Successfully Copied

प्रश्नोत्तर

जसरी हामीलाई मोबाइलमा नोटिफिकेसनले सफ्टवेयर अपडेट गर भनिरहन्छ । मैले पनि ब्युटीलाई अपटेड गर्नुपर्छ भन्ने लागेर हो ।

सन् २००८ मा क्यानाडाबाट सुरु भएको ‘अनानिक ब्युटी सलुन’ ले नेपालमा पाँच वटा शाखा खोलेको छ । नेपालमा पहिलो पटक सन् २०१३ मा बानेश्वरबाट सुरु गरिएको थियो । हाल दरबारमार्ग, पोखरा, लबिम मल र बौद्धमा यसका शाखा खोलिएको छ । यस ब्युटी सलुनका प्रबन्ध निर्देशक सुरविनसँग गरिएको कुराकानी :

सुरविन राई, प्रबन्ध निर्देशक

अनानिक ब्युटी सलुन

यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

क्यानाडामा दिदीले ब्युटी सलुन सञ्चालनमा ल्याउनुभएको हो । त्यहाँ हाम्रा दुईवटा शाखा छन् । लामो समयदेखि यही क्षेत्रमा जोडिएको र निरन्तर काम गर्दै जाँदा यसमा रुचि जाग्यो । अर्को कुरा मेरो मेहनत, संघर्ष र टिम वर्कले गर्दा म यही क्षेत्रमा लागें ।

कोरोनाले यो क्षेत्रमा कस्तो असर पारेको छ ?

प्रत्यक्ष असर पारेको छ । अझ यो क्षेत्र भनेको त सेवा लिने र दिनेबीच प्रत्यक्ष टच हुने हो । त्यसबाट हामी पनि प्रभावित नहुने कुरै भएन ।

कोरोनाको जोखिम त अझै छ, तर पनि तपाईंले दुईवटा सलुन एकसाथ सञ्चालनमा ल्याउनुभयो नि ?

जोखिम अझै छ । तैपनि सौन्दर्य अहिले अनिवार्य भइसकेको रहेछ । यो पनि हाम्रो सामान्य आधारभूत कुरा हो । नङ बनाउने, पेडिक्योर, मसाज लामो समय नगरे पनि हुन्छ तर, केश काट्ने, अनुहार सफा गर्ने कुरा गर्नैपर्छ ।

सलुन उद्घाटनका लागि भिआईपी नै बोलाउनुको अर्थ ?

समयसँगै चल्नुपर्छ भन्ने लाग्छ मलाई । जसरी हामीलाई मोबाइलमा नोटिफिकेसनले सफ्टवेयर अपडेट गर भनिरहन्छ । मैले पनि ब्युटीलाई अपटेड गर्नुपर्छ भन्ने लागेर हो । सबै सर्कलसँग जोडिनुपर्छ भन्ने मान्यता पनि हो ।

विदेशको तुलनामा नेपालको सौन्दर्य व्यवसाय कस्तो छ ?

आकाश–जमिनको फरक छ । नेपालीहरूमा विदेशकै सेवा–सुविधा राम्रो हुन्छ भन्ने गलत बुझाइ छ । त्यही मानसिकतालाई हटाउने प्रयास पनि हो–मेरो । अहिले नेपालीहरू समयसँगै अपटेड भइरहेका छन् । सौन्दर्यप्रति चासो बढ्दै गएको छ । पछिल्लो समय ‘सेल्फ लभ एण्ड केयर’ भनेर फस्टाएको छ ।

अनानिक ब्युटी सलुनको विशेषता के छ ?

मैले आफै भन्नुभन्दा पनि ग्राहकको प्रतिक्रिया महत्वपूर्ण हुन्छ । उहाँहरुले ‘अनेकौं सलुनमध्येको एक’ भन्नुहुन्छ । जहाँ घरेलु वातावरण, हाइजिन, गुणस्तरीय उत्पादनको प्रयोगका साथै सकारात्मक ऊर्जासँग सेवा लिने र दिनेबीचको सम्बन्ध हुन्छ ।

यो क्षेत्र कत्तिको चुनौतीपूर्ण छ ?

धेरै नै छ । बाहिरी सुन्दरतालाई निखार्ने काम प्रत्यक्ष हाम्रो स्वास्थ्यसँग जोडिएको कुरा हो । यो ठाउँ एक प्रकारको मानसिक बिरामीहरूको उपचारको केन्द्र हो, जो आफ्नो खराब लुक्सका कारण मानसिक रूपले चिन्ताग्रस्त भएका हुन्छन् । उहाँहरूलाई खुसी बनाएर पठाउने हाम्रो दायित्व हो । जसकारण उहाँहरूको आत्मविश्वास बढेर जान्छ ।

भविष्यको योजना के छ ? कसरी यो क्षेत्रलाई अघि बढाउनुहुन्छ ?

अझ यो क्षेत्रलाई अपडेट गर्दै लैजानु छ । यसका शाखाहरू विस्तार गर्दै लैजाने योजना छ । सबै ठाउँका ग्राहकहरूले गुणस्तरीय सेवा लिन पाउनुपर्‍यो । साथै अनानिकको आफ्नै उत्पादन गर्ने सोच छ ।

 Image