Successfully Copied

स्वर्णिमा राजभण्डारी

सर्वप्रथम शिक्षा, अवसर र मेहनत आवश्यक छ । त्यसबाहेक कामप्रतिको सन्तुष्टि, चित्तबुझ्दो तलब तथा पुरुषसँग तुलना नगर्ने खालको वातावरण हुनुपर्छ ।

कर्पोरेट क्षेत्रमा महिलाको उपस्थिति र अवस्था कस्तो छ ?

नेपाली कर्पोरेट क्षेत्रमा महिलाको सहभागिता देखिए पनि त्यो त्यति उत्साहजनक छैन । यो क्षेत्रमा महिलाको सक्रिय सहभागिताका लागि परिवार, समाज र राष्ट्रले उत्प्रेरक र सहयोगी भूमिका खेल्नुपर्छ ।

कर्पोरेट क्षेत्रमा महिला निर्णायक तहमा पुग्न आवश्यक कुराहरू के–के हुनसक्छन् ?

सर्वप्रथम शिक्षा, अवसर र मेहनत आवश्यक छ । त्यसबाहेक कामप्रतिको सन्तुष्टि, चित्तबुझ्दो तलब तथा पुरुषसँग तुलना नगर्ने खालको वातावरण हुनुपर्छ ।

नेपाली परिप्रेक्ष्यमा कर्पोरेट क्षेत्रले महिला सशक्तीकरणमा कस्तो टेवा पुर्‍याएको छ ?

सशक्तीकरणलाई कुन रूपमा लिने भन्ने कुरा महत्वपूर्ण हो । कर्पोरेट क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत कुनै महिला कार्यक्रममा सहयोग पुर्‍याउन सक्छ अथवा आफ्नो कार्यालयभित्र महिला सहभागितालाई जोड दिन सक्छ । संघ–संस्थाको आ–आफ्नो नीतिअनुसार सबैले आफ्नै तवरले कुनै न कुनै रूपमा महिलाका लागि काम गरिरहेका छन् ।

कोरोनाका कारण यो क्षेत्रमा काम गर्ने महिलालाई कस्तो असर परेको छ ?

यो क्षेत्र मात्रै नभई अन्य क्षेत्रमा पनि चौतर्फी असर परिरहेको अवस्था छ । यो क्षेत्रमा पनि महिलामा मानसिक एवं शारीरिक रूपमा गहिरो असर परेको छ ।

ज्यास्मिन हाइजिनले महिला स्वास्थ्यमा खेलिरहेको भूमिकाबारे बताइदिनुस् न ?

हाम्रो कम्पनीले महिला स्वास्थ्यलाई सधै प्राथमिकतामा राखेर नयाँ–नयाँ कार्यक्रम ल्याइरहेको छ । हाम्रो उद्देश्य भनेको सर्वसुलभ मूल्यमा सहज ढंगले हरेक महिलाले स्यानिटरी प्याड प्रयोग गर्न पाऊन् भन्ने हो । हामीले स्यानिटरी प्याड डिस्पोजल मेसिन पनि बजारमा ल्याएका छौं । दश हजारभन्दा बढी स्कुल–कलेजमा महिनावारीसम्बन्धी कक्षाहरू सञ्चालन गरी यही विषयसँग सम्बन्धित शिक्षा प्रदान गरिसकेका छौं । जहाँ स्यानिटरी प्याडको आवश्यकता छ त्यहाँ निःशुल्क वितरण गरेका छौं ।

तपाईंले कहिल्यै आफूले गरिरहेको काममा असुरक्षित महसुस गर्नुभएको छ ?

अहिलेसम्म मैले गरिरहेको काममा त्यति धेरै असुरक्षित महसुस गरेकी छैन ।

जीवनको कुनै क्षणमा आफूले दिएको बलिदान ?

मेरो परिवार, साथी सर्कल तथा म कार्यरत संस्थाको साथ र सहयोगले जीवनमा मैले त्यस्तो कुनै ठूलो बलिदान दिएजस्तो लाग्दैन ।

तपाईंको आइडिया काम लाग्दैन भनेर कसैले भनिदियो भने कसरी अघि बढ्नुहुन्छ ?

म रचनात्मक आलोचनामा विश्वास गर्छु । जीवनमा यसलाई सहर्ष स्वीकार गर्नुलाई उपलब्धिको एउटा खुड्किलो पनि मान्छु । त्यसैले सबैको मतलाई कदर गर्दै आफ्ना अनुभवहरू र बुद्धिमा काम लिन्छु ।

तपाईं आफूलाई किन अरूभन्दा फरक ठान्नुहुन्छ ?

हरेक व्यक्ति आफैंमा पृथक् र सक्षम हुन्छन् । मैले जुन शिक्षा पाएँ, ज–जसको साथ पाएँ र मेरो अनुभव र सोच अनि क्षमताले मलाई अरूभन्दा स्वतः फरक बनाउँछ ।

महिला स्वास्थ्यका लागि एउटा कुनै चमत्कार गर्ने शक्ति प्राप्त भए के गर्नुहुन्छ ?

साँच्चिकै यस्तो भइदियो भने त म महिला र पुरुष दुवैलाई महिनावारी हुने बनाइदिन्थें । जसले गर्दा महिनावारीमा हुने भेदभाव रोकिन्थ्यो । सबैका लागि महिनावारीलाई सामान्य लाग्न सक्ने बनाइदिन्थें । यसले महिला स्वास्थ्यमा असर पर्ने थिएन । अर्को कुरा हरेक महिला पूर्णरूपमा स्वस्थ हुने वरदान पनि दिन्थें ।

 Image