परिवर्तित पुस्ता र महिला

अहिलेको ‘छोरी पुस्ता’ ‘आमा पुस्ता’ भन्दा धेरै कुराको परिवर्तनको साक्षी भएको छ । यो पुस्तालाई नारी दिवस, महिला अधिकार र समानताबारे धेरै ज्ञान मिलेको छ । समाजका हरेक तप्कामा ‘छोरी पुस्ता’ को बाहुल्य छ ।

यमुना अर्याल

फाल्गुन ३, २०७७नारी अधिकार, समानता र दिवसबारे मेरो पुस्ताले धेरैथोरै जानकारी पाएकै छ । खासगरी, आधुनिक पुस्ता धेरै कुरामा सचेत र सजक छ । मेरो जस्तै धेरैको ‘हजुरआमा पुस्ता’ महिला भएर मात्रै जन्मिए, संसार त्यागे । उनीहरूले कुनै हक–अधिकार र दिवसका कुरा जीवनमा भोग्न त परैको कुरा हो अधिकारको ‘अ’ पनि उच्चारण गर्न पाएनन् । त्यसताकाको पुरुष प्रधान समाजमा महिलाको स्थान निकै निरीह र कमजोर थियो । महिला समाजका हिस्सेदार पात्र मानिए पनि उनीहरूको कहीँ– कतै दरिलो उपस्थिति हुन्थेन । श्रीमान्को नाम समेत उच्चारण गर्नुहुँदैन भन्ने पुस्ता थियो त्यो ।

मेरो छिमेकी हजुरआमाले हजुरबुवाको नाम उच्चारण हुन्छ भनेर अगेनाको डिल भन्नुपर्नेमा छेउ भन्नुहुन्थ्यो । बारीको डिल भन्नुको साटो बारीको छेउ भन्नुहुन्थ्यो । हजुरबुवाको नाम डिलाराम भएकै कारण श्रीमान्को नाम उच्चारण गर्नैहुँदैन, आयु घट्छ भन्ने कुरा मात्रै उहाँलाई थाहा थियो । पुरुषप्रति यति भक्तिभाव राख्ने हजुरआमा आफू ओछ्यानमा थला परेको अवस्थामा बाहेक घरका पुरुष सदस्यले चुल्होमा आगो बालेको समेत थाहा छैन ।

हजुरआमा जुन संस्कार र चालचलनमा हुर्किनुभयो उहाँको सोचको दायरा त्यो धरातलभन्दा माथि उठ्नै सकेन, उहाँले आफूले जे भोग्नुभयो र देख्नुभयो महिलाका लागि सिंगो संसार भनेकै त्यही थियो ।

‘हजुरआमा पुस्ता’ ले नारीको अधिकार भनेको श्रीमान्ले भनेको मान्ने, आदेशमा चल्ने भन्ने मात्रै भोग्यो, देख्यो र त्यही संस्कारमा आफूलाई समर्पित गर्‍यो ।

त्यो पुस्ताले ‘आमा पुस्ता’ लाई आफूले जे भोग्यो त्यही सिकायो । ‘आमा पुस्ता’ शासित भए ‘हजुरआमा पुस्ता’ बाट । बेलाबखतमा सुन्ने गरिन्थ्यो–महिलाले नै महिलामाथि हैकम जमाए, महिलामाथि शोषण गरे, अन्याय गरे, अत्याचार गरे, सासू–बुहारीको सम्बन्ध कहिल्यै राम्रो, सुमधुर हुन सकेन । आफूले जे भोगेको छ, देखेको छ उसले सारा संसार त्यस्तै देख्छ, र त्यही रूपमा अरुलाई पनि देखाउन खोज्छ । ‘हजुरआमा पुस्ता’ ले उहाँहरूको अघिल्लो पुस्ताबाट जे भोग्यो, जसरी भोग्यो आफूभन्दा पछिल्लो पुस्तालाई त्यही भोगाइको रूपान्तरण गराउँदैछ वा भनौं आफ्नो भोगाइको हिस्सा हस्तान्तरण गर्दैछ ।

