Successfully Copied

सुर–सेवाको संगम: त्रिशाला

आफैंमा विश्वास गरौं । असल बन्न सिकौं । युवाका लागि अभिभावकलाई सुन्ने र उनीहरूलाई माया  र सम्मान गर्नुपर्छ भन्न चाहन्छु । तिहारको सबैमा शुभकामना ।

त्रिशाला गुरुङ संगीतका हरेक विधामा दक्ष छिन् । तर, यिनी पेसाले चिकित्सक हुन् । यिनले सयभन्दा बढी गीत गाइसकेकी छन् । यिनी गायनका अलावा गीत लेख्ने र संगीत भर्ने काम पनि आफैं गर्छिन् । हालै भारतीय गायक सनम पुरीको गीतमा मोडलिङ गरेर यिनी थप चर्चामा छिन् । ओखलढुंगाका भाइकाजी र प्रतिमा गुरुङले छोरीलाई सानैदेखि आध्यात्मिक बनाउँदै हुर्काए । त्यसैले यिनलाई धर्मप्रति बढी रुचि छ । त्रिशालाको जन्म भने धरानमा भएको हो । नेपाल मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेपछि उनले त्यहीँ चिकित्सकका रूपमा काम गर्न थालिन् ।

बाल्यकालमा त्रिशालालाई नाच्न असाध्यै मन पथ्र्यो । स्कुलका हरेक कार्यक्रममा आफ्नो नृत्य प्रतिभा पस्किने गर्थिन् । पछि यिनको रुचि संगीतमा भयो । सुरुवाती दिनमै यिनले गाएको भजन धेरैले रुचाउने र प्रशंसा गर्ने गर्थे । ‘मैले गाएको धेरैले मन पराउने र प्रशंसा गर्दा मलाई झनै गाउन मन लाग्थ्यो । त्यही प्रेरणाले म गायिका बन्न पुगें । सन् २०१६ बाट मेरो गायन यात्रा सुरु भयो’संगीत क्षेत्रमा प्रवेशबारे त्रिशालाले भनिन्, ‘सन् २०१८ मा आइपुग्दा आफ्नै शब्द, संगीत र स्वरमा यो मन गीतबाट डेब्यु गरें ।’

पछिल्लो समय त्रिशालाको सिनेम्याटोग्राफीतर्फ रुचि जागेको छ । छिटै नयाँ एल्बम निकँल्ने तयारीमा रहेकी यिनको आगामी एल्बमभित्र ११ वटा गीत समावेश हुनेछन् जसमा उनले डेब्यु गरेको गीत यो मन पनि रहनेछ । उनीसँग बेलायतको परिचयपत्र छ । यसबारे त्रिशालाले भनिन्, ‘मेरा बुवा र दाइ युकेमै हुनुहुन्छ जाने–आउने गर्छु तर नेपाल छाड्न मन छैन । आफ्नै देशमा केही गरौं भन्ने इच्छा छ ।’

त्रिशालाका मनका कुरा

अहिले केमा व्यस्त हुनुहुन्छ ?

अहिले त म एल्बमकै तयारीमा व्यस्त छु ।

अरुले के भनेर चिनिदिए हुन्थ्यो जस्तो लाग्छ ?

मलाई डाक्टर नै भनेर चिनिन मन छ तर संगीत मेरो जीवनको अर्को एउटा अभिन्न पाटो हो ।

बिरामी हेर्दा र संगीतको सुर–तालमा बग्दा कुनमा बढी आनन्द आउ“छ ?

दुवै काम गर्दा ध्यानमा मग्न भएझैं अनुभूति हुन्छ ।

दुवै काममा बढी समय र ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ, कसरी समय व्यवस्थापन गर्नुहुन्छ ?

मैले कहिल्यै सोचेकी थिइन, म यसरी चौतर्फी कामलाई एकैसाथ अगाडि बढाउन सक्छु । तर भगवान्को शक्ति र मेरो परिश्रमले अहिलेसम्म मिलिरहेकै छ, सकिरहेकै छु । अर्को कुरा पहिला जस्तो पढाइलाई धेरै समय दिनु पर्दैन । अहिले त्यसले पनि सहज बनाएको छ ।

मानसिक स्वास्थ्यका लागि के आवश्यक छ ?

आध्यात्मिक भएमा धेरै दुःख पार लाग्दै जान्छन्, दिमागमा कुनै बोझ हुँदैन र शान्तिको महसुस हुन्छ । अध्यात्ममा आनन्दै आनन्द छ । भौतिकवादमा दुःख थपिँदै जान्छन् ।

समय व्यवस्थापनको सूत्र के हो ?

लक्ष्य र त्यसतर्फ उन्मुख भएर अगाडि बढ्ने चाहना नै समय व्यवस्थापनका लागि सहयोगी भइदिन्छ ।

युवावर्गलाई अगाडि बढ्न आवश्यक कुरा के हुन् ?

हामीले आफू र आफ्नो जीवनको उद्देश्य चिन्नुपर्छ। संसारभर नराम्रा कुराको प्रभाव परिरहेका बेला त्यसबाट आफूलाई टाढा राख्दै जीवन चिन्न सक्नुपर्छ । यस धर्तीमा आउनुको कारण खोज्नुपर्छ । सोहीअनुरूप काममा दत्तचित्त भएर लाग्नुपर्छ । जित हाम्रै हातमा छ ।

तास खेल्न मन पर्छ कि देउसी भैलोमा रमाउन ?

तास खेल्दिन । तर देउसी भैलोमा रमाउँछु ।

सधै स्मरणमा रहने तिहार ?

गौशालाको मानव धर्म आश्रममा मनाएका हरेक तिहार मेरा लागि स्मरणीय छन् ।

गर्नै नपरे हुन्थ्यो जस्तो लागेको कुनै काम ? 

भ्रष्टाचारको एक कौडी कहिल्यै मेरो हातमा नपरोस् । कसैको चित्त पनि दुखाउन नपरोस् । अहिले गरेको कर्म अर्को जुनीमा भोग्नैपर्छ ।

जीवन के हो र कसरी जिउनुपर्छ ?

जीवनको लक्ष्य भनेकै आफूले आफूलाई चिन्नु हो । केही उद्देश्यका लागि हामी जन्मिएका हौं । यो महसुस गर्न सके भगवान्ले हामीले चाहेका कुरा पु¥याउँछन् । असल मान्छे हुनु, कसैलाई दुःख नदिनु र अरूको पीडामा मल्हम लगाउनु नै जीवनको वास्तविक मर्म हो ।

आगामी योजना के छ ?

पहिलो कुरा त एल्बम निकाल्नु छ । अर्को कुरा सानो व्यापार सुरु गरेकी छु । त्यसलाई एक तहमा पु¥याउनु छ । अर्को एमडी गर्ने योजना छ ।

पाठकलाई केही सन्देश छ कि ?

आफैंमा विश्वास गरौं । असल बन्न सिकौं । युवाका लागि अभिभावकलाई सुन्ने र उनीहरूलाई माया  र सम्मान गर्नुपर्छ भन्न चाहन्छु । तिहारको सबैमा शुभकामना ।

तस्बिर ः महेश प्रधान

पहिरन ः मञ्जु बन्जारा, अस्मि ड्रिम वेयर, कानदेव स्थान, कुपन्डोल

ज्वेलरी ः जीवा स्टुडियो, नक्साल, भगवती बहाल

स्थान ः अरण्या बुटिक होटल, हात्तीसार, नक्साल

 Image