Successfully Copied

सदाबहार सिउँडी

‘क्याक्टस’ धेरैले इन्डोरमा राख्ने गरेको पाइन्छ । तर दयाकुमार भन्छन्, ‘यो इन्डोर प्लान्ट होइन ।’

सिउँडी अर्थात् क्याक्टस । यो विश्वभर लोकप्रिय छ । बगैंचाको सौन्दर्य बढाउन यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यो इन्डोर, आउटडोर दुवैमा राख्न मिल्छ । यसको विशेषता भनेकै अन्य बिरुवाभन्दा फरक देखिनु हो । यसको पातको आकारमा विविधता पाइन्छ । हरियो पातको डिजाइन नै अद्वितीय हुन्छ । बैठक कोठाको कुनै कुना सजाउन, झ्याल, पुस्तकको र्‍याक वा भित्तामा झुन्डाउँदा यसले घरको सौन्दर्य दोब्बर बढाउँछ ।

डेढ दशकयता नर्सरी व्यवसायमा संलग्न दयाकुमार द्वले ‘क्याक्टस’ सधैं बिक्री हुने बिरुवामा पर्ने बताउँछन् । ‘यो सबैले मन पराउने बिरुवा हो’ उनी भन्छन्, ‘धेरै बिक्री हुने बिरुवामा ‘क्याक्टस’ पनि पर्छ ।’ यो अनौठो र लोकप्रिय बिरुवामध्ये एक हो ।

‘क्याक्टस’ ग्रिक शब्द ‘काकटोस’ बाट लिइएको हो । जसको अर्थ हुन्छ, स्पाइकी प्लान्ट । यो प्रायः सुख्खा र गर्मी ठाउँमा पाइन्छ । अति गर्मी वातावरण यसका लागि अनुकूल हुन्छ । यो बाह्रमासे बिरुवा हो । यसका अधिकांश प्रजातिमा पात हुँदैनन् । भए पनि कम हुन्छन् । यद्यपि यो बिरुवा ढिलो बढ्छ । आत्मनिर्भर बिरुवाअन्तर्गत पर्ने ‘क्याक्टस’ ले जरा, पात र डाँठमा ओस सञ्चित गरी राख्छ । त्यसैले धेरै दिनसम्म यसले आफ्नो खाद्य सञ्चित र नियन्त्रित गरी राख्न सक्छ । यसलाई हल्का, हावा ओहोरदोहोर गर्ने ठाउँ र गर्मी ठाउँ चाहिन्छ । लगभग १८ डिग्री सेल्सियसको तापक्रम यसका लागि ठीक हुन्छ । यसले सीधा घाम पनि सहन सक्छ ।

कहाँ लगाउने ?

‘क्याक्टस’ धेरैले इन्डोरमा राख्ने गरेको पाइन्छ । तर दयाकुमार भन्छन्, ‘यो इन्डोर प्लान्ट होइन ।’ जुनसुकै ठाउँमा यो लगाउन सकिन्छ । गर्मी वा सीधा घाम पर्ने ठाउँमा पनि राख्न सकिन्छ । हिउँ पर्ने ठाउँमा समेत यो पाइन्छ । बगैंचा, बार्दली, छत एवं कोठामा पनि रोप्न सकिन्छ । तर उज्यालो ठाउँ भने हुनुपर्छ ।

थरी–थरीका ‘क्याक्टस’

विश्वमा थरी–थरीका ‘क्याक्टस’ पाइन्छन् । नेपालमा धेरै प्रजातिका ‘क्याक्टस’ बाहिरबाटै ल्याइन्छ । विभिन्न प्रजातिका प्रत्येक ‘क्याक्टस’ को बिरुवा हेर्दा अलग देखिन्छ । कुनै प्रजातिको ‘क्याक्टस’ खान पनि मिल्छ । ‘ड्रागन फ्रुट’ ‘क्याक्टस’ मै फल्ने फल हो । सबैभन्दा बिक्री हुनेमा ‘इचिनेक्याक्टस’, ‘फेरोक्याक्टस’, ‘जिम्नोकोलियजियम’, ‘ओपटिया’, ‘मममिलारिया’ आदि हुन् । ‘जिम्नोकोलियजियम’ (मुन क्यान्टस) माथिल्लो भाग रंगीबिरंगी हुन्छ । धेरैजसो पहेंलो र रातो हुन्छ । यो फूल भने होइन, यसको माथिल्लो भाग रंगीन हुन झन्डै एक वर्ष लाग्छ । ‘ओपटिया’ जसलाई ‘पोल्का डट क्याक्टस’ का रूपमा पनि चिनिन्छ । यसमा हरियो रंगको पृष्ठभूमिमा सुनौलो रंगको डट हुन्छ । यो आकर्षक, अद्वितीय र ज्यामितीय देखिन्छ । ‘मममिलारिया’ मा काँडा हुन्छ । यो चाँडै बढ्छ र यसमा स–साना गुलाबी रंगका फूल फुल्छन् ।

कसरी हेरचाह गर्ने ?

‘क्याक्टस’ लाई कलमी, ग्राफ्टिङ गर्न सकिन्छ । यो रोप्न माटो, बालुवा, कोकोपिट र गाई–भैंसीको मल २५–२५ प्रतिशत मिलाउनुपर्छ । यसलाई पानी थोरै हाल्नुपर्छ । पानी धेरै भयो भने बिरुवा मर्न सक्छ । क्याक्टसको राम्रो स्याहार–सुसार भएन भने फुल्दैन । यसलाई फुलाउनका लागि यसको प्राकृतिक विकास चक्र पछ्याउनुपर्छ । जाडोमा कम र वसन्त ऋतुमा बढ्नुपर्छ । सुख्खा र चिसो ठाउँमा राख्नुपर्छ तर अँध्यारोमा हुनुहुँदैन । जाडोमा पानी एकदमै कम मात्रामा दिनुपर्छ । वसन्त ऋतु सुरु हुनेबित्तिकै पानीको मात्रा बढाउने र सम्भव भएसम्म घाम भएको ठाउँमा राख्नुपर्छ । माटो सुख्खा भएपछिमात्र पानी हाल्नुपर्छ ।

‘क्याक्टस’ मरुभूमिमा पाइने भए पनि घरको वातावरणमा समेत हुर्कन्छ । प्रशस्त प्रकाश भएको ठाउँमा यसलाई राख्नुपर्छ । इन्डोरमा राख्दा कृत्रिम प्रकाशमा राख्न सकिन्छ । गर्मी महिनामा सूर्यको किरण पर्ने गरी केही दिन घरबाहिर राख्न सकिन्छ ।

कति समय रहन्छ ?

जंगलमा पाइने ‘क्याक्टस’ सयौं वर्षसम्म रहन्छ । घरभित्र रोप्दा दश वर्ष वा त्यसभन्दा बढी समयसम्म रहन्छ ।

क्याक्टस अशुभ मानिन्छ ?

दयाकुमार भन्छन्, ‘प्राकृतिक प्रेमीहरूका लागि कुनै पनि बिरुवा अशुभ हुँदैन । सबै हरिया बिरुवाले अक्सिजन दिन्छन् । फरक यति हो कि कुनैले धेरै दिन्छन् भने कुनैले थोरै ।’ क्याक्टसका कतिपय प्रजातिले हावा शुद्धीकरण गर्ने पुष्टि भइसकेको उनी बताउँछन् ।

 Image