महिला पत्रकारको संघर्ष

  • सात महिनापछि बल्ल ‘बाइलाइन’

नारी संवाददाता

जेष्ठ ७, २०७८ बबिता बस्नेत 

सम्पादक, घटना र विचार

पत्रकारितामा म योजनाबद्ध तरिकाले नभई अनायासै आएकी हुँ । म खोटाङस्थित सालम्बु गाउँमा जन्मिएँ, त्यहीँ हुर्किएँ । सानैदेखि रेडियो सुन्थें । ‘गोरखापत्र’ प्रकाशित भएको २८ दिनपछि मात्र स्कुलमा पुग्थ्यो, सबै पढ्थें । स्कुल पढ्दादेखि नै कविता–कथा लेख्थें । ०४७ जेठको कुरा हो, कलेज पढ्दै काठमाडौंस्थित परोपकार माविमा पढाउँदै गर्दा कविता छपाउन लगनटोलस्थित ‘नेपाली पत्र’ को कार्यालय पुगेकी थिएँ । हरि अधिकारीले साहित्य स्तम्भ हेर्नुहुँदो रहेछ । त्यहाँ पुग्दा म र बहिनी शर्मिला उदास (तिवारी) सँगै थियौं । अहिले जस्तो इमेल थिएन । हस्तलिखित सामग्री बोकेर अखबारको कार्यालय पुग्नुपर्थ्यो । कविता पढेपछि हरि अधिकारीले ‘राम्रो छ तर पत्रकारिता गर्नुस् न’ भन्नुभयो । पत्रकारिता गर्ने हो भनें यो चिठी लिएर भोलि रिपोर्टिङमा जानुस् भन्दा म छक्क परें । अचम्म लाग्यो, त्यसअघि मैले हरि दाइलाई कहिल्यै देखेकी थिइन । त्यो अखिल छैठौंको सम्मेलनमा रिपोर्टिङ गर्न अखबारको कार्यालयमा पठाइएको निम्ता पत्र रहेछ । शनिबार थियो, म रिपोर्टिङमा गएँ ।

त्यतिबेला अहिले जस्तो धेरै पत्रपत्रिका थिएनन् । तर, जति थिए म प्रायः सबै पढ्थें । अघिल्लो दिनसम्म समाचार के छ भनेर पढ्ने मैले रिपोर्टिङमा गएको दिन समाचार कसरी लेखिँदो रहेछ भनेर पढ्थें । पत्रिका पढेकै आधारमा मैले समाचार लेख्न सिकेकी हुँ । अहिले जस्तो कम्प्युटर पनि थिएन, हातैले लेख्नुपर्थ्यो । म समाचार लेख्दै–च्यात्दै फेरि लेख्दै गर्थें । लेखनमा रुचि भएकाले होला सुरुदेखि नै मैले लेखेको समाचार खासै सम्पादन गर्नु परेन । तर, बाइलाइन आउन भने धेरै समय कुर्नुपर्‍यो । ‘नेपाली पत्र’ साप्ताहिकका तत्कालीन सम्पादक जनार्दन आचार्य सामान्य समाचारमा नाम राखिदिनुहुन्नथ्यो । समाचार लेख्न थालेको सात महिनापछि मेरो ‘बाइलाइन’ समाचार छापिएको थियो । त्यो थियो, स्वर सम्राट् नारायण गोपालको मृत्यु र दाहसंस्कारको समाचार । लोकप्रिय गायकको मृत्युले धेरैलाई दुःखी बनाएका बेला म पत्रिकाको पहिलो पृष्ठमा छापिएको आफ्नो नाम देखेर खुसी थिएँ । मैले मानिसको जीवनमा खुसी परिस्थितिजन्य हुन्छ भन्ने कुरा जिन्दगीमा पहिलो पल्ट त्यतिबेलै अनुभूति गरेकी हुँ । पछि मैले ‘इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन’ बाट आधारभूत पत्रकारिता र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघबाट एड्भान्स तालिम लिने अवसर पाएँ । यी तालिमद्वारा मेरो पत्रकारिताको जगलाई मजबुद र ज्ञानलाई फराकिलो बनाउन सहयोग पुग्यो ।

