‘चाहना र प्रतिबद्धताले व्यक्तिलाई सफल बनाउँछ’

पहिलेको तुलनामा नेपालका महिलाको आर्थिक, सामाजिक र सांस्कृतिक स्थितिमा धेरै प्रगति भएको छ । परिवारमा हुने निर्णयमा महिलाको आवाज पनि सुनिन थालेको छ । छोरीहरू पहिलेभन्दा बढी स्वतन्त्र र आर्थिक रूपले आत्मनिर्भर भएका छन् । समाजमा छोराले भन्दा छोरीले बाबुआमालाई माया गर्छन् भन्ने मान्यता स्थापित हुँदै गएको छ ।

उपासना घिमिरे

फाल्गुन २, २०७७सरकारी सेवामा उच्च तहसम्म पुग्ने महिलाका रूपमा परिचित छिन्, बिन्द्रा हाडा भट्टराई । नेपाल सरकारकी पूर्वसचिव उनी हाल लोकसेवा आयोगकी वरिष्ठ सदस्य हुन् । ०४८ मा सरकारी सेवा प्रवेश गरेकी उनी खुला लिखित परीक्षा उत्तीर्ण गरी सह–सचिव हुने प्रथम महिला हुन् । बिन्द्राको जन्म ५५ वर्षअघि काठमाडौंको भोटाहिटीमा भएको हो । मध्यम वर्गीय परिवारमा जन्मिएकी उनले केही अपवादबाहेक घरमा छोरी भएकै कारण भेदभावको सामना गर्नुपरेन । सानैदेखि हक्की स्वभावकी छन्, उनी । अभिभावकले पढाइको महत्व बुझाएकै कारण आफू यो स्थानसम्म पुगेको उनी गर्वका साथ ‘नोस्टाल्जिक’ हुँदै सुनाउँछिन् । आफ्नै मिहिनेत र आमाबुवा, सासू–ससुरा, श्रीमान् तथा शुभचिन्तकहरूको शुभेच्छाले आफू सफल भएको उनी बताउँछिन् । बिन्द्राले रसायन शास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी छन् । लोकसेवा आयोगमा महिला सहभागिता र सफलता तथा महिला अधिकार र भूमिकाको सेरोफेरोमा रहेर उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

लोकसेवा आयोगमा एक्लै महिला सदस्य हुँदा कस्तो महसुस भयो ?

निजामती कर्मचारीका लागि लोकसेवा आयोगमा सदस्य भएर आउनु गर्वको कुरा हो । लोकसेवा जस्तो गरिमामय संस्थामा काम गर्न पाउनु खुसीको कुरा पनि हो । अर्को कुरा, मैले आफूलाई सधै महिलाभन्दा पनि व्यक्तिका रूपमा हेरें ।

लोकसेवामा महिला सहभागिता बढाउन के गर्नुपर्ला ?

लोकसेवा आयोगद्वारा विज्ञापन भएका पदमा आवेदकहरूको विगत १० वर्षको आँकडा हेर्ने हो भने महिला उम्मेदवारको उपस्थिति औसत ४८ दशमलव ३९ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७१–७२ मा कुल उम्मेदवार संख्याको ६० दशमलव ११ प्रतिशत महिला रहेका थिए । यो हालसम्मकै सबैभन्दा बढी आवेदक महिला रहेको तथ्यांक हो । लोकसेवाप्रति महिलाको अभिरुचि बढ्दै गएको छ जुन आफैंमा एउटा राम्रो कुरा हो । तर, लोकसेवाको सिफारिसमा पर्नेमा अहिले पनि पुरुषकै संख्या बढी छ । कुल सिफारिसमा सफल महिलाको संख्या ३० प्रतिशतभन्दा माथि जान सकेको छैन । दश वर्षयता सबैभन्दा कम महिला आवेदक वर्ष ०६८–६९ मा ४२ प्रतिशत थियो । आयोगमा महिला सहभागिता पहिलेको तुलनामा बढेको छ । आयोगको परीक्षामा सफल हुने दर पनि बढेको छ । तर, सोचेजस्तो अझ महिला सफल हुन सकेका छैनन् । आयोगको परीक्षा अत्यन्त कठिन हुन्छ भन्ने पूर्वमानसिकता, लैंगिक भूमिकाकै कारण महिलामाथि थुपारिएको घरेलु र सामाजिक दायित्वले पनि आवेदन फाराम भर्दा रहेको उत्साह र जाँगर परीक्षा दिने बेलासम्म कायम राख्न नसक्नु र नसक्ने बनाइने कारणले पनि पुरुषको तुलनामा कम संख्यामा सफल भएको हो भन्ने मेरो बुझाइ हो ।

