फोनको पर्खाइ

दिनमान गुर्मछान

आश्विन १२, २०७८ उसले घरिघरि मोबाइलको डिस्प्ले अन गरेर हेर्न थाल्यो । उसलाई लागेको थियो, कि फोन आउँछ कि फोन ट्राइ गरेको नोटिफिकेसन । तर, उसले सोचेझैं कुनै फोन आएन । न त मोबाइलमा फोन ट्राइ गरेको नोटिफिकेसन नै आयो । त्यसैले उसको बेचैनी झनै बढ्यो । बेचैनी बढ्नु स्वाभाविक थियो । यो बेचैनीसँगै उसको धैर्य पनि गुमिरहेको थियो ।

बिहानदेखि ऊ एक फोनको पर्खाइमा थियो । त्यसैले आज उसलाई कोरोनाको समाचार अपडेट गर्न मन लागेन र उसले हेरेन पनि । आज कति संक्रमित थपियो भनेर ऊ सधैं हेर्थ्यो । दिनहुँ निको भएर जानेको संख्या बढेको देख्दा ऊ खुसी हुन्थ्यो र मृत्यु हुनेको खबर पढ्दा भित्रैदेखि दुःखी पनि हुन्थ्यो । त्यतिबेला उसको मनले भगवान्सँग प्रार्थना गरिरहेको हुन्थ्यो, अब चाँडैं कोरोनाको महामारी कम होस् । तर, त्यो त दिनहुँ बढिरहेको थियो । अनि ऊ सोच्थ्यो, ‘यो जुनी यत्तिमै सकिने पो हो कि ?’

सम्झिँदै मन उकुसमुकुस भई गर्मी बढेर पसिना आउलाझैं भयो । कसैले मनको तराजुमा बडेमाको भार थपिदिएको भान भयो । तत्कालै ऊ आफ्नो मनोबललाई उच्च बनाउने प्रयास गर्थ्यो । आफैंलाई सम्झाउनु झनै कठिन रहेछ भन्ने कुरा बल्ल थाहा पायो । बल्लतल्ल सम्झाउन सक्यो । आफूमा फुर्ती उत्पन्न भएको महसुस गर्‍यो । उसले अनलाइनमा पढेको पनि थियो । डाक्टर, मोटिभेसनल स्पिकरहरू भन्थे, कोरोनासँग लड्ने एकमात्र उपाय आत्मबल बढाउनु हो । स्वास्थ्यको मापदण्ड अपनाउँदै आफ्नो शारीरिक अनि मानसिक सबलतालाई तन्दुरुस्त बनाउनु हो । त्यसैले ऊभित्र आएको नकारात्मक सोचलाई धेरैबेर बल्न नदिई निभाइदियो । सँगसँगै उसले आत्मबललाई दह्रो बनाएर सन्तुष्ट हुने प्रयास गर्‍यो ।

मोबाइलमा ‘ट्वाङ ट्वाङ’ गरेर म्यासेज आएको संकेत आयो । मोबाइल बज्दा उसको मनको घण्टी बज्यो । आशाको दियो बल्यो । उसले कति हतार गरेर मोबाइल उठाएर लक खोल्यो उसैलाई थाहा छैन । हतारमा खोलेको भएर गलत लक नम्बर थिचिएको थियो । त्यसैले दोस्रो पटकमा मात्रै लक खुल्यो । म्यासेज खोलेर हेर्दा उसको मन उही पहिलेझैं शिथिल भइदियो । नेपाल टेलिकम र स्वास्थ्य मन्त्रालयको संयुक्त म्यासेज थियो । जसमा कोरोनाको भ्याक्सिनका लागि अनलाइन फाराम भर्न अनुरोध गरिएको थियो । भ्याक्सिन कम मात्रामा आएको समाचार उसले पढेको थियो । यो म्यासेजले ऊभित्रको उत्साह अनि आश सेलायो । फतक्क गलेझैं महसुस गर्‍यो । उसलाई लागेको थियो पक्कै पनि उसैको म्यासेज हो र उसले केहीबेरपछि फोन गर्छु भनेर सन्देश पठाएको होला । वास्तविकता फरक थियो । उसले मनमनै भगवान्सँग पुकारा गर्न थाल्यो, ‘हे भगवान्  एकपटक उसलाई सम्झाइदेऊ ।’

