बिहाबारी कति वर्षपारि ?

रोजिन शाक्य

मंसिर ५, २०७७ विवाहका लागि सही जीवनसाथी चयन गर्नु सबैभन्दा कठिन कार्य हो । अहिले त विज्ञानका अनुसार पनि विवाहका लागि सही उमेरका बारेमा जानकार हुनु आवश्यक छ । ‘युनिभर्सिटी अफ उताह’ का प्राध्यापक निकोलस एच. वोल्फिङ्गरले गरेको एक अध्ययनका अनुसार २८ देखि ३२ वर्ष उमेरभित्र वैवाहिक जीवनमा प्रवेश गर्ने व्यक्तिहरूमा सम्बन्ध विच्छेदको सम्भावना कम हुन्छ । त्यहीँ ३२ वर्षको उमेर भन्दा माथि विवाह गर्ने र ४० वर्षको प्रारम्भतिर विवाह गर्नेहरूमा सम्बन्ध विच्छेदको खतरा बढेको पाइयो । ३२ वर्षपछि विवाह गर्नेहरूमा सम्बन्ध विच्छेदको खतरा हरेक वर्ष पाँच प्रतिशतले बढ्छ । ३० वर्षमा विवाह गर्ने मानिस आफ्नो विवाहका विषयमा बढी गम्भीर हुन्छन् र उनीहरूलाई आफ्नो वैवाहिक जीवन सफल बनाउन धेरै बोझ महसुस हुँदैन । यसकारण उनीहरू सुखी रहन्छन् र उनीहरूको वैवाहिक जीवन पनि सुखमय रहन्छ । यो अध्ययनअनुसार ३० वर्षका जोडी बढी समझदार र आर्थिक रूपबाट पनि मजबुत हुन्छन् ।

वोल्फिङ्गरद्वारा गरिएको रिसर्चअनुसार पुरुष र महिला दुवैले २८ देखि ३२ वर्षमा विवाह गर्नु उचित हुन्छ । विज्ञानका अनुसार विवाहका लागि यो सही समय हो । त्यसो त आजको भागदौडको जीवन शैलीमा करियरको चक्करमा ढिलो विवाह गर्ने प्रचलन बढ्दो छ । उच्चतम शिक्षा उपलब्धि, त्यसपछि सुरक्षित करियरमा अवतरण र त्यसमा समृद्ध वर्तमान तथा सुरक्षित भविष्य यी सबैको आवश्यकता पूरा गर्ने क्रममा समयमै विवाहभन्दा पनि ढिलो गरी विवाह गर्नेहरूको जमात बढ्दो छ । कुनै हदसम्म महिलाको तुलनामा पुरुषको काँधमा आर्थिक जिम्मेवारी बढ्ने गरेको पाइन्छ । यसको अर्थ महिलामा हुँदैन भन्ने अर्थ लाग्दैन । त्यसैले आर्थिक रूपमा दुवै सक्षम हुनु आवश्यक छ । अहिले महिलाले २५ वर्ष र पुरुषले २७वर्षपछि मात्रै विवाहका बारेमा सोच्ने गरेको पाइन्छ । यो उमेरसम्म आइपुग्दा महिला–पुरुष दुवै पक्ष धेरै हदसम्म मानसिक, आर्थिक एवं मनोवैज्ञानिक रूपमा मजबुत हुन पुग्छन् । वैधानिक रूपमा प्रमाणित भएको विवाहका लागि योग्य उमेरको यो अवस्थालाई धेरै युगल जोडीले स्वीकार गरेको पनि पाइन्छ । प्रजनन स्वास्थ्यका दृष्टिकोणले पनि महिलाले ३० वर्षसम्ममा विवाह गरिसक्नुपर्छ ।

