लुगा पुराना, झोला नयाँ

प्रकृति दाहाल

माघ २, २०७७ काठमाडौंस्थित किङ्ग्स कलेजमा एमबीए पढ्दै गरेका पुष्पा स्थापित र राजन चक्रधरलाई कलेजमार्फत एक प्रतियोगिता ‘सोसल बिजनेस च्यालेन्समा’ सहभागी हुन भनियो । प्रतियोगितामा उद्यमशीलताको ‘आइडिया’ प्रस्तुत गर्नुपर्ने थियो । अब के गर्ने होला उनीहरू निकै घोत्लिए । नयाँ ‘आइडिया’ फुराउने क्रममा पुष्पाका आँखा पुराना कपडामा ठोक्किन पुगे, जुन फाल्ने तयारी अवस्थामा थिए । उनले त्यही पुराना कपडामा केहीको आकृति देखिन् । जुन आकृति थियो ‘ल्यापटप कभर’ र झोलाको । उनले तिनै आकृतिलाई मेसिनमा उतार्न थालिन् । पुराना कपडाको माध्ममबाट झोलाको आकार दिनका लागि उनले आमाको सहयोग लिइन् । उनकी आमा सिलाइ कटाइमा पोख्त छन् । उनको यो सोचलाई मन पराए साथी राजनले पनि । उनीहरूले पुराना कपडा प्रयोगमा पनि आउने र उद्यमी पनि बन्न सकिने सोच प्रतियोगितामा प्रस्तुत गरे । उनीहरूको उक्त सोच प्रतियोगितामा उत्कृष्ट ठहरियो । उनीहरूले पुरस्कारस्वरूप एक लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा उपाधि जितेसँगै उद्यमका लागि थप हौसला मिल्यो । सबैले उनीहरूलाई उद्यमी बन्न प्रोत्साहन गर्न थाले ।

राजन र पुष्पाले पनि उद्यमीकै बाटो रोजे । पुराना कपडा प्रयोगमा ल्याउँदै प्रदूषणमा समेत कम ल्याउने उद्देश्यका साथ उनीहरू उद्यमतिर हात बढाए । उद्यमी त बन्ने, तर कसरी ? ग्राहकसम्म कसरी पुग्ने ? कुन माध्यमबाट उद्यमशीलतालाई अगाडि बढाउने ? उनीहरूका अगाडि यस्ता थुप्र्रै प्रश्न खडा भए । यी सबै समस्याको समाधानका लागि उनीहरूले ब्रान्ड खोल्ने सोच बनाए । सन् २०१८ मा नेपाली ब्रान्ड ‘रिभाइभ’ सञ्चालनमा ल्याए । यसका लागि पुष्पाले घरको दुई कोठा प्रयोगमा ल्याइन् । ब्रान्डसँगै उनीहरूले ‘अप साइकल नेपाल’ कम्पनीमार्फत काम गर्न थाले । यो ब्रान्डमार्फत उनीहरूले झोला, ल्यापटप ब्याग, थैली उत्पादन गर्दै आएका छन् ।

पुराना कपडालाई पुनः प्रयोगमा ल्याई प्रदूषण कम गर्ने उद्देश्यका साथ उद्यम सञ्चालन गरेको पुष्पा बताउँछिन् । पुराना कपडालाई पुनः प्रयोगमा ल्याउन सकिन्छ भनेर सन्देश पनि दिन खोजेको उनको भनाइ छ । उनी भन्छिन्, ‘पुराना कपडा भन्नेबित्तिकै फाल्ने हो भन्ने हुन्छ, तर यसको पुनः प्रयोगमा ल्याउन सकिन्छ भनेर हामीले देखाउन खोजेका हौं ।’ उद्यम सञ्चालनका लागि उनीहरूले विभिन्न तरिकाले कपडा संकलन गर्छन् । कतिपय ग्राहकहरूले उनीहरूको उद्यमस्थलसम्म पनि पुर्‍याउन जान्छन् । उनी भन्छिन्, ‘हाम्रो कामलाई हौसला दिनका लागि यहीँसम्म कपडा ल्याएर छोडिदिन्छन् ।’ ग्राहकहरूको यस्तो माया र सद्भावले भने उनीहरूलाई काम गर्न निकै हौसला बढेको छ । पुराना कपडा संकलन गर्न उनीहरूलाई कुनै समस्या छैन । धेरै कपडा भने उनीहरू गाडी लिएर घरघर पनि पुग्छन् । ग्राहकहरूले खुसी हुँदै कपडाहरू उपलब्ध गराउँछन् । उनीहरूले धेरै प्रयोगमा आउने कपडा भनेको जिन्स हो । जिन्सबाट उनीहरूले झोला बनाउँछन् । यसका लागि पुराना जिन्स प्रयोगमा आउँछन् । उनीहरूले भित्र फेब्रिक हालेर बाहिर डिजाइन भने जिन्सको दिन्छन् । राजन भन्छन्, ‘ग्राहकहरूको रोजाइ भनेकै जिन्स हो, जिन्स डिजाइनका झोलाहरू ग्राहकहरूको प्राथमिकतामा पर्दछन् ।’ झोलालाई कस्तो डिजाइनिङ दिने भन्ने बारेमा उनीहरू अनुसन्धान पनि गरिरहेका हुन्छन् । ग्राहकहरूको प्रतिक्रिया, बजारको फेसन र अनुसन्धानबाट उनीहरूले झोलाको आकार दिन्छन् । त्यस्तै उनीहरूले पुराना कुर्ताहरू पनि अत्यधिक प्रयोगमा ल्याउँछन् । झोला, ल्यापटप ब्याग र मेकअप बक्समा बुट्टा दिन कुर्ता, साडीहरू प्रयोगमा आउँछन् । त्यस्तै पुराना कुर्ता, साडीबाट थैलीहरू पनि निर्माण हुन्छन् । ‘हरेक कपडालाई हामीले प्रयोगमा ल्याउने गरेका छौं,’ राजन भन्छन्, ‘डिजाइनअनुसार कपडाको छनोट हुन्छ ।’

देशमा रोजगारीको अवसर नपाएर विदेश जाने युवाहरूको लर्को नै छ । तर, यी दुई युवाले भने देशमा केही गर्न सकिन्छ भन्ने उदाहरण पनि दिएका छन् । उद्यममार्फत उनीहरूले ८ जना महिलालाई रोजगारी दिइरहेका छन् । राजन भन्छन्, ‘देशमा रोजगार छैन भन्ने कुरा गलत हो, अवसर सिर्जना गर्न सके यहीँ रमाउन सकिन्छ ।’ कपडा धुनेदेखि कटिङ गर्नका लागि उनीहरूले आठ महिलालाई रोजगारीको अवसर दिएका छन् ।

उद्यमको क्षेत्रमा अगाडि बढ्नका लागि उनीहरूले थुप्र्रै चुनौती भोगेका छन् । काममा युवाहरूलाई झट्ट विश्वास नगर्ने उनीहरूको अनुभव छ । युवा व्यवसायीहरूलाई सरकारी प्रक्रिया पनि झन्झटिलो रहेको उनीहरू बताउँछन् । राजन भन्छन्, ‘कम्पनी दर्ता गर्नेदेखि उद्योग सञ्चालन गर्दासम्म धेरै समस्या झेल्नुपरेको छ ।’ सरकारी तहबाट पनि युवाहरूलाई उद्यमशीलता प्रोत्साहन गर्नका लागि सहज वातावरण बनाउन आवश्यक रहेको उनको ठहर छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>