सन् २०१९ को अन्त्यबाट सुरु भएको कोरोनाले सुरुसुरुमा सबैको मनमुटुमा भुइँचालो ल्याइदिएको थियो । कोरोनाबारे चिकित्सकहरूसमेत पूर्णरूपमा जानकार थिएनन् । आफूले अध्ययन गरेका कुरालाई सर्वसाधारणले फलो गरून् र केही मात्रामा भए पनि सचेत होऊन् भन्ने ध्येयले सामाजिक सञ्जालमा कोरोनाबाट बच्न सकिने उपायहरू बेलाबेलामा आइरहन्थे । उसले ती कुरालाई सामाजिक सञ्जालमा पढ्न थालेको पनि धेरै भइसकेको थियो । उसलाई अब त सामाजिक सञ्जालदेखि पनि वाक्क लाग्न थालिसकेको थियो । उसले फेसबुक नचलाएको पनि तीन दिन भइसकेको थियो । सधैं उही कुरा कति हेर्नू ?

‘हे भगवान्  यो मान्छे के भएको होला ? एकपटक पनि मलाई सम्झिदैन ।’ उसको मनमा आक्रोश थपिएर आयो । आक्रोशसँगै उसको मनमा आशा र विश्वासले पनि घरिघरि चिहाइरहेको थियो । कतै फोन आउँछ कि भनेर ऊ घरिघरि मोबाइलतिरै ध्यान पुराउँथ्यो ।

यसरी छटपटिँदा छटपटिँदै चियाको तलतल लागेर आयो । हुन त ऊ चियाको पारखी नै हो । अरु दिन भए यतिबेलासम्म उसले तीन कप चिया पिइसकेको हुन्थ्यो । आज चाहिँ उसको मन स्थिर थिएन । उदास भएर ऊ भान्सातिर लाग्यो । ग्यास चुल्हो अन गरेर चिया पकाउने भाँडोमा एककप पानी हाल्यो । पानी बिस्तारै उम्लिन थाल्यो । उसको मनमा पनि अनेकौं कुरा उम्लिन थालेका थिए । उसलाई लागिरहेको थियो हिजो फोन नगरे पनि आज त पक्कै गर्नेछ । आखिर उसले मलाई के साँच्चै छाड्न नै खोजेको हो ? के उसले अर्कै पाइसकेको हो ? अहँ यो हुनै सक्दैन । उसको जीवनमा मबाहेक अरुले स्थान पाउन मुस्किल छ । उसले पक्कै मलाई फोन गर्नेछ र मसँग माफी पनि माग्नेछ । सोच्दासोच्दै चिया उम्लियो । उम्लिएको चिया उसले कपमा हाल्यो । कपबाट बाफ आउन थाल्यो, जुन हावामा विभिन्न आकार बनाउँदै कतै विलीन हुन पुग्थ्यो र त्यही बेला उसको मनमा एक्कासि एउटा विचारले डेरा जमाउन पुग्थ्यो ।

‘त्यो नकचरी कतै उसको कोठामा त पुगिन ?’ उसले अचानक सम्झियो । एक किसिमको आवेगले ऊ झन्डै बेहोस होलाझैं भयो । आफूलाई सम्हाल्दै उसले सोच्यो, ‘यतिबेला त लकडाउन छ । सहर पूरै सुनसान छ । कोही घरबाट बाहिर निस्किन पाउँदैनन् । यहाँसम्म कि तरकारी पसलहरू पनि बन्द छन् । मान्छेहरू खान नपाएर मर्लान् भन्ने डर छ । यस्तो बेलामा त्यो उसको कोठामा जानै सक्दिन । म पनि बेकारमा के–के सोच्न पुग्छु ।’ उसको मनले आफैंलाई सान्त्वना दिन थाल्यो ।

