समयदंश

प्रभा बराल

श्रावण १८, २०७८ माघको कलिलो घाम त्यति तिख्खर थिएन । पर रानीवन र नार्गाजुनका डाँडाहरूमा लागेको बाक्लो तुवाँलो घामको तापले बिस्तारै उडिरहेको थियो । म बरन्डामा टहलिन निस्केकी थिएँ । पल्लो घरकी छिमेकी दिदी बेतको कुर्चीमा बसेर घाम ताप्दै चियाको चुस्कीसँगै पत्रिका पढिरहेकी थिइन् । उनी गोरो वर्ण, उज्यालो अनुहार र मझौला कदकी थिइन् । उमेर त्यस्तै पचपन्न जति होलिन् । ‘मेड इन इंग्ल्यान्ड’ को कलेजी रंगको भुवादारी बाथरोबमा उनी सुन्दर देखिएकी थिइन् ।

पल्लो घरबाट मेरा र उनका आँखा जुधे ।

‘गुड मर्निङ दिदी’ गमलाको फूलमा पानी हाल्दै म बोलें ।

‘गुड मर्निङ बहिनी’ चिया पिउनुभो ?

 ‘पिएँ । खाना पाक्न लाग्यो मेरो त ।’ नाडीको घडी हेरें । घण्टा सुई नौतिर थियो भने मिनेट सुई छमा ।

‘बहिनी कति जाँगरिली । म त भर्खर चिया पिउँदै छु ।’ उनले सेरामिकको ठूलो रातो कप उचालेर मतिर देखाइन् ।

‘अनि के रहेछ त पत्रिकामा विशेष ?’ म आफू ताजा समाचारप्रति अपडेट भए पनि दिदीलाई सोध्छु ।

‘दुई वर्ष म्याद हुँदाहुँदै संसद् विघटनका कुरा । प्रतिपक्षी दलहरूले संसद् पुनर्स्थापना हुनुपर्छ भनेर सर्वोच्च अदालतमा मुद्दा हालेको कुरा । यस्तै–यस्तै समसामयिक । सकारात्मक ऊर्जा पाउने केही खबर छैन ।’ अनारदाना दाँत देखाएर दिदी हाँसिन् ।

 ‘यस्तै पाराले देश र जनताको समृद्धि कसरी हुने ? कोरोना महामारीसँग कसरी लड्ने ?  नेता भनाउँदाको सत्ताको हानथाप कति घिनलाग्दो । कहिले उभो नलाग्ने भो हाम्रो देश ।’ एउटा निराश नागरिकको आक्रोश मबाट पोखियो ।

‘के–के मात्र हेर्नु चटक पनि । भारतीय पत्रकार सुधीर चौधरी, प्रधानमन्त्रीलाई फस्ल्याङफुस्लुङ पारेर सगरमाथा हेर्न कालापत्थर पुगेको कुरा थाहा पाउनुभो ? बिहान–बिहान गफ गर्ने मुडमा देखिइन् दिदी ।

‘थाहा पाएँ दिदी, कति कुरा गर्नु र यिनको ? दिग्दार र वाक्क भइयो ।’

‘यता आउनू चिया खाँदै गफ गरौंला बाहिर–बाहिरबाट के चिच्याउनु’

‘आज यति कुरा भइगयो । फेरि आउँला नि ।’  म लुसुक्क आफ्नो कोठातिर छिरें ।

छिमेकी दिदीका छोराबुहारी बेलायतमा बस्थे । उनी पनि बेलामौकामा गइरहन्थिन् । छोरीज्वाइँ घरनजिकै थिए । एउटा तला भाडामा दिएकी थिइन् । समाजसेवा उनको रुचिको क्षेत्र थियो । विभिन्न संघसंस्थामा आबद्ध थिइन् । प्रतिष्ठा पनि कमाएकी थिइन् । नेपालजति प्यारो विदेश के लाग्नु र ?

काठमाडौंको घर चटक्क छोड्न पनि गार्‍हो । श्रीमान् असमयमै बितेपछि उनी एक्लै बसेकी थिइन् । घर भाडा र केही रकम छोरा–बुहारीले बैंकमा राखिदिएका कारण त्यसकै ब्याजमा सजिलै घर चलाएको कुरा गर्थिन् ।

 तीन सातापछि फेरि यिनै दिदीलाई घरनजिकैको बैंकमा देखें । दिदी बैंककी कर्मचारीतिर फर्केर सवालजवाफ गरिरहेकी थिइन् ।

‘कति कम ब्याजदर हो ? यही मुद्दती खातामा एक वर्षअघि चौध प्रतिशतसम्म ब्याजमा पैसा राखें । अहिले छ प्रतिशत रे । बाफरे बाफ यति धेरै अन्तर ?’