त्यतिबेला महिला पत्रकारको संख्या हातमा गन्न सकिने मात्र थियो । संख्यात्मक रूपमा थोरै भए पनि महिला पत्रकारका बाइलाइन समाचारहरू आउँथे । महिला पत्रकारहरू एकै ठाउँमा जम्मा भएर आफ्ना विषयमा कुरा गर्न थालेको ०५१ सालदेखि मात्र हो । रेडियो नेपालमा कार्यरत गौरी केसी, विक्ली मिररकी सम्पादक प्रेमकुमारी पन्त, भारती सिलवाल गिरी, इला शर्मा, वन्दना राणा, शोभा गौतम, अमृता लम्साल, कविता शेरचन आदि पत्रकारहरू एकै ठाउँमा जम्मा भएर परिचय गर्दा हामीले रमाइलो महसुस गरेका थियौं । म त्यतिबेला पत्रिकासँगै रेडियो नेपालको घटना र विचारमा काम गर्थें । रेडियो, टेलिभिजन, छापा माध्यममा संलग्न महिला पत्रकारहरूको केही समयको निरन्तर भेटघाटपछि ०५२ मा ‘संचारिका समूह’ को स्थापना गर्‍यौं ।

त्यतिबेला पत्रकारिता गर्न सहज थिएन तर धेरै असहज पनि थिएन । महिलाहरू थोरै थिए, अलिकति मेहनत गरेर स्टोरी लेख्दा राम्रो चर्चा पाइन्थ्यो । कुनै सामग्रीको पुष्टि गर्न र पृष्ठभूमिका लागि भने धेरै मेहनत गर्नुपर्थ्यो । अहिले जस्तो जे खोज्यो त्यही भेटिने गुगल थिएन ।

०५२ सालको कुरा हो, म लगनटोलस्थित पत्रिकाको कार्यालयबाट राति १० बजेतिर स्कुटरमा घर फर्किरहेकी थिएँ । पत्रिका निस्कने अघिल्लो दिन हामी रातिसम्म काम गर्थ्यौं । मेरो स्कुटरलाई एउटा बाइकले फलो गरेझैं लाग्यो । बाइकमा दुई जना चढेका थिए । रत्नपार्क पुगेपछि पछाडि बस्नेले मेरो सल तान्यो । स्कुटरसहित म लडें । तिनीहरू बाइक दौडाएर लैनचौरतिर लागे । एकदमै डराएकी मैले बाइक उठाएँ र आफू बस्ने गरेको ठाउँ घट्टेकुलोतिर लागें । सुनसान रातमा भएको त्यो घटनापछि म बिहीबार अलि चाँडै घर फर्किन थालें ।

पत्रकारिता क्षेत्रमा महिलाका चुनौतीहरूको कुरा गर्दा कामको दोहोरो बोझ, व्यक्तिगत र व्यावसायिक सुरक्षालगायत छन् । जतिबेला पनि ‘अप डेट’ भइरहनुपर्ने र आफूलाई पटक–पटक प्रमाणित गर्नुपर्ने पेशा भएकाले घरको काममा बाँडफाँड नहुँदा महिलालाई दोहोरो बोझ छ । विवाह, बच्चालगायतका दायित्व पनि महिला पत्रकारका लागि चुनौतीकै रूपमा छन् । धेरै महिला पत्रकारले बच्चा भएपछि पत्रकारिता छोडेका छन् । घरपरिवारको जिम्मेवारी र व्यावसायिक उत्तरदायित्व एकैपटक निर्वाह गर्न निकै गाह्रो छ । मैले पनि कठिन संघर्षका साथ यो जिम्मेवारी पूरा गरेकी हुँ । सुरक्षा अहिले पनि महिला पत्रकारका लागि चुनौतीको विषय हो । कोभिड—१९ ले असुरक्षा झनै बढाइदिएको छ ।

पत्रकारिताको नेतृत्व तहमा पुग्नु महिला पत्रकारका लागि अहिले पनि टाढाको लक्ष्यझैं छ । कुनै दैनिक पत्रिकाको सम्पादकले राति कति बेलासम्म समय दिनुपर्छ ? घरपरिवार तथा बच्चाहरूको व्यवस्थापन कसरी गरिएको हुन्छ ? ‘पब्लिक रिलेसन मेन्टेन’ गर्ने समय महिलासँग कति हुन्छ ? के महिला पत्रकारहरू जतिबेला पनि माइन्डमा समाचारका विषयहरू सोचेर वा खेलाएर बस्न सक्ने अवस्थामा छन् ? घरमा पानी कतिबेला आयो, बच्चाले के खायो वा होम वर्क कतिबेला गर्ने हो...जस्ता कुरामा ध्यान दिनु नपर्ने परिस्थिति हुँदो हो त सायद महिला पत्रकारको अवस्था फरक हुने थियो ।

(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>