चियाको कप लिएर कोठामा आउनासाथ उसले आफ्नो मोबाइल खोज्यो । मोबाइलअघि नै कतै हुत्याइदिएको थियो । ओछ्यानमा पछारेको उसलाई याद थियो । त्यसपछि त्यो कहाँ पुग्यो उसलाई सम्झना छैन । ओछ्यान, भुइँ कतै फेला परेन । अलिकति हतार अनि छटपटीमै खोज्यो । पलङको चेपमा खाँदिएको अवस्थामा मोबाइल फेला पर्‍यो । मोबाइललाई पुछपाछ गरेर उसले एकपटक आफैले फोन गर्ने विचार गर्‍यो ।

‘अबदेखि फोन गर्ने होइन ।’ उसको कानमा नमीठो गरी गुञ्जियो ।

उसको मथिङ्गलमा अस्ति भर्खर भएको विवाद घुम्न थाल्यो । उसलाई फोन गरेपछि सामान्य विषयमा विवाद परेपछि दुवैबीच झगडा परेको थियो । त्यो सानो विवादले ठूलै रूप लियो । भनाभनमा ‘अबदेखि फोन गर्ने होइन’ भन्ने शब्दले उसलाई बिझाएको थियो । यति भनेर फोन काटिदिएको थियो । त्यो बचनले उसलाई नमीठोसँग घोचेको थियो । त्यसैले अहिलेसम्म उसलाई फोन गर्ने आँट आएको छैन । बरु भित्रैदेखि मन खिन्न थियो ।

‘सबै केटा उस्तै हुन् । विश्वास र आशा गर्ने हामी पो उस्तै ।’ आफैंसँग बरबराउन थालेपछि उसलाई रिस पनि उठ्यो । शरीर तातेर आएको महसुस भयो । अचानक यसरी तातेपछि उसलाई डर पनि लाग्यो । ज्वरो पो आयो कि भनेर निधार छाम्न पुग्यो । छाम्दा हत्केला झन् तातो भएको थाहा पायो । यतिबेला कोरोनाको महामारी छ । देशमा निषेधाज्ञा जारी गरिएको छ । दिनहुँ संक्रमण बढिरहेका बेला आफूलाई पनि कोरानाको संक्रमण भयो भने के गर्ने ? अलिकति डर अलिकति आफैंदेखि दया जागेर आयो । उसले आफूलाई संयमित बनाउँदै सोच्न थाल्यो, ‘दश दिनदेखि घरबाट बाहिर निस्किएको पनि छैन । कसैसँग नजिक परेको पनि छैन । कसरी संक्रमित हुनसक्छु ?’

उसले अस्तिसम्म फेसबुक र अनलाइनमा पढेको कोभिड–१९ का बारेमा सम्झियो । जाबो साबुनपानीले हात धोएर नष्ट हुने कोरोनासँग पनि डराउनुपर्ने दिन आए । हामी मानिस नै मूर्ख हौं । मास्क नलगाई हिँड्ने अनि संक्रमण बढ्यो भन्दै सरकारलाई गाली गर्ने । मान्छे भएर जन्मिएकोमा उसलाई ग्लानि भएझैं लाग्यो । ऊभित्र छटपटी बढेर आयो ।

गर्मी उसैगरी बढेको छ । झ्यालबाट घरिघरि हावा बहिदिन्छ । जब चिसो हावा आउँथ्यो ऊ भित्रैदेखि आनन्दित हुन पुग्थ्यो । यो आनन्दमा उसलाई सम्झिन पुग्यो । ऊसँग नगरकोट घुम्न गएको सम्झियो । नगरकोट डाँडामा उसको काँधमा आफ्नो शिर राखेर बस्दा आएको यस्तै मीठो हावाको याद आयो । त्यतिबेलाको मधुर सामीप्यतालाई सम्झियो । त्यो सम्झनाले उसलाई फेरि मोबाइलको याद आयो । आफैंले फोन गर्ने सोच बनायो । मोबाइल अघि नै मिल्काइदिएको थियो । खोज्दा भेटिएन । आफैसँग रिस उठेर आयो । तैपनि खोज्न छाडेन । उसको यतिबेलाको गतिविधि हेर्न लायकको थियो । रिस र आवेगको अवस्थामा देखिन्थ्यो । अन्तमा मोबाइल भेटियो । हातमा मोबाइल लिइसकेपछि फोन लगाऊँ कि नलगाऊँको द्विविधामा ऊ पर्‍यो । अलमल्ल परेझैं उभिइरह्यो । आँट आएन ।

