Successfully Copied

एकल बुवा भाग्यमानी सन्तान

एकल रूपमा बच्चा हुर्काउँदा बुवाहरूको करियरमा बाधासमेत पुग्न सक्छ । त्यसैले धेरै बुवाले प्रायः यो चुनौती लिन चाहँदैनन् ।

एकल आमा होउन् वा बुवा सन्तान हुर्काउन सोचेजस्तो सजिलो छैन । आमाहरूका लागि त यो काम केही सहज हुन सक्ला । तर, एकल बुवाका रूपमा सन्तान हुर्काउनु चुनौतीपूर्ण हुन्छ । आफ्ना सन्तानप्रतिको जिम्मेवारी पूरा गर्नु र सुन्दर भविष्यको निर्माणमा योगदान गर्नु एकल बुवाहरूका लागि धेरै संघर्षपूर्ण पनि छ । अर्को कुरा, एकल रूपमा बच्चा हुर्काउँदा बुवाहरूको करियरमा बाधासमेत पुग्न सक्छ । त्यसैले धेरै बुवाले प्रायः यो चुनौती लिन चाहँदैनन् । केहीले बीचमै विवाह गर्छन् भने केहीले आफ्ना सन्तानका भविष्यकै लागि अर्को विवाह नगरीकनै एकल बस्छन् । यस्ता एकल बुवा बच्चा हुर्काउन र उनीहरूका गतिविधि नजिकबाट नियाल्न पाउँदा गर्व पनि गर्छन् । यहाँ एकल बुवाका रूपमा बच्चाको अभिभावकत्व लिनेहरूको चर्चा गरिएको छ ।

 

‘बुवाको साथ पाउँदा गर्व लाग्छ’

सागर केसी (बुवा), सृष्टि र दृष्टि दाहाल केसी (छोरीहरू)

‘एउटी आमा बुवाको पनि भूमिका निर्वाह गर्न सक्छिन् तर एउटा बुवालाई आमाको जस्तो भूमिका निर्वाह गर्न गाह्रो हुन्छ’ ललितपुरस्थित हात्तीवनका सागर केसीको भनाइ हो । बुवाले सन्तानलाई जतिसुकै गरे पनि आमाको माया र ममता दिन नसक्ने राजनीतिकर्मी सागर बताउँछन् । यो उनको आनै जीवनको भोगाइ पनि हो । आठ वर्षअघि श्रीमतीको निधनपछि छोरी सृष्टि र दृष्टिको जिम्मेवारी सम्हाल्दा उनले यस्तै अनुभव गरेका छन् । बुवाले सन्तानहरूका हरेक कुरा पूरा गर्दा पनि आमाको जस्तो वातावरण दिन नसक्ने उनी बताउँछन् । जन्म दिने आमाको ठाउँ कसैले पनि लिन नसक्ने उनको भनाइ छ । सृष्टि दाहाल केसीलाई बुवाले हरेक कुरा पुर्‍याउँदा–पुर्‍याउँदै पनि आमाको अभाव सधै महसुस भइरहन्छ । बुवाले छोरीहरूको खुसी र इच्छालाई कहिल्यै मर्न दिएका छैनन् । छोरीहरूलाई अवसर दिन कुनै कसर बाँकी राखेनन् । छोरीहरूको शिक्षा र स्वास्थ्य उनको पहिलो प्राथमिकता छ । छोरीहरू सफल बन्न शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘मैले छोरीहरूको शिक्षा र स्वास्थ्यमा कहिल्यै सम्झौता गर्दिन, शिक्षा र स्वास्थ्य राम्रो भए व्यक्ति सफल हुन्छ भन्ने मेरो मान्यता छ’ सागरले भने ।

