नेपालमा यसरी मनाइन्छ

नारी संवाददाता

वैशाख ३, २०७८ विक्रम सम्वत्

नेपालमा यो सम्वत् आधिकारिक रूपमा चन्द्रशमशेरका पालामा सुरु भएको हो । नेपालको राष्ट्रिय पात्रो यसैअनुसार बनाइन्छ । प्राचीन हिन्दू परम्परा तथा वैदिक गणितमा आधारित यो सौर्य पात्रो हो । यो ईश्वी सम्वत्को पात्रो (ग्रेगोरियन पात्रो) को तुलनामा ५७ वर्ष आठ महिना १५ दिन अगाडि छ । यो पात्रोअनुसार हरेक वर्षको वैशाख १ बाट नव वर्ष सुरु हुन्छ । अधिकांश नेपालीले यसैलाई नव वर्षका रूपमा मनाउँछन् । नेपालमा यो दिन सार्वजनिक बिदा दिने चलन छ ।

ईश्वी सम्वत्

हरेक वर्षको अंग्रेजी महिनाको जनवरी १ मा मनाइने नव वर्ष ग्रेगोरियन क्यालेन्डर अर्थात् क्रिश्चियन क्यालेन्डरमा आधारित छ । क्रिश्चियन धर्मावलम्बीहरूले मनाउने यो विशेष नयाँ वर्ष अचेल विश्वका अधिकांश मुलुकले यही क्यालेन्डरलाई आधार मानेर मनाउँछन् । आतिसबाजी, घुमघाम, मनोरञ्जन गरी धुमधामका साथ यो नव वर्ष मनाइन्छ । नेपालमा यो दिन बिदा दिइन्न ।

नेपाल सम्वत्

यो सम्वत् ११३३ वर्ष पहिले भक्तपुरका राजा राघव देवको आदेशमा चलाइएको नेपालको मौलिक सम्वत् हो । यसको सुरुवात शंखधर साख्वाले गरेका हुन् । चन्द्रशमशेर राणाको कार्यकालमा यो सम्वत् औपचारिक रूपमा प्रचलनमा आएको हो । विक्रम सम्वत्को कार्तिक शुक्ल पक्ष प्रतिपदाका दिनमा पर्ने यो नव वर्ष विशेषतः नेवार समुदायले मनाउँछन् । यो समुदायले न्हुदँ भिन्तुना भन्दै शुभकामना साटासाट गर्छन् ।

हिजरी सम्वत्

मुस्लिम समुदायले यही सम्वत्लाई आधार बनाई आफ्नो पात्रो बनाएको हुन्छ । इस्लामी पञ्चाङ्ग (क्यालेन्डर) अनुसार बनाइने यो पात्रो चन्द्रमामा आधारित हुन्छ । हजरत मुहम्मद मक्काबाट मदिना फर्किएको दिनदेखि हिजरी सम्वत् सुरु भएको हो । इस्लामिक नयाँ वर्षको सुरुवात अगस्ट वा सेक्टेम्बरमा हुन्छ । मुस्लिमहरूले मुहर्रमलाई नयाँ वर्षका रूपमा मनाउँछन् । इस्लामिक क्यालेन्डरको १२ मध्ये पहिलो महिना मुहर्रम हो । यो पर्वका अवसरमा नेपालमा मुस्लिम समुदायलाई बिदा दिने चलन छ ।

ल्होसार

नेपालका पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, गुरुङ, शेर्पा, थकालीलगायतका समुदायले ल्होसार पर्वका रूपमा नयाँ वर्ष मनाउँछन् । नेपालमा मनाइने ल्होसार तीन प्रकारका छन् ः तमु, सोनाम र ग्याल्पो । यी तीनै फरक–फरक समयमा मनाइन्छ । विशेष प्रकारको आफ्नो मौलिक पहिरनमा सजिएर मनाइने ल्होसारहरूमा सम्बन्धित समुदायलाई सरकारले बिदा दिने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ वा ‘सार’ को अर्थ नयाँ भन्ने हो ।

माघी पर्व

नेपालका तराई–मधेस क्षेत्रमा बसोबास गर्ने थारू समुदायले हरेक वर्षको माघ १ लाई नयाँ वर्षका रूपमा मनाउँछन् । यो दिन थारु समुदायका मानिसले विशेष परिकार बनाएर खाने, नाचगान गर्ने गर्छन् । पछिल्लो समय माघी पर्वमा संघीय राजधानी काठमाडौंमा माघी पर्व महोत्सवको आयोजना गरी थारू समुदायका अगुवाहरूले आफ्नो कला, संस्कृति र परम्पराको जर्गेना गर्दै आएका छन् ।

जुडशीतल

नेपालको तराई–मधेस क्षेत्रमा बसोबास गर्ने यादव, साह, तेली, सुढी, कलबार, कुम्हार, हलुवाईलगायतका बहुजन समुदायले वैशाख २ गते जुडशीतलका रूपमा नव वर्ष मनाउँछन् । यो दिन ठूलाबडाले उमेरमा आफूभन्दा सानाको टाउकोमा शीतल जल राखेर जुडाउने चलन छ । यस अवसरमा सातु खाने अर्थात् सतुआइन चलन छ । यस वर्षमा बनाइने लोकप्रिय परिकारहरूमा तरुवा, भुजुवा, झोरी–बडी र कढी हो । वैशाख संक्रान्तिको भोलिपल्ट मनाइने जुडशीतलमा एक– अर्कालाई हिलोपानी छ्याप्ने परम्परा पनि छ । यो शीतलता र दीर्घायुका लागि गरिन्छ । यो पर्वमा पुरानो वर्षमा बनाएको अन्तिम खाना नयाँ वर्षमा खाने परम्परासमेत छ । यस दिन बोट–बिरुवाको जरामा पानी हाल्ने प्रचलन पनि छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>