बालाचतुर्दशीमा पशुपतिनाथ

  • सन्दर्भ ः आज बाला चतुर्दशी

बालाचतुदर्शीको मध्यरातमा अन्तिम शतबीज छरिन्छ जसलाई कएन्या भनिन्छ । सामान्यतः भगवान शिवमा आस्था, श्रद्धा र भक्ति राखी पितृमोक्षको कामना गर्दै शतबीज जोसुकैले पनि विभिन्न शिवधामहरुमा गएर छर्न सक्दछन् । हलेसी महादेव, अर्जुनधारा जलेश्वरधाम, चतराधाम, गोकर्णेश्वर लगायतका विभिन्न शिवधामहरुमा पनि शतबीज छरिन्छ ।

नारी संवाददाता

मंसिर २८, २०७७

 

निर्मला पोखरेल, संस्कृतिविद्

मार्गकृष्ण चतुर्दशी अर्थात् बालाचतुदर्शी शतबीज छर्ने पर्व हो । आज यो पर्व परेको छ । यो अवसरमा पशुपति क्षेत्रमा अधिराज्य भरका हजारौंं मानिसहरु भेला भएका छन् । यो पर्व नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा विकसित भएको छ । आफ्नो घरपरिवारको कुनै सदस्यको मृत्यु भएको वर्ष र दोश्रो वर्ष मृत–आत्मालाई तारी मोक्ष र शान्ति दिलाउन त्रयोदशीका दिन रातभर महाबत्ती बालेर भजन–कीर्तन गर्दै जाग्राम बसी चतुर्दशीमा सद्बिज छरिन्छ । मृत्यु भएको वर्ष छरिने शतबीजलाई उल्टो शतबीज छर्ने र दोश्रो वर्ष वार्षिकी पछि ‘चतुर्दशी यज्ञ’ समेत गरेर छरिने शतबीजलाई सुल्टो शतबीज छर्ने भनिन्छ । मृतक परिवारबाट लगातार दुईसाल यी दुवै सद्बिज छर्न जानु पर्ने मान्यता छ । बालाचतुदर्शीको मध्यरातमा अन्तिम शतबीज छरिन्छ जसलाई कएन्या भनिन्छ । सामान्यतः भगवान शिवमा आस्था, श्रद्धा र भक्ति राखी पितृमोक्षको कामना गर्दै शतबीज जोसुकैले पनि विभिन्न शिवधामहरुमा गएर छर्न सक्दछन् । हलेसी महादेव, अर्जुनधारा जलेश्वरधाम, चतराधाम, गोकर्णेश्वर लगायतका  विभिन्न शिवधामहरुमा पनि शतबीज छरिन्छ ।

शतबीजमा मकै, धान, मुगी, कपासको विज, मास, कागुन र चना जस्ता सात थरीका बीज हुनुपर्दछ र साथमा तिल, जौ लगायत बिभिन्न प्रकारका मौसमी फल उखु, सुन्तला, बदाम आदि र फूलहरु पनि समावेश गरिन्छ । शतबीजले सप्तधान्य कागुन, तिल, जौ, धान, मकै, गहुँ, चनाको समूहलाई पनि जनाउँछ । शतबीज छर्ने क्रममा वागमती स्नान गरी शुद्ध भएर त्यहीं तटमा रहेकी वत्सलादेवीको दर्शन गरी सँगै रहेको पञ्चगणेशबाट छर्न प्रारम्भ गर्नु पर्दछ । यही क्रममा वत्सलेश्वरी मन्दिर वरिपरि रहेका अनन्तनारायण, यमराज, बटुक भैरव, जयमङ्गला हुँदै यहाँबाट नजिकै दक्षिणतर्फ रहेको राजराजेश्वरी पुगी छर्दै फर्किएर पशुपतिनाथ मन्दिरमा छरिन्छ । यहाँबाट कैलाश डाँडा हुँदै गौरीघाटबाट मृगस्थली र श्लेषमान्तक बनमा रहेका किराँतेश्वर, गुह्येश्वरी, विश्वरुपामा छरेर मृगस्थलीमै रहेको बहिरागणेशमा आई गणेशलाई आपूm आएको जानकारी उच्च स्वरमा दिनु पर्दछ । आ–आफ्ना परिवारका मृतजनहरुलाई दिने सन्देश यिनै गणेश सामु चिच्याई– चिच्याई सुनाईन्छ । यसपछि यहाँबाट छर्दै दक्षिणतर्फ सँगै रहेको नमोबुद्ध पुगेर सोही बाटो हुँदै फर्की मृगस्थलीमा रहेको भागलभुगल शिवलिङ्गमा पुगेर बाँकी शतबीज सबै छरी समापन गरिन्छ । केही दशक अघि सम्म त्यहाँ चढाएको शतबीजलाई लिलाम गरी पशुपतिनाथमा गरिने त्रिशूलजात्रा भव्यरुपमा सम्पन्न गरिन्थ्यो । हाल विविध कारणले त्यो सम्भव रहेन ।