सृष्टि र दृष्टि बुवाकै साथ र सल्लाहमा अघि बढिरहेका छन् । सागर कहिले आमाजस्तै बन्छन् त कहिले बुवाको जस्तै भूमिका निर्वाह गर्ने भएर छोरीहरूले पनि उनीमै ‘आमा र बुवा’ दुवै देख्छन् । बुवाबाट दुवै जिम्मेवारी निर्वाह गरेको पाउँदा छोरीहरूलाई सहज महसुस हुन्छ । तर, सागरलाई एकल बुवाका रूपमा छोरीहरूको भावना बुझ्न केही असहज महसुस हुन्छ । छोरीहरूमा आउने शारीरिक परिवर्तनदेखि उनीहरूको स्वास्थ्यका लागि खुलेर कुरा गर्न सक्दैनन् । उनी भन्छन्, ‘छोरीहरूको स्वास्थ्य र शारीरिक परिवर्तनको विषयमा कुरा गर्न केही असजिलो महसुस हुने रहेछ ।’ सागरको दिनचर्या व्यस्त हुने भए पनि उनी छोरीहरूका लागि समय छुट्याएकै हुन्छन् । छोरीहरूका लागि घरको कामदेखि बाहिरको जिम्मेवारी निर्वाह गरेको देख्दा सृष्टिले बुवालाई आदर्श पुरुषका रूपमा लिन्छिन् । सागर घरको काम गर्न कहिल्यै हिचकिचाउँदैनन् । छोरीहरूलाई मन पर्ने परिकार पकाउन भान्सामा पुगेर उनीहरूसँग समय बिताइरहेका हुन्छन् । बुवाको साथ र सहयोग पाउँदा सृष्टि गर्व गर्छिन् । जतिसुकै व्यस्त भए पनि सन्तानसँग अभिभावकले समय बिताउन आवश्यक रहेको सागर ठान्छन् । सन्तान हुर्काउन र उनीहरूको जिम्मेवारी पूरा गर्न अभिभावक गम्भीर हुनुपर्ने उनी बताउँछन् । अभिभावकले दिने संस्कार र शिक्षा नै सन्तानका लागि महत्वपूर्ण भएकाले यस विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

‘मेरा हरेक रहर पूरा गरिदिनुहुन्छ’

प्रशान्त ताम्राकार (बुवा) र यास्ना ताम्राकार (छोरी)

काठमाडौं बालुवाटारकी यास्ना ताम्राकार ७ वर्षकी छँदा उनको बुवाआमाबीच सम्बन्ध विच्छेद भयो । उनले बुवाआमासँग लुटपुटिँदै रमाउने अवसर पाइनन् । उनलाई बुवाआमामध्ये एक छान्नुपर्ने अवस्था आयो । उनको कलिलो दिमागले कसलाई रोज्ने ? उनका लागि दुवै महत्वपूर्ण थिए । यसो त उनी बुवासँग बढी नजिक थिइन् । त्यसैले उनी मोडल बुवा प्रशान्त ताम्राकारसँगै धेरै समय बिताउँथिन् । सानैदेखि बुवासँग घुलमिल हुने भएकाले पनि उनले बुवालाई नै रोजिन् । बुवासँग नै सहज महसुस हुने अनुभव गरिन् । छोरीको इच्छानुसार नै आमाले पनि बुवाकै साथमा उनलाई छोडेर गइन् । त्यसपछि आमाको जिम्मेवारी पनि प्रशान्तलाई आइपर्‍यो । छोरीको रेखदेखका लागि उनले समय छुट्याउन थाले ।

छोरीका लागि गर्नुपर्ने धेरै कुरा उनले सिक्दै गए । छोरीलाई पनि उनले धेरै कुरा सिकाउँदै गए । उनले छोरीलाई दूध खुवाउन सिके । आमाका साथमा छोरीलाई छोड्दा उनले कहिल्यै दूध खुवाउनुपरेको थिएन । संयुक्त परिवार भएकाले छोरी हुर्काउन उनलाई त्यति समस्या भएन । उनका आमा र बहिनीले छोरीको रेखदेखमा सहयोग गरिरहे । हजुरआमा र फुपूको माया पाए पनि आमाको माया र समय बुवाले नै दिनुपर्छ भन्ने महसुस प्रशान्तलाई भइरह्यो । छोरीको भावना बुझ्न उनलाई केही कठिन भयो । हाल १७ वर्षकी यास्नाले हरेक कुरा बुवासँग गर्ने भएरै दुवैलाई सहज भएको छ । महिनावारी भएको समयमा प्रशान्तले छोरीलाई स्यानिटरी प्याड पनि किनेर दिन्छन् ।