श्रीमान्को निधनमा जिउँदै चितामा जल्नुपर्ने नियतिका साक्षी थिए, ‘हजुरआमा पुस्ता’ । धेरै हजुरआमा श्रीमान्को निधनसँगै जिउँदै चितामा जलाइए, तर कोही पनि हजुरबुवा हजुरआमाको निधनमा सती जानुपरेन । ‘आमा पुस्ता’ ले कम्तीमा यो त्रासदी भोग्नुपरेन । धेरै आमाले यस्तो पीडा धेरैथोर देखे होलान् तर भोग्न भने परेन । नारी अधिकारको सवालमा यो फड्कोलाई पनि निकै महत्वका साथ हेर्नुपर्ने अवस्था आयो । ‘हजुरआमा पुस्ता’ ले ठाडो नजरले पुरुषलाई हेर्न हुँदैनथ्यो, पुरुषको कुरा काट्ने त परैको हो, पुरुषहरू बोलेको ठाउँमा सवालजवाफ गर्न हुँदैनथ्यो । ‘आमा पुस्ता’ ले पनि धेरै हदसम्म यसकै निरन्तरता पाइरह्यो ।

‘हजुरआमा पुस्ता’ ले भोगेका कुरा आमा पुस्ताले जस्ताको त्यस्तै भोग्यो, भोग्दै आयो धेरै हदसम्म अनुशरण गरिरह्यो । कतिपय कुरा अनुशरण गर्नैपर्ने खालका थिए तर अधिकांश कुरा बाध्यात्मक थिए । म सम्झन्छु, मेरै आमाले कति पटकसम्म भन्नुहुन्थ्यो, छोरी मान्छेले यस्तो गर्नुहुँदैन, उस्तो गर्नुहुँदैन, हाम्रा पालामा यस्तो थियो, उस्तो थियो, छोरी मान्छे भएर यस्तो गर्ने ? बुहारी भएपछि थाहा हुन्छ.....बुहारी भएपछि ठूलै जन्जिरमा परिन्छ, भन्ने मात्र उहाँलाई थाहा थियो, त्यही कुरा आमाले बारम्बार भनिरहनुहुन्थ्यो । किनभने यसको सबैभन्दा ठूलो साक्षी आफै हुनुहुन्थ्यो ।

खासै ‘आमा पुस्ता’ लाई पनि नारी अधिकार र समानताबारे जानकारी भएन वा जानकारी गराइएन वा भनौं ‘आमा पुस्ता’ ले अघिल्लो पुस्ताबाट अधिकार, हकका बारेमा सुइँको समेत पाएन । नारीले पनि आफ्ना अधिकारबारे सोधीखोजी गर्न पाउँछन् ? भन्ने कुरा समाचारमा सुनेर, राजनीतिक दलका महिला नेतृहरूको मुखबाट सुनेर, बेलाबखत गाउँटोलमा हुने गोष्ठी, सेमिनार र सभासमारोहमा उपस्थित भएर पनि धेरै जानकारी मिलेको हो । ‘आमा पुस्ता’ ले ‘हजुरआमा पुस्ता’ भन्दा केही हदसम्म भए पनि अधिकारका कुराको सुइँको पायो, यो खुसीको कुरा हो ।

सत्य के हो भने, मेरो घरमा मात्रै होइन अधिकांशको घरमा आमा नउठेसम्म घरको दैलो उघारिँदैनथ्यो । आमा महिनावारी भएका बेलामा मात्रै बुवाले घरको ढोका उघार्नुहुन्थ्यो । आमा हुन्जेलसम्म घरका अरु सदस्यले घरको काम गर्नै नहुनेजस्तो नियम बनाइएको थियो । गाउँघरमा मेरो मात्रै होइन हरेकको घरमा आमाहरू नै घरको सबै काम गर्थे । आमाको पालामा पनि नारी दिवस मनाइन्थ्यो तर उहाँहरूलाई दिवस र अधिकारका कुरा कहिल्यै थाहा भएन । आमाले मलाई घरको काम सिकाउनुहुन्थ्यो तर म भन्दा एक वर्ष कान्छो भाइलाई सकभर घरको काम गराउन नपरेहुन्थ्यो जस्तो आभाष मिल्थ्यो । ताकि भोलि भाइ पनि बुवाको ठाउँमा पुगोस् र उसले पनि श्रीमतीमाथि हैकम जमाओस् ।