विवाहका लागि सही उमेर के हो ? यो एउटा त्यस्तो मुद्दा हो जसमा विभिन्न देशमा विवाहसम्बन्धी कानुनमा युवा–युवतीको उमेर कानुनतः तोकिएको पाइन्छ । हाम्रो देशको कानुनअनुसार महिला–पुरुष दुवैले २० वर्षपछि विवाह गर्न पाउँछन् । शिक्षाको आवश्यकतासँगै यसको प्रभाव विवाह गर्ने जोडीहरूको उमेरमा प नि पर्न गएको देख्न सकिन्छ । अधिकांश शिक्षित व्यक्तिले २५ वर्षपछि मात्रै विवाहका बारेमा सोच्ने गरेको पाइन्छ । यस पछाडिको प्रमुख कारण हो आफ्नो भविष्यको सुरक्षाका सम्बन्धमा व्यक्तिको जागरुकता । शिक्षाकै जागरुकताका कारण युवा–युवती शैक्षिक योग्यता, कार्यदक्षता र कार्यक्षमताको अभिवृद्धिपछि मात्रै विवाहको सम्बन्धमा निर्णय गर्नेतर्फ अग्रसर हुने गरिएको पाइएको छ । आफ्नो करियर र भविष्यको सुनिश्चितताबिना वैवाहिक जीवनका बारेमा सोच बनाउनेहरू बिरलै पाइन्छन् । यस कारण विवाह गर्ने उमेरमा प्रभाव पर्न गएको देखिन्छ । विवाहका लागि सही उमेरका बारेमा गरिएका धेरै खोजका अनुसार २९ वर्षको उमेरलाई परफेक्ट मानिएको पाइन्छ । यस पछाडिका कारणहरू :

विवाहका लागि तयार

विशेषतः युवतीहरूका लागि करियर र विवाहको प्रश्न अझ बढी हुन्छ । शानदार करियर बनाउने चाहना हरेकमा हुन्छ तर परिवारका लागि परम्परागत रूपमा महिला पक्षलाई नै जिम्मेवार मानिन्छ । यस्तोमा जबसम्म उनी मानसिक र शारीरिक रूपबाट पूर्णरूपमा तयार हुँदिनन् तबसम्म उनले सम्पूर्ण परिवारलाई सम्हाल्न सक्दिनन् ।

रुचि अरुचि

यो उमेरसम्म आइपुग्दा आफ्नो जीवनसाथीमा के–कस्ता गुणहरू हुनुपर्छ भन्ने बारेमा राय बनिसक्ने अवस्था हुन्छ । कस्तो बानी, व्यवहार, विचार आदि मनपर्छ/मनपर्दैन भन्ने विषयमा तय भइसकेको अवस्था रहन्छ । अतः आफ्ना लागि सही जीवनसाथी चयन गर्ने मामिलामा गल्ती हुने सम्भावना कम रहन्छ र सम्बन्धको महत्व र आवश्यकतालाई बुझ्ने परिपक्वता पनि विकसित भैसकेको हुन्छ ।

शारीरिक रूपमा तयार

विवाहपछि जीवनमा परिवर्तन आउँछ । त्यसका लागि शारीरिक तथा मानसिक रूपले तयार हुने वा नहुने यसले सुखद् दाम्पत्य जीवनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्दछ । २९ वर्षमा महिलाहरू नयाँ परिवर्तन एवं मातृत्व सुख प्राप्तिका लागि पनि सक्षम र तयार हुन्छन् ।

करियर

करियरको प्रारम्भिक पाँच वर्ष कडा मेहनत गर्नुपर्ने हुन्छ । २४ वर्षको उमेरमा करियर प्रारम्भ गरेको भए कम्तीमा पाँच वर्ष पूर्णरूपमा आफ्नो करियरलाई दिनुपर्छ । २९ वर्षको उमेरसम्म आइपुग्दा आफ्नो काममा स्थापित भइसक्ने अवस्था हुन्छ । र यसकारण यतिखेर सहज रूपमा आफ्नो परिवारको सुरुवात गर्न सकिन्छ ।