प्रशान्तलाई यास्नाकी आमा भएको भए यस्ता कुराको अनुभव गर्न पाइँदैनथ्यो भन्ने लाग्छ । उनी भन्छन्, ‘मलाई सिंगल बुवा भएकोमा गर्व लागेको छ ।’ यास्नालाई पनि बुवासँग धेरै सहज महसुस हुन्छ । उनले हरेक कुरा सेयर गर्छिन् । प्रशान्तले हरेक खुसीमा छोरी खोज्छन् । फिल्म हेर्न र आउटिङमा बाबुछोरी सँगै जान्छन् । आमाको कमी बुवाले हुन नदिएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मेरा हरेक रहर बुवाले नै पुर्‍याइदिनुहुन्छ ।’ प्रशान्तलाई छोरी समझदार लाग्छिन् । उनी केही कुरामा जिद्दी भए पनि समझदारीका साथ अघि बढ्ने भएकाले हरेक कुरामा सहज भएको प्रशान्तको भनाइ छ ।

‘मेरो प्यारो बुवा’

मनोजकुमार केसी (बुवा) र लियाम केसी (छोरा)

‘१९७४ ब्यान्ड’ का गिटारिस्ट मनोजकुमार केसी साथीभाइहरूसँग घुम्न जाने, ‘विक्यान्ड’ मनाउने, रमाइलो गर्ने तब कम भयो जब छोराको जिम्मेवारी उनले उठाउनुपर्‍यो । निर्धक्कसँग काम र घुमफिर गर्ने वातावरण उनका लागि कम हुँदै गयो । उनले आफ्नो रमाइलो भन्दा पनि छोराको रमाइलो र खुसी हेर्न थाले । श्रीमतीको निधनपछि छोरा लियामप्रति ललितपुरका मनोजको जिम्मेवारी बढ्यो । यसले उनको दैनिकी नै बदलियो । उनले सम्पूर्ण समय छोराको हेरविचार र रेखदेखमै बिताउन थाले । आनो कन्सर्टको तालिकासँगै उनी छोराको खानपानको पनि तालिका मिलाउन थाले । छोरालाई खुवाउने र सुताउने सबै काम मनोजले नै गर्न थाले । एकल बुवाका रूपमा सन्तान हुर्काउन सहज नभएको उनी बताउँछन् । एउटी आमाले दिने माया बुवाले जति प्रयास गरे पनि दिन नसक्ने उनको भनाइ छ । पाँच वर्षका छोरालाई विद्यालय पुर्‍याउनु र ल्याउनु मनोजको दैनिकीमा थपियो । यसले उनको काम र करियरमै पनि केही असहज अवस्था आयो । ‘बच्चा, घर र करियरलाई मिलाएर लान निकै कठिन हुने रहेछ’ उनी भन्छन्, ‘बच्चा हुर्काउन घर र ससुराली दुवै तर्फबाट सहयोग भए पनि महत्वपूर्ण जिम्मेवारी त बुवाकै हुँदो रहेछ ।’

आफू बिरामी भएको बेला होस् वा समस्यामा परेको बेला उनलाई सन्तानकै बढी याद आउँछ । उनी भन्छन्, ‘आफू बिरामी पर्नासाथ सन्तानकै बढी चिन्ता लाग्ने रहेछ ।’ कन्सर्टमा जाँदा होस् वा अन्त कतै जाँदा–उनलाई छोराले खोज्छन् । यसले गर्दा मनोज धेरै दिन बाहिर बस्न सक्दैनन् । उनी भन्छन्, ‘बाहिर जाँदा पापा कहिले आउने भनेर सोध्ने गरेकाले पनि धेरै दिन बाहिर बस्न मन लाग्दैन ।’ एकल बुवाका लागि समय व्यवस्थापन गर्नु सबैभन्दा चुनौती रहेको उनको अनुभव छ । उनी भन्छन्, ‘बाबु सानै भएकाले समय व्यवस्थापन गर्न भने एकदमै समस्या हुने रहेछ ।’ तर, समय व्यवस्थापन गर्ने कला र धैर्य भए केही सहज हुने उनको भनाइ छ । लियाम साना भएपनि बुवाको बारेमा सोध्दा भन्छन्, ‘मलाई मेरो बुवा प्यारो लाग्छ ।’

