Successfully Copied

गमलाको सौन्दर्य

ओखरको गुण, जसलाई फुटाएर खाँदा दिउलको प्रभावकारिता पहिले कहिल्यै थाहा थिएन । तिहारमा भाइटीकाको दिन भने त्यसको प्रयोग गरिन्थ्यो । घरको मूलढोकाबाहिरबाटै यमराजलाई भगाउन ‘ओखर फुटाउनुपर्छ’ आमाले भन्नुहुन्थ्यो ।

बिन्दु अधिकारी ढकाल

ओखरको गुण, जसलाई फुटाएर खाँदा दिउलको प्रभावकारिता पहिले कहिल्यै थाहा थिएन । तिहारमा भाइटीकाको दिन भने त्यसको प्रयोग गरिन्थ्यो । घरको मूलढोकाबाहिरबाटै यमराजलाई भगाउन ‘ओखर फुटाउनुपर्छ’ आमाले भन्नुहुन्थ्यो ।

तर, त्यो साह्रो चीजलाई फुटाउने कसरी ? कुन तरिकाले ? आमाले सके पनि मेरो तागत पुग्थेन । कैयौं पटक प्रयास पनि नगरेको होइन तर सिलौटामा राखेको दानो फुत्केर कता भाग्थ्यो कता ? ‘एकै पल्टमा है, एकै पल्टमा’ अह्राई–सिकाई आमाको स्वरसँगै लोहोरो उचालेको हातमाथि, अझै माथि उठाएर कडा प्रहार, ड्याम्म तल बेस्कन निशान लाग्नुपर्ने ठाउँमा कहिल्यै पर्थेन । ‘भैगो फूल च्यात’ आमाको दोस्रो उर्दी अहिलेझैं लाग्छ ।

निशान गर्न कसरी ताक्नुपर्थ्यो ? मसँग जो लगाव थियो, साँच्चै नजानेरै श्रम खेर गएको हो वा आमाको कुरा ध्यानले नसुनेर हो ? होइन भने ‘घर न घाट‘ झैं किन केही थाहा’ भएन ।

केही त चाल हुनुपर्ने बेला तर छरिएका खोसेलाझैं किन असरल्ल थिए ? आखिर किन त्यसबेलाको तातो सम्झना छैन ? यद्यपि मनको आँट कस्तोसम्म हुन्थ्यो भने संसार नै जित्न सक्छु । त्यसका लागि सूर्यलाई आफ्नै हत्केलाले छेक्न सक्छु । पाखुरीको जीत चन्द्रमाको कथा अथाह भाषा शीत भण्डारको गाथा कापीमा अक्षर लेख्नसक्छु ।

तर, कस्ता अक्षर ? कुन अक्षर ? वातावरणीय हिसाब कामको बाँडफाँड–कुनै सम्झना छैन । के गरेँ, गरिन ? के पढेँ, पढिन ? के लेखेँ, लेखिन ? के गाएँ, गाइन ? भाँडावर्तन सफासुग्घर र घरदेखि वन, चुलोचौकाको जिम्मेवारी, अहा, त्यो पनि अत्तो न पत्तो ।

पानी प्यास लाग्दा थोपा खाएँ कि तरल पिएँ ? सम्झन लायक एउटा दिन गमलाको त्यो सौन्दर्य, कसरी त्यस्तो ठाउँमा पुगी ऊ ? हुन त कोही मानिस जन्मदैमा सार्थकता हुँदैन । अनि सार्थकता त्यो पनि होइन, जसले आफ्नो अहंकारलाई तोड्न सक्दैन, मतलब महसुस गर्दैन । कोही मानिसको मूल्य त्यहाँ हुन्छ, जो साधारण भएर पनि समाजका खातिर चमत्कारी काम गर्नसक्छ । एकलब्बे ताल खटेर खबरदारी गरिरहेको हुन्छ । महिला होस् चाहे पुरुष, रातदिन जुटिरहेको हुन्छ । जसको प्रत्यक्ष असर समाजले उसको अभाव महसुस गर्न थाल्छ ।