बालाचतुदर्शी पर्वका विषयमा अनेकौं किंवदन्ती, कथन, अनुश्रुती र लोकधारणाहरु रहेका छन्– हिमवतखण्डपुराणमा भगवान शिवले मार्ग कृष्ण चतुर्दशी तिथिका दिन मृगरुप लिई पशुपति क्षेत्रको श्लेषमान्तक वनमा अवतरण लिएको चर्चा छ । यिनै मृगरुपी शिवको सम्मान स्वरुप सो तिथिमा श्लेषमान्तक बन तथा वरपरका क्षेत्रमा अन्न छरिएमा हरेक अन्नका दानाबाट त्यति नै मात्राको सुन दान गरेको तथा अश्वमेघ यज्ञ गरेको फल प्राप्त हुने कुरा उल्लेख छ । यही पुराणमा मृगरुप लिएर डुलेका शिवलाई मृगका झुन्डहरू मध्येबाट चिन्नका निम्ति सम्पूर्ण मृगलाई आकर्षण गर्ने हेतुले पार्वती (वत्सला)ले श्लेषमान्तक वन वरपर विभिन्न थरीका बिज छरेकी र ती बिजबाट उत्पन्न भएका कलिला बोट बिरुवा खानका निम्ति मृगका झुण्ड सो स्थलमा आउँदा उनले सुन्दर सिङ्ग भएका मृगरुपी महादेवलाई चिनेको प्रसङ्ग पाइन्छ । यसरी वत्सलाले शतबीज छर्न प्रारम्भ गरेको मान्यता हुँदा शतबीज छर्ने कार्य बत्सला मन्दिरबाट शुरु गर्ने प्रचलन हालसम्म पनि रहेको छ । वत्सलेश्वरी मन्दिरमा मार्ग कृष्ण एकादशीमा अर्थात् बालाचतुदर्शीको तीन दिन अगाडि नै शतबीज छरिन्छ । यो दिन पशुपति बालागुठीको तर्पmबाट वत्सलेश्वरीको जापाय (अन्नप्राशन) गरिन्छ । जापायमा कर्माचार्य पुजारीले वत्सलेश्वरीको यन्त्ररुपी शिला मूर्तिमा पुजागरी भातले छोपेर त्यसमाथि गेडागुडी आदिका तरकारीहरु चढाउँछन् । पूजा सकिएपछि मन्दिर भित्र कुकुर प्रवेश गराई देवीलाई चढाएको भात कुकुरले खानुपर्ने तान्त्रिक परम्परा रहेको छ । यो कार्य पछि मोहीनायक (पशुपतिकानाथका जग्गाका मोहीकहाँ गई बाली उठाउने, मूलभट्टले गर्ने सम्पूर्ण पूजाआजामा सामग्री ओसारपसार र रखवारीआदि गर्ने) ले पहिलो शतबीज छर्ने कार्य गर्दछन् । उनले छरेको यो शतबीज वत्सला देवी स्वयंले छरेको मानिन्छ र यो कार्य सर्वप्रथम वत्सलेश्वरी प्राङ्गणमा रहेको पञ्चगणेशबाट प्रारम्भ गरिन्छ ।