‘बुवाले संस्कार धानेकोमा गर्व लाग्छ’

डा. धनराज अर्याल (बुवा), डा.श्रेयशी र डा.सुरभी अर्याल (छोरीहरू)

छोरीको विवाहमा पहिरन खरिद गर्नदेखि गहना छनोटसम्म आफै पुगे बालरोग विशेषज्ञ डा. धनराज अर्याल । दुई छोरीका लागि बुवा र आमा भन्नु नै उनी जो थिए । आमाले गर्नुपर्ने कर्तव्य र दायित्व उनले नै निर्वाह गरिरहे । श्रीमतीको निधन भएकाले आमाको भूमिका समेत काठमाडौं नक्सालका धनराजले निर्वाह गर्नुपरेको हो । छोरीहरूको विवाहका लागि सम्पूर्ण भूमिका उनले आफैले निर्वाह गरे । एक्लै छोरीहरूलाई बिदाइ गर्दा उनी भावुक पनि बने । उनलाई श्रीमतीको अभाव खड्किरह्यो । उनी भन्छन्, ‘श्रीमतीबिना छोरीहरूको बिदाइमा निकै भावुक बनें ।’ छोरीहरू पढाइ जारी रहेकै बेला श्रीमतीको निधन भयो । त्यसपछि छोरीहरूको पढाइदेखि उनीहरूप्रतिको सबै जिम्मेवारी एकल रूपमा धनराजले लिनुपर्ने बाध्यता आयो । चिकित्सक पेसामा भएकाले धनराजलाई समय व्यवस्थापन गर्न उत्तिकै समस्या भयो । साथीभाइहरूलाई दिने समय उनले छोरीहरूलाई दिएका थिए । समय हुनासाथ उनी छोरीहरूसँग गफिन्थे । छोरीहरू समझदार भएकाले एकल बुवाका रूपमा आफूलाई सहज महसुस भएको उनी बताउँछन् ।

दुवै छोरीले बुवाकै पथ पछ्याएका छन् । कान्छी छोरी सुरभी बाल रोग विशेषज्ञ छिन् भने जेठी छोरी श्रेयशी अर्याल स्त्री तथा प्रसूतिरोग विशेषज्ञ छिन् । बुवाकै क्षेत्रमा करियर बनाएका छोरीहरूका लागि बुवा एक गुरुजस्तै साथी बनेका छन् । डा.सुरभी भन्छिन्, ‘हाम्रा लागि बुवा एक साथीजस्तै हुनुहुन्छ, हामी हरेक कुरा सहज तरिकाले गर्न सक्छौं ।’ डा.धनराजले छोरीहरूका लागि आमाको भूमिका निर्वाह गरे पनि सुरभीलाई आमाको अभाव भने खड्किरहन्छ । उनी भन्छिन्, ‘आमाको महत्व आफ्नै ठाउँमा हुन्छ, मिस त गरिरहेकै हुन्छु ।’ डाक्टर बनेर आमालाई देखाउने उनको चाहना पूरा हुन सकेन । उनी भन्छिन्, ‘म डाक्टर भएको आमालाई सुनाउन पाइन, यसले कहिलेकाहीँ नराम्रो महसुस गराउँछ ।’