ठूलो हल भए पनि खचाखच भीड थियो । होइन, त्यसरी टनाटन भरिन ती मान्छे कहाँ–कहाँदेखि आएका होलान् ? अनौपचारिक हो कि औपचारिक छलफल ? कसैले पत्रकारको विरोध गर्थे । कसैले पत्रकारिताको । कतिपयले सरकारको विरोध गर्थे त कतिपयले नेता वा कार्यकर्ताको । सत्तापक्षको चेतनाले जनतालाई भेंडाबाख्राको संज्ञा भिराउँदै, उर्लदो खहरेको स्वरमा विदेशी सहयोग ‘कसैको उपहास’ नभएर कुर्सीको इज्जत स्वयं मपाईं बन्न खोज्थे ।

उही प्रसङ्गमा पाका एकजना कुर्लिए–‘एमसीसी सम्झौतादेखि सूचना तथा सञ्चार मन्त्रीको ७० करोड घूसकाण्ड सारा नेपाली जनताले जान्न चाहेको दृष्टान्त के हो कसुर ? कि, यिनै हर्कत देख्न चुनाउमा भोट हालेका थियौं ? ‘कल्याङकुलुङ हल्लाको एकापट्टी छेउमा उभिएकी गमला कसैसँग खासखुसमा थिइन् । मनमा गुन्नु नगुन्नु चाहिँ त्यति भेउ पाइन कि ? एकोहोरो धुनका कुरा सुन्दै उभिएकी ऊ कुन पेसा–व्यवसायमा थिई ?

त्यसरी मान्छे जमघटको शृंखला कसैको घर थियो कि पार्टी कार्यालय ? या त बिहेसिहेको भोजभतेर गर्ने स्थान–पार्टी प्यालेस ? घर त घरै हो छेउछाउ वनजंगल नभएपछि । तर खाँटी कुरा केही गमलामा हुर्काएका फूलबाहेक एउटा बोट ‘बच्चा रुख’ सम्म देखिएन ।

कुनै अफिसको डिजाइनमा बनेको ‘विशाल बजार’ झैं पटाङ्गिनी कोठा भित्रभित्रै भर्‍याङ कति हुन् कति ? जता हेरे पनि उस्तै तिरिमिरीमा, को कताबाट ओहोरदोहोर हिँड्थे, हतपत्ति पत्तै नहुने । राजधानीको कुन ठाउँ रहेछ त्यो ?

बिहान दश बजेदेखि हााजिर भएका कर्मचारीहरू पाँच बजेसम्म कार्यालय समय दायाँ–बायाँ त के सास फेर्ने फुर्सद थिएन । ‘यत्रो खट्दा पनि विद्युतीय औँठा छाप नगरेसम्म भत्ताको कुनै ग्यारेन्टी हुन्न’ कड्केर बोल्ने अधबैसे महिला त्यहीँकी कर्मचारी थिई, सायद ।

गमला जहाँ उभिएकी थिई, सामुन्ने कुर्सीमा एक महिला र एक पुरुष आ–आफ्नो धुनमा कम्प्युटर हेर्थे । गमलाको भनाइअनुसार त्यो हाकिमको ‘पिए‘ शाखा थियो । भद्रझैं देखिने पुरुष आफ्नो पालाको काम गर्दै अलि तरिकाले बोल्थ्यो । भनौं न, कडी थियो ऊसँग ।

उही तुलना महिलाको स्वभाव त्यति मिजासको थिएन । किनकि, उबेलादेखि उभिएकी गमलालाई एक बचन ‘बसौं म्याम’ भनिन त्यसले । तर किन भनिन ? त्यो उसैलाई थाहा होला । यद्यपि ढसमस कम्प्युटर वालीसँग घरिघरि गमलाको आँखा जुधे पनि देख्या नदेख्यै गर्थी ऊ । हाँस्न, नहाँसे पनि थोरै मुस्कान आकाशै खस्ने रित, अनिष्ट हित, अमङ्गलकारी साइत केही हुन्थ्यो होला र ?