मसँग ६ वर्षको कार्यकालमा ४० वर्ष उमेरमा पहिलोपल्ट आयोगको परीक्षा सफल भएकी महिला अधिकृतको अन्तर्वार्ता लिएको अनुभव छ । त्यस्तै, सानैदेखि विदेशमा हुर्के र पढेका एक युवकसँगको अन्तर्वार्ताको सुखद अनुभूति पनि मसँग छ । ती युवक नेपाल घुम्न आउँदा किन यति धेरै मानिसले सरकारको आलोचना गरेको होलान् ? ‘नेपाल सरकारले कसरी काम गर्दो रहेछ भन्ने बुझ्नका लागि आयोगको परीक्षामा संलग्न भएको हुँ भन्दै ती युवकले सम्पूर्ण अन्तर्वार्ता अंग्रेजीमा दिँदै ‘नेपाली भाषा बुझ्छु तर बोल्न सक्दिन’  सिफारिसमा पर्न सफल भएँ भनेका थिए ।  

म स्वयंले सह–सचिवको परीक्षा दिँदा दुईजना साना नानीसहितको घरको सम्पूर्ण जिम्मेवारी र कार्यालयको जिम्मेवारी बहन गर्दै १० महिनाको तयारीपछि परीक्षामा संलग्न भई सफल भएकी हुँ । त्यतिबेला अहिलेजस्तो इन्टरनेट, अनलाइन एवं कोचिङ सेन्टरको सुविधा थिएन । आयोगको परीक्षामा सफल हुनु छ भन्ने दृढ संकल्प लिएर आफ्नो तयारीलाई उत्कृष्ट बनाउन आवश्यक सरसहयोगका लागि परिवारस“ग कुरा राख्ने र तयारी गरी परीक्षामा संलग्न भए दिदीबहिनीहरू बढीभन्दा बढी सफल हुनेछन् । यसमा परिवारले दिदीबहिनीहरूका लागि निश्चित समयमा पढाइका लागि बाधा नपुगोस् भनी सोचिदिने हो भने पनि उहाँहरूलाई धेरै सहयोग हुने थियो ।    

 

लोकसेवा आयोग कत्तिको पारदर्शी छ ?

‘पारदर्शिताले कामलाई स्वच्छ बनाउँछ’ भन्ने सिद्धान्त आयोगको हकमा लागू हुँदैन । आयोगले आजसम्म आफ्नो गरिमामयी छवि कायम राख्न सक्नुको मूल कारण यसको गोपनीयताको संस्कृति हो । यहाँ कसैले चाहेर पनि परीक्षार्थीलाई नियोजित रूपमा सफल वा असफल बनाउन सक्दैनन् । कुनै एक पदमा पदपूर्तिका लागि सिफारिस गर्न परीक्षाका धेरै चरण हुन्छन् । ती चरणमध्ये कुनै एकमा संलग्न हुने कर्मचारी, विज्ञ, पदाधिकारी सोही परीक्षाको अर्को चरणमा संलग्न नहुने र कुन काम कसले गर्‍यो वा गर्दैछ भन्ने सबै कुरा गोप्य रहने प्रणाली नै लोकसेवाको आत्मा हो ।

सरकारी जागिरमा आकर्षण बढ्नुको कारण के हो ?

सरकारी जागिरले दिने सुरक्षाको प्रत्याभूति र सामाजिक प्रतिष्ठा पनि यसमा आकर्षण हुने कारण हुन् । यसैगरी, बजारमा रोजगारीको अवसरमा कमी, कुनै जान/पहिचान र भनसुनबिना आफ्नै योग्यता र क्षमताले प्राप्त गर्न सकिने अवसरले गर्दा पनि यसप्रति आकर्षण बढेको हो ।

महिला भएको ठाउँमा भ्रष्टाचार कम हुन्छ भन्ने छ नि, सही हो ?

पक्कै पनि हो । कार्यालय र घरको जिम्मेवारी पूरा गर्न महिलालाई हम्मेहम्मे परिरहेको हुन्छ । दायाँबायाँ गर्ने सोचले प्रवेश पाउने सम्भावना अत्यन्तै न्यून हुन्छ । फेरि, सानैदेखि छोरीलाई चरित्र, नैतिकता र जिम्मेवारीको पाठ छोरालाई भन्दा धेरै बढी पढाइएको हुन्छ । यसले पनि महिलालाई आफ्नो कामप्रति इमान्दार रहन धरातल दिएको छ ।

पहिलेको तुलनामा महिलाको स्थिति कस्तो पाउनुभएको छ ?

पहिलेको तुलनामा नेपालका महिलाको आर्थिक, सामाजिक र सांस्कृतिक स्थितिमा धेरै प्रगति भएको छ । परिवारमा हुने निर्णयमा महिलाको आवाज पनि सुनिन थालेको छ । छोरीहरू पहिलेभन्दा बढी स्वतन्त्र र आर्थिक रूपले आत्मनिर्भर भएका छन् । समाजमा छोराले भन्दा छोरीले बाबुआमालाई माया गर्छन् भन्ने मान्यता स्थापित हुँदै गएको छ । तर, पिछडिएको क्षेत्र र गरिब बस्तीमा स्थिति पहिलेको जस्तै छ ।

सबै क्षेत्रमा महिला सहभागिता कसरी बढाउन सकिन्छ ?