विवाहपछि सुरभीको बुवासँग सामाजिक दूरी बढे पनि भावनात्मक दूरी घटेको छैन । बुवासँग उनको नियमित भेट भइरहन्छ । हरेक समस्यामा उनले बुवालाई नै सम्झन्छिन् । पेसा एउटै भएकाले पनि समस्या बुवाबाटै समाधान निकाल्छिन् । धनराजले छोरीहरूको पढाइ र करियरको क्षेत्रमा जसरी जिम्मेवारी लिए, विवाहपछि पनि उनको जिम्मेवारी उत्तिकै छ । विवाहपछि छोरीका लागि माइतीबाट हुने रीतिरिवाज र संस्कार धनराजले निर्वाह गरेकै छन् । उनी भन्छन्, ‘सन्तानका लागि आमाबुवाले हरेक पल जिम्मेवारी निर्वाह गर्नु आवश्यक हुन्छ ।’ सुरभीलाई पनि बुवाले जिम्मेवारी उठाउँदै संस्कार र संस्कृति धानेकोमा गर्व लाग्छ । उनी भन्छिन्, ‘हरेक चाडपर्वमा बुवाले हामीलाई बोलाइराख्नुहुन्छ, संस्कार– संस्कृतिमा उहाँ एकदमै चासो राख्नुहुन्छ ।’ एकल बुवाहरूमा छोराछोरीहरूको जिम्मेवारी उठाउन सक्ने क्षमता र धैर्य आवश्यक रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘एकल बुवा हुन सहज त पक्कै छैन । तर, जीवनमा आइरहने विभिन्न समस्याहरू संयमित भएर समाधान गर्नुपर्छ ।

‘बुवा मेरो खेल्ने साथी’

पुरुषोत्तम प्रधान (बुवा) र अनु प्रधान (छोरी)

परिवारले आमाकै नामबाट छोरीको नाम अनु प्रधान राखिदिए । आमाले छोडेर गएको नासो भनेर यसो गरिएको परिवारको भनाइ छ । अनु जन्मिएको २५ दिनमै आमाले संसार छाडेर गइन् । छोरीलाई आमाको माया/ममताबारे केही थाहा छैन । उनको सम्झनामा पनि आमा आउँदिनन् । उनलाई थाहा छ त केबल बुवाको स्नेह–प्रेम । फोटोग्राफर पुरुषोत्तम प्रधानले अनुका लागि आमा र बुवा दुवैको जिम्मेवारी निर्वाह गरिरहेका छन् । काठमाडौं नक्सालका उनले एकल बुवाका रूपमा छोरीको जिम्मेवारी सम्हाल्न थालेको पनि ६ वर्ष भइसक्यो । उनले छोरी हुर्काउन र छोरीका हरेक गतिविधि नियाल्न रमाइलो मान्छन् । उनी भन्छन्, ‘साँच्चै छोरीका गतिविधिहरू नजिकबाट नियाल्न पाउँदा रमाइलो महसुस हुन्छ ।’ उनले एकल बुवाका लागि सन्तान हुर्काउनुलाई चुनौती होइन, अवसरका रूपमा लिन्छन् । उनी भन्छन्, ‘दायित्व सँगसँगै एक अवसरका रूपमा पनि मैले यसलाई लिएको छु ।’

बच्चा भएकाले छोरीको गतिविधि बुझ्न उनलाई कहिलेकाहीँ समस्या भने हुन्छ । खाने र सुत्ने बेलामा छोरीले दुःख दिँदा पनि उनी आत्तिँदैनन् । संयुक्त परिवारमा छोरी हुर्कदा उनलाई केही सहज भएको छ । एकल बुवाका रूपमा उनले सहज र असहज दुवै महसुस गरेका छन् । बच्चाले नमान्दा र फकाउन नसक्दा उनलाई सकस हुन्छ । तर, यसका लागि धैर्य भएर काम गर्नुपर्ने उनी बताउँछन् । ‘बच्चा हुन् कहिलेकाहीँ दुःख त दिइहाल्छन्, बच्चालाई गाली गर्नुभन्दा सम्झाउनुपर्छ ।’ छोरीको हरेक इच्छा उनले पूरा गरेका छन् । छोरीको मन पर्ने परिकार पकाउनेदेखि लुगा धुनेसम्म सबै काम गर्छन् । छोरी पनि उनीसँग खुलेरै कुरा गरेकी हुन्छन् । छोरीको भविष्य आफ्नो हातमा भएकाले पनि उनलाई जिम्मेवार बनाएको छ । भविष्य निर्माणमा छोरीलाई अगाडि बढाउने उनको सोच छ । उनी भन्छन्, ‘छोरीको इच्छानुसार नै पढाइ र अन्य हरेक कुरामा अगाडि बढाउँछु ।’

तस्बिरहरु ः महेश प्रधान

 Image