‘उसैले फोन गरे पनि हुने हो नि । मलाई त नगर् भनेको थियो ।’ ऊ फतफतायो ।

‘अरुबेला मैले फोन गरिरहेकै थिएँ । यतिबेला उसैले गर्नुपर्ने हो ।’ उसको मनले भन्यो, ‘हे भगवान्  उसलाई सम्झाइदिनू ।’ उसको बेचैनी फेरि बढ्न थाल्यो । बेचैनीसँगै उसको मन पनि बाउँडिएर आयो । के उसले मलाई माया गर्दैन ? के ऊ यति निष्ठुर हुन सक्छ ? उसको मन भतभती पोल्न थाल्यो । यसअघि त यस्तो कहिल्यै भएको थिएन । ऊ आफैलाई देखेर छक्क पर्न थाल्यो ।

‘तिमीलाई म आफूलाई भन्दा धेरै माया गर्छु ।’ उसले बेलाबेलामा भन्ने गर्थ्यो । यतिबेला सम्झिँदा पनि मन पग्लिएर आयो । आँखाबाट आँसु झर्लाझैं गरे । के यही हो त माया भन्ने लागेर आयो । आखिर किन सम्झिँदैन मलाई ? उसले मनमनै धिक्कार्‍यो । र, ओछ्यानमा गएर ऊ पल्टियो । झ्यालबाट चिसो हावा आइरहेको थियो । ऊ आफ्नो निराश मनलाई सम्झाउँदै मोबाइल हातमा खेलाइरहेको थियो । मोबाइलमा अनायासै फेसबुक चलाउने मुड बनेर आयो । चार दिनदेखि नचलाएको फेसबुक यतिबेला चाहिँ अनायासै खोल्ने मन भयो ।

फेसबुकका भित्ताहरू समवेदनाका भावनाहरूले मात्रै पोतिएका हुन्थे । कि त कोरोनाको महामारीको समाचारले मान्छेको मनोबल गिर्ने गरी अत्याएको हुन्थ्यो । त्यसैले चार दिनदेखि उसले फेसबुकलाई बिर्सिएको थियो । फेसबुक खोल्न मन लागेन । तर, अहिले भने उसको मन त्यसै दुःखी भएको थियो र मन बहलाउनका लागि पनि उसले फेसबुक खोल्यो । पहिले त ऊ अनलाइन छ कि भनेर पनि हेर्न भ्यायो । ऊ पनि चार दिनदेखि अफ भएको देखायो । त्यसपछि उसले फेसबुकका भित्ताहरू निरन्तर चलाउँदै हेर्न थाल्यो । सबैका स्टाटस हेर्दै उसले रियाक्ट गर्न थाल्यो । यो रियाक्टमा उसको मन र मस्तिष्कको कुनै सरोकार थिएन । मात्र उसका हातले उसलाई निर्देशित गरिरहेका थिए । अनि ऊ धमाधम स्टाटसका भावअनुसार रियाक्ट गर्न थाल्यो ।

अचानक उसको हात रोकियो । आफ्नै गतिमा आएको गाडीले ब्रेक लगाएझैं भयो । मोबाइलमा देखिएको तस्बिर धमिलो हुँदै उसका आँखामा गाढा हुन पुग्यो । कसैले लेखेको स्टाटसले उसको होस उड्यो र मुटु ढक्क फुलेर आयो । लेखिएका समवेदनाका शब्दहरूले उसलाई भित्रैदेखि बिझाएर ल्याए । कोभिड पोजेटिभ भएको तीन दिनमा उसको मृत्यु भएको लेखिएको थियो ।

अहिले चाहिँ उसलाई आफैंले फोन नगरेकोमा पछुतो लागेर आयो । ‘सधैं आफूले फोन गरेर हैरान गर्ने म आखिर किन यसरी दह्रो हुन सकें ?’ उसले आफैंलाई धिक्कार्न थाल्यो । मोबाइल उसको हातबाट खसिसकेको थियो र उसका आँखाबाट आँसुका धारा बग्न थालेका थिए ।

अचानक ऊ त्यही बेहोस भई ढल्न पुग्यो । मोबाइल उछिट्टिएर पर पुगिसकेको थियो ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>