स्वयंलाई राम्ररी बुझ्ने अवस्था

करियर प्रारम्भ भएपछि मात्र व्यक्तिले आफ्नो प्राथमिकता र आवश्यकताबारे राम्ररी बुझ्न थाल्दछ । करिब २८ वर्षमा व्यक्तिले जीवनका विभिन्न परिस्थितिलाई गम्भीरता पूर्वक बुझ्न थाल्दछ । कतिपयले २० वर्षकै उमेरमा विवाह गर्दछन् र ३० वर्षको उमेरमा पुग्दा विवाहले जीवनमा कुनै प्रकारको लाभ नपुर्‍याएको बुझ्दछन् र तिनका लागि वैवाहिक जीवनमा अझ बढी अप्ठ्यारो परिस्थिति देखा पर्ने हुन्छ ।

उमेर भिन्नता

साधारणतया विवाह गर्ने महिला–पुरुषमा ३ देखि ५ वर्ष उमेर भिन्नता हुनु राम्रो मानिन्छ । सामान्यतया महिलाको उमेर पुरुषको भन्दा कम हुनु राम्रो मानिन्छ । यद्यपि यो मान्यतामा पनि समयानुसार परिवर्तन आएको पाइन्छ । अहिले वैवाहिक जीवनमा प्रवेश गर्नका लागि उमेर ठूलो कुरा रहेन । कतिपयका श्रीमती श्रीमान्भन्दा बढी उमेरका हुन्छन् । विवाहका लागि २९ वर्षको उमेर यस कारण पनि सही हो कारण श्रीमान्–श्रीमतीबीच उमेरको भिन्नता धेरै हुँदैन । दुवै जना परिपक्व हुन्छन् र स–साना कुरामा विमति र असमझदारीको सिर्जना हुने सम्भावना अत्यन्त न्यून रहन्छ ।

वैवाहिक जोडीमा पुरुषको उमेर बढी भएमा ऊ महिलाभन्दा बढी समझदार एवं सहयोगी हुन्छ । केही व्यक्ति मान्दछन् कि महिला पक्ष तुलनात्मक रूपले बढी भावुक हुने गर्दछन् र पुरुष पक्षको उमेर बढी छ भने उसले महिला पक्षलाई भावनात्मक रूपमा सहारा दिन सक्दछन् । केहीका अनुसार बढ्दो उमेरको प्रभाव पुरुष पक्षमा कम देखिने गर्दछ । जबकि महिला पक्षमा उमेरमा प्रभाव चाँडै देखा पर्ने गर्दछ । त्यसैले पनि वैवाहिक जोडीमा महिला पक्षको उमेर पुरुषको भन्दा कम हुनु ठीक रहन्छ । तर बायोलोजिकल पक्षबाट यस विषयमा प्रभावकारी आधार पाइँदैन । कतिपय पुरुष उमेरका दृष्टिले भन्दा पनि बढी उमेरका देखिने गर्छन् । केहीमा यो पनि मान्यता पाइन्छ कि वैवाहिक जोडीमा उमेर भिन्नताले सम्बन्धमा सन्तुलन प्राप्त हुन्छ कारण उमेरसँगै व्यक्तिको सोच पनि विकसित हुने गर्दछ । उसले परिस्थितिलाई अझ बढी राम्ररी बुझ्दछ र कुनै पनि अवस्थामा सही सन्तुलन कायम राख्ने क्षमता देखाउँछ ।

हिन्दू शास्त्रका प्रमुख १६ संस्कारमध्ये विवाह पनि एउटा हो । शास्त्रअनुसार यदि व्यक्तिले संन्यास ग्रहण गर्दैन भने हरेक व्यक्तिले विवाह गर्नु आवश्यक छ । विवाहपछि मात्रै पितृऋण तिर्न सकिन्छ । विवाहको शाब्दिक अर्थ हुन्छ, विशेष रूपबाट उत्तरदायित्वलाई वहन गर्नु । विवाहलाई पाणिग्रहण भनिन्छ ।

