Successfully Copied

धर्मको मर्म

बेलाबेलामा अरू साथीहरूलाई पनि विद्यालय आउँदा के हुन्छ ? भन्दा उनीहरू अरूले थाहा नपाए पनि देउताले थाहा पाइहाल्छन् भन्थे ।

साउन महिना सुरु भएको छ । हरिया, पहेंला र राता पहिरनले बजार ढाकेको छ । महिलाहरू यिनै रंगका पहिरनमा सजिनुका साथै मेहन्दी लगाएर साउने सोमबार व्रतका तस्बिर फेसबुकलगायत सामाजिक सञ्जालमा पोस्टाउने गर्छन् । व्रत बस्दा अविवाहितले राम्रो श्रीमान् पाउने र विवाहितका श्रीमान्, सन्तान र परिवारको कुशलमंगल हुने धार्मिक आस्था छ । साउनमा शिवको पूजा/आराधना गरी व्रत बस्दा सबै देवतालाई पूजा गरे बराबरको फल प्राप्त हुने जनविश्वास पनि छ । पार्वतीले साउनभरि निराहार रही कठोर व्रत गरी भगवान् शिवलाई प्राप्त गरेको किम्वदन्ती छ । साउने सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाई खुसी बनाउन सकिने शास्त्रीय मान्यता पनि छ ।

साउने सोमबार मात्र होइन, तीजको व्रत र महिनावारी बार्ने काम पनि महिलाले नै गर्नुपर्छ । महिलाले मात्रै गर्नुपर्ने यस्ता धेरै परम्परा वर्षौंदेखि कायमै छन् । कतिपय महिलावादीहरू त विवाहित महिला सिउँदोको सिन्दूरले चिनिन्छ तर, पुरुष विवाहित भनेर केले चिन्ने ? भन्ने प्रश्न पनि गर्छन् । महिलाले मात्रै नगरी नहुने संस्कार र संस्कृतिलाई धर्म, संस्कार र परम्परासँग जोडिदिएर पाप/धर्मको घेराभित्र उनीहरूलाई समाजले राखिदिएको छ । के पुरुषले आफ्ना सन्तान, श्रीमती र परिवारको राम्रोका लागि केही गर्नुपर्दैन त ? उनीहरूले गर्नैपर्ने भनेर के कुरालाई हाम्रो संस्कारगत व्यवहारमा ल्याइएको छ ? भन्ने प्रश्न पनि उठिरहेको छ ।

सामाजिक मनोचिकित्सक कविता चापागाईंले जे गरिन्छ त्यो स्वेच्छाले गर्नुपर्ने बताउँछिन् । आफूलाई दबाबमा राखेर कुनै पनि कार्य गर्न नहुने उनको सुझाब छ । ‘यसो गरिए कालान्तरमा यसको असर समग्र जीवनमा पर्दै जान थाल्छ’ उनले भनिन् । अर्थशास्त्री चेतन आचार्यको भनाइ अलिक फरक छ । उनका अनुसार यस्ता रिवाज र संस्कारले महिलालाई मानसिक र शारीरिक रूपमा बलियो बनाउँछ वा कमजोर ? आफैंमा ठूलो प्रश्न हो । उनी भन्छन्, ‘अबको हाम्रो उद्देश्य र सर्त भनेको महिलाले पनि घर, परिवार र समग्र मुलुकको अर्थतन्त्रमा योगदान दिन सकून् भन्ने हो । महिला मानसिक र शारीरिक रूपमा बलिया भए मात्रै यो सम्भव छ ।’ महिलाका हकमा यस्ता रीति र परम्पराको असर र प्रभाव मुलुकको सिंगो अर्थतन्त्रसँग समेत जोडेर हेर्नुपर्ने उनको तर्क छ ।