कुलागमतन्त्रमा बालाचतुदर्शीका दिन शिवको पूजा र व्रत गर्नु पर्ने उल्लेख छ भने बाराहीतन्त्रमा यो दिन शिवपूजा गरी व्रत बसेर पशुपति मृगस्थली (श्लेषमान्तक वन) घुमी रत्ति बराबरको एक गेडा मात्रै सतबीज छरे पनि पुनर्जन्म नहुने वचन परेको छ ।

बालाचतुदर्शी पर्वका सम्बन्धमा एक किंवदन्ती अनुसार परापूर्वकालमा पशुपतिभेग वागमतीघाटमा बालानन्द नामको मुर्दा जलाउने पेशा लिएर बसेको व्यक्तिको खाजामा एकदिन जल्दै गरेको मुर्दाको टाउको पड्किएर गिदीको सानो भाग परेछ । उसले थाहा नै नपाई खाजासँगै त्यो खाँदा मीठो स्वाद भएकोले पछि कारण पत्ता लगाई त्यसै समयदेखि उ मुर्दाको गिदी खान पल्किएर घरवार छोडी उतै वनतिर बस्न थालेछ । वनतिरै बस्दै जाँदा दाह्री, जुँगा, कपाल लामो भएको, लासको मासु खाने उसलाई मानिसहरुले बिस्तारै– बिस्तारै बालासुर दैत्य भन्दै उसँग डराउन थालेछन् । जल्दै गरेको लासको मासु खाने, मुर्दा खोसेर वनतिर लाने गर्न थाले पछि मृतकका परिवारजनले विधिपूर्वक दाहसंस्कार गर्न नपाउने भए । जनता दुखी हुँदै तात्कालीन राजा भुवनकेशरीसामु आफ्नो समस्या बताए पछि राजाले बालानन्दको बाल्यकालको  मीत वृषसिंहलाई हातलिई बालानन्दलाई मार्न राजी गराए । वृषसिंह भरीया सहित रक्सी मासु लिएर मीत भेट्न गए । मीतले दिएको रक्सी खाएर बेहोस भएको बालानन्दलाई मृगस्थली नजिकैको इनारमा वृषसिंहले भरीया सहित भएर घिसार्दै लगी खसाएर मारे । त्यसपछि मानिसहरुले निश्चिन्त भई घाटमा मुर्दा जलाउन पाए । राजाले बालासुरलाई मारी लोककल्याण गरेको खुसीमा बालादैत्य नामक गुठी जग्गा समेत राखि दिए । त्यसैले यो खुसीयालीमा हालसम्म पनि बालाचतुदर्शीका दिन पशुपतिमा बालादैत्य गुठीको तर्पmबाट भोज खाने प्रचलन छ ।

उता आफ्नो वालसखालाई छलगरी मारेकोमा एकातिर मित्र हत्याको पाप र अर्कोतिर अकालमा आफुले मारेको मित्र अगतिमा परेको पिरले वृषसिंहलाई पीडा हुन थाल्यो । यस्तैमा एकदिन उसले सपनामा शिवजीको दर्शन पायो, उसलाई सद्बीजको महत्वको ज्ञान भयो र श्लेषमान्तक वनमा सद्बीज छर्न गयो । उसले सद्बीज छरेको दिन मंसिरकृष्ण चतुर्दशी परेको थियो । उसले यो दिन सद्बीज छरेको रहस्य अरुले पनि थाहा पाए अनि सद्बीज छरेमा अगतिमा परेका पितृहरु तर्छन् भन्ने अवधारणा ब्यापक बन्दै गयो र मंसिर कृष्ण चतुर्दशीको नाम पनि बाला दैत्यको नाममा बालाचतुदर्शी रह्यो । यही दिन बालानन्दले पनि असुर योनीबाट मुक्ति पाएको मानिन्छ ।