हिन्दू दर्शनका अनुसार आश्रम प्रणालीमा विवाहका लागि व्यक्तिको उमेर २५ वर्ष थियो जसबाट राम्रो स्वास्थ्य र कुपोषणको समस्याबाट छुटकारा प्राप्त हुने गर्दथ्यो । ब्रह्मचर्य आश्रममा आफ्नो पढाइ पूरा गरेपछि मात्र व्यक्तिले विवाह गर्न सक्दथ्यो । आश्रममा पढ्ने व्यक्ति संस्कारयुक्त मानिन्थ्यो । आश्रममा युवा–युवती दुवैका लागि शिक्षाको व्यवस्था हुने गर्दथ्यो । आश्रममा भर्ना हुनका लागि ७ देखि ८ वर्ष हुनुपर्दथ्यो । आश्रमबाहेक युवतीहरूका लागि घर वा त्यसको आसपास नै उचित शिक्षाको व्यवस्था हुने गर्दथ्यो ।

वास्तवमा विवाह संस्कार हिन्दू धर्म संस्कारमा त्रयोदश संस्कार हो । स्नात्तकोत्तर जीवन विवाहको समय हुने गर्दछ, अर्थात् विद्याध्ययनपछि नै विवाह गरी गृहस्थाश्रममा प्रवेश गर्नुपर्ने हुन्छ । शिक्षा विज्ञानका अनुसार २५ वर्षसम्ममा व्यक्तिको शरीरमा वीर्य, विद्या, शक्ति र भक्तिको पर्याप्त संचय हुन्छ । यो संचयका आधारमा नै व्यक्ति गृहस्थाश्रमका सबै साना–ठूला जिम्मेवारी निर्वाह गर्न सक्षम हुन्छ ।

श्रुति बचनअनुसार दुई शरीर, दुई मन र बुद्धि, दुई हृदय, दुई प्राण र दुई आत्माको समन्वय गरी अगाध प्रेमको व्रतको पालना गर्ने दम्पतीले नै उमा–महेश्वरको प्रेमादर्शलाई धारण गर्ने गर्दछ, यही नै विवाहको स्वरूप हो । हिन्दू संस्कृतिमा विवाह कहिल्यै नटुट्ने एक परम पवित्र धार्मिक संस्कार हो, यज्ञ हो । वरवधूको जीवन सुखी बनिरहोस् भन्नका लागि विवाहपूर्व युवा–युवतीको जन्म कुण्डलीको पनि मिलान गर्ने गरिन्छ ।

वेदअनुसार स्त्रीलाई पुरुषकी सहचारिणी, अर्धाङ्गिनी र मित्र मानिएको पाइन्छ । यस आधारमा उमेरको अन्तर सन्तुलन आवश्यक छ । जैविक रूपबाट पुरुष आफ्नो उमेरभन्दा दुई वर्ष कम समझदार हुन्छ जबकि महिला आफ्नो उमेरभन्दा दुई वर्ष अधिक समझदार हुन्छिन् । अतः उमेरमा अन्तर राख्ने सल्लाह दिइन्छ ।

उमेरको अवस्था र यौन

वैज्ञानिकहरूका अनुसार व्यक्तिमा १४ देखि २१ वर्षको उमेरसम्म यौनसँग सम्बन्धित रसायन उच्च अवस्थामा रहने गर्दछ । यसै कारणले गर्दा यो उमेरमा व्यक्तिमा सबैभन्दा बढी शारीरिक परिवर्तन देख्न पाइन्छ । २१ देखि २८ वर्षसम्ममा व्यक्तिमा यौन क्षमता र चाहना सबैभन्दा उच्च बिन्दुमा पाइन्छ । २८ देखि ३५ वर्षसम्मलाई यौनका लागि उत्कृष्ट समय मानिएको छ । शोधहरूका अनुसार यो उमेरमा प्रायः जोडीले यौन जीवनको सबैभन्दा बढी आनन्द अनुभव गर्दछन् । ३५ देखि ४१ वर्षको उमेरसम्ममा प्रायः व्यक्तिमा शारीरिक तौल र स्वास्थ्यसम्बन्धी अनेकौं समस्या देखापर्ने भएकाले तिनको यौनप्रतिको रुचिमा कमी आउन थाल्छ । ४२ देखि ४९ वर्षको उमेरसम्म पुग्दा अधिकांश व्यक्तिमा यौनप्रति इच्छा कम हुन जान्छ । महिलाहरूमा यौन अनिच्छा र पुरुष यौन सक्रियताको स्तरमा कमी देखिने गर्दछ । ४९ वर्षपछि व्यक्तिको शारीरिक स्वस्थता, फिटनेस, मानसिक स्वास्थ्य र इच्छानुसार उसको यौन व्यवहार देख्न पाइन्छ ।