चिकित्सक तुमला शाहले परम्पराको निरन्तरताका लागि यस्ता क्रियाकलापमा सरिक हुँदा र अवलम्वन गर्दा समय सापेक्षतालाई ध्यान दिनुपर्ने बताउँछिन् । ‘करबल र दबाबमा गर्न थालियो भने आफैंलाई दिग्दारी लाग्छ । मन रमाउँदैन, खुसी आफूबाट टाढा भाग्दै जान्छ र कालान्तरमा शरीरमा विभिन्न रोग लाग्छन्,’ उनी भन्छिन्, ‘जब मान्छे कमजोर हुँदै जान्छन् तब शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउन थाल्छ । तसर्थ आफ्नो शरीर र स्वास्थ्य अवस्था हेरी यस्ता संस्कार फलो गर्दा उचित हुन्छ । कहिलेकाहीँ व्रत बस्दा, फरक पहिरन लगाउँदा वा भिन्न वातावरणमा रहँदा प्रफुल्ल भइन्छ भने त्यो नराम्रो होइन ।’ सञ्चारकर्मी लोग्सरी कुँवरले व्रत बसेकै कारण पार्वतीले शिवजीलाई पाएको भन्नेमा फिटिक्कै विश्वास गर्दिनन् । उनी दैनिक जनजीवनमा कर्मलाई बढी महत्व दिन्छिन् । राम्रो/नराम्रो परिणाम दैनिक कर्मबाटै तय हुने भएकाले उनको जोड यता छ । ‘व्रत बसेर मात्र आफूले चाहेको योग्य श्रीमान् पाइने हो भने किन पढ्नुपर्‍यो ? किन सीप सिक्नुपर्‍यो ? घरभित्र र बाहिरका सबै कुरा किन जान्नुपर्‍यो ?’ उनले भनिन्, ‘व्रत बसी मूर्ति पूजा गरेकै आधारमा राम्रो श्रीमान् पाउने हो महिलाले संघर्ष गर्नै पर्दैन । नपढे पनि त भयो नि ?’

कोरोना महामारीमा व्रत

डा. तुमला शाह, चिकित्सक

हाम्रो धर्म, संस्कृति र परम्पराले व्रत र महिलाले मात्र गर्नैपर्ने अन्य कुरालाई पाप/धर्मसँग जोडेर विश्लेषण गर्ने गरेको छ । तर त्यो मात्रै सत्य होइन । विज्ञानले पनि समयान्तरमा एकदिन पेट खाली राख्दा पाचनक्रिया सन्तुलित भई स्वास्थ्य राम्रो हुने तथ्यलाई नकारेको छैन । पछिल्लो समय ‘इन्टरमिटेन्ट फास्टिंग’ चर्चामा छ । हाम्रो शरीरभित्र हरबखत खानेकुरा हालिरहँदा पाचन प्रणालीले नथेग्न सक्छ । व्रतलाई म नराम्रो भन्दिन तर खाएर व्रत बस्नुपर्छ । व्रतका पनि प्रकार छन् ः पानी वा जुस मात्रै पिएर व्रत बस्ने, फलफूल खाएर व्रत बस्ने, नुन मात्रै नखाई अरु शुद्ध आहारका साथ व्रत बस्ने । यतिबेला सन्तुलित र सात्विक भोजन खाएर व्रत बस्दा राम्रो हुन्छ । विभिन्न खानपानले कोरोनाका लागि बिरामी वा अन्य रोग लागेकाहरूमा विभिन्न साइड इफेक्ट्स ल्याइरहेका बेला चौतर्फी पोषण पुग्ने खालका हल्का खानेकुरा खाएर व्रत बस्दा फलदायी हुन्छ । तर, व्रत बसेकै कारण घरपरिवार, श्रीमान् तथा सन्तानको हरेक कुरा राम्रो हुन्छ भन्ने चाहिँ होइन । आफ्नो शरीर र स्वास्थ्यभन्दा ठूलो केही छैन । आफ्नो शारीरिक अवस्था र समयको अनुकूलता हेरेर व्रत बस्दा राम्रो हुन्छ । म भन्छु, खाएर व्रत बसौं ।

 

‘दबाबमा व्रत नबसौं’  

कविता चापागाईं, मनोसामाजिक परामर्शदाता

महिलाहरूले आफ्नै तरिकाले केही गरे वा परम्परालाई समयअनुसार चलाउन खोजे भने घरपरिवारलगायत बाहिरी समाजले समेत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा मानसिक दबाब दिइरहेको हुन्छ । मेरो पनि यही वर्ष विवाह भएको हो, मैले यसअघिको श्रावणमा एक/दुई पल्ट व्रत बसेको याद छ । मलाई रमाइलो लागेर म व्रत बसेकी थिएँ । कहिल्यै अर्काको दबाबमा कुनै काम गरेकी छैन । विवाहित भएपछि पनि म कसैको दबाबमा व्रत बसिन । आफूलाई मन लाग्दा, अनुकूल हुँदा एकदिन व्रत बस्दैमा कुनै हानि, नोक्सानी हुने त होइन तर व्रत बसेकै भरमा श्रीमान्, परिवार, बच्चाबच्चीको राम्रो हुन्छ भन्ने कुरामा म सहमत छैन । जीवन राम्रो हुन त असल कर्म गर्ने हो । आफूलाई सन्तुष्ट हुने काम गर्ने हो । अरुका लागि गरिदिएको कामले सही परिणाम ल्याउला भन्ने मलाई लाग्दैन । कहिलेकाहीँ घरपरिवारका सदस्यहरू व्रत बस्दा वा अन्य संस्कारलाई फलो गर्दा मन नलागे पनि बाध्यताले गर्नैपरेको पनि मैले देखेकी छु । यसले मानसिक रूपमा त्रास पैदा गराउँछ, ओहो मैले यो गरिन भने समाज वा परिवारले के भन्ला भन्ने डरको भावना पैदा गराउँछ । यसका लागि सर्वप्रथम आफैं आत्मविश्वासी हुनु जरुरी छ । आफ्नो स्वास्थ्य र शरीरलाई हेर्नुपर्छ । ‘आफू भलो त जगत् भलो’ भन्ने उखान पनि छ । आफूले गल्ती गर्नु हुँदैन । गल्ती गरे आफ्नो मन र मस्तिष्कलाई सधै यो कुरा अवगत भइरहन्छ र भित्रभित्रै ग्लानि हुन थाल्छ । यस्तो अवस्थाले मानसिक विचलन ल्याउन सक्छ ।

