‘महिलालाई आरक्षण आवश्यक छैन’

उपासना घिमिरे

कार्तिक २, २०७८ काठमाडौंस्थित मरुटोलमा जन्मिएकी मोतीशोभा श्रेष्ठ श्रम तथा यातायात व्यवस्था मन्त्रालयकी अवकाश प्राप्त सह–सचिव हुन् । शान्ति निकुञ्ज सह–शिक्षालयबाट स्कुले शिक्षा पूरा गरेकी उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन् । कामको सिलसिलामा अमेरिका, थाइल्यान्ड, जर्मनीलगायतका देश भ्रमण गरेकी उनी नेपालका ३८ जिल्ला पुगेको बताउँछिन् । नेपालमा घरेलु ‘उद्योगको विकास’ पुस्तक प्रकाशित गरिसकेकी उनले हालै ‘प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’ तथा ‘आँसु’ गरी चार वटा लघु उपन्यास सार्वजनिक गरेकी छन् । लगनशील भई काम गर्ने र सकारात्मक सोच राखेर अगाडि बढ्ने मानिसले जीवनमा सफलता हात पार्छ भन्ने धारणा राख्ने मोतीशोभासँग गरिएको कुराकानीको संपादित अंश :

शिक्षाको सुरुवातबारे बताइदिनुस् न ?

शिक्षाको सुरुवात घर नजिकैको शान्ति निकुञ्ज सह–शिक्षालयबाट भयो । १३ वर्षको उमरेमा प्रवेशिका परीक्षा दिएँ । पढाइमा अब्बल भएकीले कक्षामा डबल प्रमोसन भयो । त्यसपछि दरबार डिग्री क्याम्पसबाट अर्थशास्त्र, अंग्रेजी, नेपाली, नागरिक शिक्षा विषय लिएर पढें । नेपाली भने कमजोर थियो । स्नातक (बीए) मा नेपाली र अर्थशास्त्र लिएँ । त्यसपछि नेपाली राम्रो भयो । स्नातकोत्तर (एमए) भने त्रिपुरेश्वरस्थित त्रिवि अर्थशास्त्र विभागबाट पूरा गरें । 

पढाइ पूरा भएपछि के गर्नुभयो ? कहाँ–कहाँ काम गर्नुभयो ?

मैले अर्थशास्त्रमा एमए गरेपछि जहाँ एप्लाई गरे पनि नाम निस्कियो तर उमेर नपुगेका (२१ वर्ष पुग्नुपर्ने) कारण जागिर पाइन । चार ठाउँमा नाम निस्के पनि उमेरकै कारण जागिर नपाएपछि अन्तिममा भूमिसुधार मन्त्रालयमा शाखा अधिकृतका रूपमा काम गर्न थालें । त्यसपछि उद्योग मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय, वाणिज्य विभाग, श्रम तथा यातायात मन्त्रालयमा काम गरें । 

तपाईं कामकाजी महिलालाई घर व्यवस्थापन गर्न कत्तिको सहज भयो ?

जागिर सुरु भएपछि मेरो विवाह भयो । तीनजना बालबच्चा भएपछि झन् दोहोरो भार पर्‍यो । श्रीमान्को घर डोटी भएकाले बालबबच्चा हुर्काउँदै काम गर्न सहज नभए पनि श्रीमान् सहयोगी भएकाले सम्भव भयो । इच्छा हुँदाहुँदै पनि थप पढाइ गर्न सकिन । अहिले पनि घरको काम आफैं गर्छु । सफलताका लागि संघर्ष गर्नैपर्छ जस्तो लाग्छ । 

लामो समय सरकारी सेवामा काम गर्नुभयो, महिलाले गरेका कामलाई कत्तिको मान्यता दिइन्थ्यो ?

पहिला–पहिला काम गर्ने सहपाठीबाटै महिलाले के काम गर्ली भन्ने भए पनि आफूले काम गरेर प्रमाणित गरिदिएको अनुभव छ । महिलाले आफूलाई योग्य छु भनेर देखाउन पुरुषले भन्दा डबल काम गर्नुपर्छ । सुरुमा नपत्याउने भए पनि काम गरेकै अनुभवका आधारमा मेरो कामलाई मान्यता दिइन्थ्यो । 

अर्थ व्यवस्थापनमा महिलाकै हात बढी हुन्छ, यसको व्यवस्थापन कसरी गर्ने ?

अर्थ व्यवस्थामा महिला निपुण हुन्छन् । यसका लागि महिला आत्मनिर्भर हुनुपर्छ । विलासितामा नलागी न्यूनतम आवश्यकता पूरा गर्नुपर्छ । आत्मविश्वास बढाउनुपर्छ । काममा पोख्त हुनुपर्छ । अकस्मात् केही बिरामी परेमा अरुसँग हात फैलाउन नपर्ने गरी अलिअलि बचत पनि गर्नुपर्छ ।

देशको अर्थतन्त्र उकास्नका लागि महिलाको योगदान कस्तो रहन्छ ?

