Successfully Copied

सुजीको रसबरी

सुरुमा चास्नी तयार गर्ने । चास्नी बनाउनका लागि चिनी र पानी राखेर बाक्लो हुन्जेल उमाल्ने । त्यसमा सुक्मेल पाउडर र कागतीको रस मिसाउने ।

घरमा सहजै बनाउन सकिने केही मिठाईंका बारेमा यहाँ जानकारी दिइएको छ ।

सुजीको रसबरी

सामग्री : सुजी– एक कप, घिउ–दुई चम्चा, पाउडर दूध–आधा कप, सुक्मेलको पाउडर–आधा कप, चिनी–दुई कप, पानी–एक कप, कागतीको रस–आधा चम्चा, बेकिङ सोडा–आधा चम्चा । थोरै पेस्ता र बदाम ।

विधिः सुरुमा चास्नी तयार गर्ने । चास्नी बनाउनका लागि चिनी र पानी राखेर बाक्लो हुन्जेल उमाल्ने । त्यसमा सुक्मेल पाउडर र कागतीको रस मिसाउने ।

अब कराहीमा घिउ तताएर सुजीलाई हल्का फ्राई गर्ने, त्यसपछि बिस्तारै चलाउँदै दूध हाल्ने, जबसम्म सुजी र कराही छुट्टिँदैन । सुजी तयार भएपछि प्लेटमा राखेर पाउडर दूध, बेकिङ सोडा मिक्स गर्ने । थोरै दूध राख्दै पिठोलाई राम्रोसँग नरम नहुन्जेल मुछ्ने । फेरि कराहीमा तेल तताउने र पिठोको सानो–सानो डल्लो बनाउँदै फ्राई गर्ने । खैरो रंगको भएपछि निकालेर पाँच मिनेट चास्नीमा डुबाउने र बदाम र पेस्ताले माथिबाट सजाउने ।

आटाको हलुवा

सामग्री : आटा–एक कप, घिउ–एक कप, मसिनो गरी काटिएको काजु, बदाम, किसमिस र नरिवल, चिनी–एक कप, पानी–दुई कप, सुक्मेल पाउडर–आधा चम्चा ।

विधि : सुरुमा चास्नी तयार पार्ने । त्यसपछि कराहीमा घिउ तताउने र त्यसमा माथि तयार पारिएको ड्राई फ्रुट्स हल्का फ्राई गरेर निकाल्ने । त्यही घिउमा सानो आँचमा खैरो हुन्जेल आटा फ्राई गर्ने । अब चास्नीमा यो मिश्रण थोरै–थोरै राख्दै चलाइराख्ने जबसम्म हलुवाले छोड्दैन । त्यसमाथि फ्राई गरेको ड्राई फ्रुट्स राख्ने ।

गुजिया

सामग्रीः मैदा–एक कप, घिउ–एक कप, बेकिङ पाउडर–आधा चम्चा, चिनीको धूलो–एक कप, नरिवलको धूलो–एक कप, खुवा– एक कप, ड्राई फ्रुट्स सानो गरी पिसेको–एक कप, सुक्मेल पाउडर–आधा चम्चा ।

विधि : सबैभन्दा पहिले मैदा, घिउ र बेकिङ सोडा मिक्स गर्ने । त्यसलाई थोरै–थोरै पानी राख्दै मुछ्ने र नरम सफा कपडाले १० मिनेट छोप्ने । कराहीमा खुवालाई फ्राई गर्ने । खैरो भएपछि ड्राई फ्रुट्स, नरिवल, चिनीको धूलो, सुक्मेलको धूलो हालेर मिक्स गर्ने । अनि मैदाका साना–साना पुरी बनाउने र त्यसमा खुवा राखेर फोल्ड गर्ने । पानी किनारामा हल्का लगाएर बन्द गर्ने । त्यसलाई तेलमा हल्का खैरो रंगको हुन्जेल फ्राई गर्ने । यसरी बनाएको मिठाईं १५ दिनसम्म राखेर खान सकिन्छ ।

बालुसाही

सामग्रीः मैदा–एक कप, घिउ–दुई कप, दही–आधा कप, सुक्मेलको पाउडर–आधा चम्चा, पानी–एक कप, चिनी–दुई कप, कागतीको रस–आधा कप, एक कप तेल वा घिउ फ्राई गर्न ।

विधिः सुरुमा चास्नी तयार गर्ने । मैदा, बेकिङ सोडा, घिउ, दही मुछ्ने र १० मिनेट नरम सफा कपडाले छोपिदिने । अब कराहीमा तेल तताएर पिठोको सानो–सानो डल्लो र बीचमा गोलाकार बनाउँदै तेलमा फ्राई गर्ने । खैरो रंगको भएपछि निकालेर पाँच मिनेटसम्म चास्नीमा डुबाउने ।

 Image