यसका लागि छोरीहरूलाई सबैभन्दा पहिले शिक्षा र सीप दिनुपर्छ । त्यसपछि अवसरहरूको सिर्जना गर्ने र ती अवसरहरूका बारेमा बढीभन्दा बढी सूचना दिनुपर्छ । साथै ती अवसरहरू दिदीबहिनीले लिन सक्ने सहयोगी संचालकको निर्माण गरे सबै क्षेत्रमा महिला सहभागिता बढाउन सकिन्छ ।

कामकाजी महिलालाई दोहोरो भूमिका निर्वाह गर्नुपर्छ, कत्तिको अप्ठ्यारो भयो ?

बेलाबेलामा आफ्ना पुरुष सहकर्मीलाई जस्तै घर पुगिसकेपछि घरको काम गर्नु नपरे कस्तो राहत हुने थियो ? म पनि थप लेखपढ गर्ने थिएँ भन्ने विचार त आउँछ । तर घरमा श्रीमान्ले भयो आज तिमी आराम गर म सबै काम गर्छु भनेको दिन पनि आफू चिया खाँदै, टेलिभिजन हेर्ने वा पुस्तक पढेर आराम फर्माउन नसकिँदो रहेछ । बरु मिलेर छिटो काम सकेर सबैजनाले सँगै गुणस्तरयुक्त समय बिताऊँ भन्ने हुँदो रहेछ । यो तथ्यको बोध भएपछि मैले घरको काम वा कार्यालयको काम नभनी एकमुष्ट मैले गर्नुपर्ने काम भनी सम्झेर महत्व र आवश्यकतानुसार काम गर्न थालें, अझै पनि गर्दैछु ।

जागिरे जीवनका तीतामीठा सम्झना सेयर गरिदिनुस् न ?

तीता सम्झनाका कुरै नगरौं । केही मीठा सम्झना रमाइला छन् । अहिले सरकारी, अर्धसरकारी निकाय र केही निजी क्षेत्रका कार्यालयमा समेत महिला कर्मचारी सुत्केरी हुँदा स्याहार खर्च र निजका श्रीमान्लाई १५ दिनको सुत्केरी स्याहार बिदा दिइन्छ । यो मेरो नितान्त मौलिक नीति पृष्ठपोषण पोलिसी फिड ब्याक हो । जुन मैले ०६० मा निजामती सेवा ऐन २०४९ को संशोधनका लागि ड्राफ्टिङ हुँदा दिएकी थिएँ । मानव ओसारपसार नियन्त्रणको रणनीतिक योजना बनाउँदा कार्यक्रमको सक्रिय सहभागी प्रहरी अधिकृत किरण बज्राचार्य र चरीमाया तामाङलाई अन्तर्राष्ट्रिय स्तरको पुरस्कार दिएको समाचार आएको क्षणलाई पनि मीठो सम्झनाका रूपमा लिन्छु । यस्ता धेरै अनुभव छन् ।

जीवनबाट सन्तुष्ट हुनुहुन्छ ?

एकदम सन्तुष्ट छु । मेरो जीवनमा आएका दुःख र बाधाले मेरो प्राप्तिलाई अझ बढी सुन्दर र महत्वपूर्ण बनाएका छन् ।

सफलताको श्रेय कसलाई दिनुहुन्छ ?

पहिले म आफैंलाई दिन्छु । सानैदेखि मलाई मेरो पहिचान बनाउनु थियो । म आफ्नै नामले चिनिन चाहन्थें । मलाई ‘म’ बन्नमा मेरा बुवाले सघाउनुभयो । बुवाले सानैदेखि छोरा र छोरीमा भेदभाव गर्नुभएन । नेवार समुदायमा म जन्मिएको १२ दिनमा बुवाले ठूलो पूजा लगाएर राँगा, बोका काटेर भोज खुवाउनुभएको थियो । जबकि यो कार्य छोरा जन्मिँदा मात्र गरिन्छ । बुवाआमा, सासू, ससुरा, श्रीमान्, छोरीहरू, देवरहरू, मेरा नजिकका साथीहरू र शुभचिन्तकको आशिष, शुभेच्छा र ईश्वरका कृपाले यहाँसम्म पुगेकी हुँ । सफलता एक्कासि हात पर्दैन, यो स्टेप–स्टेप भएर आउँछ । जिन्दगी भनेको बढ्नु हो । पहिले नै आफ्नो लक्ष्य र सपना के हो पत्ता लगाएर निरन्तर त्यसैमा लागिरहनुपर्छ । ज्ञान कहिल्यै पूर्ण हुँदैन, त्यसमा नयाँ–नयाँ आयाम थपिइरहेका हुन्छन् ।

नारी दिवसका बारेमा के सन्देश दिन चाहनुहुन्छ ?

सम्पूर्ण दिदीबहिनीहरूको व्यक्तिगत र पेसागत उन्नति, प्रगति र सुख–शान्तिका लागि शुभकामना दिन चाहन्छु । हरेक नेपाली चेलीले अगाडि बढ्दै आफूभन्दा कमजोर एउटी चेलीको जीवन उकास्ने काममा सहयोगी भूमिका खेल्नुहोस् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>