Successfully Copied

दाँतको उपचारमा आरसीटी

आरसीटी उपचार अत्यन्तै पीडादायक हुन्छ भन्ने भनाइ पनि गलत हो । हाल नयाँ प्रविधिबाट उपचार सहज भएकाले यो विधिमा त्यति दुखाइ हुँदैन ।

डा.गुञ्जना रिमाल

कान्तिपुर डेन्टल कलेज

दाँतको जरामा समस्या हुँदा गरिने उपचारलाई रुट क्यानल ट्रिटमेन्ट (आरसीटी) भनिन्छ । यो साधारण उपचार विधि हो । साधारणतया यो दन्त चिकित्सकद्वारा गरिन्छ । दाँतको समस्या जटिल भए रुट क्यानल विशेषज्ञ ‘इन्डोडोन्टिस्ट’ बाट उपचार गराउनुपर्छ । दाँत कीराले खाएर इनामेल हुँदै डेन्टिन र दाँतको भित्री भागको पल्प वा दाँतको नसासम्म संक्रमण हुन पुग्छ । त्यसपछि दुखाइको अनुभव हुन थाल्छ । यस चरणमा पुगिसक्दा समस्या जटिल भइसकेको हुन्छ । दाँतको चपाउने भागदेखि जराको भित्री टुप्पासम्म सफा गरी संक्रमण हटाउने उपचार विधि आरसीटी हो । यो उपचार विधिबारे केही भ्रम र सत्यता :

- दाँत दुखेमा मात्र आरसीटी गराउनुपर्छ भन्ने सोच गलत हो । कीराले दाँतको नसा छोएमा सहनै नसक्ने गरी दाँत दुख्छ । यो दुखाइ कम गर्ने उपचार विधि आरसीटी हो । यसैगरी, कहिलेकाहीँ दाँतमा गहिरो खाल्डो परेको हुन सक्छ र त्यो नसा नजिकै छ भने खाल्डो भर्ने क्रममा नसा छोएमा पनि आरसीटी गर्नुपर्ने हुन्छ । कसै–कसैको दाँत पहिले साह्रै दुखेको तर पछि त्यो दुखाइ आफै हराएर जान सक्छ । यो भनेको दाँत कीराले खाएर दाँतको नसा मरिसकेको अवस्था हो । यो अवस्थामा दुखाइ नभए पनि संक्रमण भई दाँतको जरामुनि पिप जम्मा भइरहेको हुन्छ । यो अवस्था बन्न नदिन आरसीटी गर्नुपर्ने हुन्छ ।

- आरसीटी उपचार अत्यन्तै पीडादायक हुन्छ भन्ने भनाइ पनि गलत हो । हाल नयाँ प्रविधिबाट उपचार सहज भएकाले यो विधिमा त्यति दुखाइ हुँदैन । उपचारअघि दाँत र गिजालाई केही लाटो बनाउन सानो इन्जेक्सन (एनेस्थेसिया) लगाइन्छ । यसको प्रयोगले दाँत र वरिपरिका भाग केही समयका लागि लठ्ठ बनाइन्छ र उपचार गरिन्छ । यसले दुखाइ मुक्त उपचार गर्न सहयोग गर्छ । यति गर्दा पनि दुखाइ कम नभए चिकित्सकले नसा मन्द गराउने औषधि दिन्छन् र अर्को दिन पुनः उपचार अगाडि बढाउँछन् ।

- आरसीटी धेरै खर्चिलो हुन्छ बरु दाँत नै निकाल्नु वेश हुन्छ’ धेरै जना बिरामीले यो भन्ने गरेको सुनिन्छ । उनीहरू यो पनि भन्छन् कि आरसीटी धेरै झन्झटिलो र खर्चिलो हुन्छ । त्यसको साटो दाँत नै निकालिदियो भने आनन्द हुन्छ । यो सोच पनि गलत हो । दाँत निकाल्नु भनेको झनै पीडादायक प्रक्रिया हो । दाँत निकालेपछि त्यसका आसपासका दाँतहरू अगाडि–पछाडि सर्ने सम्भावना बढी हुन्छ । दाँत निकालेपछि गिजा र दाँतको हड्डी पनि कमजोर हुन्छ र अरू दाँतमा पनि समस्या आउन सक्छ । दाँत निकालेको ठाउँमा नक्कली दाँत राख्ने सोच छ भने उपचार झनै महँगो पर्न जान्छ । तसर्थ आफ्नो सक्कली दाँत बचाउन चिकित्सकको सल्लाह मान्दा राम्रो हुन्छ ।

- आरसीटी गर्दा ज्वरो आउने र यो उपचार स्थायी होइन भन्ने बुझाइ धेरैको छ तर, यो सत्य होइन । आरसीटी गर्दा दाँतको जरामुनि अथवा गिजामा बसेको कीटाणु सबै सफा गरी जराबाटै खरजस्तै वस्तु ‘गुत्तापर्च’ ले भरिन्छ । यो विधिले दाँत स्वस्थ बनाउन मद्दत गर्छ । यस्तो उपचार विधिबाट दाँत स्वस्थ हुनुका साथै कुनै साइड इफेक्ट हुँदैन ।

- आरसीटी उपचार पद्धति दीर्घकालीन समस्याको हल गर्ने विधि हो । यो गरिसकेपछि क्राउन अथवा दाँतको सुरक्षाकवच राख्न जरुरी हुन्छ । समय–समयमा चिकित्सकीय परीक्षण गराई सोहीअनुरूप सल्लाह र सुझाव लिँदा झनै राम्रो हुन्छ । आफूले पनि घरमा दाँतको विशेष रेखदेख गर्ने र सुरक्षा गर्दा आरसीटी गरेको दाँतले आफूलाई सधै साथ दिन्छ र अनुहारको सौन्दर्य बढाउँछ ।

 Image