Successfully Copied

अनुष्काको ‘माक्कुसे’

‘प्याकेजिङ राम्रो नहुँदा अरूलाई कोसेलीका रूपमा दिन पनि हिचकिचाउने भएकाले मैले मौलिक स्वादसँगै प्याकेजिङ र ब्रान्डिङतर्फ विशेष ध्यान दिएकी हुँ ।’

कुनै बेला काठमाडौंको न्यूरोड र नरदेवी गल्लीमा घरैपिच्छे रैथाने परिकार पुष्टकारी र गुँदपाक बेच्ने पसल भेटिन्थे । अहिले हरेक पसलमा फरक–फरक स्वादमा यी परिकार पाइन्छन् । त्यसमा पनि आफ्नै उत्पादन बेच्ने पसल कमै छन् । तर, पसलेहरूले आफ्नो मौलिक स्वादको भन्दै बेचिरहेका छन् । कुन चाहिँ पुष्टकारी र गुँदपाक मौलिक स्वादको भनेर ठम्याउन उपभोक्तालाई हम्मे–हम्मे पर्छ । मिस नेपाल–२०१९ की विजेता अनुष्का श्रेष्ठले उपभोक्ताको यो समस्या समाधान गर्ने प्रयास गरिन् । उनले यसको प्याकेजिङ र ब्रान्डिङतर्फ ध्यान दिइन् । आफ्नो छुट्टै ब्रान्ड ‘माक्कुसे’ बजारमा ल्याइन् । उनी भन्छिन्, ‘प्याकेजिङ राम्रो नहुँदा अरूलाई कोसेलीका रूपमा दिन पनि हिचकिचाउने भएकाले मैले मौलिक स्वादसँगै प्याकेजिङ र ब्रान्डिङतर्फ विशेष ध्यान दिएकी हुँ ।’
मिस नेपालको कार्यक्रममा स्टेजमा प्रस्तुति दिँदा बाहिरी स्वरूपलाई विशेष ध्यान दिने भएकाले त्यसको प्रभाव ‘माक्कुसे’ का परिकारमा पनि पोखिएको उनले बताइन् । ‘पहिले खानेकुरा मुखको स्वादका लागि अथवा भोक मेटाउन मात्र हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले हेर्न र अनबक्सिङ अनि मात्र खान र स्वादतर्फ केन्द्रित हुने जमात छन् ।’ ‘माक्कुसे’का परिकारमा फ्यान्सी देखाउन सजाइएका हरेक सामग्रीमा आफ्नो छुट्टै कारण समेत रहेको उनको भनाइ छ ।
‘नेपाली लोक्ताबाट बनेको बट्टा, तामाको चम्चा, सिसाको जार प्रयोग गरेका छौं,’ उनले भनिन्, ‘हरेक सामान पुनः प्रयोग गर्न मिल्छ, हाम्रो समाजमा तामाका भाँडा पूजाका लागि प्रयोग गरिन्छ, त्यसैले हामीले तामाको चम्चा राखेका छौं ।’


उनका अनुसार पछिल्लो समय मानिस क्षणिक समयका लागि मात्र बाहिरी वा अन्य परिकारमा आकर्षित हुने गरेका छन् । उपत्यकामा मात्र नभई अन्य जिल्लामा पनि स्थानीय परिकार खोज्नेहरू धेरै भेटिने गरेको उनी बताउँछिन् । ‘खानेकुराको स्वाद, गुणस्तर र बाहिरको प्रस्तुतिको संयोजन बराबर हुनुपर्छ’ उनी भन्छिन्, ‘त्यसैले मौलिक स्वादका पुष्टकारीलाई सुनौलो पेपरमा र्‍याप गरी लोक्ताबाट बनेको डब्बामा प्याकिङपछि बजार पठाइन्छ । गुँदपाक पनि ग्लास जारमा राखेर कागजको डब्बामा सजाएका छौं ।’
अनुष्काका अनुसार ‘माक्कुसे’ का परिकार बनाउन मुख्य त खुवा चाहिन्छ । यसका लागि काभ्रेको हिमाली क्षेत्रका गाईवस्तुको मात्र दूध ल्याउने गरेको उनले बताइन् । ‘त्यहाँको दूधबाट मीठो खुवा बन्ने भएकाले एक ठाउँको मात्र दूध प्रयोग गर्छौं,’ ‘माक्कुसे’की संस्थापक तथा सिइओ समेत रहेकी अनुष्काले भनिन्, ‘माक्कुसेको परिकार बनाउन थोरै मात्र कच्चापदार्थ आवश्यक पर्छ ।’
मौलिक स्वादलाई यथावत् राख्दै अन्य कच्चापदार्थ प्रयोग गरी यसलाई प्रवर्धन गर्ने गरेको उनले बताइन् । सात महिनाअघि बजारमा पुगेको ‘माक्कुसे’ को परिकारले स्वादसँगै हरेक क्षेत्रमा सकारात्मक प्रतिक्रिया पाएको छ । कसैले नरम त कसैले कडा पुष्टकारी खान रुचाउने भएकाले दुवै थरी उत्पादन गर्नेतर्फकम्पनीले ध्यान दिएको उनले बताइन् । गुँदपाक नखानेका लागि कुकिजका माध्यमबाट त्यसको स्वाद चखाउने गरेको अनुष्काको भनाइ छ ।


‘माक्कुसे’ ब्रान्डको पुष्टकारी, गुलाबजल र पिस्तासहितको गुँदपाक, मोका कफी मिश्रित गुँदपाक, चकलेट र गुँदपाकबाट बनेका कुकिज, ओटमिल र पम्किन सिडबाट बनेका कुकिज बजारमा छन् ।
२५ लाख रुपैयाँको लगानीमा सुरु गरेको ‘माक्कुसे’ ले प्रत्यक्ष रूपमा सात जना र अप्रत्यक्ष रूपमा ४० भन्दा बढीलाई रोजगारी दिएको छ । ‘माक्कुसे’ का परिकार ‘माक्कुसे’ कै सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्राम र ग्यापु मार्केटप्लेसबाट खरिद गर्न सकिन्छ । माक्कुसेलाई विस्तारै अन्य मार्केटप्लेस र विश्व बजारमा लैजाने योजना उनको छ ।

अस्ट्रेलियादेखि मिस नेपाल हुँदै माक्कुसेसम्म
अस्ट्रेलियामा काम गर्ने ठाउँमा र आफन्तले सोध्ने प्रश्नमा उनले सधै स्वदेश फर्केर काम गर्ने बताउँदै आएकी थिइन् । तर ‘के गर्छु’ भन्ने अनुष्कालाई थाहा थिएन । अन्यले सुरुमा यस्तै भन्छन् भन्दै उडाउँथे । तर ‘मिस नेपाल–२०१९’ उनका लागि नेपाल फर्कने सही अवसर साबित भएको छ । पछिल्लो समय उनको परिचय पनि फेरिएको छ । उनी नेपाली उद्यमी बन्न सफल भएकी छन् । ‘मिस नेपाल’ विजेता भएपछिको एक वर्षमा अनुष्काले आफैलाई चिन्ने मौका पाइन् । उनलाई आफ्नो काम, इच्छा, लगावसँगै नेपालबारे थप जान्ने अवसर प्रदान गर्‍यो । सिर्जनात्मक काम गर्न सधै तयार अनुष्का खानामा पनि सौखिन छिन् । परिवारका सदस्यले ‘हाम्रो डेजर्ट गुँदपाक र पुष्टकारी हराउँदै छ’ भनेपछि त्यसलाई जोगाउन उनी लागिपरेकी हुन् ।

 Image