संस्कार र संस्कृति जबर्जस्ती मान्नुपर्दा कतिपय महिलामा मानसिक असन्तुष्टि बढेको पाइएको छ । त्यसको प्रत्यक्ष असर शरीरमा पर्ने नै भयो । जब शरीर कमजोर हुँदै जान्छ तब उत्पादनमूलक काममा रुचि हराएर जान्छ । पहिलो कुरा त इच्छा हुँदैन, दोस्रो कुरा शरीरले सक्दैन । उत्पादनशील कामबाट हात झिक्नेबित्तिकै आम्दानी स्वतः घट्छ । जसको भार सर्वप्रथम त श्रीमान् र परिवारमै पर्छ । अझ कुनै दीर्घ रोगले छोयो भने त उल्टै स्याहार–सुसार र उपचारमा समय र पैसा दुवै लगानी गर्नुपर्ने अवस्था आउन सक्छ । जब एउटा लायक व्यक्ति त्यो अवस्थामा पुग्छ तब मुलुकलाई समेत घाटा हुन्छ । तसर्थ भन्दा र सुन्दा सानो लागे पनि यसले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा चौतर्फी असर पारेको हुन्छ । कसैले आफ्नो खुसीमा परम्परा माने ठीकै छ । तर, अन्यको दबाब र लहैलहैमा यस्ता क्रियाकलाप गर्नु उचित हुँदैन भन्ने लाग्छ ।

व्रत र महिनावारी

लोग्सरी कुँवर, संचारकर्मी

भोको बसेर पार्वतीले शिवजी पाएको कुरा मलाई पहिले पनि बनाबटी लाग्थ्यो, अहिले पनि लाग्छ । अझ व्रत बसेर मात्र आफूले चाहेको योग्य श्रीमान् पाइने भए त किन पढ्नुपर्ने ? किन सीप सिक्नुपर्ने ? घरभित्र र बाहिरका सबै कुरा किन जान्नुपर्ने ? अर्थात् व्रत बसेर मूर्ति पूजा गर्दा राम्रो श्रीमान् पाउने भए नपढे पनि भयो । कुनै सीप पनि नसिके भयो । त्यसो हुँदा महिलाले आफू खुसी जीवन बाँच्न नपाउने निश्चित हो । अरूको भरमा बाँच्ने मानिसले उसले जे भन्छ, त्यो मान्नैपर्‍यो । पुरुषको दासी भएर बस्नुपर्‍यो । यस्तो विचारले मलाई पानीसमेत नपिएर भोकै व्रत बस्नुको कुनै औचित्य लागेन ।

व्रत र महिनावारीसँग जोडिएको मेरो अनुभव सुनाउँछु– पञ्चमीको पूजा थियो । म पनि पूजामा सहभागी भएकी थिएँ । पञ्चमीको कथा सुन्दै जाँदा पण्डितकै हातबाट किताब खोसेर त्यही अग्निमा जलाउन मन लाग्यो । महिनावारी भएका बेलामा कसैलाई छोएर गरेको पाप पखाल्न पो पञ्चमीको व्रत बस्न भनिँदो रहेछ । मलाई त्यो कुरा यति बाहियात लाग्यो कि, महिलाहरू त मान्छे नै होइनन् । महिला भएर जन्मिनु नै उनीहरूको पाप हो । त्यसैले पलपलमा उसले आफू महिला हुनुको पाप सम्झेर भाग्यलाई धिक्कार्दै बाँच्नुपर्छ भन्ने महसुस गर्न पञ्चमीले प्रेरित गर्दोरहेछ ।

