Successfully Copied

हामी एक–अर्काका बल हौं

‘म कमजोर भएका बेला रिचा मेरो शक्ति हो’नेपाल आइडलबाट चर्चामा आएका गायक निशान आफ्नी मोडल पत्नी रिचाबारे भन्छन्, ‘उनलाई परेको कठिन घडीमा म उनको बल बन्ने गर्छु ।’

नेपाली सांगीतिक क्षेत्रमा ‘हट कपल’ का रूपमा चर्चित नाम हो निशान भट्टराई र रिचा न्यौपाने । अघिल्लो वर्ष लकडाउनकै बेलामा यी दुई वैवाहिक बन्धनमा बाँधिएका थिए । ‘म कमजोर भएका बेला रिचा मेरो शक्ति हो’ नेपाल आइडलबाट चर्चामा आएका गायक निशान आफ्नी मोडल पत्नी रिचाबारे भन्छन्, ‘उनलाई परेको कठिन घडीमा म उनको बल बन्ने गर्छु ।’

मोरङ उर्लाबारीमा जन्मिएका निशानको सानैदेखि गायनमा रुचि थियो । अभिभावक रेनुका र नित्यानन्द भट्टराई छोराको यो रुचि देखेर दङ्ग थिए । त्यसैले गायनसम्बन्धी थप अध्ययनका लागि छोरालाई संगीत शिक्षक विशाल राईको जिम्मा लगाइदिए ।

सिकाइकै क्रममा निशानले स्थानीय शोदेखि राष्ट्रिय स्तरका बाल तथा अन्य प्रतियोगितामा सहभागी भई थुप्रै पुरस्कार बटुले । पछिल्लो समय नेपाल आइडलमा दर्शकले सर्वाधिक रुचाएका गायक बनेका छन्–निशान । उनी भन्छन्, ‘गुरु थापेर धेरै कक्षा लिएँ । म यहाँसम्म आइपुग्नुमा मेरा गुरुहरू विशाल राई, यशोदा शाक्य, कमला खनाल एवं मनोजराज शिवाकोटी धन्यवादका पात्र हुनुहुन्छ । मेरो म्युजिकल यात्रा रुचिकर र रमाइलो रह्यो ।’

नेपाल आइडलकै बीच सामाजिक सञ्जालमार्फत रिचा र निशानको संवाद सुरु भयो । धेरै समयसम्म च्याटमै यी दुईको सम्बन्ध सीमित रह्यो । समय बित्दै जाँदा म्यासेज, कल, भिडियोकलसम्म हुन थाल्यो । ‘उतिबेलै यसरी भएको कुराकानी मीठो र उल्लासमय भएको अनुभव गर्छु’ ती क्षणहरू सम्झदै रिचा भन्छिन्, ‘च्याटमा उहाँबारे थप जान्ने/बुझ्ने उत्सुकता हुन्थ्यो । कुरैकुरामा सम्बन्ध बलियो भइसकेछ, हामीले चालै पाएनौं ।’

तर पनि भेटेर कुरा गर्दा एक–अर्काबारे अझ बुझ्ने मौका पाइन्छ भनेर उनीहरूले प्रत्यक्ष भेटघाटको निधो गरे । च्याटमा १० महिना संवादपछि निशान मकाउ जाने अघिल्लो दिन एकैछिनका लागि भए पनि भेट्ने योजना बन्यो । निशान भन्छन्, ‘मेरो फ्लाइट हुनु दुई घण्टाअघि रिचालाई प्रत्यक्ष देख्ने अवसर जुट्यो, उतिबेला त्यति कुराकानी भएन । म गइहालें । तर च्याट र कलमा कुराकानी निरन्तर छँदै थियो ।’

त्यसपछि निशान केही समयका लागि म्युजिकल टुरमा व्यस्त भए । काठमाडौं फर्केपछि भने यी दुईको भेटघाट बाक्लिँदै गयो । निकै व्यस्त निशान कहिले देशबाहिर त कहिले भित्र हुन्थे । कति व्यस्त मान्छे भन्ने कुरा रिचाले त्यतिबेलै फिल गरेको बताइन् । तीन वर्षसम्मको अफेयरमा यो जोडी कहिले खाजा त कहिले कफी भेटमा रमाउँथ्यो । एक–अर्कालाई राम्ररी बुझेपछि मात्रै आफूहरू वैवाहिक जीवनमा बाँधिने निधोमा पुगेको दुवैले एकै स्वरमा बताए । विवाहपछि माया र विश्वास झनै प्रगाढ भएको उनीहरूको अनुभव छ । जीवनका खुसी र दुःख सँगसँंगै बाँड्न पाउँदा सहज मात्र होइन गर्व महसुस भइरहेको प्रतिक्रिया यी दुवैको छ । रिचाले भनिन्, ‘विवाहपछि जिम्मेवार र परिपक्व भएको महसुस पनि भएको छ । निशान मेरो बल र कमजोरी दुवै हो । जब म कमजोर हुन्छु उहाँ मेरो शक्ति बनेर उभिनुहुन्छ ।’

सम्बन्ध त्यहाँ बलियो हुन्छ, जहाँ विश्वास, माया र आपसी समझदारी हुन्छ भन्ने बुझाइ निशानको छ । ‘श्रीमतीको दुःख मेरो पनि दुःख हो । मैले जे फिल गर्छु तिनले पनि त्यस्तै फिल गर्छिन् भन्ने सोच हुनुपर्छ सम्बन्धमा’ उनी भन्छन्, ‘जस्तोसुकै अवस्थामा पनि सँगै रहनु र दुःख, अप्ठ्यारा आपसमा बाँड्न जरुरी छ । सँगै हुँदा सबै समस्या हल हुन्छ एक्लै भइयो भने सानो कुराले पनि ठूलो दुःख दिन्छ भन्ने बुझेमा सम्बन्ध प्रगाढ बन्छ ।’

निशानको व्यक्तिगत र व्यावसायिक जीवनमा रिचा खम्बा बनेर उभिएकी छन् । उनको जीवनमा जब रिचाको आगमन भयो सबै कुरा व्यवस्थित हुँदै गएको अनुभव दुवैको छ । रिचालाई आफ्नो खुसी ठान्ने निशान उनलाई आफ्नै इच्छामा छोडिदिने बताउँछन् । ‘मनदेखि जे गर्ने इच्छा हुन्छ त्यही गरोस्’ भन्ने सुझाव उनले रिचालाई दिन्छन् । उनी भन्छन्, ‘रिचालाई अगाडि बढ्ने क्रममा आउने बाधा/अड्चन पन्छाउन म सदैव तयार रहन्छु । जे गर्न इच्छा छ त्यही गर भनेर सुझाउँछ्,ु उनीमाथि मेरो इच्छा लाद्न म चाहन्न । उनको जीवनमा एउटा साहस बनेर म उभिरहन चाहन्छु ।’ दुवै युवावस्थामै भएकाले कतिपय कुरामा सजग हुनुपर्ने रिचाको भनाइ छ । ‘जीवन लामो छ । अनन्तसम्म सँगै हिँड्न हामीले एक–अर्काको भावनालाई कदर गर्दै विश्वास टुट्न दिनुहुन्न भन्नेमा सचेत छौं,’ उनी भन्छिन्, ‘हाम्रो जीवनमा खुसी र रमाइलो छ । आगामी दिनहरूलाई अझ खुसियाली बनाउने सामर्थ्य हामीमा छ ।’

 Image