बढी नै मूल्य चुकाउनुपर्लाझैं वातावरण आँखाको भाका के हो त्यस्तो चाला ? मूल नमिलेर भनौं भने हाम्रो देश ‘चार जात छत्तीस वर्णको साझा फूलबारी‘ हो कि होइन भाषा र भेष ? तर समय जति नै पट्यारलाग्दो किन नहोस्, गमला धर्मराइन् ।

त्यस्तै व्यवहार कसैले आफूप्रति गर्‍यो भने ? सामाजिक सञ्जालमा कसैले पोस्ट्याएको एउटा भनाइ–खुसीलाई किन्न अनि मान्छेहरूलाई चिन्न सकिने भए, सायद यो दुनियाँमा कोही पनि दुःखी हुने थिएनन् । खाँटी कुरा मन परेर मैले पनि आफ्नो फेसबुक वालमा सेयर गरेँ । तर त्यतिले मात्रै चित्त नबुझेर कथामा पनि तान बुन्न थालेँ ।

भनेपछि, संसारमा कति मानिस होलान्, जो मैमात्र खाऊँ, मैमात्र लाऊँ, मोजमस्ती स्वयं भित्र हराउनबाहेक दुनियाँलाई कसले सोच्दा रहेछन् र ? कसले खोज्दा रहेछन् र ? खोजखबर भन्ने कुरा बाउ पट्टी न आमा पट्टी के चासो ? के मतलव ? तर मर्यादित कुर्सीमा बसेर सेवामा जुट्ने साहसले पिउठ फर्काउनु चैँ त्यस्ता गिदीलाई के भन्ने र खोइ ?

जिन्दगी भनेको कुनै चलचित्र होइन । न मञ्चन विधाको नाटक नै । त्यसकारण आममानवीय स्वभावको दैनिकी परिकल्पनाको दायराभन्दा धेरै भिन्न, अक्षर–अंकमै फरक, एकदमै असाधारण जस्तो हुनैपर्छ र चोला ?

चराचर जगत्मा कोही मानिसलाई देख्दा अचम्म शीलस्वभाव, आनीबानी कुरा नबुझ्दा सामान्य लाग्ने विषयपछि था’ भो, हुँदैगो । काबिल बन्न कतिखण्ड मेहनत गर्नुपर्ने रहेछ । जसै कालीगण्डकीको तिरमा शालीग्रामको कथा ।

तर सो तुलना पछिल्लो पुस्ता काबिल खै...? ‘डमी’ को मिनिङ था’ नहुने मास्टर्नीले गमलासँग यति शब्द झूट बोलेकी रहिछ, कुरा सुनेर अचम्मको पनि बाउ–उदेक लाग्यो मलाई । खै कुन जुनीमा दश कक्षा पढाइले बढाइचढाइ बात सहरको कत्रो न बोर्डिङमा पढेर एजुकेसनल डिग्री हात पारे/परेपछि स्कुल खोलेको लेक्चर प्रश्न गर्ने ठाउँ नभेटेपछि ‘होला ता नि’ भनेर आफ्नो बच्चाको उज्यालो भविष्य कोर्न पठनपाठन उसैको जिम्मा थियो । भुरो केटो स्कुल जान्थ्यो, आउँथ्यो ।

दक्षता, कार्यकुशलता के भनौँ, ‘सुज’ को मिनिङ हेर्न पनि ‘हाम्रो म्याडमले डिक्सनेरी पल्टाउनु हुन्छ’ भनेर बच्चाले मास्टर्नीका बारेमा यत्रतत्र चर्चा गर्न थालेपछिको अर्को पोल ‘अंग्रेजी टिचर हुँ’ भन्ने उही मास्टर्नीले पढाउने महत्वपूर्ण विषय गणित शिक्षा अरे ।

एकदिन स्कुलबाट घर फर्कने क्रममा ममीको ब्यागबाट बीस रुपैयाँ मागेर गमलाको छोराले दश रुपैयाँ पर्ने एउटा बिस्कुट किन्यो । बाँकी दश आँखाकै अगाडि पसलेले बच्चालाई नै फिर्ता दियो । तर, त्यो दशको नोट साटिमागेर दुईटा पाँच बनाए पछि त्यहाँ के भयो ?