‘के गर्नुहुन्छ हजुर । कोरोनाले गर्नुसम्म गर्‍यो । सबै पैसा बैंकमा थुप्रिएको छ । आर्थिक मन्दी छ जताततै । ऋण लिन कोही आउँदैनन् । लगानी शून्य छ । रहरले कहाँ यसो गरेका हौं र ?’ बैंककी कर्मचारी नरम भएर बोलिन् ।

‘अब ब्याजकै भरमा घर चलाउनेले कसरी दैनिकी धान्ने होला त  ।’ खुत्रुक्कै परियो नि । आँखाभरि गहिरो पीडा बोकेर उनी पछि फर्किइन् । कुरा सुनिरहेकी मलाई अचानक देख्दा मुसुक्क हाँस्दै भनिन्, ‘ए बहिनी पनि ?’ फेसशिल्ड लगाए पनि दिदीले मलाई चिनिन् ।

‘हजुर दिदी, नमस्कार ।’ मेरा हात जोडिए ।

 ‘एकछिन बस्नुस् सँगै जाउँला ।’ सेवाग्राही बस्ने कुर्ची देखाउंँदै म बोलें ।

एकछिनपछि हामी सँगसँगै बैंकबाट फर्कियौं ।

‘यो फेसशिल्ड लगायो भने झन् डराउँदा रहेछन् मान्छेहरू त ? तपाईंलाई कोरोना लागेको त छैन नि गार्डले ज्वरो नाप्यो तपाईंको रे ?

‘त्यो बैंककी नानीले सोधेकी ?’

‘हो त नि ।’

‘यो सेफ्टीका लागि लगाएको नि, कोरोना लागेको भए, आइसोलेसनमा बस्थें । त्यति त थाहा छ मलाई पनि भनेर बोलिदिएँ मैले पनि ।’

 ‘तर्सिइछन् बरा ? म घरै बस्नेलाई त कोरोना लाग्यो अब अरुको के कुरा ?’ दिदीले भनिन् ।

‘लौ हो र ? कहिले ? अनि अहिले कस्तो छ त ?’ मानौं मैले सुन्न नहुने कुरा सुनेझंैं गरी म तर्सिएँ ।

‘तपाईंसँग अस्ति नै त्यति कुरा भयो । त्यसको भोलिपल्टैबाट मलाई ज्वरो आयो । टाउको दुख्यो । यत्तिकै चिसोले होला भनेर बसें । पछि छोरीलाई पोजेटिभ देखिएछ । मलाई शंका भइगयो । पीसीआर टेस्ट गरें । पोजेटिभ आयो । छोरीबाट मलाई सरेछ । अनि फेरि हिजो पन्ध्र दिनपछि जचाउन दिएकी थिएँ । नेगेटिभ आएको छ अहिले त । मुद्दती खाता रिन्यु गर्नुपर्ने उहिल्यै । अब सन्चो भएपछि डबल मास्क लगाएर आउन के होला र भनेर आएकी । नआई नहुने थियो र मात्रै ।’ दिदीले आफ्नो खबर सरर्र सुनाइन् ।

‘हो है, अनि अरु के–के भयो ? कसले पकाएर खान दियो ? साँध जोडिए पनि केही थाहा पाइएन । काठमाडौंको यही बैगुन छ । कसैले थाहा दिएन भने मान्छे मरेको पनि थाहा पाइन्न ।’

‘औषधि खाएपछि सन्चो हुँदै आयो । ज्वाइँले पोसिलो खानेकुरा पकाउनुहुन्थ्यो । छोरी एउटा कोठामा बसी । म अर्कोमा ।’

‘छोरीलाई कसरी लागेछ ?’