रामायण पूर्व काण्डमा वर्णन भए अनुसार रावण, कुम्भकर्ण, विभीषण र सूपर्णखाको जन्म श्लेषमातकम् वनमा भएको थियो । अत्यन्त प्राचीन समय देखि प्रशिद्ध रहेको श्लेषमान्तक वनलाई नेपालसम्वत् ८८३ को एक ठ्यासफुमा बालावन भनिएको प्रमाण पाईन्छ । शैव सम्प्रदायका अघोरपन्थी कापालिक मतका अनुयायी तान्त्रिक साधुहरु पशुपति क्षेत्रमा साधना गर्ने गरेका प्राचीन प्रमाणहरु पाईन्छन् । यिनीहरु भैरब र शक्ति देवीलाई नरवली सम्म दिने, श्मशानमा बसेर विभत्स रीतिले उपासना गर्ने, मद्य, मांस खाने, मानिसको खोपडी ग्रहण गर्ने र नरमांस समेत भक्षण गर्न नहिच्किचाउने हुनाले सामान्य मानिसहरु र अरु धार्मिक मतावलम्वीहरुको दृष्टिमा यिनीहरु राक्षस समान थिए । सायद यिनीहरुको समूह श्लेषमान्तक वनतिर बस्दथ्यो र नायक बालानन्द नामक अघोर थिए । यिनै बालानन्द वस्ने हुनाले श्लेषमान्तक वनलाई बालावन भनिएको हुनुपर्दछ । सामान्य मानिसहरु र अरु धार्मिक मतावलम्वीहरुको षडयन्त्रमा परी राजाको समेत सहयोग लिएर आफ्नै वाल्यकालको साथी बृषसिंहद्वारा   बालानन्दको  हत्या गरियो । पछि बाला अघोरको स्मृतिमा यिनी मारिएको मार्गकृष्ण चतुर्दशीका दिन देवपतनस्थित बालाबनमा सद्बीज छरी परिक्रमा गर्नुपर्ने चलनको शुरुवात गरियो र मार्गकृष्ण चतुर्दशीलाई बाला चतुर्दशी नामाकरण गरियो । जुन हालसम्म पनि कायमै छ ।

शतबीजारोपण पर्वको सम्बन्ध बालासुरसँग देखाईएता पनि मानवले प्राणी मात्रको सेवाभाव गर्नुपर्छ भन्ने भावना जगाउन अन्नहरु, फलफुल कतिपयजातिहरुले खानकालागि लिने, बाँदर, परेवा, मृग आदि पशुपंक्षीहरुलाई आहार हुने मनसायले शिवधाममा छरिएको हुनुपर्ने देखिन्छ ।  

पाशुपत क्षेत्रमा बालाचतुदर्शीका अवसरमा बिभिन्न पूजाअर्चनाहरु सम्पन्न गरिन्छन् । यो दिन पशुपतिनाथ छत्र गुठीको तर्पmबाट गुह्येश्वरीमा बलि सहितको विशेष पूजा गरिन्छ । बालागुठी अन्तर्गत गुह्येश्वरीमा वैद्यहरूले राँगो तथा बोकाको बलि दिई पूजा गर्ने परम्परा पनि रहेको छ । मृगस्थली स्थित गोरखनाथ मठका कनफट्टा जोगीहरुले ती पूजा सामग्रीहरु र बलि लैजान्छन् तर जोगीहरुले बली कर्म भने गर्दैनन् । यो दिन गोरखनाथको पाउको प्रतिमूर्ति सर्वसाधारणको दर्शनपुजनको लागि मन्दिर बाहिर राखिन्छ । गोरखनाथको विषेश पूजागरी रोठ (रोटी विषेश) चढाएर बोका बली पनि दिईन्छ ।  पशुपतिक्षेत्र भित्र वसोवास गर्ने वैद्यहरुले राखेको बालाचतुर्दशी चक्रपूजा गुठीबाट गुह्येश्वरी, भैरव र गोरखनाथको चक्रपूजा गरिन्छ । यही दिन साँझ पाटन च्यासलटोलका व्यञ्जनकारहरू गुह्येश्वरीमा आएर गुह्येश्वरीको पूजा गरी काँ बाजा बजाउँदै सतबिज छर्ने मार्गको परिक्रमा गर्दछन् । यो बाजा बज्नुलाई सद्बिज छर्न बन्द गर्नुपर्ने संकेत स्वरुप लिईन्छ ।

