Successfully Copied

पडकास्टिङमा मिसेलदेखि पायलसम्म

थपिएका केही नयाँ पडकास्ट–हाम्रो कल्चर म्याटर्स, पिरियडका कुरा, होप, साइक विज्ञान नेटवर्क नेपाल (पीएनएन) आदि । अनि यिनको विशेषता–सबैमा महिला प्रस्तोता । यसलाई संयोग भन्ने कि के ? उता भारततिर पनि पडकास्ट प्रस्तोतामा महिलाको संख्या धेरै र बढ्दो पनि छ ।

थपिएका केही नयाँ पडकास्ट–हाम्रो कल्चर म्याटर्स, पिरियडका कुरा, होप, साइक विज्ञान नेटवर्क नेपाल (पीएनएन) आदि । अनि यिनको विशेषता–सबैमा महिला प्रस्तोता । यसलाई संयोग भन्ने कि के ? उता भारततिर पनि पडकास्ट प्रस्तोतामा महिलाको संख्या धेरै र बढ्दो पनि छ । हामीकहाँ लोकप्रिय बजु बज्यै, सटर कर्प, माइ इमोसन्स म्याटरजस्ता पडकास्टमा महिलाकै आवाज बुलन्द सुनिन्छ । पुरुष प्रस्तोता रहेका ‘द डुअर्स नेपाल’, ‘द नेपाली इकोनमिस्ट’, ‘पैसाका कुरा’ जस्ता पडकास्ट पनि लोकप्रिय छन् ।

‘अडियो माध्यममा महिलाको सक्रियता पहिलेदेखि नै बढी हो,’ यो माया भन्ने चीज कस्तो–कस्तो पडकास्टकी प्रस्तोतासमेत रहेकी पूर्व रेडियो सञ्चारकर्मी सविना कार्की भन्छिन्, ‘पडकास्टमा पनि महिलाको झुकाव पुरुषको भन्दा बढी छ । रेडियो कार्यक्रम सञ्चालकका रूपमा महिला धेरै हुने गरेको त तथ्यांकले नै देखाउँछ ।’ देशका विभिन्न ठाउँमा पडकास्ट निर्माणसम्बन्धी आयोजना गरिने कार्याशालामा महिलाहरूको उल्लेख्य सहभागिता हुने गरेको कार्कीले सुनाइन् । उनी त्यस्ता कार्याशालामा मेन्टरका रूपमा पुग्ने गरेकी छन् भने आजकल अनलाइनबाटै वर्कशप आयोजना गर्ने गरेको पनि जानकारी दिइन् ।

कोरोना महामारी सुरु भएयता हामीकहाँ पडकास्ट बनाउनेको संख्या बढेर गएको छ । हुन त त्यसअघिदेखि नै यो विधा धेरैका लागि आकर्षण बनिसकेको थियो । तर, महामारीपछि सञ्चार माध्यमहरूमा देखा परेका संकटले पनि कतिपय पत्रकार एवं प्रस्तोतालाई पडकास्टिङतर्फ डोर्‍याएको पाइन्छ । ‘हामीलाई पडकास्टमा पहिलेदेखि नै रुचि थियो तर कोभिडपछि मिडियामा जस्ता खाले समस्याहरू देखा परे, त्यसले पनि आफ्नै केही गरौं भन्ने भावनालाई अझै झकझक्यायो,’ हाम्रो कल्चर म्याटर्सकी सोनु लोहनीले भनिन्, ‘शून्य लगानीमा आफ्नै केही हुन्छ भने किन नगर्ने भनेर सुरु गरेका हौं ।’

पत्रकारितामा आबद्ध सोनु र संगीता श्रेष्ठले आफ्नो पडकास्टको पहिलो एपिसोडमा मोरल पुलिसिङका बारेमा बोलेका छन् । ‘यो भनेको मान्छेलाई सही र गलतका रूपमा जज गर्नु हो,’ सोनु भन्छिन्, ‘यो गर्दा राम्रो, त्यो गर्दा नराम्रो भनेर तुलना गर्नु हो ।’ महिलामाथि सामाजिक रूपमै कसरी मोरल पुलिसिङ हुन्छ भन्ने बारेमा संगीताले आफ्नै अनुभव त्यसमा सुनाएकी छिन् । ‘मेरो भाइ सानैदेखि रिबेलियस थियो तर म आफू सही हुँदाहुँदै पनि बोल्नै सक्दिनथें,’ उनले भनेकी छिन्, ‘किनभने हाम्रो समाजले महिलालाई बढी नबोल्नू, विरोध नगर्नू, सभ्य हुनू भनेर पुलिसिङ गर्दै आएको छ ।’

