सुखद् जीवनका लागि तीज

प्रतिभा सुवेदी

भाद्र २, २०७८ नेपालमा हिन्दू धर्मावलम्बीहरूले तीज पर्वमा शिवजीलाई सृष्टिकर्ता र आदिदेवका रूपमा पूजा गर्छन् । साथै यो दिन पार्वतीको पनि पूजा–आराधना गरिन्छ । पार्वतीलाई हिमालयकी छोरी अर्थात् शैलपुत्री पनि भनिन्छ । उनको नारी सुलभ सुन्दरताको वर्णन विभिन्न रूपमा गरिएको छ ।    

यो पर्व मनाउने प्रचलनसँग पौराणिक कथा जोडिएको छ । पार्वतीका पिताले छोरीको विवाह विष्णु भगवान्सँग गर्ने निधो गरेछन् । तर, पार्वतीले शिवजीलाई चाहन्थिन् । तसर्थ उनी साथीहरूको सहयोगमा घरबाट भागिन् । पार्वतीले शिवजीलाई पतिका रूपमा वरण गर्नका लागि जंगलमा तपस्या गर्न थालिन् । यो थाहा पाएर शिवजीले पार्वतीको परीक्षा लिने विचार गरे । उनी विष्णुको रूप धारण गरी पार्वतीको तपस्या भङ्ग गर्न गए । तर, पार्वती हलचल भइनन् र शिवमै भक्तिभाव देखाइन् । त्यो देखेर शिवले आफ्नो परिचय दिँदै उनको प्रेमको आशयलाई सम्मान गरे । शिव–पार्वतीको विवाह यसरी भयो भनेर कथा बुनिएको छ । यसर्थ उनीहरूको सुखद् मिलनलाई लिएर सम्झने पर्व हो–तीज । यसरी महिलाहरूले सुखद् दाम्पत्य जीवनका लागि र किशोरीहरूले पनि आफूले चाहेजस्तो योग्य वर पाउन पूजा–आराधना गर्ने चलन आयो ।

तीजको पूजापछि पञ्चमीमा सप्तऋषिको पूजा गरिन्छ । पञ्चमीको पूजामहिनावारीको अवधिमा भएको छुवाछूतको पाप मोचनका लागि गरिने मान्यता छ । आजभोलि महिनावारीलाई ‘अपवित्र होइन’ भन्ने विषयमा जानकारी गराइँदै छ । किशोरीहरूलाई महिनावारीबारे आवश्यक परामर्श दिन थालिएको छ र यो आवश्यक पनि छ ।

पहिला–पहिला तीज पर्वमा निराहार व्रत बस्ने चलन थियो । पूजापछि महिलाले पतिका गोडाको पानी खान्थे । किनभने पतिलाई परमेश्वर मान्ने चलन थियो । हिजोआज पनि धेरै महिलाले यही परम्परा निर्वाह गर्छन् ।

रोजगारीका लागि बिदेसिएका धेरै महिलाले तीज मनाउँदैनन् । तर, अमेरिकाजस्तो मुलुकमा भने नेपालका सहरिया महिलाहरूले मनाएजस्तै तीन नेपालीले मनाएको पाइन्छ । केही वर्षअघि महिलाहरू माइत जान तीज आउनैपर्ने अवस्था थियो । हिजोआज उनीहरूको आवागमन धेरै सहज भएको छ । विभिन्न वर्गका महिला आ–आफ्नो गच्छेअनुसार लुगा र गरगहना लगाएर तीज मनाउन थालेका छन् । यो धार्मिक चाड महिलाहरूका लागि मनोरञ्जनात्मक पनि बनेको छ । सधै कामको बोझले थिचिएका आमनेपाली महिला तीजमा माइत गई रमाइलो गर्ने, दर खाने, मनका कुरा गीतका माध्यमबाट व्यक्त गर्ने गर्छन् । महिलाले तीजमा आफूलाईसासू, श्रीमान्, नन्द, आमाजू जसलाई अन्य दिनमा केही भन्न सकिँदैन, तीजका दिनमा गीतका माध्यमबाट उनीहरूले गरेका व्यवहारमा गुनासो र गाली गर्छन् । समयसँगै तीजमा गाइने गीतहरूमा परिवर्तन हुँदै गएको छ । कतिपय महिला समूहले राजनीतिक चेतनाका गीतहरू पनि गाउँछन् ।

यता, सहरवासी महिलाहरू तडक–भडकसाथ महिना दिनअघिबाटै तीजका नाममा भोज–भतेर गर्न व्यस्त हुन्छन् । यसको रूप समाजमा लाभकारी हुने भन्दा पनि भड्किलो र असहज बन्दै गएको छ । कतिपय महिला तीजमा साता दिनअघिदेखि गाईभैंसीलाई घाँस काँटेर राखी माइत जान्छन् । यो पर्वसँगै नाच्ने/गाउने स्वतन्त्रता पनि गाँसिएको छ । वास्तवमा तीज महिलाका लागि रमाइलो गर्ने र एक–अर्कामा आफ्नो पीडा, मर्का र भावना पोख्ने दिन पनि हो ।

तीज रमाइलो गरी मनाउनुपर्छ । तर, गहना र लुगाको प्रदर्शन गरी मनाउन नहुने मेरो मान्यता हो । म पनि मेरो जीवनमा तीजको व्रत बसें, श्रीमान्को दीर्घायुको कामना गरें । तर, वास्तवमा मेरो जीवनमा श्रीमान्को आयु वृद्धि भएन । अहिले पुनर्विचार गर्छु र मनमा लाग्छ काठमाडौंमा महिलाहरू साउनको सोमबारमा पनि किन १६ शृंगार गरी मन्दिर गएका हुन् ? धेरै महिला लहलहैमा यस्ता पर्वहरू मनाउँछन् । महिलाहरूलाई अन्यमा जस्तो धार्मिक काममा जान रोकटोक नहुने भएर पनि यसरी पर्व मनाउनेहरू बढेका हुन् । मेरो विचारमा महिलाका लागि सम्मान र सुरक्षामैत्री समाज बनाउन यो तीजलाई चेतना जागरणको केन्द्रबिन्दु बनाउनुपर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>