न थालेकोले सुरुमा कठिनाइ नै भयो ।’ सितार बजाउन उनले निरन्तर मेहनत गरिरहिन् । ‘मञ्जुश्री कला केन्द्र’ मार्फत उनले आफ्नो सिकाइमा थप निखारता दिइन् । उनका लागि सितार एक अभिन्न अंगजस्तै बनेको छ । उनले भनिन्, ‘सितार नै मेरो साथी भएको छ ।’

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>