Successfully Copied

‘महिला सशक्तीकरणमा लाग्छु’

‘सबैले सांसदकी छोरी भनेर चिन्थे, अब म उहाँंहरूलाई सन्ध्याका बाबाममी भनेर चिनिएको हेर्न चाहन्छु’।

आगामी ‘मिस नेपाल इन्टरनेसनल–२०२०’ को प्रतिनिधित्व गर्नेछिन् महोत्तरी जलेश्वरकी २४ वर्षीया सन्ध्या शर्माले । देहरादुनबाट फरेस्ट्रीमा स्नातकोत्तर गरिरहेकी उनको परिवारमा राजनीतिज्ञ आमाबुवा, दिदी र भाइ छन् । बाल्यकालबाटै हरेक क्षेत्रमा अब्बल सन्ध्याले ‘मिस नेपाल–२०२०’ मा ‘ब्युटी विथ पर्पस’, ‘वुमन अफ सब्ट्यान्स’ र ‘पपुलर च्वाइस’ गरी थप तीन वटा टाइटलसमेत जितिन् । सानैदेखि ‘मिस नेपाल’ फलो गर्न थालेकी उनी उतिबेलै ऐनाअगाडि उभिएर टाउकोमा ‘मिस नेपाल’ को क्राउन पहिरिएको महसुस गरेको बताउँछिन् । ‘सबैले सांसदकी छोरी भनेर चिन्थे, अब म उहाँंहरूलाई सन्ध्याका बाबाममी भनेर चिनिएको हेर्न चाहन्छु’ विषयगत रूपमा प्रखर वक्ता सन्ध्या भन्छिन्, ‘अघिल्लो वर्ष नै मिस नेपालमा भाग लिन खोजेकी थिएँ,ं मेरो ब्याचलरको अन्तिम परीक्षाका कारण आउन सकिन । यो वर्ष केही न केही टाइटल जित्ने पूर्वतयारी तथा परिपक्वताका साथ आएकी थिएँं । मेरो परिश्रम खेर गएन । आफूले पाएको यो प्लेटफर्मलाई असल कर्मका लागि भरपूर मात्रामा प्रयोग र सदुपयोग गर्नेछु ।’ तराईमा दहेज प्रथा हटाउन चाहेको बताउने उनी महिला सशक्तीकरणका क्षेत्रमा सशक्त रूपमा लाग्ने इच्छा जाहेर गरिन् । मुख्य सहरी क्षेत्रबाहेक अन्य स्थानमा अझैसम्म पनि ‘मिस नेपाल’ प्रतियोगितालाई छोटा लुगा लगाउने, ग्ल्यामरस एक्सपोज गर्ने भन्ने गरिए पनि सन्ध्या आफू भने यस प्रतियोगिताको उद्देश्यमा प्रस्ट भएरै सहभागी भएको बताइन् । उनी भन्छिन्, ‘मधेसतिर अझैसम्म पनि महिलाहरू विविध खाले हिंसाबाट प्रभावित छन् । छोरीलाई यस्ता प्रतियोगितामा पठाउनु त टाढाको कुरा हो । अब म मधेसका छोरीहरूको रोल मोडल बन्न सक्ने काम गरेर आफूलाई एउटा उदाहरणका रूपमा प्रस्तुत गर्न चाहन्छु । किनभने अब काम गर्नका लागि मसँंग प्लेटफर्म छ ।’

 Image