Successfully Copied

इन्डोर प्लान्ट्स

घरको आन्तरिक सजावट सधैं खुसी र ऊर्जावान् राख्न मद्दत मिल्ने किसिमको हुनुपर्छ । आन्तरिक सज्जाका लागि निकै उपयोगी हुन्छन्, इन्डोर प्लान्ट्स ।

सुमन महर्जन

सनफ्लावर नर्सरी

घरको आन्तरिक सजावट सधैं खुसी र ऊर्जावान् राख्न मद्दत मिल्ने किसिमको हुनुपर्छ । आन्तरिक सज्जाका लागि निकै उपयोगी हुन्छन्, इन्डोर प्लान्ट्स ।

घरका कुनाकाप्चा, खाली ठाउँ वा कुनै पनि ठाउँमा यस्ता बोट–बिरुवा सजाउन सकिन्छ । यी बोटबिरुवाले घरलाई प्रकृतिमैत्री बनाउँछन् । इन्डोर प्लान्टले घरको सजावटलाई आकर्षक देखाउनुका साथै शुद्ध र ताजा वायु प्रदान गर्छ । प्रायः इन्डोर प्लान्टको छनोट गर्दा आकर्षक, औषधीय गुण र वायु शुद्धीकरणमा सहयोग पुर्‍याउने खालको हुनुपर्छ । घिउकुमारी, मनीप्लान्टलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । यीबाहेक घरको शोभा बढाउने धेरै बिरुवा छन् ।

इन्टेरियर डिजाइनरहरूका अनुसार भान्सामा शीतलता महसुस गराउन र शुद्ध वायु प्रवाहका लागि यस्ता बिरुवा बढी आवश्यक हुन्छन् । भान्सामा गृहिणीले धेरैजसो समय बिताउनुपर्ने र तेल, आगो आदिबाट हानिकारक धूवाँ पनि पैदा हुन्छ । दूषित वायु सोसेर ताजा वायु पैदा गर्नका लागि भान्सामा उपयुक्त बिरुवा लगाउनु जरुरी हुन्छ । यसैगरी, घर तथा कार्यालयको टेबल, स्टडी टेबल वा र्‍याक आदि जुनसुकै खाली ठाउँमा विभिन्न डिजाइनका भाँडामा बिरुवा रोपेर सजाउन सकिन्छ । त्यस्ता केही बोट–बिरुवाका बारेमा जानकारी :

सिंगोनियम

सिंगोनियम घरभित्र रोप्नका लागि निकै उपयोगी र आकर्षक बिरुवा हो । यो मझौला आकारको हुने भएकाले सानो गमलामा र सानो क्षेत्रमा पनि सजाउन सकिन्छ । लगभग कर्कलाजस्तै देखिने सिंगोनियमलाई भान्सा, बैठक, शौचालय एवं बाल्कोनीमा राखिन्छ ।

यो बिरुवा ६/७ सेडमा पाइन्छ । यसले घरको सुन्दरता मात्रै बढाउँदैन हावा शुद्ध गरी वायु प्रदूषण पनि घटाउँछ । यो बिरुवाले सकारात्मक ऊर्जा दिई तनाव र चिन्ताबाट टाढै राख्छ । यो बिरुवालाई बोतल वा फ्लावर पटमा पनि लगाउन सकिन्छ । यसलाई धेरै सुख्खा हुन नदिई माटो ओसिलो बनाइरहनुपर्छ । बिरुवालाई सोझो घाम पर्ने ठाउँमा नराखी सातामा एक दिन मात्र घाममा राख्नुपर्छ ।

पिस लिली

पिस लिलीमा शान्त र सौन्दर्य दुवै गुण समावेश छ । झट्ट हेर्दा शान्त महसुस गराउने भएकाले यसको नाम पिस लिली राखिएको हो । छरितो र आकर्षक भएकाले यसलाई घरभित्रै सजाउन सकिन्छ । हरियो पात भएको यो बिरुवा सेतो रंगको फुल्छ । फूल फुल्दा यसको सुन्दरता अझ बढी खुल्छ । यसले हावाको गुणस्तर बढाउँछ । यो बिरुवा सानो हुँदा पानी कम राख्ने र फूल फुल्न थालेपछि बढी राख्नुपर्छ । यसका पुराना पात हटाइरहनुपर्छ । छायामा हुने यो बिरुवा झ्यालको नजिकै राख्दा राम्रोसँग हुर्कन्छ ।