एउटा पाँचबाट हजमोला र अर्को पाँचबाट चोकोपन किनेर गमलातिर हेर्दै मुस्कानी बात छोराले भन्यो, ‘ममी, ममी, कस्तो लाग्यो मेरो सपिङ काइदा ?’ बच्चा पनि के भनौँ, पाँच कक्षाको वार्षिक परीक्षा सकेर घर फर्किरहेको विद्यार्थी छ पढ्ने होइन ?

‘यति पढाउँछु र उति सिकाउँछु‘ धुतार्नी मास्टर्नीका कुरा कठै बरा, हाम्रो नेपालको बोर्डिङ स्कुले शिक्षा । नैतिकता भनेको के हो ? जब दियोले आफू जलेर उज्यालो प्रदान गर्छ । त्यस्तै, मैनको भूमिका पनि आफू पग्लिएर अँध्यारोलाई विस्थापित गराउन अग्रसर भइरहेको हुन्छ । यो संसारमा मैन नजल्ने या त दियो नबल्ने हो भने सृष्टि कस्तो हुन्थ्यो होला ?

शिक्षण पेसामा मास्टर्नीको चर्तिकला ज्ञानविज्ञान नैतिकताको पाठ बाफरे ? भोलिको आधार कुमालेको गिलो माटो कस्तो होला आकार ? यही प्रकार पढाइलेखाइ गुणात्मक शिक्षाभन्दा व्यापारधन्दा संख्यात्मक वृद्धिको विडम्बना कति निष्ठुर र कस्तो लापरबाहीपूर्ण सिकाइ प्रक्रिया ? देशमा यसखाले पद्धति चलचित्र जगत्भन्दा पनि कति भयानक अभिनय, कि होइन ?

तर, गल्ती महसुस गरेर सुध्रिनुको साटो ‘छातीको लाज ढाक्न पेटीकोट उचाल्नु’ कत्तिको जायज थियो ? डुहुरेका झैं चरित्र हिम्मतले हिँड्नेलाई देखिनसहने अर्को विचित्र, घडी हेर्दै बाटो नियाल्दै । फेरि बाटो नियाल्दै घडी हेर्दै...ए फलानी कपाल किन नबाँधेकी...?...खुल्ला परालझैं जगटा डगर–डगर कस्तो लाज नभाको ?

पहिला आफ्नो अनुहार ऐनामा हेर्न छाडेर फलानीको बयान डिस्कानीसँग साँधसीमाना मिलाउने जुधाउने काम– गमलाले कति भोगी भोगी हन्डर । ठक्कर पनि त गाउँदेखि सहर, त्यहाँदेखि महल पूर्णतः मास्टर्नीकै ऋण खाएजस्तो । अनैतिक कति हो कति हर्गत...। त्यसले गमलाको दैनिकीमा केही फरक पर्थ्यो ?

श्रीमद् भागवत महापुराणको एउटा श्लोक ‘कर्म नै गुरु हुन्, कर्म नै ईश्वर हुन्‘ भनेझैं कसैले औंला ठड्याउँदैमा गमलाले टेरिन । कर्म, सिर्फ कर्मबाहेक कसैको साधुवाद पर्खिनुभन्दा बरु ‘डिब्बाको मसीमा कसी’ लेखेर थाक्दिन थिई । यौटा जोसिलो आँटले जो देख्थी विचारको मन्थन राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिका जहाँतहीँ घरघर धाउँथी । साँच्चै । उसको त्यो कलामा बढो अलौकिक जादु पनि थियो । हेक्का छ कि छैन ? कि, सबै फिक्का ?