बालाचतुर्दशीको अघिल्लो दिन त्रयोदशीमा पशुपतिनाथको ढुकुटीबाट नागमणि, एकमुखे रुद्राक्ष, पशुपतिनाथलाई लगाउने वहुमूल्य धातुहरु जडित चाँदीको इन्द्र–कवच पोशाक लगायतका मूल्यवान बस्तुहरू निकालिन्छ र सर्वसाधारणको दर्शनको लागि पशुपतिनाथ मन्दिर प्राङ्गणमा राखिन्छ । यही दिन पशुपतिनाथलाई इन्द्र–कवच लगायत बहुमूल्य गरगहनाहरु पहि¥याईन्छ । बालाचतुर्दशीको दिन सद्बिज छर्नेहरुको भिड हुने हुँदा यी दुर्लभ बस्तुहरु बालाचतुर्दशीको अघिल्लो दिन र भोलिपल्ट औंसीको दिन प्रदर्शन गरिन्छ । यी बस्तुहरु औंसीका दिन पुनः ढुकुटीमा दाखिल गरेपछि विशेट नाइकेले त्यही साँझ पशुपतिनाथका मूल भण्डारी, पालो वाला भण्डारी लगायतका रै–रकमीहरुलाई भोज खुवाउनु पर्ने हुन्छ । बालाचतुर्दशीकै दिन वर्षदिन भरी जम्मा भएका सुन, चाँदी, हीरा, मोती जस्ता बहुमूल्य धातुहरु र जम्मा भएको नगदबाट पनि सुन नै किनेर पशुपतिनाथको मूल ढुकुटीमा राखिन्थ्यो जसलाई ढुकुटी दाखिला गर्ने भनिन्थ्यो । हाल यो प्रकृया बन्द भएको छ । बालाचर्तुदशीको दिनदेखि चैत्र कृष्ण चर्तुदशीसम्म पशुपतिनाथलाई नित्य स्नान गर्दा चीसो नहोस् भनी चार महिना तातो पानीले स्नान गराईन्छ । केही दशक अघि सम्म बाँकी रहेको सद्बिज छरिएको भागलभुगल शिवलिङ्गको   सद्बिजलाई लिलाम गरी पशुपतिनाथमा आषाढ कृष्ण अष्टमीको दिन सम्पन्न गरिने त्रिशूलजात्रा भव्यरुपमा मनाईन्थ्यो । हाल बिबिध कारणले त्यो सम्भव नरहेकोले  अरु नै श्रोतबाट यो जात्रा गरिन्छ ।

यसप्रकार पशुपतिक्षेत्रमा बालाचर्तुदशी पर्वको अवसरमा अधिकांस मन्दिरहरु, रै–रकमी, स्थानीय, क्षेत्रीय, राष्ट्रियस्तरका समूहको भूमिका सहितको सहभागिता, जात्रासँग सम्बन्धित, लगायत पशुपतिनाथका महत्वपूर्ण कार्यहरु सम्पन्न हुने हुनाले शदियौं देखि यो क्षेत्र जीवन्त चलायमा र उत्सवमय रहँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>