यौनविज्ञहरूका अनुसार वैवाहिक जोडीमा दुई–तीन वर्षको उमेर भिन्नता हुनु राम्रो हुन्छ । यसभन्दा बढी उमेर भिन्नताले तिनको यौन जीवनमा प्रभाव पर्ने सम्भावना रहन्छ । ४० वर्षसम्म पुग्दा अधिकांश पुरुषमा यौन सक्रियता तुलनात्मक रूपले कम नहुने विभिन्न शोधले देखाएको पाइन्छ । यदि पुरुष ४० र महिला ३० वर्षका छन् भने पुरुषमा यौन सक्रियता कम र महिलामा बढी हुने अवस्था रहने भएकाले विवाहको सुरुवाती समयमा यौन जीवनका समस्या नदेखिए पनि विस्तारै यो बढ्ने जाने यौनविद्हरू बताउँछन् ।

पुरुष उमेरमा जेठो भएमा

पुरुषको उमेर बढी भएमा यौन चाहनामा समानता पाइँदैन । विवाहकाप्रारम्भिक दिनहरूका महिलामा यौनभन्दा बढी भावनात्मक सुरक्षा र प्रेमप्रति लगाव बढी हुन्छ भने उमेरले जेठो पुरुषमा यौन सन्तुष्टि प्राथमिकता रहन्छ । यो अवस्थामा यदि पुरुषले महिलालाई भावनात्मक सहयोग र सुरक्षा दिन असमर्थ भएमा महिलाको पुरुषसितको आत्मीयता र लगावमा कमी आउन सक्ने बढी सम्भावना रहन्छ । यसको ठीकविपरीत विवाहको केही वर्षपछि यो जोडीमा महिलाको यौन सक्रियता बढ्न जान्छ र बढ्दो उमेरका कारण पुरुष यौन मामिलामा कम सक्रिय रहन थाल्छन् । फलस्वरूप उनीहरूको यौन जीवन सुमधुर रहन पाउँदैन ।

महिला उमेरमा जेठो भएमा

वैवाहिक जोडीमध्ये यदि महिलाको उमेर बढी भएमा महिलामा यौन व्यवहार र भावनात्मक पक्षमा परिपक्वता देख्न पाइन्छ । उनीहरू आफ्नो पुरुष सहयात्रीलाई यौन प्रक्रियामा सन्तुष्ट राख्न सक्छन् । पुरुषले पनि यौन जीवनलाई सक्रियतापूर्वक अँगाल्न सक्छन् । अतः यिनीहरूको यौन जीवन सुखमय हुन्छ ।

जोडीको उमेर बराबर भएमा

वैवाहिक जोडीको उमेर भिन्नता छैन र समान छ भने उनीहरूको यौन जीवन सुमधुर र सुखमय रहन्छ । दुवैले एक–अर्काको आवश्यकता, प्राथमिकता, चाहना र सन्तुष्टिलाई बुझ्न सक्छन् र सोहीअनुरूप व्यवहार पनि गर्न सक्छन् । अतः यौन जीवनमा समस्या देखिने सम्भावना अत्यन्त न्यून रहन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>