एकदिन गमलासँग मास्टर्नी भेट भई । छिनमा आफ्नै तारिफ, ‘मलाई आज स्कुलमा विद्यार्थीले भनेका बिछट्टै राम्री भएँ अरे’ । जिउ मर्काइ–मर्काइ कति ऐना हेरेकी ? कुरा बुझ्दै जाँदा ‘दूधको दूध पानीको पानी ‘था’ भो– साडी–चोलो पहिरन लगाको दिन रहेछ । त्यो फेसन नेपाली कुन महिलालाई नसुहाउने पोसाक हो र ? । उही शरीर फिटिङ पाइजामा–सुरुवालभन्दा अनुहारको रूपरंग दिनमा कति खेप ओहोरदोहोर पाइलाको तागत ऐनाझैं छर्लङ्ग हिँडाइ पनि नदेख्या हो र ?

त्यसदिन एकाबिहानै घरबाट हिँडेकी गमलाले खाना खाएकै थिइन । एकपछि अर्को कामको मेलो रिपोर्टिङ स्थल पुग्दा हाकिमलाई भेट्ने पालो अत्तोपत्तो थिएन । अतः पेट हुँडल्ने गरी खाली बस्नुभन्दा केही चारो, छेवैको चमेना गृहमा पसेर टोकन सिस्टमबाट किनेको चाउमिन मीठो नलागे पनि करैले दुईदेखि तीन चम्चा गाँस पेटमा पर्‍याथ्यो, थिएन, थपक्क कत्रो उपहार ?

त्यस्तो उपहार जसले भाँडा त माझ्थ्यो–माझ्थ्यो मुखबाट सीधै पेटमा यति लामो स्टिलझुसको त्यान्द्रोसँग जम्काभेट भएपछि कसरी खानु ? जस्ताको तस्तै प्लेट देखाउँदा उल्टै साउजी झर्केर ‘जो चोर उसैको ठूलो स्वर’ भनेझैं उसको दबदबाह बोली ‘चिन्नु नचिनाउनु’ भन्ने शैली–थुपथुकी लागेर पानी पिउन पनि बान्ता आउला जस्तो भा’ थ्यो ।

यसरी फरक–फरक कोणबाट देखिएका पात्रहरू मानिस त सबै मानिस नै थिए । नेपाल सरकारका कर्मचारीदेखि प्राइभेट बोर्डिङकी शिक्षिकासम्म । त्यसमा औपचारिक/अनौपचारिक सन्दर्भ पनि हाम्रै समाजको चेतना थियो । तर कस्तो चेतना ?

प्रथम त मान्छे कोही पनि दूधले स्नान हुँदैन, हुदैनन् । न कसैको वृत्ति कोहीबाट सम्भव हुन्छ । अतः व्यक्तिको क्षमता, योग्यता र आवश्यकतानुसार कामको रफ्तार सत्यम् शिवम् सुन्दरम्को कला आकाश–पाताल कता खोज्ने होला ? व्यक्तिमा नभेटिएको संस्कार कसले देला उत्तर ?

मेरो चाहिँ मन जिज्ञासाको खात पिरामिड जत्तिकै भइराख्या बेला अचानक प्रकृति रमाइन् । यसरी रमाइन् शब्दमालामा कसरी उतारौ ? हाँसिन् । तर स्वयं किन त्यति अति उत्सवझैं थिइन् ?

गमलाको सौन्दर्यलाई चिन्तन चौतारी भन्ने कि चिन्तनको गहिराइ ? कुन भुर्नहत्तेले सुरु गरेको पत्रकारिता आखिरमा मानवजीवनका विभिन्न आयाम लेख्दालेख्दै वरिष्ठ पत्रकारको उपाधि चुम्नु चानचुने विषय थियो ? जसरी ओखरको दानाभित्र दिउलको कथा अन्तरकुन्तर थियो उसैगरी गमलालाई पनि कसैले पत्याएका थिएनन् । प्रथम त उसको गृहस्थीमै के–के शंका गर्थे ? तर जीवनमा सत्कर्मको प्रभावसँगै सकारात्मक सोचले गर्दा श्रमपद्धति पूर्णचन्द्रझैं चमक गमला देश–विदेश अनि परदेश कहाँ–कहाँसम्म मात्रै छाइन ।

 Image