धेरै योगदान रहन्छ । घर–गृहस्थी महिलाले सम्हालेमा पुरुषले स्वतन्त्र भएर काम गर्न पाउँछन् । बालबच्चालाई राम्रोसँग हेरेर पढाएमा ट्युसन राख्नुपर्दैन । घरकै स्वस्थ खाना बालबालिकालाई खुवाएमा रोग लाग्दैन । काम गर्ने मानिस राख्नुभन्दा आधा खर्चमा घर खर्च पुर्‍याउन सकिन्छ । यसले पनि अर्थतन्त्र राम्रो हुन्छ । विदेशमा सबैले आफ्नो काम आफैं गर्छन् । आत्मविश्वास एवं आत्मनिर्भर भई घरको काम गरेर बचेको समयको सदुपयोग गरी आर्थिक उपार्जन हुने काम गर्न सकिन्छ । अनलाइन काम गर्न सकिन्छ । 

महिला अघि बढ्नका लागि के कुराको आवश्यकता पर्छ ?

शिक्षा पहिलो प्राथमिकता हो । यसका साथै सानो बेलादेखि नै संस्कार र परिवारको माया पनि दिनुपर्छ । यसो भएमा आफैं अघि बढ्न सकिन्छ । 

प्रसंग बदलौं, महिला भएकैले महिला पात्रको सेरोफेरोमा रहेर पुस्तक लेख्नुभएको हो ?

महिला भएकै कारण मैले महिलाका बारेमा बढी बुझेकी छु । एउटी साधारण महिलाले आफू माथि आउनका लागि कस्तो संघर्ष गर्नुपर्छ भन्ने कुरा देखाउन खोजेकी छु, पुस्तकमार्फत । महिलाको आफ्नै गुण छ, पुरुषको आफ्नै । पैतृक सम्पत्तिमा महिलाको अधिकार हुनुपर्छ भन्ने कुरा मलाई उचित लाग्दैन । महिलाले पुरुषसरह पाउने होइन कि आफूमा भएको गुण देखाउनुपर्छ । पुरुषभन्दा महिला धेरै माथि छन् । महिलालाई आरक्षणको आवश्यकता पर्दैन । यद्यपि महिलालाई शिक्षा र आत्मनिर्भर (सेल्फ स्ट्यान्डिङ) को वातावरण तय गराइदिनुपर्छ ।

लेख्नका लागि उपयुक्त समय र वातावरण ?

अहिले पनि एक बजेसम्म व्यायाम र घरको काममा व्यस्त हुन्छु । खाली भएको समयमा दुई बजेतिर लेख्न थाल्छु । आफ्नो दिमागमा क्लिक भइरहेका कुराहरू, वरपरको सेरोफेरो, काम गर्दा देखेका र अनुभव गरेका गाउँ ठाउँका कुराहरू आदिकै बारेमा लेख्छु । 

अहिले पनि फुर्तिली र सक्रिय देखिनुहुन्छ, उमेर कति भयो ?

हाँस्दै ... उमेर नभनौं । उमेर भनेको नम्बर थपिने मात्र हो । मलाई अहिलेसम्म पनि बूढी भएको महसुस भएको छैन । तरुनी भएर मर्न चाहन्छु । त्यसैले मरेपछि पनि छोरीहरूलाई कतै उमेर उल्लेख नगर्न भनेकी छु । मैले कुनै पनि पुस्तकमा उमेर लेखेकी छैन । 

जीवन के हो ? यसको उपलब्धि के हो ?

जीवन रमाइलो हो । राम्रोसँग रमाउन सकियो भने त्यो जत्तिको रमाइलो केही छैन । हिजोको कुरालाई सम्झिने होइन, वर्तमानमा के छ ? त्यसलाई अंगाल्नुपर्छ । भविष्य अनुमान गर्न सकिँदैन त्यसलाई सम्झेर चिन्ता गर्नुहुँदैन । सकारात्मक सोचेर आजको दिन ‘इन्जोए’ गर्नुपर्छ । हरेक दिन नयाँ जन्म लिएको ठान्नुपर्छ । जीवन जिउनु भनेको लामो समय बाँच्नु मात्र होइन, छोटो समयमा पनि धेरै गर्न सकिन्छ । छोटो समयमा पनि अर्थपूर्ण जीवन जिउन सकिन्छ । सन्तानले राम्रो गरेमा त्यही नै उपलब्धि हो । 

भविष्यको योजना के छ ?

साहित्यमा लागेकी छु । यसलाई नै निरन्तरता दिन्छु । पाँचौं कृति पनि तयार हुन लागिसकेको छ । कथासंग्रहको तयारीमा छु । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>