Successfully Copied

तौल घटाउन ‘इन्टरमिटेन्ट फास्टिङ’

‘इन्टरमिटेन्ट फास्टिङ’ भनेको डाइट होइन, जीवनशैली हो ।

पछिल्लो समय शरीरको तौल घटाउने क्रेज बढ्दो छ । खानपान तथा जीवनशैलीका विभिन्न तरिका अपनाउने गरिन्छ । कतिपयले युट्युब हेरेर ‘इन्टरमिटेन्ट फास्टिङ’ गरिरहेका छन् । यो फास्टिङ खानपान शैली हो । तौल नियन्त्रणका लागि फाइदाजनक भएकाले यो लोकप्रिय हुँदै गएको छ । यसकै सेरोफेरोमा रहेर नर्भिक इन्टरनेसनल अस्पतालकी पोषणविद् प्रणिति सिंहसँग गरिएको कुराकानी :

‘इन्टरमिटेन्ट फास्टिङ’ भनेको के हो ?

‘इन्टरमिटेन्ट फास्टिङ’ भनेको डाइट होइन, जीवनशैली हो । यसमा केही अवधि खाने र केही अवधि नखाने गरिन्छ । यो केही समय मात्र होइन लामो समयसम्म गर्नु उपयुक्त हुन्छ । सामान्यतया यो तौल घटाउनका लागि गरिन्छ । जीवनशैली बनाउँछु भनेपछि फाइदा धेरै हुन सक्छ ।

यो कति प्रकारको हुन्छ ? यसमा के गरिन्छ ?

‘इन्टरमिटेन्ट फास्टिङ’ धेरै प्रकारका हुन्छन् । तीमध्ये १६/८ घण्टाको ‘इन्टरमिटेन्ट फास्टिङ’ बढी प्रचलित छ । यसमा ८ घण्टा खाने र १६ घण्टा नखाने गरिन्छ । अर्को, साताको पाँच दिन साधारण खानेकुरा खाने, दुई दिन क्यालोरी कम भएको खानेकुरा खाइन्छ । यसमा एकदिन महिलालाई ५ सय क्यालोरी र पुरुषले ६ सय क्यालोरी खान सक्छन् ।

अर्को विधि ‘इट स्टप इट’ हो । यसमा साताको पाँच दिन खाना खाने र दुई दिन जिरो क्यालोरी भएको खाना खाने गरिन्छ । जिरो क्यालोरीका लागि पानी र चिनी नराखेको कालो चिया तथा कफी सेवन गर्न सकिन्छ ।

यसैगरी ‘अल्टरनेट डे फास्टिङ’ हुन्छ । यसमा एकदिन सामान्य खाने, अर्को दिन कम क्यालोरीयुक्त खानेकुरा खाने गरिन्छ ।

यस्ता फास्टिङ धेरै प्रकारका हुन्छन्, आफ्नो शरीरअनुसार कुन मिल्छ, त्यही गर्नु उपयुक्त हुन्छ ।

यो सबैले गर्न मिल्छ ?

सबैले यो गर्न मिल्दैन । १८ वर्षभन्दा कम उमेरकाले गर्नु हुँदैन । ‘इटिङ डिसअर्डर’ भएकाले पनि गर्नु हुँदैन । गर्भवती तथा स्तनपान गराइरहेका महिला, मधुमेह नियन्त्रणमा नभएकाले पनि गर्न मिल्दैन । कडा खालका ग्यास्ट्राइटिसका समस्या तथा आवश्यकभन्दा कम तौल भएकाले पनि नगरेकै राम्रो हुन्छ ।

प्रत्येक दिन खाना खाने मानिसलाई लामो समय नखाँदा गाह्रो हुँदैन ?

यो फास्टिङ एकैपटक गर्नुभन्दा पनि कसरी गर्ने भन्ने तरिका हुन्छ । १–२ सातासम्म कमजोरी, वाकवाकी लाग्ने, टाउको दुखेको जस्तो हुनसक्छ । पछि सामान्य हुँदै जान्छ ।

यसका फाइदा तथा बेफाइदा के–के छन् ?

तौल नियन्त्रणमा ल्याउनुका साथै स्वास्थ्यमा फाइदा पुर्‍याउँछ । रगतको मात्रा कम हुन्छ । चिल्लोको मात्रा पनि घट्छ । कोलस्टेरोल तथा रक्तचाप राम्रो हुन सक्छ । यसले अल्जाइमर्स एवं चाउरीपनमा पनि फाइदा पुर्‍याएको अध्ययनले देखाएको छ ।

बेफाइदा : विशेषज्ञको सल्लाहविना र गर्न नमिल्नेले गर्दा बेफाइदा हुन सक्छ । आफैंले गर्दा धेरै तनाव भएमा महिनावारी गडबड हुने, सेक्स हर्मोन ठीक ठाउँमा नहुने, थाइराइडको समस्या हुनसक्छ ।

यसो गर्नुपर्छ

- ‘इन्टरमिटेन्ट फास्टिङ’ आफूखुसी, युट्युब हेरेका भरमा गर्दा कतिपयमा उल्टो असर पर्न सक्छ । विशेषज्ञको सल्लाहमा मात्र गर्नुपर्छ ।

- ‘इन्टरमिटेन्ट फास्टिङ’ गरेको छु, ८ घन्टाको अवधिमा जति खाए पनि हुन्छ भन्ने सोच राख्नुहुँदैन । ८ घन्टाको अवधिमा पहिले जति खाइरहेको हो, त्यति नै खानुपर्छ ।

- बिहान–बेलुकी कम मात्र खाएर छिटो तौल घटाउँछु भन्ने सोच राख्नुहुँदैन । सन्तुलित खाना भएन भने पनि शरीरमा धेरै तत्वको अभाव देखिन सक्छ ।

- सबैको शारीरिक बनावट फरक हुने भएकाले सबैलाई एकै खालको ‘इन्टरमिटेन्ट फास्टिङ’ उपयुक्त हुन्छ भन्ने हुँदैन । कसैलाई १६ घण्टाको उपवास ठीक होला त कसैलाई ‘अल्टरनेट डे फास्टिङ’ । यो प्रत्येक व्यक्तिको शरीरको आवश्यकतानुसार हुन्छ ।

- पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।

 Image