स्नेक प्लान्ट

स्नेक प्लान्टले रातमा अक्सिजन फाल्ने भएकाले शयन कक्ष (सुत्ने कोठा) मा राख्नु उपयुक्त हुन्छ । यसले वातावरणको हावा शुद्ध पार्छ । साथै तनावका कारण टाउको दुख्ने समस्याबाट राहत मिल्छ । यसले ऊर्जा दिई एकाग्रता बढाउँछ । यो बिरुवा पहिले पानीमा उमारेपछि मात्र माटोमा सार्नुपर्छ । स्नेक प्लान्टलाई हेरचाह गर्न सजिलो हुन्छ । यसलाई हल्का घामको आवश्यकता पर्छ समय–समयमा यसका पात काटिदिनुपर्छ । यो बिरुवालाई एकदमै सुख्खा हुन दिनुपर्छ । त्यसपछि पूरै भिज्ने गरी पानी हालिदिनुपर्छ । सातामा एकपटक मात्र यसमा पानी राख्नु उपयुक्त हुन्छ ।

स्पाइडर प्लान्ट

यो सदाबहार बिरुवा सजिलै सर्छ । यसलाई एयरप्लेन प्लान्ट पनि भनिन्छ । तिखो लामो–लामो पात भएको यो बिरुवा आकर्षक देखिन्छ । ठूलो भएपछि यसमा स–साना सेता रंगका फूल पनि फुल्छन् । यो बिरुवाले अक्सिजन उत्पादन गरी वायु प्रदूषण कम गर्छ । यो नन–टक्सिक बिरुवा भएकाले बालबािलका र जनावरलाई हानी पुर्‍याउँदैन । धेरै प्रकाश नभएको ठाउँमा सजिलै हुर्कने यो बिरुवालाई लामो समय टिकाउन घामको सीधा सम्पर्कबाट बचाउनुपर्छ । यसलाई पनि सातामा एकपटक पानी दिए पुग्छ ।

चामाडोरा एलिगेन्स

अलि अग्लो र निगालो जस्तो हुने भएकाले यसलाई ठूलो वा फराकिलो कोठामा राख्दा बढी आकर्षक देखिन्छ । कुनै कुना वा खाली रहेको भागलाई सजाउन पनि यो बिरुवा लगाउन सकिन्छ । यसलाई सीधा प्रकाश छिर्ने ठाउँमा नराखी छायामा राख्नुपर्छ । यसलाई ओसिलो बनाइराख्नुपर्छ । पानी कम हुनुभन्दा बढी भएको राम्रो हुन्छ । यसले पनि हावा शुद्धीकरण गर्छ ।

स्ट्रिङ अफ टियर्स

झट्ट हेर्दा आँशुको थोपाजस्तो देखिने यो कलकलाउँदो बिरुवा मालाजस्तै वा लहरामा हुन्छ । त्यसैले यसलाई ह्याङगिङ प्लान्टका रूपमा अग्लो स्थान, बुक र्‍याकमा सजाउन सकिन्छ । अधिक प्रकाश छिर्ने ठाउँमा यो बिरुवा राख्नुपर्छ । यसलाई पानी कम राख्नुपर्छ तर माटो सुक्न दिनुहुँदैन ।

ड्रसिना

यो घरभित्रै सजाउनका लागि उपयोगी बिरुवा हो । हेर्दा आकर्षक यो बिरुवाले हावा शुद्धीकरण गर्छ । ड्रसिना विभिन्न प्रजातिमा पाइन्छ । ड्रसिना कम्याक्ट, ड्रसिना पार्नोकी, ड्रसिना मार्जिनोटा आदि । यो विभिन्न सेप, साइज र रंगमा पाइन्छ । हेरचाह गर्न सहज यो बिरुवालाई पानी धेरै चाहिँदैन तर ओसिलो बनाइरहनुपर्छ । १५ दिनमा एकपटक कम पानी राख्दा पुग्छ ।

गोल्डन पोथोस

मनीप्लान्टको प्रजातिमा पर्ने यसको हेरचाह गर्न सहज छ । यसले पनि हावा शुद्धीकरण गर्छ । हावामा भएको हानिकारक ग्यास अवशोषित गरी अक्सिजन रिलिज गर्छ । गोल्डन पोथोसलाई धेरै घाम र पानीको आवश्यकता पर्दैन । गमलाको माटो सुक्न थालेपछि भने थोरै–थोरै पानी राख्नुपर्छ ।

 Image