यस्तो सोच र संस्कारबाट अघि बढेको हाम्रो समाजको स्वरूप कहिले बदलिने ? समयको चक्रसँगै मेरो परिवारमा परिवर्तन भयो । छोराले पनि घरको काम गर्नुपर्छ, छोरा र छोरीमा के फरक छ ? काम जसले गर्दा पनि हुन्छ भन्ने कुराको आभाष बिस्तारै अनपढ आमाले बुझ्न थाले । अहिले आमा सासू बनिसक्नुभएको छ । आमाले आफ्नी सासूबाट जे भोग्नुभयो बुहारीलाई त्यो हस्तान्तरण गर्ने पक्षमा आमा हुनुहुन्न । आमा धेरै लचक भइसक्नुभएको छ । आज समाचारमा यस्तो भन्यो, उस्तो भन्यो, आमाले रेडियोमा समाचार सुनेर बताउने हैसियत राख्नुभएको छ । आमालाई ठ्याक्क दिनको याद छैन तर नारी दिवस महिलाको दिवस हो भन्ने कुरा अहिले राम्रोसँग थाहा छ ।

अहिलेको ‘छोरी पुस्ता’ ‘आमा पुस्ता’ भन्दा धेरै कुराको परिवर्तनको साक्षी भएको छ । यो पुस्तालाई नारी दिवस, महिला अधिकार र समानताबारे धेरै ज्ञान मिलेको छ । समाजका हरेक तप्कामा ‘छोरी पुस्ता’ को बाहुल्य छ । लोकसेवा आयोगको विज्ञापन हेर्दा पनि यो कुरा झल्किन्छ,, हरेक वर्ष आयोगले खुलाउने विज्ञापनमा आवेदन दिने संख्या पुरुषको भन्दा महिलाको बढी देखिन्छ । लैंगिक समानता र समताका विषयमा छोरी पुस्ता सचेत र जागरुक छ । अहिलेको पुस्ताले आफ्नो अधिकारबारे खरो उत्रेर बहस पैरबी गर्न सक्ने भइसकेको छ । महिलाको स्वामित्व हरेक क्षेत्रमा बढ्न थालेको छ । हरेक वर्ष विभिन्न नारा अवलम्बन गरेर नारी दिवस मनाइन्छ ।

तर विडम्बना अहिले पनि धेरै ‘छोरी पुस्ता’ का नारीहरू यो दिवसका बारेमा जानकार छैनन् । दैनिक ज्याला मजदुरी गरेर खाने महिलाहरू नारी दिवसको दिनमा पनि अहोरात्र काममा खटिएका हुन्छन् । उनीहरूले दिनभरि भारी बोकेनन् भने साँझ चुल्हो बल्दैन, अधिकार र दिवसका पछि लाग्यो भने खान पाइएला/नपाइएला तर भारी बोक्यो भने साँझ चुल्हो बल्छ । यो अवस्थाका महिलाको जीवनस्तरमा कसरी सुधार गर्ने ? हामीजस्ता श्रमिक महिलाहरूले आठ घण्टा काम, आठ घण्टा आराम पाउनुपर्छ भन्ने कुरा कसरी थाहा पाउने ? यस्ता नारीहरूका बारेमा नारी दिवस समर्पित हुन सक्नुपर्छ । श्रमिक महिलाको दिवस भन्ने खास श्रमिक महिलाले नै थाहा नपाउने दिवस नबनोस् । ताकि कोही महिलाले भन्न नपरोस्–‘दिवसले के दिन्छ ? बरु भारी बोके खान फाइन्छ ।’

aryalyamuna44@gmail.com

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>