Successfully Copied

विपन्नलाई न्यानो लुगा

लकडाउनदेखि सडकपेटीमै छु, चिसोले रातभर निदाउन नसकेर दिउँसो घाम ताप्दै सुत्थें, कम्बल पाएपछि राति पनि निदाउन थालेको छु,’ खत्रीले भने ।

तातो खानासँगै कम्बल पाएपछि ५२ वर्षीय चक्र खत्रीलाई खुल्ला आकाशमुनिको बसाइमा न्यानो थपिएको छ । सिन्धुली घर भएका उनी कोरोना महामारीले मजदुरी गुमाएपछि ‘हाम्रो टिम नेपाल’ ले निःशुल्क वितरण गर्दै आएको खाना खाँदै थापाथलीस्थित सुकुम्बासी बस्ती नजिकैको सडक पेटीमा रात काट्दै आएका छन् । ‘लकडाउनदेखि सडकपेटीमै छु, चिसोले रातभर निदाउन नसकेर दिउँसो घाम ताप्दै सुत्थें, कम्बल पाएपछि राति पनि निदाउन थालेको छु,’ खत्रीले भने ।

थापाथलीमा प्रसूतिगृहको पछाडि खाना खुवाउँदै आएको टिमले खत्रीसँगै ६५ जनालाई कम्बल वितरण गरेको थियो । टिममा देशभरका पाँच हजार युवा सहयोगी व्यक्तिबाट रकम जुटाएर सामाजिक कार्यमा जुट्दै आएका छन् । उनीहरूले काठमाडौंमा कोरोना महामारीपछि बेरोजगार भएर सडकमा पुगेकालाई लकडाउन सुरु भएदेखि निरन्तर निःशुल्क खाना वितरण गर्दै आएका छन् ।

कालिकोटको दलित बस्तीमा ३२ जोर र चितवनको चेपाङ बस्तीमा २८ जोर सिरक–डसना पनि टिमले वितरण गरिसेको छ । ‘कोरोना महामारीले गर्दा धेरै मजदुर एवं विपन्न परिवार आर्थिक समस्यामा छन्, जाडोको बेला न्यानो लुगा किन्न नसकेर आकाशमुनि कष्टकर जीवन बिताइरहेका मानिसहरूलाई रात काट्न सहज होस् भनेर सहयोग गरेका हौं,’ टिमका सचिव लक्ष्मण सिंह धामीले भने ।

युवाहरूको सक्रियतामा सामाजिक कार्य गर्दै आएको ‘आशिका फाउन्डेसन’ ले गुल्मीको एक विद्यालयका दुई सय विद्यार्थीलाई ट्रयाक सुट र टोपी वितरण गरेको छ । धादिङको रुवीभ्याल्ली गाउँपालिकाको एक विद्यालयमा सय विद्यार्थीलाई ट्रयाक सुट, थर्मकोट, टोपी र खेल सामग्री समेत वितरण गरेको छ । ‘दूरदराजका विद्यार्थीहरू न्यानो लुगा नपाएर विद्यालय जानबाट वञ्चित नहून् भन्ने उद्देश्यले तीन हप्तादेखि काठमाडौंबाटै लत्ताकपडा लिएर गाउँ–गाउँ जान थालेका छौं,’ फाउन्डेसनका सन्दीप बस्नेतले भने । यसैगरी विराटनगरमा २२ जना युवाको टोली ‘हाम्रो अभियान’ ले सडकपेटीमा बस्ने, मजदुर, गरिब बस्ती, वृद्धाश्रम, मानवसेवा आश्रम, अनाथालयका तीन हजार अशक्त, असहाय, विपन्नलाई लत्ताकपडा वितरण गरेको छ । कोरोना महामारीले गर्दा सरकारले घोषणा गरेको लकडाउनमा १२० दिन निःशुल्क खाना वितरण गरेको अभियानले असोजदेखि लत्ताकपडा वितरण गर्न थालेको हो ।

‘जाडो मौसममा तराईमा अत्यधिक हुस्सु, चिसो हुन्छ, गरिब, विपन्नहरूलाई धेरै प्रभाव पार्ने भएकाले उनीहरूले न्यानो हुन पाऊन्, चिसोले कठ्यांग्रिएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर कपडा वितरण गर्दै आएका छौं,’ अभियानको नेतृत्व गरिरहेका युवा वसिम आलमले भने । अभियानले लुगा, जुत्ता कम्पनी एवं व्यक्तिहरूको सहयोगबाट जुटाएका ज्याकेट, कम्बल, टोपी, सिरक, डसनालगायतका कपडा विराटनगरस्थित कृष्ण पार्टी प्यालेसमा जम्मा गरी सडक–सडक एवं टोल–टोलमा पुगेर वितरण गर्दै आएको छ ।

कालिकोटको दलित बस्तीमा सिरक–डसना सहयोग गरिँदै । तस्बिर सौजन्य : लक्ष्मण सिंह धामी

 Image