पञ्चमीको कथानुसार यदि महिनावारी भएको बेला अरू कसैलाई छुँदा नराम्रो हुने भए मलाई किन भएन भन्ने कुरा मेरो मनमा आयो । म ९ र १० कक्षा पढेको स्कुल अछामको लुंग्रास्थित श्री दया पिपलतोला माविको पर्खालसँगै त्यो ठाउँको सबैभन्दा ठूलो मानिने ‘खापर’ देवताको स्थान थियो । महिनावारी हुँदा छात्राहरू पाँच–सात दिनसम्म विद्यालय जाँदैनथे । ९ कक्षामा पढ्दा महिनावारी भएकी म नियमित रूपमा विद्यालय गएँ । मैले म महिनावारी भएकी छु भन्ने कुरा कसैलाई जानकारी पनि दिइन । बरु

बेलाबेलामा अरू साथीहरूलाई पनि विद्यालय आउँदा के हुन्छ ? भन्दा उनीहरू अरूले थाहा नपाए पनि देउताले थाहा पाइहाल्छन् भन्थे । देउता लागे भने पढाइ बिग्रिन्छ । विवाह पनि हुँदैन । महिनावारी रोकिन्छ । विवाह भएर गएको घरमा सुख शान्ति हुँदैन । बिरामी भइरहनुपर्छ । बाँझोपन व्यहोर्नुपर्छ । यस्तै–यस्तै डर र त्रासहरू सुनाउँथे । मैले कहिल्यै त्यसमा मतलब गरिन । घरमा चाहिँ पाँच दिनसम्म घरसँगै जोडिएको होचो, झ्यालबिनाको गोठमा सुत्नुपर्थ्यो । मैले एसएलसी उत्तीर्ण गरें तर महिनावारीमा स्कुल बार्ने साथीहरू असफल भए । अब म प्रश्न गर्न चाहन्छु, मेरो कक्षाका अरू साथीहरू पास नहुनुको कारण के थियो ? देउता रिसाएर वा अरू कुनै कारण ? देउता रिसाउने भयले महिनावारी भएका बेला पाँच दिनसम्म विद्यालय नजाने मभन्दा अघिल्लो कक्षाका छात्राहरू समेत एसएलसीमा नियमित पास भएनन् । यदि देउता रिसाउन सक्ने हुन्थे भने मैले त परीक्षामा लेख्नसमेत नसक्नुपर्ने होइन र ? उत्तर सहज छ । सबैलाई थाहा छ । मभन्दा अघिल्लो कक्षाका छात्राहरू महिनामा पाँच दिन स्कुल नजाँदा उनीहरू वर्षमा कम्तीमा ६० दिन गयल हुन्थे अर्थात् १८० दिन विद्यालयमा नियमित पढाइ हुँदा अरू दिन नियमित विद्यालय जाने हो भने पनि उनीहरू १२० दिनमात्र पढ्न पाउँथे । जुन एउटा विद्यार्थीका लागि निकै घाटा हो । उनीहरूको असफलताको कारण पनि त्यही नै हो ।

 

चेतन आचार्य, अर्थशास्त्री

संस्कार र संस्कृति जबर्जस्ती मान्नुपर्दा कतिपय महिलामा मानसिक असन्तुष्टि बढेको पाइएको छ । त्यसको प्रत्यक्ष असर शरीरमा पर्ने नै भयो । जब शरीर कमजोर हुँदै जान्छ तब उत्पादनमूलक काममा रुचि हराएर जान्छ । पहिलो कुरा त इच्छा हुँदैन, दोस्रो कुरा शरीरले सक्दैन । उत्पादनशील कामबाट हात झिक्नेबित्तिकै आम्दानी स्वतः घट्छ । जसको भार सर्वप्रथम त श्रीमान् र परिवारमै पर्छ । अझ कुनै दीर्घ रोगले छोयो भने त उल्टै स्याहार–सुसार र उपचारमा समय र पैसा दुवै लगानी गर्नुपर्ने अवस्था आउन सक्छ । जब एउटा लायक व्यक्ति त्यो अवस्थामा पुग्छ तब मुलुकलाई समेत घाटा हुन्छ । भन्दा र सुन्दा सानो लागे पनि यसले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा चौतर्फी असर पारेको हुन्छ । कसैले आफ्नो खुसीमा परम्परा माने ठीकै छ । तर, अन्यको दबाब र लहैलहैमा यस्ता क्रियाकलाप गर्नु उचित हुँदैन भन्ने लाग्छ ।

 Image