पहिलो शृंखला निकालेपछि सोनु र संगीतालाई कपितयले ‘बजु बज्यै’ जस्तै सुनियौ पनि भनेछन् । तर, आफूहरूको विषयवस्तुमा भिन्नता रहेको सोनुले बताइन् । विशेषतः महिला सरोकारका विषयहरू उठाउँदै आएका भृकुटी राई र इतीशा गिरीको बजु बज्यैमा पछिल्लो पटक नेपालमा मधेशी महिला हुनु भनेको के हो भन्ने बारेमा पल्लवी पायल र शैली चौधरीको अनुभव सुन्न पाइन्छ । भृकुटी र इतीशाले यसअघि नेपाली गीत–संगीत, सूचना प्रविधि, चाडपर्वदेखि सञ्चार माध्यमहरूमा महिलाका मुद्दालाई कुन ढंगले प्रस्तुत गरिन्छ भन्नेसम्मका विषयमा पडकास्ट तयार पारेका छन् ।

पडकास्टको दुनियाँमा आफू अलग रहन विषयवस्तुमा फरकपन दिन आवश्यक रहेको ‘पिरियडका कुरा’ की प्रस्तोता सृष्टि काफ्लेले बताइन् । उनी र प्रियंका बूढाथोकीले महिनावारीका बारेमा आफ्ना र अन्य महिलाका भोगाइ र भनाइहरू समेटेर गएको एक महिनामा चार वटा पडकास्ट शृंखला सार्वजनिक गरिसकेका छन् । ‘यो टपिकमा खुलेर गफ हुँदैन, आ–आफ्नो सर्कलमा, सानो स्वरले बोल्ने गरिन्छ,’ सृष्टि भन्छिन्, ‘त्यो चलनलाई निरुत्साहित गर्नुपर्छ भनेर यो टपिक छानेका थियौं ।’ आफूहरूको पडकास्ट नुवाकोको छिम्तेश्वर एफएमले समेत प्रसारण गर्न थालेकोमा प्रियंका मक्ख छिन् ।

सरसर्ती हेर्दा, पडकास्ट निर्माणमा जति पनि महिलाहरू आएका छन्, उनीहरूले प्रायः महिलाका विषयवस्तु, लैंगिक विभेद वा समानतालाई विषयवस्तु बनाउने गरेको देखिन्छ । यद्यपि ‘यो माया भन्ने चीज...’ की सविना यो कुरा मान्न तयार छैनन् । उनका अनुसार नेपाली पडकास्टका विषयमा विविधता थपिँदै गएको छ । ‘कोरोनाकै बेला कतिले विज्ञान, स्वास्थ्य, संस्कृति आदिका बारेमा पनि पडकास्ट बनाए,’ उनले भनिन्, ‘बुक रिभ्यु गर्ने, कविता रिसाइट गर्ने महिला पडकास्ट–होस्टहरू पनि छन् ।’

पुरुषले अर्थतन्त्र, उद्यम, विज्ञान, खगोलशास्त्रदेखि सूचना प्रविधिजस्ता विषयमा कन्टेन्ट तयार पारिरहँदा महिलाले लैंगिक मुद्दा, रुढिवाद, जातीय तथा लैंगिक विभेद, अन्धविश्वास, अन्याय आदिका बारेमा पडकास्टमार्फत आवाज उठाउँदै आएका छन् । सविनाकै एक विद्यार्थीले ‘टेल्स अफ बुहारी’ शीर्षकमा नयाँ पडकास्ट सुरु गर्न लागेकी छन् । पडकास्टलाई महिलाहरूले भडास निकाल्ने माध्यमका रूपमा समेत प्रयोग गरिरहेका छन् । लामो समयदेखि दबिएका, सुन्न नखोजिएका वा नसुनिएका आवाजहरू यो माध्यममार्फत बाहिर आउन थालेका छन् ।

