विद्युतीय सवारी क्रेज

प्रकृति दाहाल

भाद्र ११, २०७८ काठमाडौंस्थित धुम्बाराहीका नेत्र प्रधान इलेक्ट्रिक स्कुटर खोज्दै नक्सालस्थित टेलजी कम्पनीको शोरुम योमा इलेक्ट्रोनिकमा पुगे । इलेक्ट्रिक सवारी साधन वातावरणमैत्री हुनुका साथै पेट्रोल नचाहिने भएको कुरा उनले राम्ररी बुझेका छन् । भन्छन्, ‘इलेक्ट्रिक सवारी साधनबाट प्रदूषण फैलिँदैन ।’ उनीजस्तै धेरै युवा इलेक्ट्रिक सवारी साधन खोज्दै सोरुम पुग्ने गर्छन् ।

पछिल्लो समय पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय साधन भित्रिने क्रम बढ्दो छ । नेपाली बजारमा विद्युतीय चारपाङ्ग्रे गाडी र स्कुटरपछि साइकलसमेत आइसकेका छन् । पछिल्लो पुस्ता विद्युतीय सवारीमा आकर्षित हुँदै गएको व्यवसायीहरू बताउँछन् । प्रदूषण नफैलाउने, पेट्रोलमा हुने खर्च बचत हुने, मर्मत–सम्भारमा पनि खर्च कम हुने जस्ता फाइदाले धेरैको क्रेज विद्युतीय सवारीमा बढेको हो ।

योमाले ‘लायन’, ‘टाइगर’ र ‘लियोपार्ड’ गरी तीन वटा स्कुटर नेपाल भित्र्याएको छ । कम्पनीका निर्देशक सञ्जीव शिल्पकारका अनुसार यी स्कुटर चढ्न र चलाउन सहज छन् । लायनको रेन्ज ८५, टाइगरको १०० र लियोपार्डको १३० किलोमिटर छ । एलइडी प्रोजेक्टर लाइट, ट्युबलेस टायर, सेन्सर टेक्नोलोजी, डबल डिक्स ब्रेक यी स्कुटरका विशेषता हुन् । लायनको मूल्य १ लाख ८५ हजार र टाइगरको १ लाख ९५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, लियोपार्डको मूल्य २ लाख १० हजार रहेको छ । सञ्जीव भन्छन्, ‘अहिलेको समय टेक्नोलोजीको हो, त्यसकारण सवारी साधनमा पनि नयाँ प्रविधिहरू आउने क्रम बढेको छ ।’ उनका अनुसार यी स्कुटरहरू एकपटक चार्ज गरेपछि करिब ६ देखि ८ घन्टासम्म टिक्छन् । कम्पनीले यी स्कुटर खरिदमा ग्राहकलाई १५ देखि २५ हजारसम्म छुट दिएको जनाएको छ । सञ्जीवका अनुसार लामो समयदेखि पेट्रोलमै अभ्यस्त भएकाहरूमा अलिकति हिचकिचावट रहेको देखिन्छ । उनी भन्छन्, ‘नयाँ प्रविधिसँग अभ्यस्त हुन केही समय त लाग्छ । यसो हुनु स्वाभाविकै हो ।’

त्यस्तै, चिनियाँ कम्पनी लेभनिङले नेपालमा इलेक्ट्रिक स्कुटरदेखि साइकलसम्म भित्र्याएको छ । इभी नेपाल मोटरले उक्त कम्पनीको सवारी साधन बिक्री–वितरण गर्दै आएको छ । वर्षयता कम्पनीले ‘एलएक्स ०२’, ‘एलएक्स ०१’, ‘एलएक्स ०४’ र ‘एलएक्स ०५’ मोडलका स्कुटर बजारमा उपलब्ध गराएको छ ।

स्कुटरमा हुने विशेषताहरूका आधारमा मूल्य पनि फरक–फरक रहेको कम्पनीका शोरुम इन्चार्ज आकाश महर्जनले बताए । उनका अनुसार ‘एलएक्स ०१’ र ‘एलएक्स ०२’ को मूल्य २ लाख ४९ हजार, ‘एलएक्स ०४’ को मूल्य २ लाख ९ हजार र ‘एलएक्स ०५’ को मूल्य २ लाख ९५ हजार रहेको छ । कम्पनीले ‘एलएक्स ०८’ र ‘एलएक्स ०५ डी’ ल्याउने तयारी गरेको छ । यी स्कुटरहरूमा ‘पावर पर्फमेन्स’, ‘फिचर्स’ राम्रो हुनुका साथै लिथियम ब्याट्री जडान गरिएको आकाशले बताए । यसका अन्य विशेषताहरूमा एलइडी हेडलाइट, रियर एन्ड फ्रन्ट डिस्क ब्रेक, आइपी ६५ वाटर, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम छन् ।

इभी नेपालले स्कुटर मात्र नभई साइकलहरू पनि भित्र्याएको छ । साइकलमा पनि नयाँ फिचरहरू उपलब्ध छन् । साइकलतर्फ ‘एफ ०३’ र ‘एम ९४’ रहेका छन् । २५० मोटर पावर रहेको साइकलमा फोल्ड गर्न मिल्ने सुविधा छ । यसमा एलइडी मिटर, डिस्क ब्रेकजस्ता विशेषता छन् । यो इ–साइकललाई पैडल दिएर समेत चलाउन सकिने दाबी कम्पनीको छ । ‘एफ ०३’ को ७९ हजार रुपैंयाँ र ‘एम ०४’ को मूल्य १ लाख ९ हजार रुपैंयाँ रहेको छ ।

यसैगरी, काठमाडौंस्थित ‘नियु स्मार्ट इलेक्ट्रिक’ ले चिनियाँ कम्पनीकै विभिन्न ब्रान्डका स्कुटरहरू बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका ‘नियु एनक्यु एन सेरिज’ अन्तर्गतको ‘ग्लसी इडिसन’ स्कुटरको मूल्य ३ लाख १० हजार रहेको छ । ‘म्याट इडिसन’ को मूल्य ३ लाख १५ हजार, ‘यनआइयु एनजिटी’ को ४ लाख ४५ हजार, ‘एनआइयु एमक्युआई प्लस’ को २ लाख ५५ हजार, ‘एनआइयु गोभा’ को २ लाख ५५ हजार र ‘एनआइयु युक्युआइएम’ को मूल्य १ लाख ४५ हजार रहेको छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>