‘छोरीको अफिस जाँदा कताबाट सरेछ कुन्नि । धन्न ज्वाइँलाई सरेनछ । उहाँको रोगप्रतिरोधात्मक क्षमता बढी थियो होला बच्नुभो ।’

‘है ? आखिर कोरोना लागिछाड्यो  ?’ ‘दस महिनादेखि यही कोरोना भनेर कतै गइन । आखिर पन्ध्र दिने किरिया नगरी सुखै पाइन ।’

‘हो है गजब भन्नुभो कोरोनाको किरिया ।’ एकछिन हामी मज्जाले हाँस्यौं । मास्क लगाएर हाँस्दा पनि हाम्रो अनुहार उज्यालो भएजस्तो महसुस भयो ।

 ‘यो दस महिनामा  मानिसहरूमा कोरोनाका बारेमा धेरै आत्मविश्वास भने बढेजस्तो लाग्यो । पहिला–पहिला कोरोना पोजेटिभ हुनेहरूलाई समाजले गर्ने विभेदबारे भने अहिले केही सुन्न परेको छैन ।’

‘हो आजभोलि कोरोना लागे पनि उपचार गरे ठीक हुने रहेछ भन्ने मानिसहरूले बुझे ।’ यत्तिकैमा हाम्रो घर आयो । हामी आ–आफ्ना घरमा छिर्‍यौं ।

 छिमेकी दिदीलाई कोरोना लागेको र सन्चो पनि भइसकेको कुरा घरमा सुनाएँ ।

 आम्मा, कोरोनाको कीटाणु घरकै आडमा पो आइसकेछ भनेर छोराछोरी तर्सिए ।

‘किन डराउनु र ? सन्चो भइसक्यो रे ।’ मैले भनें ।

‘अनि हजुर किन सँगै आउनुपर्ने । रिपोर्टको के भर ? ल ल अलि पर सर्नुस् ।’ छोरी त्यसै बम्किन थाली ।बरु नसुनाउनुपर्ने रहेछ । बेकार सुनाएँछु भनेर आफ्नै बुद्धिलाई खिसी गरें । पालैपालो घरका सबैले किस्ताबन्दीमा क्याउ क्याउ गरि नै रहे ।

 मलाई केही दिनदेखि टाउको दुखिरहेको थियो । झन् हिजो बेलुकादेखि त रुघा पनि लाग्न थाल्यो । ज्वरो पनि आयो ।  लौ पक्कै कोरोना लाग्यो होला भनेर तर्सिएँ । घरका मान्छेसँग पनि नजिकिन छाडें । अहँ सन्चो भएन । दुई–चार दिन घरेलु उपचारमा लागें । यो बीचमा कोरोनाको लक्षण र घरेलु औषधिबारे थप जिज्ञासु बनें । कोरोना लाग्दा सुख्खा खोकी लाग्छ भनिएको थियो तर मलाई खोकी लागेको थिएन । कति जनाले त लक्षणविहीन पनि कोरोना लाग्छ भन्थे । यतिबेला को डाक्टर, को बिरामी सबै एकसे एक थिए ।

‘पीसीआर टेस्ट गरौं थाहा भइहाल्छ, किन नाना शंका पालेर बस्नु ।’ घरकाले तारन्तार भनिरहे । अस्ति छिमेकी दिदीसँगै आएँ । न सर्‍यो कि भनेर मनको एउटा कुनामा डर रहिरह्यो । डबल मास्क, फेसशिल्ड लगाएकी थिएँ । होइन होला, यत्तिकै होला भन्दाभन्दै म अस्पताल पुगें । परीक्षणका लागि स्वाब दिएँ ।

 ‘तपाईं घर जानुस् हामी अनलाइनमा राखिदिन्छौं । नेटबाट हेर्नुहोला’ अस्पतालकी स्वास्थ्यकर्मीले भनिन् । घर आएको केही घण्टापछि डराई–डराई खुसुक्क नेट खोलें । कोरोना लागे पनि सन्चो हुन्छ भन्ने ठाने पनि मनले अनेकौं कुरा सोचिसकेको थियो । आफूलाई जति नै बलियो छु भन्ने ठाने पनि डरपोक रहिछु भनेजस्तो लाग्यो । रिपोर्ट हेरें । पोजेटिभ थिएन । लामो सास फेरें । भगवान्, धन्न जोगिएँ । ठूलो स्वरले एकाएक चिच्याएँछु, ‘ए कता छौ ? ल हेर मेरो रिपोर्ट नेगेटिभ छ । त्यसै मलाई ठुँगेका थियौ नि.......।’ अरु रिपोर्ट हेर्न मेरो कोठामा भित्रिए म रिसाएजस्तो गरेर बाहिरिएँ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>