लकडाउनका बेला फुर्सदिलो बनेर होस् या रहरले अथवा बाध्यताबश पडकास्टिङतिर लाग्नेको संख्या बढेको भए तापनि पडकास्ट सुन्नेको संख्या चाहिँ बढेको छ कि छैन ? यस बारेमा हामीकहाँ ठ्याक्कै तथ्यांक हुने कुरै भएन । तर, अमेरिकाको भक्सनेक्स्ट डटकमले गरेको सर्वेक्षणअनुसार महामारीपछि विश्वमा पडकास्ट सुन्नेको संख्या ४२ प्रतिशतले बढेको छ । यूरोपममा ५३ प्रतिशतले बढिरहँदा अमेरिकामा भने २० प्रतिशतले घटेको रहेछ । ‘अमेरिकाजस्ता देशमा मानिसहरू यात्रारत छँदा, गाडी चलाउँदै पडकास्ट सुन्छन्,’ भक्सनेक्स्टमा भनिएको छ, ‘कोभिड–१९ का कारण उनीहरूको त्यो रुटिन बिग्रियो, पडकास्ट सुन्न छोडे ।’

अमेरिकामा पडकास्ट सुन्नेहरूको संख्यामा कमी आएकै बेला त्यहाँकी पूर्वप्रथम महिला मिसेल ओबामाले भने नयाँ पडकास्ट शृंखला सुरु गरेकी छिन् । गत जूनको अन्तिम सातादेखि सुरु भएको उनको ‘द मिसेल ओबामा पडकास्ट’ अहिले निकै लोकप्रिय छ । सुरुमा स्पटिफाइमा मात्रै उपलब्ध उक्त पडकास्ट अहिले गुगल, स्टिचर, एप्पल, आईहार्टलगायत विविध प्लेटफर्ममा सुन्न सकिन्छ । आफ्नो पडकास्टमा उनी विशेषगरी मानवीय सम्बन्धहरूका बारेमा आफ्नै नजिकका मान्छेसँग गफगाफ गर्छिन् । पहिलो एपिसोडमा उनले पति बाराक ओबामासँग आफूहरूकै सम्बन्धको उतार–चढाव र अटुट भरोसाका बारेमा भलाकुसारी गरेकी थिइन् ।

मिसेलदेखि हाम्रै पायलसम्मका उदाहरण हेर्दा पडकास्टिङमा महिलाहरू जुझारु भएर आएका छन् भन्नेमा शंका देखिँदैन । त्यसो त इन्टरनेसनल पडकास्ट एसोसिएनकी अध्यक्ष नै महिला हुन्, लिज कोभर्ट । सन् २०१४ मा सुरु भएको ‘सिरियल’ पडकास्टकी प्रस्तोता पनि महिला नै हुन्, सारा केनिग । सिरियल यस्तो पडकास्ट हो जसले समग्र पडकास्ट विधालाई नै नयाँ उचाइ दिलाएको थियो । साराले पडकास्टमार्फत क्राइम रिपोर्टिङ वा खोजी पत्रकारिताको अभ्यास थालेपछि दुनियाँभर नै क्राइम पडकास्ट बन्ने क्रम तीव्र भयो ।

नेपाल, भारतजस्ता विकाशोन्मुख देशमा महिलाहरू पडकास्टमार्फत मुखर भएर आउन थालेको हालसालै हो । अचानक के कारणले उनीहरूलाई यो माध्यमप्रति यत्रो आकर्षण भएको होला ? सविना भन्छिन्, ‘यो सजिलो र सुन्दर माध्यम हो नि त । घरकै एउटा कोठाभित्र बसेर साधारण मोबाइलमा आफ्ना कुरा रेकर्ड गराएर दुनियाँलाई सुनाउन सकिन्छ । अझ, हाम्रोजस्तो देशमा कतिपय महिलालाई घरबाट निस्किन गाह्रो छ । तर, पडकास्ट त घरभित्रै, चुलोअगाडि बसेर बनाउन सकिने भयो ।’

सोनुलाई भने महिलाहरू अब बोल्न चाहिरहेका छन् भन्ने लाग्छ । र, बोल्नका लागि पडकास्टहरू गतिलो प्लेटफर्म बनिरहेको उनी ठान्छिन् । ‘महिलाहरूलाई केही कुरा भन्नु छ,’ उनले थपिन्, ‘भन्नलाई पडकास्ट राम्रो प्लेटफर्म हो ।’ सृष्टिका अनुसार अभिव्यक्तिको सवालमा पडकास्ट फराकिलो मैदानजस्तै हो । यसमा बिनारोकटोक खुलेर बोल्न सकिन्छ । ‘पडकास्टका श्रोता त्यतिविघ्न जजमेन्टल हुँदैनन्,’ उनले भनिन्, ‘अभिव्यक्तिका लागि यो धेरै राम्रो प्लेटफर्म भएकाले धेरैले यसमा रुचि देखाउन थालेका छन् ।’

 Image